काठमाडौं । कृषिमन्त्री गीता चौधरीले गरिमा चौधरी हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको बताउँदै दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने विश्वास व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै मन्त्री चौधरीले पाँच वर्षीया आफ्नी छोरीले गरिमाबारे गरेको प्रश्नले आफूलाई भित्रैदेखि झस्काएको उल्लेख गरेकी छन् ।
उनले मन्त्रालयबाट फर्किएपछि साँझ छोरीसँग कुरा गरिरहेको बेला फेसबुकमा गरिमा चौधरीको तस्बिर देखिएको र छोरीले 'यो बच्चाको त आँखा र जिब्रो निकालेर मारेको रे' भनेपछि आफू स्तब्ध भएको लेखेकी छन् ।
मन्त्री चौधरीले पाँच वर्षको बच्चाले समेत यस्ता क्रूर घटनाबारे थाहा पाउने अवस्था आउनु समाजका लागि गम्भीर प्रश्न भएको उल्लेख गरेकी छन् । हाम्रा छोरीहरू आज कति सुरक्षित छन् भन्ने प्रश्नले आफूलाई अझ गम्भीर बनाएको उनको भनाइ छ ।
उनका अनुसार शनिबार बिहान सिमराबाट साथी राधा चौधरीले फोन गरेर पीडित परिवारको अवस्था र उनीहरूले भोगिरहेको पीडाबारे जानकारी गराएकी थिइन् । त्यसपछि आफूले गृहमन्त्री सुधन गुरुङसँग टेलिफोनमा कुराकानी गरेको र घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेको, परिवारसँग समन्वय भइरहेको तथा घटनाको गम्भीर रूपमा अनुसन्धान अघि बढाइएको जानकारी पाएको उनले बताएकी छन् ।
मन्त्री चौधरीले सरकारले तत्काल अनुसन्धान सुरु गरेकोमा गृहमन्त्री र सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गर्दै पीडित परिवारले न्याय पाउने वातावरण बनाउन आफ्नो तहबाट आवश्यक समन्वय र पहल जारी राख्ने प्रतिबद्धता जनाएकी छन् ।
आफू थारू समुदायबाट आएको जनप्रतिनिधि भएकाले यो घटना अझ संवेदनशील विषय बनेको उनले उल्लेख गरेकी छन् । गरिमा चौधरीको परिवारले भोगिरहेको पीडा एउटा परिवारको मात्र नभई समाज र राज्यका लागि गम्भीर चेतावनी भएको उनको भनाइ छ ।
उनले जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने र कानुनी संयन्त्रलाई अझ संवेदनशील, तत्पर र प्रभावकारी बनाउन आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता दोहोर्याएकी छन् ।
स्टाटसको अन्त्यमा मन्त्री चौधरीले दिवंगत बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।