विकासन्युज

नवलपरासीको दाउन्ने खण्ड सडक २ महिनासम्म एकतर्फी मात्र सञ्चालन हुने

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड २ महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ । नारायणघाट-बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले सोमबार सूचना जारी गर्दै दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले सो कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार यस खण्डमा कल्भर्ट निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण भइरहेकाले दुईतर्फी सवारी सञ्चालन गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो । आयोजना निर्देशनालयका अनुसार आगामी पुस १५ गतेसम्मका लागि दाउन्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो । दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ । केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको प्रहरी उपरीक्षक खड्काले बताए ।  अझै पनि उक्त खण्डमा सहज रूपमा यातायात सञ्चालनमा समस्या हुँदै आएको भन्दै उनले आगामी दिनमा पानी पर्ने बित्तिकै समस्या सिर्जना हुने अवस्था रहेकाले आयोजनाले कल्भर्ट निर्माण अवधिसम्म एकतर्फी सडक सञ्चालन गर्ने उनले जानकारी दिए । दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले सबैलाई अनुरोध गरे । सडकको अवस्था बुझेर अवरोध भएका खण्डमा वैकल्पिक बाटो प्रयोग गर्न उनले यात्रुलाई अनुरोध गरे । दाउन्ने खण्डमा सधैँ जसो सवारीको जाम लाग्ने गरेकामा एकतर्फी हुँदा थप समस्या हुने यात्रुको गुनासो छ । यथाशीघ्र काम सम्पन्न गरी सडक सहज बनाउन लाग्नुपर्ने यात्रुको सुझाव छ ।  सडक अवरोध भएको अवस्थामा सवारी साधन नारायणगढ-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा-बुटवल वा गैँडाकोट कालीगण्डकी चोक-रामपुर-पीपलडाँडा-पाल्पा-बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्ग्रे सवारीले दुम्किबास-डाँडाजोर-डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्नसक्ने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।  नारायणगढ-बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ । अन्य क्षेत्रमा सडक विस्तारको काममा प्रगति भए पनि दाउन्ने क्षेत्रमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा आवागमन समस्या हुनुका साथै यात्रुले सास्ती खेप्दै आएका छन् ।

मष्टा ग्रुपका जीवन चलाउने विरुद्ध मुद्दा दायर, २ अर्ब रुपैयाँ बिगो दाबी

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउने विरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौंमा सो कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको हो । चलाउनेले २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ । अभियोगमा खरिदको कूल मूल्य समेत गर्दा हुन आउने कूल रकम १ अर्ब ४५ करोड ५४ लाख ३ हजार ९४८ रुपैयाँ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँका दरले हुन आउने ५८ करोड ५६ लाख ९ हजार ५६८ रुपैयाँ रहेको छ । विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा ३ करोड ५२ लाख गरी कूल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । 

पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो छ आजको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी पहाडी भागका एक/दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काँकरभिट्टाबाट ३.३६ अर्बको कृषिजन्य वस्तु निर्यात, सबैभन्दा धेरै अलैंची

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसो लगायत रहेका छन् । उक्त ३ महिनामा सबैभन्दा धेरै अलैंची १ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ, चिया ७५ करोड ६६ लाख रुपैयाँ, प्लाइउड २७ करोड ७४ लाख रुपैयाँ, भेनियर २७ करोड २८ लाख रुपैयाँ, अम्लिसो १९ करोड ५९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार अदुवा ११ करोड ९० लाख रुपैयाँ, ताजा तरकारी ९ करोड ४७ लाख रुपैयाँ, जडीबुटी १ करोड २४ लाख रुपैयाँ, मसुरो दाल ७ करोड ४१ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको कृषिजन्य माल वस्तु आयात भएको छ ।  आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् ।  क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो ६ करोड २० लाख रुपैयाँ, चामल ४ करोड ९६ लाख रुपैयाँ, तरकारी ३ करोड ६ लाख रुपैयाँ बराबरको आयात भएको छ । त्यसैगरी, ताजा फलफूल २३ करोड ६७ लाख रुपैयाँ, लसुन १७ करोड ९९ लाख रुपैयाँ, आलु ३० करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारी ट्राफिक नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारी साधनलाई नियन्त्रणमा लिन थालेको छ । सोमबार ट्राफिक प्रहरीले जाँच पास नभएका तथा सडकमा अत्यधिक धुवाँ फाल्दै गुडिरहेका ३७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा सवारी जाँच पास नभएका तथा अत्यधिक धुवाँ फाल्ने भाँडाका बस १६, पिकअप भ्यान १४, स्कुल बस ४, व्यक्तिगत कार २ र भाडाका कार १ गरी ३७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।  ‘अत्यधिक धुवाँ फाल्ने र सवारी जाँच पास नभएका गरी ३७ सवारीसाधन नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार अवस्था ठीक नभएको सवारी साधन चलाउन नहुने कसुरमा कारबाही हुन्छ,’ उनले भने । वायु प्रदूषण नियन्त्रण गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्ला दिनमा कडाइका साथ अनुगमन अभियान सञ्चालन गरिरहेको र सोही क्रममा सोमबार ३७ सवारी साधन नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । ‘अत्यधिक धुवाँ फाल्ने सवारी साधन चलाउँदा वातावरण प्रदूषित हुन्छ, जसको असर सर्वसाधारणको स्वास्थ्यमा पर्छ । त्यस्तै, मर्मत नभएका सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले मर्मत गरी दुरुस्त अवस्थामा मात्रै सञ्चालन गर्न सबै चालक र सवारी मालिकलाई मेरो आग्रह छ,’ उनले भने ।  उनले सवारी चालकलाई सवारीको प्राविधिक अवस्था समय समयमा परीक्षण गर्न र जाँच पास अवधि समाप्त हुन नदिन आग्रह गरे । सोमबार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक मर्मत कार्य सम्पन्न गरी तोकिएको जरिवाना तिरेपछि मात्रै कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले धुवाँ फाल्ने सवारीसाधन र जाँच पास नभएका गाडी विरुद्ध नियमित रूपमा कारबाही गर्दै आएको छ । ट्राफिक प्रहरीले पछिल्लो समय वायु प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै, पेट्रोल र डिजेलबाट चल्ने पुराना सवारी साधनको अवस्था परीक्षण, अनुगमन तथा चालक सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । साथै, सवारी जाँच पास तथा बिमा नवीकरणका विषयमा चालकलाई जानकारी मूलक अभियान सञ्चालन गरिरहेको छ । वातावरणविदका अनुसार उपत्यकामा वायु प्रदूषणका प्रमुख कारण अत्यधिक धुवाँ फाल्ने पुराना सवारीसाधन हुन् । यसले खासगरी बालबालिका, वृद्धवृद्धा र दम, रोगीमा स्वास्थ्य समस्या बढाउने गरेको पाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धुवाँ परीक्षणलाई अझ प्रभावकारी बनाउन मोबाइल इमिसन टेस्ट युनिट थप गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता चेकिङ अभियानलाई निरन्तरता दिइनेछ र नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधन माथि थप कडाइ गरिनेछ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सञ्चालन र सुरक्षित बनाउन ट्राफिक प्रहरीले सर्वसाधारणसँग सहकार्यको पनि आह्वान गरेको छ ।

एउटै वडामा ५ वटा​​​​​​​ हाइड्रो, घरघरमा रोजगारी, विदेशिएकाहरु गाउँ फर्किन थाले

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका ५ वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३.३ मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३.१४ मेगावाटका २ वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण-४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार ५ मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६.३ मेगावाट क्षमतामध्ये कालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए । निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताए । ‘हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ । अवसर र रोजगार खोज्दै सहर बजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ,’ उनले भने । गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्वस्थानीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेण्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, सेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए ।  जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा माविले हाइड्रो इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमाना स्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप २ वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । निलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुम खोलासम्म पहुँच मार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताए । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवर्द्धकले सेयर निष्काशनको प्रक्रियामा छन् । कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेसन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेसनबाट हाल घलेम्दी, म्रिस्ती र थापा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् । म्याग्दीको अन्नपूर्ण-३ दाना र पर्वतको कुश्मा-२ खुर्कोटमा सबस्टेसन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्षसमेत रहेका घलेम्दी खोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए । 

पञ्चकन्या, सिद्धार्थ र श्याम उद्योगले तिरे बक्यौता रकम, काटिएको विद्युत लाइन जडान

काठमाडौं । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित ४ उद्योगले  प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।  पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार रुपैयाँ, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार रुपैयाँ, सिद्धार्थ पेटप्लान्टको १ करोड  ८३ लाख रुपैयाँ र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरूले पहिलो किस्ता तिरेका छन् ।

कांग्रेसमा बढ्दै तानातान : संस्थापन पक्षले मिति प्रस्ताव गर्ने, विशेष महाधिवेशन पक्ष बहिष्कारको तयारीमा

काठमाडौं । नेपाली कांग्रेसभित्र फेरि एकपटक आन्तरिक तानातान तीव्र बन्दै गएको छ । पार्टीको संस्थापन पक्षका नेताहरूले १५औं महाधिवेशनको मिति तोक्ने प्रस्ताव तयार पारेका छन् ।  एक केन्द्रीय सदस्यले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमा पेश गर्ने तयारी गरेको जनाएका छन् । सोमबार काठमाडौंमा बसेको संस्थापन पक्षीय नेताहरूको बैठकले बहुमत केन्द्रीय सदस्यहरूको समर्थनसहित महाधिवेशनको मिति प्रस्ताव तयार गर्ने निर्णय गरेको हो ।   स्रोतका अनुसार संस्थापन पक्षले आम निर्वाचनपछि वैशाख २५ मा पार्टीको महाधिवेशन गर्नेगरी मिति तोक्ने प्रस्तावको तयारी गरेको छ।  पार्टीका मधेस प्रदेश अध्यक्ष श्रीकृष्ण यादवका अनुसार आम निर्वाचनको तयारी गर्नुपर्ने बेलामा पार्टीको महाधिवेशनमा लाग्नु पार्टीका लागि हितकर हुँदैन ।  त्यसैले आम निर्वाचन पछाडि महाधिवेशन गर्नु पार्टी र देशका लागि राम्रो नहुने उनको भनाइ छ ।  कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार पार्टीका पदाधिकारी र कार्यसम्पादन समितिले अझैसम्म महाधिवेशनको कार्यतालिका नल्याएकोले निकासको खोजीस्वरूप संस्थापन पक्षले यो कदम अघि सारेको हो । ‘हामीले राख्ने प्रस्ताव नै अन्तिम हुनेछ र त्यसैअनुसार निर्णय हुनेछ भन्ने हाम्रो विश्वास छ,’ महर भन्छन् । उनका अनुसार प्रस्ताव नेपाली कांग्रेसको विधानअनुसार अघि बढाइनेछ र पार्टीलाई स्पष्ट दिशामा लैजाने प्रयासस्वरूप कदमहरु चालिनेछ । अर्कोतर्फ विशेष महाधिवेशन पक्षले भने असन्तुष्टि जनाउँदै मंगलबारको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने संकेत दिएको छ ।  विधानले तोकेअनुसार मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका नल्याएर छलकपटको बाटो अबलम्वन गर्न थालिएको भन्दै इतर पक्ष रुष्ट भएको हो । जगदिशनरसिंह केसीलगायत नेताहरूले जानकारी दिएअनुसार सो समूहले मंगलबार दिउँसो साढे १२ बजे आफ्नो भेला आयोजना गर्न लागेको छ ।  नयाँबानेश्वरस्थित थापागाउँको एक पार्टी प्यालेसमा उक्त समूहको भेला आयोजना गरिएको आयोजक मध्येका एक केसीले जानकारी दिए ।