मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोलामा सुख्खा पहिरो, सवारी आवगमन ठप्प

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलामा सुख्खा पहिरो खस्दा सवारी आवगमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बुधबार (आज) बिहान अचानक खसेको सुख्खा पहिरोका कारण नारायणगढतर्फ गइरहेका र मुग्लिनतर्फ आउँदै गरेका सयौं सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन् । 

लामो तथा छोटो दूरीका सवारी साधनहरू रोकिँदा यात्रुहरू मर्कामा परेका छन् । पहिरो खसेको जानकारी पाएलगत्तै सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य सुरु गरिसकेको छ । 

अहिले मेसिन (डोजर/लोडर) प्रयोग गरेर द्रुत गतिमा पहिरो हटाउने काम भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

सडक डिभिजनले बाटोमा रोकिई बसेका सम्पूर्ण सवारीसाधनका चालकहरूलाई धैर्यता अपनाउन र आफ्नै लेनमा अनुशासन पालना गरी बस्न अनुरोध गरेको छ । 

जथाभाभी लेन मिच्दा पहिरो सफा भएपछि पनि लामो जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गर्न आग्रह गरिएको हो । 

Share News