महालक्ष्मी विकास बैंकले पाँच जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ ।

बैंकले विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्षहरूको स्मृतिमा स्थापना गरिएका छात्रवृत्तिमार्फत सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको जनाएको छ ।

बैंकका अनुसार स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरी, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह र सीताराम प्रसाईंको स्मृतिमा स्थापना गरिएका छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो ।

छात्रवृत्तिअन्तर्गत काठमाडौं, पर्सा, कैलाली, मकवानपुर र झापाका सामुदायिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई सम्बन्धित बैंकका पदाधिकारीमार्फत छात्रवृत्ति हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले यस्तो कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन नरोकिने वातावरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब आठ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

Share News