समयअनुकूल नीति निर्माण गरी स्वच्छ ऊर्जाको विकासमा तीव्र गतिमा अघि बढ्छौं : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा पहुँच सबैको अधिकार भएको स्पष्ट पार्दै देशलाई स्वच्छ ऊर्जामा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रवार मन्त्रालयमा पदबहाली गर्दै मन्त्री श्रेष्ठले कर्मचारीलाई स्पष्ट निर्देशन दिँदै भने, ‘२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग तीव्र रूपमा बढेको छ। समयअनुकूल नीति निर्माण गरेर हामी स्वच्छ ऊर्जाको विकासमा तीव्र गतिमा अघि बढ्छौं र यसबाट कोही पनि वञ्चित हुन नपरोस् ।’ ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन अर्थ मन्त्रालयसँग घनिष्ठ समन्वय गरिने उनले बताए । साथै, अन्तरमन्त्रालय सहकार्यमार्फत ऊर्जा र सिँचाइ क्षेत्रलाई समग्र रूपमा सुदृढ बनाइने उनको योजना छ । कृषि क्षेत्रमा देखिएको पानी अभावको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै उनले खेतीयोग्य जमिन बाँझो रहने अवस्थाको अन्त्य गरिने बताएका छन् । सहरी तथा ग्रामीण क्षेत्रमा पानीको दिगो व्यवस्थापनका लागि ‘रिचार्ज सिस्टम’ विकास गर्न विशेष टोली गठन गरिने पनि उनले घोषणा गरे । वैकल्पिक ऊर्जाको विस्तारलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई थप सशक्त बनाइने उल्लेख गरे । ‘यो अनुसन्धानको युग हो, त्यसैले ऊर्जा र सिँचाइ क्षेत्रमा नयाँ अनुसन्धान र नवप्रवर्तन अपरिहार्य छ,’ उनले भने । सुशासनलाई प्राथमिकतामा राख्दै मन्त्रालयभित्र सुशासन समिति गठन गरिने र वित्तीय अनुशासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पारे । मन्त्रालयमा आएका गुनासा तथा चुनौतीहरूको गहिरो अध्ययन गरेर समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाए । पारदर्शितालाई प्रवर्द्धन गर्न प्रत्येक हप्ता मन्त्रालयका कामकारबाहीबारे सञ्चारमाध्यममार्फत जानकारी सार्वजनिक गरिने व्यवस्था गर्न उनले कर्मचारीलाई निर्देशन दिए । मन्त्री श्रेष्ठलाई मन्त्रालयमा ऊर्जा सचिव चिरञ्जीवी चटौत, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रले स्वागत गर्दै मन्त्रालयका गतिविधिबारे जानकारी गराएका थिए ।
सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित अवतरण
काठमाडौ । दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सोही ठाउँमा अवतरण भएको पाइएको छ । मुस्ताङ एयरका सेप्टी म्यानेजर प्रकाश मानन्धरका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो । यसबारे पूर्ण जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए । कलसाइन एन–एएनओ हेलिकप्टरमा पाँच जना सवार उक्त हेलिकप्टर आज मध्यान्हदेखि सम्पर्कविहीन भएको थियो । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टरमा हाइड्रोपावरका टिम सवार थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वमा पर्छ । उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार रहेका थिए । सम्पर्कविहीन हेलिकप्टर पाइलट सुरज थापाले उडाएका थिए
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारले गत भदौको २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका नवनियुक्त प्रवक्ता तथा शिक्षा सस्मित पोखरेलले उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई छानबिन प्रतिवेदन बुझाइसकेको छ । अन्तरिम सरकारले सो प्रतिवेदन सार्वजनिक पनि गरिसकेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको गरेको छ । शुक्रबार दूतावासले सामाजिक सञ्जालमा शुभकामना दिँदै नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई दिएको हो । ‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ,’ दूतावासले उल्लेख गरेको छ ।
१९७ औं दिनमा घर फर्किन् सुशीला कार्की, कुकुरले गर्यो स्वागत
काठमाडौं । निर्वतमान प्रधानमन्त्री सुशीला कार्की १९७ दिनमा आफ्नो निवास पुगेकी छन् । उनले गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ खाएकी थिइन् । जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्री बनेकी हुन् । मुलुकले नयाँ प्रधानमन्त्री पाएपछि उनी आफ्नो निवासमा पुगेकी हुन् । कार्कीले सामाजिक सञ्जालमा राखेको फोटोमा कुकुरले उनलाई स्वागत गरेको जस्तो देखिन्छ । कार्कीसहितको टिमले कुकुरलाई नै हेरिरहेका छन् । निवर्तमान प्रधानमन्त्री कार्कीले लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको बताएकी छन् । ‘आज मेरो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो। हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौं,’ उनले भनिन्, ‘लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ। अब जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा म निश्चिन्त भएकी छु ।’ नयाँ पुस्ताको ऊर्जावान नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्याउने विश्वास पनि व्यक्त गरेकी छन्।
सरकारको प्रवक्ता बने शिक्षामन्त्री पोखरेल
काठमाडौं । सरकारको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेल बनेका छन् । आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गरेकाे हाे ।
स्वास्थ्य जनशक्तिको पलायन रोक्ने नवनियुक्त स्वास्थ्यमन्त्री मेहताको उद्घोष
काठमाडौं । स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले पदभार ग्रहण गरेकी छिन् । शुक्रबार मन्त्रीको सपथ लिएलगत्तै स्वास्थ्य मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्। तर उनले कुनै निर्णय भने गरेकी छैनन् । मेहताले स्वास्थ्य जनशक्ति विदेश जाने प्रणालीलाई रोक्न पहल गर्ने बताइन् । अहिले चिकित्सक नर्सदेखि स्वास्थ्यका अधिकांश विधाका जनशक्ति विदेश पलायन हुनेक्रम रहेकाले कसरी रोक्न सकिन्छ भन्ने विषयमा पहल गर्ने मेहताले जानकारी दिइन् । नर्स पेशाबाट मन्त्री बनेकी मेहताले नर्सहरूको समस्या नजिकबाट नियालेको र आफैले समेत भोगेको बताउँदै नर्सका समस्या समाधान गर्न लाग्ने बताइन् । उनले स्वास्थ्य सेवा नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि सक्दो प्रयास गर्ने बताएकी छिन् ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ । पदभार ग्रहण सकी नवनियुक्त मन्त्रीहरू बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेका छन् । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूलाई आजै शपथ खुवाएका थिए ।