लाङटाङ क्षेत्रमा हेलिकप्टर हरायो
काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकप्टर हराएको बुझिएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले उक्त हेलिकप्टर हराएको पुष्टि गरे । यसबारे थप विवरण प्राप्त आउन बाँकी छ । कलसाइन एन–एनओ हेलिकप्टर सम्पर्कविहिन भएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले चलाएका थिए । हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
क्याबिनेट बैठकअघि प्रधानमन्त्री बालेन र रविबीच छलफल
काठमाडौं । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुको शपथ ग्रहणपछि पहिलो मन्त्रिपरिषद बैठक आजै बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरू आउन थालेका छन् । अहिले बालेन र रविबीच प्रधानमन्त्री कार्यालयभित्रै छलफल भइरहेको बुझिएको छ ।
कृषिमन्त्री चौधरीले गरिन् पदभार ग्रहण
काठमाडौ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उहाँले पदबहाली गरेकी हुन् । मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरे । कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ भने ५० प्रतिशत जनशक्ति यस क्षेत्रमा संलग्न छन् । हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराए । त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताईन् ।
गुरुका कारण ‘सुधन बने, अहिले ‘गृहमन्त्री’
काठमाडौं । ‘गुरुलाई ढोग्थें । सम्मान गर्ने बानी पहिलेदेखि नै थियो । गुरुको कारण बनेको सुधन हुँ,’ करिब तीन महिनाअघि सुधन गुरुङले एक टीभी अन्तर्वार्ताका क्रममा भनेका थिए । तिनै गुरुङ आज मुलुकको गृहमन्त्री बनेका छन् । गुरुले समाज र राष्ट्रको महत्त्व बुझाउने तिनै गुरुङले आजदेखि गृह प्रशासनको बागडोर सम्हाल्ने छन् । गुरुङ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा गोरखा १ बाट २९ हजार ८९६ मत पाएर विजयी भएका थिए । गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन् । यहीँ आन्दोलनले उनको जीवनमा राजनीतिक परिवर्तन ल्याएको हो गुरुङको सक्रियता आन्दोलनपछि पनि उत्तिकै थियो । उनले सरकार सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार बनाउन अहम भूमिका खेलेका थिए । कार्की प्रधानमन्त्री बनेपछि उनले राष्ट्रपति कार्यालयमा खुट्टासमेत ढोगेका थिए। कार्की नेतृत्वको सरकारमा उनको हस्तक्षेपकारी भूमिका थियो । गुरुङको जन्म गोरखाको दुर्गम चुमनुम्रीमा २०४४ सालमा सामान्य परिवारमा भएको थियो ।आमासँग सम्बन्धविच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत गए । तीनजना काकामध्ये कान्छा काकाले सुधनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका हुन् । पढाइमा भने सुधन सफल हुन सकेनन् । कक्षा १० मा असफल भएपछि उनले पढाइ छाडे । सुरुमा कल सेन्टरमा काम गरेर सुधनले गुजारा चलाए । पाँच–छ वर्षपछि उनी ठमेलका क्लब र पार्टीहरूमा डीजे बने । ‘डीजे सुधन’ नामले ठमेलका क्लबबीच उनी परिचित भए । ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए । उनले ‘हामी नेपाल’ नामको गैरसरकारी संस्था स्थापना गरे । यो संस्थाले २०७२ को भूकम्प, कोभिड महामारीमा काम गरेको थियो । विशेषगरी यसले युवा सशक्तिकरणमा काम गर्छ । सुधनको सम्पर्क राजनीतिदेखि व्यवसायीसम्म, विदेशी पाहुनादेखि एनजीओसम्म थियो। २०७२ सालको विनाशकारी भूकम्पमा वीर अस्पताल र ट्रमा सेन्टरमा शव र घाइतेको भीड बढ्दा गुरुङ उद्धारमा सक्रिय थिए । उनले स्वयंसेवक परिचालन गरी अस्पताललाई सहज बनाए । त्यहीँबाट उनले ‘सामाजिक अभियन्ता’को परिचय बनाएका हुन् । गुरुङ आफूलाई सामाजिक सेवामा आफ्नै खर्च गर्ने र पारदर्शितामा जोड दिन चाहन्छन् ।
घुस खुवाउने र लाइन लाग्नु पर्ने बाध्यता अब अन्त्य हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारमुक्त र सहज सेवा प्रवाहको प्रतिबद्धता व्यक्त गरेका छन् । डा. वाग्लेले शुक्रबार पदभार ग्रहण गर्दै घुस खुवाउन नपर्ने र लाइन बस्न नपर्ने गरि सेवा प्रवाह हुने प्रतिवद्धता गरेका हुन् । पदभार सम्हाल्दै उनले सङ्लो नेतृत्व भए कर्मचारीतन्त्र पनि सहज रूपमा सञ्चालन हुने बताए । ‘कानुनको इमानदार कार्यान्वयन नहुँदा विगतदेखि समस्या देखिएका हुन्,’ उनले भने, ‘अब त्यसलाई सुधारेर जनतालाई सहज सेवा दिनुपर्छ ।’ उनले सरकारी सेवामा हुने ढिलासुस्ती र अनियमितता अन्त्य गर्ने बताए । ‘घुस खुवाउन नपर्ने, लाइन लाग्नु नपर्ने गरी सेवा दिनेछौं,’ उनले भने । अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई निहित स्वार्थका काम नगर्न निर्देशन दिँदै लोकसेवा आयोग पास गर्दा देश बनाउने उद्देश्यले लेखिएका निबन्ध सम्झेर काम गर्न आग्रह गरे । ‘जसरी परीक्षा दिँदा देश बनाउने सपना देख्नुभयो, अब त्यसलाई व्यवहारमा उतार्ने बेला आएको छ,’ उनले भने । देशको अर्थतन्त्र सुधारतर्फ उन्मुख भए पनि अझै लयमा ल्याउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । सकारात्मक सोच र स्पष्ट नीति भए राज्य गरिब भए पनि देश सबल बन्न सक्ने उनको भनाइ छ । उनले वास्तविक आर्थिक रूपान्तरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए । भूपरिवेष्ठित मुलुकहरूका लागि आवश्यक क्षेत्रमा उदारता नदेखिएको उल्लेख गर्दै नीति सुधारको संकेत गरे । मध्यमवर्गको विस्तार बिना देशको दीर्घकालीन हित सम्भव नहुने उनको भनाइ छ । साथै, विदेश पलायन भएका नेपालीलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने र नेपाली मूलका लगानीकर्तालाई सहज रूपमा जोड्ने नीति लिइने उनले बताए । अर्थमन्त्रीले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड सम्बन्धी विभिन्न ऐनहरू पारित गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए । पूर्वसचिवहरूले आफ्नो कार्यकालमा पूरा गर्न नसकेका कामहरूलाई समेत अघि बढाइने बताउँदै उनले अनुभवी जनशक्तिको उपयोग गरिने स्पष्ट पारे । ‘राम्रो काम गर्नेलाई माया गर्छु, तर नराम्रो काम गर्नेलाई मेरो कुनै संरक्षण हुने छैन,’ उनले भने ।
प्रधानमन्त्री मोदीले दिए समकक्षी बालेनलाई बधाई
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा प्रधानमन्त्री मोदीले शाहको नियुक्तिलाई नेपाली जनताको विश्वास र आकांक्षाको प्रतिबिम्बका रूपमा व्याख्या गरेका छन् । उनले नयाँ नेतृत्वले नेपाललाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भारत नेपाल सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउनेतर्फ आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षासमेत राखेका छन् ।
यी हुन् अर्थमन्त्री वाग्लेले गरेका तीन निर्णय
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै महत्वपूर्ण तीन निर्णय गरेका छन् । उनले शुक्रबार सिंहदरबारको अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै तीन वटा महत्वपूर्ण निर्णय गरेका हुन् । उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् । यस्तै, चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन् । उनले निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय पनि गरेका छन् ।
अर्थमन्त्री डा. वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने निर्णय गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् । ‘रास्वपाले वाचापत्र पेस गरेको छ, त्यसमा राज्यले स्वीकार गरेका धेरै कुरा ग्रहण गर्दै कार्यान्वयन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ वाग्लेले भने । साथै, १२ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ । उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि बढ्ने बताए ।