एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुँयाल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुँयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले फुँयाललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै कार्यभार समाल्नेछन् ।
स्वास्थ्य मन्त्रालयका विभिन्न महाशाखामा निर्देशक हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहत रहेका विभिन्न महाशाखा तथा केन्द्रका प्रमुखको जिम्मेवारी फेर गरेको छ । स्वास्थ्यमन्त्रीको रुपमा आएकी मन्त्री डा. सुधा शर्मा गौतमले मंगलबार नयाँ तथा केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी हुन् । जस अन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशकमा वीर अस्पतालमा कार्यरत डा. मदन कुमार उपाध्ययलाई जिम्मेवारी दिएको छ । यसअघिका निर्देशक डा. विवेकलाल कर्ण निलम्बनमा परेपछि रिक्त पदमा उपाध्यायलाई पठाएको छ । यस्तै देवकोटाले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झालाई कोशी अस्पतालमा पठाएको छ । कोशी अस्पतालको निर्देशक डा. रुणा झालाई आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत गराएर भन्द्रभाललाई निर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई जिम्मेवारी दिएको छ । मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्वको पहिलो उड्ने कार कारखानाद्वारा परीक्षण उत्पादन शुरु
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङ्गको उडान कार संवद्ध एक्सपेङ्ग एइरोथले ठूलो मात्रामा परीक्षण उत्पादन शुरु गरेको छ । यो अर्को पुस्ताको यातायातको व्यावसायीकरणमा एक कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको राजधानी गुआङ्झाउको हुआङपु जिल्लामा अवस्थित, १ लाख २० हजार वर्ग मिटरको प्लान्टले पहिले नै आफ्नो मोड्युलर उडान कार ल्याण्ड एयरक्राफ्ट क्यारियरको पहिलो छुट्याउन सकिने विद्युतीय विमान रोल आउट गरिसकेको छ । यो सुविधा १० हजार छुट्याउन सकिने विमान मोड्युलहरूको वार्षिक उत्पादन क्षमताको लागि डिजाइन गरिएको छ । जसको प्रारम्भिक क्षमता ५ हजार युनिट छ । यसको कुनै पनि कारखानाको सबैभन्दा ठूलो उत्पादन क्षमता छ । पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रत्येक ३० मिनेटमा एउटा विमान जम्मा गर्न सक्षम हुनेछ । आफ्नो उत्पादन रिलीज भएदेखि लगभग ५ हजार उडान कारहरूको लागि अर्डर सुरक्षित गरेको छ ।
आईक्यान र सीआईबीबीच संस्थागत आर्थिक अपराध अनुसन्धान तथा नियन्त्रणका लागि समझदारी
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले संस्थागत आर्थिक अपराधविरुद्ध सहकार्य गर्ने भएका छन् । सोको लागि दुवै संस्थाले मंगलबार संस्थागत आर्थिक अपराध विरुद्ध सहकार्यका लागि पारस्परिक समझदारी–पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । यो समझदारीको उद्देश्य संस्थागत आर्थिक अपराध अनुसन्धान गर्नको लागि ज्ञान तथा दक्षता अभिवृद्धि गर्नु तथा संस्था, ब्युरोबीच लेखापरीक्षणसंग सम्बन्धित विषयमा सूचना आदानप्रदान गरी दुई निकायबीच समन्वय र सहकार्य स्थापित गर्नु, नेपाल चार्टर्ड एकाउन्टेन्टस ऐन, २०५३ बमोजिम गर्ने अनुगमन लगायत नियमनसम्बन्धी कार्यमा आवश्यकताअनुसार ब्युरोले संस्थालाई सहयोग उपलब्ध गराउनु, नक्कली लेखापरीक्षक विरुद्ध कारवाही गर्नु तथा संस्थागत वित्तीय ठगी, आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित विषयमा सार्वजनिक जनचेतना अभिवृद्धि गर्नको लागि आवश्यक समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्नु रहेको समझदारीपत्रमा हस्ताक्षर गरेपछि संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारीअन्तर्गत आर्थिक तथा वित्तीय अपराध अनुसन्धानको सिलसिलामा ब्युरोबाट विषयसँग सम्बन्धित प्राविधिक तथा विशेषज्ञताको लागि माग भई आएमा संस्थाले ब्युरोलाई प्राविधिक तथा विशेषज्ञसम्बन्धी सहयोग गर्ने तथा संस्थाले सञ्चालन गर्ने फरेन्सिक अकाउन्टिङ एन्ड फ्रडडिटेक्सन (एफएएफडी) सर्टिफिकेसन कोर्समा ब्युरोका कर्मचारीलाई संलग्न गरी कर्मचारीहरुको ज्ञान तथा दक्षता अभिवृद्धि गर्नको लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरिएको छ । संस्थाका सदस्यविरुद्ध कुनै जाहेरी वा उजुरी परेको अवस्थामा सो सम्बन्धमा छानबिन गर्दा जाहेरी वा उजुरी परेका संस्थाका सदस्यले लेखापरीक्षण गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स, नियमावली, २०६१, संस्थाले जारी गरेको लेखापरीक्षणमान र लेखाव्यवसायी सदस्यहरुको लागि संस्थाले जारी गरेको आचार संहिताबमोजिम संस्थाको क्षेत्राधिकारभित्र पर्ने भए ब्युरोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आवश्यक समन्वय गर्ने तथा संस्थाका सदस्यविरुद्ध लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित विषयमा संस्थामा परेको उजुरीउपर छानविन गर्ने क्रममा प्रचलित कानुन बमोजिम नेपाल प्रहरीको क्षेत्राधिकारभित्र पर्ने विषय भएमा थप छानविन गरी अनसुन्धान गर्न संस्थाले आवश्यक कागजात सहितको जानकारी ब्युरोलाई गराउने समझदारी भएको छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा आइक्यानका अध्यक्ष तथा सिआईबीका प्रमुखले वर्तमान समयमा संस्थागत वित्तीय अपराधहरु व्यापक मात्रामा बढ्दै गएकोले सोको अनुसन्धान तथा नियन्त्रण गर्न आवश्यक ज्ञान सीप तथा दक्षता अभिवृद्धि गर्न, गैरकानुनी वा अनाधिकृत रुपमा हुने लेखापरीक्षण वा लेखा व्यवसायलाई नियन्त्रण गर्न तथा संस्था र व्युरोबीच आपसी सूचना आदानप्रदानमा यस समझदारीले अहं भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । दुवै निकायहरु बीचको यस समझदारी पत्रको प्रभावकारी रुपमा कार्यान्वयनबाट नेपालको वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण, लेखापरीक्षण क्षेत्रमा रहेको अवाञ्छित क्रियाकलापहरु नियन्त्रण गर्न सहयोग पुग्ने तथा आइक्यानका सदस्यहरुको हितको संरक्षण हुने विश्वास गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघामात्र भोगचलन गर्न पाएको छ । तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक सङ्घ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको उपकुलपति पन्तले दुखेसो गरे । हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकालाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले हटाउन समस्या भएको हो ।
७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति, १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने
काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले विभिन्न ७ बुँदे सहमति गरेका छन् । नेपाल-भारत सह-सचिव स्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकले विभिन्न ७ बुँदे सहमति गरेका हुन् । नेपालबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारतबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह-अध्यक्षतामा कात्तिक १७ र १८ गते पोखरामा बैठक सम्पन्न भएको थियो । उक्त बैठकमा दुवै देश बीचको विद्युत आदान-प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तर्देशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको थियो । यी मुद्दामा सहमति भयो १. चमेलिया-जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको । दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउने । २. नयाँ बुटवल-गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउने । उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको । ३. ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो । जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको । ४. निजगढ-मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डीपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर तयार गर्ने । ५. लमही-लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने । ६. ढल्केवर-मुजफ्फरपुर ४०० के.भी. लाइनको रिकण्डक्टरिङमा उच्च तापक्रम सहनसक्ने प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अघि बढाउने । ७. रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने ।
आजसम्म सेयरधनी बने हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश पाइने
काठमाडौं । हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कात्तिक २० गते बुकक्लोज गर्दैछ । त्यसैले कात्तिक आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
एसवाई प्यानलको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । एसवाई प्यानल नेपालले आज कात्तिक १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा कात्तिक २३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए मंसिर ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।