दैलेखमा भेटियो ११२ अर्ब घनमिटर ग्यास, नेपालमै युरिया मल उत्पादनको ढोका खुल्यो

काठमाडौं । दैलेखको जलजले क्षेत्रमा ११२.१ अर्ब घनमिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको तथ्य प्रारम्भिक अध्ययनबाट पुष्टि भएको सरकारले जनाएको छ । सरकारले यसलाई नेपालको ऊर्जा र कृषि क्षेत्रको भविष्य बदल्न सक्ने ऐतिहासिक सम्भावनाका रूपमा प्रस्तुत गरेको छ ।

सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदनअनुसार उक्त ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपालमै २०० मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ ।

साथै, दैनिक २ हजार २०० टन युरिया मल उत्पादन गर्ने आधारसमेत तयार भएको उल्लेख गरिएको छ । यसले वर्षौंदेखि किसानले भोग्दै आएको रासायनिक मल अभाव समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा प्राकृतिक ग्यासबाट सवारीसाधनमा प्रयोग हुने सीएनजी र घरायसी तथा औद्योगिक प्रयोजनका लागि पीएनजी  उत्पादनको समेत उच्च सम्भावना रहेको उल्लेख छ । यसबाट आयातित इन्धनमा निर्भरता घटाउन र ऊर्जा सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।

यद्यपि, परियोजनाको सफल कार्यान्वयनका लागि ठूलो लगानी, अत्याधुनिक प्रविधि र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रमुख चुनौतीका रूपमा रहेको सरकारको भनाइ छ ।

सरकारले परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्रता दिने, आवश्यक प्राविधिक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने तथा प्राकृतिक ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ ।

यदि यो परियोजना सफलतापूर्वक कार्यान्वयनमा गएमा नेपालले ऊर्जा उत्पादन, रासायनिक मल उत्पादन तथा स्वच्छ इन्धनको क्षेत्रमा आत्मनिर्भरतातर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ ।

Share News