अब घरमै बसेर राष्ट्रिय वाणिज्य बैंकको कर्जाका लागि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई घरमै बसेर कर्जाका लागि आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन’ सेवा सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनाको मर्मअनुसार ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले यो सेवा सुरु गरेको जनाएको छ ।

बैंकका अनुसार कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने जिज्ञासा र अन्योल हटाउन डिजिटल माध्यमबाटै कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको हो । यसबाट कर्जा प्रक्रिया थप छिटो, सहज, झन्झटरहित र पारदर्शी हुने अपेक्षा गरिएको छ ।

कर्जा आवेदन दिन बैंकको आधिकारिक वेबसाइटमा रहेको ‘कुइक एसेस’ अन्तर्गतको ‘अनलाइन लोन एप्लिकेसन’ मा क्लिक गरी ‘आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टल’ मा प्रवेश गर्नुपर्नेछ ।

त्यसपछि इमेल, युजरनेम र पासवर्ड प्रयोग गरी दर्ता गर्नुपर्नेछ। आवश्यक व्यक्तिगत विवरण भरेर आवेदन पेस गरेपछि ग्राहकले आवेदनको जानकारी प्राप्त गर्नेछन् । साथै, ‘ट्र्याक प्रोग्रेस’ विकल्पमार्फत आफ्नो आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकको सहजताका लागि अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोडसमेत उपलब्ध गराइएको छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा फैलिएका ३१६ शाखामार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News