ब्याजदर अझै घट्न सक्ने संकेत, साढे ६ खर्ब कर्जा विस्तारको योजना

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको मौद्रिक नीतिअनुसार बैंकिङ प्रणालीबाट करिब ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको नयाँ कर्जा प्रवाह गर्न सकिनेगरी कर्जा वृद्धिदरको प्रक्षेपण गरिएको जनाएको छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाको वर्गीकरणसम्बन्धी अध्ययन भइरहेको पनि बताए ।

अध्ययन सम्पन्न भएपछि विशिष्टीकृत बैंकको अवधारणामा समेत अघि बढ्ने सम्भावना रहेको उनले बताए ।

यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले यसपटकको मौद्रिक नीतिको विषयवस्तु अघिल्ला वर्षकै निरन्तरता भए पनि प्रस्तुतिको शैलीमा परिवर्तन गरिएको स्पष्ट पारे ।

उनका अनुसार चालु आर्थिक वर्षमा मुद्रास्फीति २.६ प्रतिशत रहेको छ भने आगामी आर्थिक वर्षमा यो करिब ३ प्रतिशत रहने अनुमान गरिएको छ । 

सरकारले राखेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार गरिएको उनले बताए ।

डा. तिमिल्सिनाले हाल रेमिट्यान्स उच्च दरमा बढिरहेको र आन्तरिक माग अपेक्षाकृत कमजोर रहेको अवस्था आगामी आर्थिक वर्षमा पनि कायम रहने अनुमान गरिएको जानकारी दिए ।

उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले ब्याजदर अझै घट्न सक्ने सम्भावना रहेको बताए । यद्यपि हालका नीतिगत दरहरू भने यथावत् राखिएको र आगामी आर्थिक अवस्थाअनुसार आवश्यक परे परिवर्तन गरिने उनको भनाइ छ ।

राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा कायम राख्ने लक्ष्य लिएको पनि उनले बताए ।

यसैगरी, विदेशी मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विदेशी केन्द्रीय बैंकहरूले जारी गरेका सुरक्षित धितोपत्रमा लगानी गर्न सकिने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको जानकारी पनि उनले दिए ।

Share News