विकासन्युज

यी कुराले गर्छ मिर्गौलालाई हानी, तुरुन्तै रहनुहोस् टाढा

काठमाडौं । राम्रो स्वास्थ्यको लागि पहिलो कदम भनेको तपाईंको भान्सामा पौष्टिक खाना हुनु हो । धेरै खानेकुराहरू चिनी र सोडियमको लुकेको स्रोत भएकाले तपाईंको फ्रिजमा के राखिएको छ र यसलाई खाँदा शरीरको कलेजो, मिर्गौला र मुटु जस्ता अंगहरूमा कस्तो प्रभाव पर्छ भनेर जान्न महत्त्वपूर्ण छ ।  अमेरिकाको नेशनल किड्नी फाउन्डेसनको रिपोर्ट अनुसार आजकल मिर्गौलासम्बन्धी रोग बढ्दो छ । यसका दुई प्रमुख कारणहरू मधुमेह र उच्च रक्तचाप हुन् । तर यदि तपाईंले यी रोगहरूलाई नियन्त्रण गर्नुभयो भने मिर्गौला रोगलाई धेरै हदसम्म रोक्न वा ढिलो गर्न सकिन्छ । आउनुहोस यसका लागि हामीले कस्ता खानेकुरा नखाने जानौं।  मिर्गौलाको लागि के नखाने ? स्वस्थकर खानेकुरा छनौट गरी चिनी, बोसो, सोडियम र नुनको सेवन नियन्त्रण गर्ने हो भने मृगौला रोगको जोखिम कारकहरूबाट बच्न सकिन्छ । यी परिवर्तनहरूले तपाईंको मृगौलाको प्रतिरक्षालाई बलियो बनाउन सक्छ । सोडाबाट टाढा रहनुहोस्  सोडा चिनीले भरिपूर्ण हुन्छ । चिनीले तौल बढाउन सक्छ । धेरै अनुसन्धानहरूले सोडालाई ओस्टियोपोरोसिस, मिर्गौला रोग, मेटाबोलिक सिन्ड्रोम र दाँतको रोगको कारण देखाएका छन् । डाइट सोडामा क्यालोरी कम हुन सक्छ तर यसमा कुनै पोषण हुँदैन । यसमा कृत्रिम गुलियो पदार्थ जस्ता थप पदार्थहरू हुन्छन् । त्यसैले सोडा छोड्नुहोस् र पानी पिउनुहोस् । यदि तपाईंलाई धेरै सादा पानी पिउन समस्या भइरहेको छ भने स्वाद बढाउन ताजा फलफूल वा कागतीको रस पनि मिसाउनु सक्नुहुन्छ ।   प्रशोधित मासु खतरनाक  मिर्गौला स्वस्थ राख्न आफ्नो आहारबाट प्रशोधित मासु हटाउनुहोस् । प्रशोधित मासु सोडियम र नाइट्रेटको स्रोत पनि हुन सक्छ । जसले क्यान्सरको जोखिम पनि बढाउँछ ।  त्यसैले, ताजा र कम बोसो भएको मासु उत्पादनहरू छनौट गर्नु उपयुक्त हुन्छ ।  स्वादिष्ट मक्खन स्वस्थकर हुँदैन  बजारमा स्वादिष्ट मक्खन स्वास्थ्यका लागि हानिकारक हुन्छन् । बजारका बटरमा कोलेस्ट्रोल, क्यालोरी र स्याचुरेटेड फ्याट प्रशस्त मात्रामा पाइन्छ ।  यसमा प्रायः ट्रान्स फ्याट हुन्छ । त्यसैले घरमै बनाएको शुद्ध घ्यू, बटर वा जैतुनको तेल प्रयोग गर्दा स्वाथ्यका लागि लाभदायक हुन्छ । मेयोनेजबाट टाढा रहनुहोस् स्यान्डविच, बर्गर र फ्राइज जस्ता चीजहरूमा एक चम्चा मेयोनेज थप्दा तिनीहरूको स्वाद बढ्छ । तर के तपाईंलाई थाहा छ केवल एक चम्चा मेयोनेजमा १०३ क्यालोरी हुन्छ । यसमा फ्याट पनि उच्च हुन्छ । मेयोनेज पनि कम क्यालोरी र फ्याट सामग्रीको साथ उपलब्ध हुन्छ । तर यसमा सोडियम र चिनी उच्च हुन्छ । यसमा प्रोटिनको मात्रा धेरै हुन्छ र सलादसँग राम्रोसँग जान्छ । जमेको खाना विश्वभरका धेरै अध्ययनहरूले प्रशोधित खानाले टाइप २ मधुमेहको जोखिम बढाउँछ भन्ने देखाएको छ । जबकि फ्रोजन अर्थात् फ्रोजन पिज्जा, ग्रेभी जस्ता पूर्व–तयार गरिएका वस्तुहरूमा धेरै चिनी, सोडियम र बोसो हुन सक्छ।   सबै जमेका खानाहरू एकैनासका नहुने भए तापनि सम्भव भएसम्म ताजा र सम्पूर्ण खाना खानु राम्रो हुन्छ ।  जमेको खाना छनौट गर्दा पनि, लेबल ध्यानपूर्वक पढ्नुहोस् र कम सोडियम वा सोडियम नभएको जमेको खाना छनौट गर्नुहोस् ।

डेडिकेटेड र ट्रंकलाइन विवादः ६ उद्योगले बुझाए ३० लाखभन्दा बढी धरौटी

काठमाडौं । ६ वटा उद्योगले नेपाल विद्युत प्राधिकरणलाई धरौटीवापत ३० लाख ५७० रुपैयाँ ८० पैसा बुझाएका छन् । धरौटी बुझाएसँगै ६ वटा उद्योगको विद्युत लाइन पुनः सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनका अनुसार हिजो बुधबार चारवटा उद्योगको विद्युत लाइन जोडिएको थियो । त्यसैगरी, त्यसअघि कार्त्तिक ८ गते दुईवटा उद्योगले धरौटी बुझाएसँगै बिजुलीको लाइन जोडिएको थियो ।  प्रिमियम महसुलको बक्यौता रकम बुझाउने उद्योगहरूमा पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल, सिद्धार्थ पेट प्लान्ट, श्याम प्लाष्टिक, घराना फूड तथा गोयन्का फुड्स रहेका छन् । यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । यसअघि २५ वटा उद्योगको विद्युत लाइन काटिएको थियो । धरौटी रकम बुझाएलगत्तै प्राधिकरणले तत्काल बिजुलीको लाइन जडान गरिरहेको छ ।   १९ उद्योगहरूमध्ये केही उद्योगहरूले पनि बक्यौता रकम बुझाउन प्रक्रियामा रहेको र किस्ता तिर्न थालेपछि लाइन जोडिने प्राधिकरणले जानकारी दिएको छ । ‘हामीले उद्योगहरूलाई पैसा तिर्नुस्, लाइन जोडिन्छ भनेका छौं । पैसा तिरेपछि बिजुलीको लाइन जोडिन्छ,’ कार्यकारी निर्देशक सिलवालले विकासन्युजसँग भने ।

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल एनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीचएनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ)तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा तथा एनसीएचएलका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनपीएस–एनसीएसको पूर्वाधारको तयारीपश्चात् व्यवसायीक सञ्चालन गर्ने तयारीमा रहेको एनसीएचएलले हालै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि स्विच इन्टिग्रेट गर्न आवश्यक समन्वय र सहयोग गर्दे आएको छ । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ग्राहकहरुका लागि उक्त कार्ड अक्वायर र इस्यू गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ। एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई  थप उचाइँमा पुर्‍याउने अपेक्षा गरिएको छ । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले देशभरि रहेका १४ वटा शाखा, ४ विस्तारित काउन्टरहरु तथा २५ एटीएम टर्मिनलमार्फत ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

रुपन्देहीमा उत्पादन भएको फ्रेन्च फ्राइज अमेरिका निर्यात

काठमाडौं । रुपन्देहीमा उत्पादन भएको फ्रेन्च फ्राइज अमेरिका निर्यात भएको छ । क्वालिटी फुड प्रोडक्ट्सका सञ्चालक कृष्ण पौडेलको फस्ट च्वाईस फुड्स लिमिटेडबाट उत्पादित फ्रेन्च फ्राई मंगलबार (आज) भैरहवा भन्सार र कलकत्ता बन्दरगाह हुँदै अमेरिकाका लागि निर्यात भएको हो ।  रुपन्देहीको शुद्धोधन गाउँपालिकामा पाँच वर्षअघि स्थापना भएको फर्स्ट च्वाइस फुड्सले यसअघि भारतमा पनि निर्यात गर्दै आइरहेको थियो ।  आज भैरहवा भन्सार कार्यालयबाट दुईवटा कन्टेनर ४२ मेट्रिक टन फ्रेन्च फ्राइज बोकेर कोलकाता बन्दगाहका लागि छुटेको पौडेलले जानकारी दिए । उनले नेपाल र भारतबाहेक तेस्रो मुलुकमा स्वदेशमा उत्पादिन वस्तु पठाउन पाएकोमा खुसी व्यक्त गरे ।  पौडेलका अनुसार अमेरिकाको सम्बन्धित निकायले नेपाली आलुबाट बनेको फ्रेन्च फ्राइजको गुणस्तर चेकजाँच गरिसकेको छ । अब हरेक साता अमेरिकाका लागि भैरहवा भन्सारबाट फ्रेन्च फ्राइज निर्यात हुने उनले बताए । फर्स्ट च्वाइस फुड्स २ अर्ब लगानीमा सञ्चालनमा आएको हो । यसले नेपालका २६ जिल्लाका करिब ३५ हजार किसानबाट आलु खरिद गर्छ ।   करिब ५ बिघा क्षेत्रफलमा ६० हजार स्क्वायर फिटमा फैलिएको उद्योगले यो वर्ष किसानबाट करिब २ हजार मेट्रिक टन आलु उद्योगले खरिद गरेको छ ।  उद्योगले किसानबाट वार्षिक ३० हजार मेट्रिक टन आलु खरिद गरी प्रशोधन गरी विभिन्न परिकार बनाउने लक्ष्य लिएको पौडेलले जानकारी दिए । 

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय

काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय नियुक्त भएका छन् । महाशाखा निर्देशक रहेका डा. विवेककुमार लाल भ्रष्ट्राचारको अभियोगमा विशेष अदालतमा मुद्धा दायर भएपछि उनी  निलम्बनमा परेका थिए । विवेककुमार निलम्बनपछि रिक्त निर्देशक पदमा डा. उपाध्याय नियुक्त भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. उपाध्यायलाई महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिएको हो । डा. उपाध्याय वीर अस्पतालमा कार्यरत थिए ।

डेडिकेटेड ट्रंकलाईन विवादमा सरकारले उद्योगीको प्रस्तावमा सहमति जनायो : चन्द्र ढकाल

काठमाडौं । सरकारले डेडिकेटेड ट्रंक लाईन विवाद समाधान गर्ने व्यवसायीहरुको प्रस्तावमा सहमती जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरुसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमती भएको दाबी गरेका हुन् ।  करिव साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमती जुटेको उनको भनाई थियो । अध्यक्ष ढकालकाअनुसार उद्योगीहरुको सहमतीमा २८ किस्तामा पहिलो किस्तालाई धरौटीको रुपमा मान्ने सहमती गरिएको छ ।  उनले भने, ‘हिजो जुन डिसिजन भयो । हाम्रो जुन एजेण्डा थियो, त्यो एजेण्डामा सबै जनालाई ल्याउन गाह्रै पनि भयो । त्यही भएर दुई, साँढे २ घण्टा मिटिङ लम्विएको पनि थियो ।  तथापि हामीहरुकै एजेण्डाअनुसार डिसिजन भएर जुन सहमती भयो । त्यसका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यु, माननीय उद्योगमन्त्रीज्यू, माननीय ऊर्जामन्त्रीज्यु, मुख्यसचिवज्युलगायत सबै नेपाल सरकारको विशिष्ट पदाधिकारीहरु र नेपाल सरकारलाई म धेरैधेरै धन्यवाद पनि दिन चाहन्छु ।’ नेपाल विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीको रुपमा उद्योगीहरुले बुझाएपछि काटिएको विद्युतको लाईन जोड्ने प्रश्तावमा सरकार सहमतीभएसँगै यो विवाद समाधान हुने अवस्थामा पुगेको महासंघले जनाएको छ ।   

३ महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय १२ अर्ब माथि, सलिकोले शिखरलाई उछिन्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् ।  सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीहरूले असोज मसान्तसम्ममा ७ लाख ८८ हजार ६१३ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । असोजमा मात्रै बीमा कम्पनीहरूले २ लाख ९० हजार ३०५ वटा पोलिसी जारी गरेर ४ अर्ब ६३ करोड १४ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । असोज मसान्तसम्ममा बीमा कम्पनीहरूमध्ये सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले यस अवधिमा ६५ हजार १०२ पोलिसी बिक्री गरेर १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । असोजमा मात्रै सलिकोले ६० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। दोस्रो धेरै व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले असोजसम्ममा ७९ हजार ४४० पोलिसी बिक्री गरेर १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  तेस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनी  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७० हजार ६३० वटा पोलिसी बिक्री गरेर १ अर्ब २२ करोड ४३ लाख रुपैयाँको व्यवसाय आर्जन गरेको छ ।  त्यसैगरी, तीन महिनाको अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ८८ करोड २९ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ७८ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ६८ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५० करोड ५६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  लघु निर्जीवन बीमा कम्पनीहरूमा नेपाल माइक्रोले ७ करोड तीन लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ६ करोड ९९ लाख रुपैयाँ, स्टार माइक्रोले ५ करोड २२ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ६ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

आतंकवादी वित्तीयकरण रोकथामका लागि सिटिजन लाइफको लुम्बिनीमा तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी दोस्रो तालिम संचालन गरेको छ । यस आर्थिक वर्ष २०८१/८२ मा आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो ।  पहिलो तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्तिक १४ गते, भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न शाखाबाट आएका अभिकर्ता, शाखा प्रबन्धक तथा कर्मचारी गरी कुल २२५ जना सहभागी रहेका थिए । कार्यक्रममा कम्पनीका प्रशिक्षण विभागका प्रमुख कुबेर पाठकले प्रशिक्षण सञ्चालन गरेका थिए । तालिममार्फत वित्तीय लगानी निवारण सम्बन्धी कानूनी प्रावधानहरू, बीमा क्षेत्रमा यसको प्रभाव, व्यवहारमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो । साथै, गैरकानुनी कमाइ तथा आतंककारी क्रियाकलापबाट संकलित रकमलाई बीमाको माध्यमबाट सेतो धन बनाउने प्रयासलाई कसरी नियन्त्रण गर्ने, त्यसका प्रक्रिया र रिपोर्टिङ प्रणालीबारे समेत व्यावहारिक सन्दर्भ सहित चर्चा गरिएको थियो । कम्पनीका अनुसार यस तालिमको उद्देश्य अभिकर्ता, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम र पारदर्शी कारोवार संस्कृतिको प्रवद्र्धनमा थप सचेत र सक्षम बनाउनु रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै ग्राहक तथा नियामक निकायप्रति जिम्मेवार र विश्वासिलो बीमा सेवा प्रवाह गर्ने दायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।