विकासन्युज

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब ६ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ ।  प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको ६ दशमलव १९ प्रतिशत अर्थात् ४ अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ बजेट खर्च भएको छ ।  चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा ४ अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १९ दशमलव ५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।   गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।  

मनाइयो गाई तिहार

काठमाडौं । नेपालीहरूको महान चाड तिहारको चौथो दिन मंगलबार (आज) गाई पूजा गरेर मनाइँदैछ । घरमा गाई पाल्नेहरूले घरमै र नहुनेहरुले गौशालामा गइ गाईको पूजाआजा गरेका हुन् ।  यमपञ्चक अर्थात तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिइ मनाइन्छ । गौशालामा रहेको नन्दी सेवास्थलमा पनि गाई पूजा गर्नेको भीड छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।  आजका दिन नेपालीहरूको घर, गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइएको छ ।  गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दायाँ हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।  गाई हिन्दु धर्मावलम्वीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो ।  आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई गौमाताको रुपमा पुकारिने गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घ्यु, गहुँत, गोबर आदि प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् ।  कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुने गर्छ । प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो । 

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

लिस्बन । पोर्चुगलमा अवस्थित नेपाल कल्चर कम्युनिटी कोइम्ब्राद्वारा आयोजना गरिएको तिहार विशेष सांस्कृतिक कार्यक्रम आइतबार कोइम्ब्रामा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गरेको थिए भने प्रमुख अतिथि पोर्चुगली प्रतिनिधि क्यातरिना पिइरेस  रहेका थिए । कार्यक्रममा कोइम्ब्रा र वरपर क्षेत्रका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सञ्चालक सन्तोष पाण्डेको प्रभावशाली प्रस्तुति र आकर्षक शैलीले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको सहभागीहरूले बताएका छन् ।  कार्यक्रममा गीत, नृत्य, कविता, तिहार विशेष भोजन र सम्मान कार्यक्रमजस्ता विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । कार्यक्रमले पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबीच एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाएको आयोजक समितिले जनाएको छ । सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूले विदेशमा रहेर आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन्। आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारीका विषयमा  छलफल हुने भएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका नेताहरू छलफलमा सहभागी हुने बताइएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराउने घोषणा गरिसकेको छ ।  यसअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलसँग छलफल गरिसकेका छन् । उक्त छलफलमा दोस्रो तहका नेता उपस्थित भएका थिए ।

बलिउडका उम्दा कलाकार असरानीको निधन

काठमाडौं । बलिउडका उम्दा कलाकार असरानीको निधन भएको छ ।  स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका असरानीको सोमबार दिउँसो ३ देखि ३:३० बजेको बीचमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको ८४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको दाहसंस्कार सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा गरिय । असरानीको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो । सन् १९६७ मा उनले काँच की चुँडियामार्फत सिनेयात्रा तय गरेका थिए ।  उनले ३५० भन्दा बढी हिन्दी फिल्ममा काम गरिसकेका छन् ।

अर्घाखाँची सिमेन्टसहित चार कम्पनीको बिजुलीको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार बिहान चार कम्पनीको बिजुलीको लाइन काटेको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायम रहेको बेला घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटिएको हो । प्राधिकरणले दीपावली सकिएलगत्तै यी कम्पनीको बिजुली काटेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । उनले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरूले बक्यौता रकम तिर्न सक्ने बताए। किस्ताअन्तर्गत पहिलो किस्ता तिरेमा काटिएको लाइन पुन: जोडिने पनि उनले बताए ।

झिलिमिली देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)

काठमाडौं । लक्ष्मीपूजाको पावन अवसरमा काठमाडौं उपत्यका झिलिमिली बत्तीको उज्यालोमा स्नान गरिरहेजस्तै देखिएको छ । सोमबार साँझदेखि नै सहरका मुख्य चोकहरू, व्यापारिक केन्द्रहरू र आवासीय क्षेत्रहरू रंगीचंगी बत्तीहरूले सजिएपछि काठमाडौं साँच्चिकै झिलिमिली सहर बनेको छ । सुन्धारा, न्यूरोड, जमल लगायत चक्रपथका प्रमुख चोकहरू बत्तीको आकर्षक सजावटले झकिझकाउ छन् । निजी मल, शपिङ कम्प्लेक्सहरू, रेस्टुरेन्टदेखि घर आँगनसम्म बेहुलीझै सिंगारिएका छन् । लक्ष्मीपूजाको रात साथीभाइ भेला भई भैलिनी खेल्दै झनै रमाइलो थपिएको छ । तिहारका दिनहरूमा मात्र होइन, पूरै सप्ताह काठमाडौंको रूप र रंग फरक देखिन्छ । व्यापारिक भवन, कार्यालय र घरहरूमा राखिएका बत्तीहरू तिहार सकिएपछि पनि हटाइँदैनन्, जसले गर्दा झिलिमिली काठमाडौंको सौन्दर्य अझ केही दिनसम्म कायमै रहन्छ । बर्षेनी झिलिमिली बत्ती राख्ने चलन काठमाडौंमा बढ्दो क्रममा छ । हिजोआज पूरै घर झकिझकाउ बनाएर तिहार नमनाउने कमै भेटिन्छ । यही कारण तिहार अब केवल धार्मिक पर्व मात्र नभई काठमाडौंको सांस्कृतिक झिलिमिली उत्सवझै भएको छ । तस्बिरहरू:

विपिन जोशीको पार्थिव शरीर परिवारलाई हस्तान्तरण, महाकाली घाटमा अन्त्येष्टि हुने

काठमाडौं । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ नेपाली सेनाको सम्मानसाथ परिवारलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले राष्ट्रिय सम्मानसहित जोशीको शव हस्तान्तरण गर्दा वातावरण शोकाकुल बनेको थियो । नेपाली राष्ट्रिय झण्डाले बेरेको कफिनमा राखिएको विपिनको शव उनका दाजु किशोर जोशीसहितको परिवारले बुझेका हुन् । शव बुझेलगत्तै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली घाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । परिवार, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने बताइएको छ । २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका विपिनको मृत्युको पुष्टि इजरायली अधिकारीहरूले गत असोज २७ गते गरेका थिए । युद्धविरामपछि हमासले उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेपछि, डीएनए परीक्षण र फरेन्सिक रिपोर्टमार्फत शव विपिनकै भएको प्रमाणित गरिएको थियो ।