‘निम्स दाई अन्नपूर्ण फस्ट’ नाम प्रस्ताव, संग्रहालय र ट्रेल बनाउने

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्मल पुर्जा ‘निम्स दाई’को नाममा अन्नपूर्ण हिमालको नाममा राख्न प्रस्ताव गरेको छ ।

निम्स दाईले आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको सुरुवात गरेको अन्नपूर्ण हिमालबाट सुरु गरेका थिए । गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम निम्स दाईको नामबाट राख्न केन्द्र सरकारसमक्ष प्रस्ताव गरेको हो । 

गत साउन १६ गते गाउँपालिकाले निम्स दाईको नामबाट हिमालको नाम राख्न प्रस्ताव गर्ने निर्णय गरिसकेको छ । नामकरण गर्न स्थानीय सरकारले केन्द्र सरकारसमक्ष प्रस्ताव अघि बढाउने भएको छ।

अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण फस्टलाई ‘निम्स दाई अन्नपूर्ण फस्ट’ नामकरण गर्न नेपाल सरकारसमक्ष औपचारिक अनुरोध गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले जानकारी दिए ।

निम्स दाईको जन्मथलो पनि अन्नपूर्ण क्षेत्रमै रहेकाले उनको योगदान र विश्व कीर्तिमानलाई सम्मान गर्दै यस्तो प्रस्ताव अघि सारिएको हो,’ उनले विकासन्युजसँग भने ।

निम्स दाईले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहणको अभियान अन्नपूर्णबाट सुरु गरेका थिए।  उनको जन्मथलोसमेत भएकाले अन्नपूर्ण फस्टलाई उनको नामसँग जोडेर संरक्षण तथा सम्मान गर्न खोजिएको पुनले बताए ।

हिमाल प्राकृतिक सम्पदा भएकाले कुनै व्यक्तिको नाममा नामकरण गर्न नहुने भन्दै केही पक्षबाट विरोधसमेत भएको छ। गाउँपालिकाले भने आफूहरूले अन्तिम निर्णय नगरी केवल प्रस्तावका रूपमा नेपाल सरकारसमक्ष अनुरोध गर्न लागेको पुनले प्रस्ट पारे ।

उनका अनुसार निम्स दाईको नाममा संग्रहालय निर्माण गर्ने तयारीसमेत भइरहेको छ। उनको परिवारसँग सल्लाह गरेर मुस्ताङ जाने राजमार्गसँग जोडिएको करिब तीन–चार रोपनी जग्गा उपलब्ध भएमा त्यहाँ संग्रहालय स्थापना गर्ने योजना छ। उनको १३ दिनको काम सकिएपछि परिवारसँग सम्पर्क गरिन्छ।

त्यस्तै, अन्नपूर्ण क्षेत्रबाट अन्नपूर्ण बेसक्याम्पतर्फ जाने पदमार्गलाई पनि निम्स दाईको योगदानसँग जोड्ने प्रस्ताव अघि सारिएको छ। नेपालमा हिमाल आरोहणको इतिहाससँग जोडिएका मौरिस हर्जोगले प्रयोग गरेको पदमार्ग र निम्स दाईको योगदानलाई समेटेर उक्त बाटोलाई ‘निम्स दाई–मौरिस हर्जोग ट्रेल’का रूपमा विकास गर्ने विषयमा विज्ञहरूसँग छलफल गरिरहेको उनले बताए ।

पुनले आगामी हिउँदे अधिवेशनमा निम्स दाईको नाममा संग्रहालय तथा सालिक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारीसमेत गरिएको बताए ।

'निम्स दाई केवल एक पर्वतारोही मात्र नभई उनले अन्नपूर्ण र नेपालको पहिचानलाई विश्वभर पुर्याउन महत्वपूर्ण योगदान दिएका व्यक्तित्व हुन्। उनको नाममा गरिने सम्मानलाई औपचारिकताका लागि मात्र नभई उनको योगदानलाई दीर्घकालीन रूपमा संरक्षण गर्ने प्रयासका रूपमा अघि बढाइनेछ,' पुन भन्छन् ।

निम्स दाईको अन्तिम संस्कार सम्पन्न भएपछि नामकरण, संग्रहालय, सालिक तथा ट्रेललगायतका प्रस्तावलाई औपचारिक रूपमा अघि बढाइने उनले बताए । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको थियो ।

उनको अन्त्येष्टि बेलायतमा गरिएको थियो । ६ जना नेपालीसहित अन्य ४ जनाको मृत्यु भएको थियो ।
 

Share News