२५ वर्षमा साना किसान विकास लघुवित्तको कृषि उत्पादनमा ७२ अर्बको योगदान

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २५औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले हाल देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा सेवा विस्तार गर्दै करिब १० लाख किसान परिवारसम्म लघुवित्त सेवा पुर्याएको जनाएको छ ।

संस्थाका अनुसार देशभर एक हजार ४८५ भन्दा बढी साना किसान सहकारी संस्थामार्फत वित्तीय सेवा प्रवाह भइरहेको छ । लाभग्राहीमध्ये महिलाको सहभागिता ८२ प्रतिशत रहेको छ भने दलित, जनजाति र अन्य समुदायका किसानसमेत सेवाबाट लाभान्वित भएका छन् ।

संस्थाले नेपाल सरकारको सहकार्यमा विगत १५ वर्षदेखि पशुपालन र पछिल्ला ६ वर्षदेखि तरकारी खेतीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसबाट हालसम्म करिब १७ लाख ७९ हजार पशुपालन तथा ११ हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार भएको दाबी गरिएको छ । यी कार्यक्रमबाट वार्षिक करिब ४.८ अर्ब रुपैयाँ बराबरको उत्पादन तथा हालसम्म ७२ अर्ब रुपैयाँभन्दा बढी मूल्यको दूध, मासु र तरकारी उत्पादनमा योगदान पुगेको संस्थाले जनाएको छ ।

संस्थाले कृषि व्यवसायीकरण, उद्यमशीलता विकास, कृषि तालिम, पशुधन संरक्षण तथा वित्तीय साक्षरतालगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ । साथै युवा लक्षित आधुनिक कृषि तालिम कार्यक्रमअन्तर्गत हालसम्म ३६१ जनाले तालिम लिएको जानकारी दिएको छ ।

एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको सहकार्यमा सञ्चालन गरिएको ग्रामीण उद्यम परियोजनामार्फत कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा आधारित २ हजार ५८० उद्यम स्थापना भएको तथा ती उद्यममा ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी भई १० हजार ७३७ जनाले रोजगारी पाएको संस्थाको दाबी छ ।

संस्थाले आगामी दिनमा पनि साना किसानको उत्पादन क्षमता वृद्धि, कृषि व्यवसायीकरण र ग्रामीण अर्थतन्त्र सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।  

Share News