बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ : सचिव बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको दाबी गरेका हुन् ।

सचिव बस्नेतले गत वर्षको भदौ २३ र २४ गतेका घटनाहरू नेपालमाथिको आक्रमण भएको उल्लेख गर्दै त्यसमा विभिन्न डिजिटल च्यानल र संस्थाहरूको संलग्नता रहेको आरोप लगाए । उनले डिस्कोर्ड च्यानल, ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’जस्ता संस्थाहरू वैदेशिक शक्तिको आडमा परिचालित भएको जिकिर गरे । ती माध्यमहरूबाट बम बनाउने, सरकारी भवन तथा निजी उद्योगहरू जलाउनेजस्ता हिंसात्मक गतिविधि सिकाउने कार्य गरिएको उनको भनाइ छ ।

सरकारले पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलमाथि प्रतिशोधपूर्ण ढङ्गले आधारहीन आरोप लगाएको बस्नेतले बताए । उपाध्यक्ष पौडेलमाथि लगाइएको जग्गा र उद्योगको सेयरसम्बन्धी आरोपहरू निराधार रहेको भन्दै उनले यस्ता गतिविधिको एमालेले राजनीतिक ‘हिसाबकिताब’ गर्ने चेतावनी दिए ।

सचिव बस्नेतले भने, ‘राज्यविरुद्ध आतंक सिर्जना गर्ने प्रयास भइरहेको छ । डिजिटल प्लेटफर्मलाई हाम्रो विरुद्ध भ्रम फैलाउने माध्यम बनाइएको छ । भदौ २३ र २४ गतेका घटना नेपालमाथिको आक्रमण थिए । ती घटनामा डिस्कोर्ड च्यानलको प्रयोगदेखि लिएर ‘वी आर नेपाली’, ‘बारबरा फाउन्डेसन’ र ‘अमेरिकन युथ काउन्सिल’जस्ता साम्राज्यवादी देशसँग आबद्ध भनिएका समूह तथा सुदन गुरुङद्वारा परिचालित पङ्क्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो ।’

पार्टीले सुरु गरेको जागरण अभियानमार्फत यी तमाम भ्रमबारे सुरुमा पार्टीका नेता तथा कार्यकर्तालाई र त्यसपछि आम जनतालाई स्पष्ट पार्दै लैजाने एमालेको योजना रहेको उनले बताए । भ्रमको खेती गर्नेहरूविरुद्ध पार्टी पङ्क्ति वैचारिक र सांगठनिक रूपमा सशक्त ढङ्गले प्रस्तुत हुने उद्घोषसमेत गरे ।

Share News