यसकारण अदालतबाट रिहा हुनासाथ अभिषेक गिरी पक्राउ परे

काठमाडौं ।  निर्माण व्यवसायीलाई विश्वासमा पारी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा अभिषेक गिरी सोमबार विराटनगरबाट पक्राउ परे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मोरङको विराटनगर महानगरपालिका ८, मधुमारा घर भएका गिरीलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार गिरीले निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई विभिन्न उच्चपदस्थ व्यक्तिहरूसँग आफ्नो चिनजान र पहुँच रहेको भन्दै आयोजनाहरूको ठेक्का पारिदिने प्रलोभन देखाएका थिए ।

ठेक्काको काम समेत आफ्नो कम्पनी (आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि) मार्फत नियमानुसार सम्पन्न गरिदिने आश्वासन दिई उनले श्रेष्ठलाई विश्वासमा पारेका थिए ।

गिरीले सम्झौताअनुसार काम नगरी उल्टै ठेक्का रद्द गराई श्रेष्ठलाई आर्थिक हानी–नोक्सानी पुर्याएको उजुरीमा उल्लेख छ ।

गिरीले श्रेष्ठको निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरू कब्जामा लिएको र त्यसमध्ये केही साधनहरू धनीलाई जानकारी नै नदिई कवाडीमा बिक्री गरेका थिए ।

गिरीले श्रेष्ठलाई डर र त्रासमा पारी काठमाडौंमा रहेको घरजग्गा समेत आफ्नो नाममा राजीनामा पास गराएको उजुरीमा बताइएको छ । 

श्रेष्ठले अन्य व्यक्तिहरूबाट पाउनुपर्ने रकम समेत गिरीले दबाब दिएर आफ्नै नाममा चेक काट्न लगाउने गरेका थिए।

गिरीले आर्थिक लाभ लिएको र श्रेष्ठलाई पूर्ण रूपमा आर्थिक रूपमा धराशायी बनाएको सीआइबीले  जनाएको छ।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतले २२ गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको अनुमतिलगत्तै उनलाई नियन्त्रणमा लिएर सीआईबीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

Share News