काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत अमर्यादित टिप्पणी गरी चरित्रहत्या गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा एक वृद्धविरुद्ध अभियोग पत्र दायर गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकील कार्यालयले चन्द्रागिरी नगरपालिका वडा नं. ११ सतुङ्गल बस्ने ६१ वर्षीय प्रधुमन श्रेष्ठविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो ।
सरकारी वकील कार्यालयले अभियुक्त श्रेष्ठलाई ५ वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना अथवा दुवै सजाय गर्न मागदाबी गरेको छ ।
घटनाको विवरण मिसिलमा उल्लेख भएअनुसार, फेसबुकको एउटा ग्रुपमा रवि लामिछाने, गगन थापा र पीडितको फोटोसहित पोष्ट गरिएको एक सामग्रीमा प्रतिवादी प्रधुमन श्रेष्ठले अत्यन्तै अश्लील र अपमानजनक शब्द प्रयोग गरी कमेन्ट गरेका थिए । उक्त कमेन्टले आफ्नो चरित्रहत्या भएको, घृणा द्वेष फैलाएको र मानसिक यातना दिएको भन्दै पीडित (परिवर्तित नामः साइबर ब्यूरो ७९) ले कारबाही र क्षतिपूर्तिको माग गर्दै जाहेरी दिएकी थिइन् ।
पीडितको जाहेरी र प्राविधिक अनुसन्धानका आधारमा प्रहरीले श्रेष्ठलाई काठमाडौंको सतुङ्गलस्थित ततनी टोलबाट सामसुङ कम्पनीको मोबाइल र सिमकार्डसहित नियन्त्रणमा लिएको अभियोगपत्रमा उल्लेख छ ।
प्रतिवादीको बयान र कसुर सावितीप्रहरी र सरकारी वकीलसमक्ष दण्डित श्रेष्ठले आफूले उक्त फेसबुक पोष्टमा कमेन्ट गरेको स्वीकार गरेका छन् । उनले बयानका क्रममा भनेका छन्, ‘घरमा श्रीमतीसँग दिनहुँ झगडा हुने भएकाले मानसिक तनावमा थिएँ । रुखको छहारीमुनि बसी फेसबुक चलाउने क्रममा उक्त पोष्ट देखेपछि मैले पनि लेख्दा के फरक पर्ला र भनी सोचेर उक्त कमेन्ट गरेको हुँ ।’
सहायक जिल्ला न्यायाधिवक्ता सुनिता भट्टराईद्वारा दायर गरिएको अभियोग पत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसुर पुष्टि भएको उल्लेख छ । उक्त दफा अनुसार सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने र अपमान गर्नेलाई १ लाख रुपैयाँसम्म जरिबाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
यसका साथै ऐनको दफा ५८ (क) र ७६ बमोजिम पीडितलाई पुग्न गएको मानसिक तनाव र हानी नोक्सानीको उचित मूल्याङ्कन गरी मनासिब क्षतिपूर्ति भराउन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालत समक्ष माग गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले संसदमै आफूमाथि चरित्र हत्या भएको गुनासो गरेकी थिइन् । उनले आफूविरुद्द सामाजिक सञ्जालमार्फत हत्या तथा बलात्कार गर्ने सम्मको धम्की आइरहेकोले उनीहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने माग सरकार समक्ष राखेका थिइन् । उनले आफूले साइबर ब्यूरोमा उजुरी समेत दिएको बताएकी थिइन् । अहिले सो मुद्दा अदालतसम्म पुगेको हो ।