काठमाडौं । सम्पादक समाज नेपालको अभियान 'नागरिकको अपेक्षाः जिम्मेवार पत्रकारिता' अन्तर्गत पदयात्रा सम्पन्न भएको छ । शनिबार ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौर-देउराली हुँदै बागमती गाउँपालिकामा पर्ने नेपालको हवाई उड्डयन सुरक्षाका लागि महत्वपूर्ण भट्टेडाँडा राडार क्षेत्र तथा पाकिस्तान एयरलाइन्स विमान दुर्घटना भएको स्थलसम्म 'पत्रकार पदयात्रा' सम्पन्न भएको हो ।
करिब १०० जना पत्रकारको सहभागिता रहेको पदयात्रा टोलीलाई गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख तथा सम्बन्धित वडाका अध्यक्षहरूले स्वागत गरेका थिए।
सम्पादक समाज नेपालका अनुसार पदयात्राको उद्देश्य आम नागरिकका अपेक्षा र भावना नजिकबाट बुझ्ने, ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमार्फत स्थानीयको आयआर्जनमा टेवा पु¥याउने तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि सञ्चारकर्मीलाई थप जिम्मेवार र संवेदनशील बनाउने रहेको छ ।
सम्पादक समाज नेपालले विगत चार वर्षदेखि पत्रकारिता, पर्यटन प्रवद्र्धन र वातावरणीय सचेतनालाई जोड्दै नियमित रूपमा “पत्रकार पदयात्रा“ आयोजना गर्दै आएको छ ।
यसअघि समाजले नुवाकोटको सुइरेचौर र लौके झरना तथा सिन्धुपाल्चोकको गुफाडाँडामा समेत पत्रकार पदयात्रा सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ ।
