नाडेप लघुवित्तको साधारणसभा सम्पन्न, पाँच सदस्यीय सञ्चालक समिति चयन

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले सहभागीलाई स्वागत गरेका थिए ।

अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा चुनौतीपूर्ण अवस्था रहे पनि संस्थाले ग्राहक सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरू अझ लघुवित्तमैत्री हुने अपेक्षा पनि व्यक्त गरे ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुबेर एन. भट्टराई एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थागत र सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरिएको छ ।

संस्थाका अनुसार हाल नाडेप लघुवित्तले देशभरका ८८ शाखामार्फत ८० हजारभन्दा बढी ग्रामीण तथा विपन्न महिलालाई वित्तीय सेवा उपलब्ध गराइरहेको छ । २०८३ जेठ मसान्तसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५० करोड रुपैयाँ, सदस्यको बचत २ अर्ब ४० करोड रुपैयाँ तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा २ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।  

Share News