काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा १ अर्ब ४२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । बिरामीको संख्या बढेसँगै अस्पतालको शय्या उपयोग दर (अकुपेन्सी) पनि उल्लेखनीय रूपमा सुधारिएको ह्याम्सले जनाएको छ ।
अस्पताल सेवाबाट हुने आम्दानी कम्पनीको कुल आम्दानीको करिब ९२ प्रतिशत हिस्सा ओगट्छ । अघिल्लो वर्ष ५२ प्रतिशत रहेको अकुपेन्सी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर ६४ प्रतिशत पुगेको छ ।
साथै, अस्पतालभित्र सञ्चालनमा रहेका फार्मेसी, प्याथोलोजी, रेडियोलोजीलगायत सहायक सेवाले आम्दानीको स्रोत विविधीकरण गर्नुका साथै राजस्व वृद्धिमा सकारात्मक योगदान पुर्याएको कम्पनीले जनाएको छ ।
ह्याम्सले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८५ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११.५४ प्रतिशत अर्थात् १९ करोड २० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर आम्दानी वृद्धि गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ६८ करोड रुपैयाँ र आव २०७५/७६ मा ३७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
सन् १९९८ जनवरीमा स्थापना भएको ह्याम्सले काठमाडौंको धुम्बाराहीस्थित १०० शय्याको बहुविशेषज्ञ अस्पताल सञ्चालन गर्दै आएको छ । कम्पनीका प्रमुख प्रवद्र्धक अध्यक्ष रामशरण भण्डारी तथा उनका परिवारका सदस्यहरू हुन् । गत आर्थिक वर्ष र चालु आवको पहिलो नौ महिनामा प्रवद्र्धकहरूले ९ करोड ९० लाख रुपैयाँ बराबरको नयाँ इक्विटी लगानी गरेका छन् । यससँगै २५ करोड १० लाख रुपैयाँ बराबरको सेयर प्रिमियम थपिएको छ ।
कम्पनीका अनुसार यसले क्षमता विस्तार तथा नयाँ लगानीका अधिकांश योजना ऋणभन्दा इक्विटीबाट वित्तीय व्यवस्थापन गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । सञ्चालन नाफा मार्जिन पछिल्ला केही वर्षदेखि २७ देखि २८ प्रतिशतको दायरामा स्थिर रहेको कम्पनीले जनाएको छ । चालु आवको चैतसम्म कम्पनीसँग करिब २० करोड ४० लाख रुपैयाँ नगद तथा तरल सम्पत्ति रहेको छ ।
अस्पतालले हाल क्षमता विस्तार तथा थप शय्या वृद्धि गर्ने योजना अघि बढाएको छ । स्वास्थ्य बीमाको विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको बढ्दो जनचेतना, काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व, प्रतिव्यक्ति आयमा भएको वृद्धि, प्रारम्भिक चरणमै रोग पहिचान तथा उपचारमा प्रविधिको बढ्दो प्रयोग र जीवनशैलीजन्य रोगको बढ्दो प्रकोपले स्वास्थ्य सेवा उद्योगको दीर्घकालीन सम्भावनालाई थप बल पुर्याएको कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकाको सहज पहुँच र आधुनिक पूर्वाधारका कारण पनि आगामी दिनमा कम्पनीको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । ह्याम्सले नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडमा आफ्नो स्वामित्व बढाएर करिब ४४ प्रतिशत पुर्याएको छ । नागरिक अस्पतालले करिब १ अर्ब ४० करोड रुपैयाँ लागतमा नयाँ भवनमार्फत सेवा विस्तार तथा स्तरोन्नति गरिरहेको छ, जसको करिब ७० प्रतिशत लागत ऋणबाट व्यवस्थापन गरिनेछ ।
यसले समूहस्तरमा ऋणको भार बढ्ने र निर्माण अवधिमा ह्याम्समाथि थप वित्तीय दबाब सिर्जना गर्न सक्ने कम्पनीको आकलन छ । नागरिक अस्पतालले आर्थिक वर्ष २०२७ देखि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखेको छ । हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६६ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६४ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र २ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
ह्याम्सको आन्तरिक आम्दानी बलियो रहे पनि कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ६९ प्रतिशत तथा गत आर्थिक वर्षको नाफाबाट ६५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । आगामी दिनमा पनि लाभांश वितरणको नीति कस्तो रहने भन्ने विषयलाई कम्पनीको वित्तीय अवस्थाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । यद्यपि कम्पनीले आफ्नै क्षमता विस्तार तथा नागरिक अस्पतालमा गरिने लगानी मुख्यतः आन्तरिक स्रोत र इक्विटीबाट व्यवस्थापन गर्ने योजना बनाएको जनाएको छ ।
ह्याम्सले काठमाडौं उपत्यकाका ठूला तथा स्थापित बहुविशेषज्ञ अस्पतालसँग तीव्र प्रतिस्पर्धा गरिरहेको छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रका ठूला कर्पोरेट अस्पतालको प्रवेश र स्थापित अस्पतालहरूको क्षमता विस्तारले स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढेको छ । केही नयाँ अस्पताल परियोजना तथा स्थापित अस्पतालहरूको विस्तार कार्य अन्तिम चरणमा पुगेकाले आगामी दिनमा प्रतिस्पर्धा अझ तीव्र हुने अपेक्षा गरिएको छ ।
यस्तो अवस्थामा अस्पतालले विस्तार गरेका नयाँ सेवा क्षेत्रमा बिरामीको संख्या बढाउन प्रतिष्ठित विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नु र उनीहरूलाई दीर्घकालसम्म आबद्ध राख्नु कम्पनीका लागि प्रमुख चुनौती रहने बताइएको छ । साथै, स्वास्थ्य सेवा क्षेत्रसँग सम्बन्धित नियामकीय तथा प्रतिष्ठागत जोखिम पनि कम्पनीले सामना गर्नुपर्ने चुनौतीका रूपमा औंल्याइएको छ ।