मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध
काठमाडौं । टेस्लाका सीईओ एलन मस्कका लागि प्रस्ताव गरिएको १ अस्ट्रियन अमेरिकी डलरको तलब प्याकेज शुक्रबार नयाँ विवादमा पर्यो, जब प्रोक्सी सल्लाहकार संस्थागत सेयरधारक सेवा (आईएसएस) ले सेयरधारकहरूलाई यस प्रस्तावलाई अस्वीकार गर्न आग्रह गर्यो । यो कुनै पनि कम्पनी प्रमुखलाई प्रस्ताव गरिएको सम्भवतः सबैभन्दा ठूलो क्षतिपूर्ति योजना हुन सक्छ । यो लगातार दोस्रो वर्ष हो जब आईएसएसले मस्कको क्षतिपूर्ति प्रस्ताव अस्वीकार गर्न लगानीकर्ताहरूलाई सुझाव दिएको हो । यस्तो प्रोक्सी सल्लाह (सामान्यतया सेयरधनी र लगानीकर्ताहरूलाई दिइने पेशागत सिफारिस) ले प्रायः ठूला संस्थागत लगानीकर्ताहरूलाई प्रभाव पार्छ, जसमा टेस्लामा ठूलो सेयर हिस्सेदारी भएका निष्क्रिय कोषहरू पनि पर्छन् । आईएसएसको सिफारिसले टेस्लाको सञ्चालक समितिमा थप दबाब सिर्जना गरेको छ, किनकि नोभेम्बर ६ मा हुन लागेको सेयरधारक बैठकमा यो मुद्दा प्रमुख रूपमा छलफल हुने अपेक्षा छ । यसले मस्कको क्षतिपूर्तिप्रति पुनः ध्यान केन्द्रित गराएको छ, विशेषतः डेलावेयर अदालतले यसअघि मस्कको ५६ अर्ब डलरको तलब प्याकेज रद्द गरेको थियो । मस्कको यो रेकर्ड तलब योजना अत्यन्त महत्त्वाकांक्षी लक्ष्यहरू पुरा नगरे पनि उनलाई दशौं अर्ब डलरसम्मको लाभ दिने सम्भावना छ किनकि यो योजना आंशिक सफलता र सेयर मूल्यको बढोत्तरीमा पनि पुरस्कार दिन्छ। गत महिना टेस्लाको बोर्डले मस्कका लागि १ ट्रिलियन डलरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसलाई ‘इतिहासकै सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’ भनेर व्याख्या गरिएको थियो । यसले कम्पनीमा मस्कको नियन्त्रण बढाउने उनको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेको बताइएको छ । आईएसएसका अनुसार, बोर्डको उद्देश्य मस्कलाई उनको ‘उपलब्धि र दृष्टिकोणका कारण’ रोकिराख्ने भए पनि प्रस्तावित योजना ‘आगामी १० वर्षका लागि असाधारण रूपमा उच्च तलब अवसर’ सुनिश्चित गर्छ र भविष्यमा बोर्डले तलब समायोजन गर्न सक्ने क्षमता घटाउँछ । यो योजना सार्वजनिक भएपछि टेस्लाको सेयर मूल्य बढेको थियो किनकि लगानीकर्ताहरूले यसलाई मस्कलाई कम्पनीको रणनीतिमा केन्द्रित रहन प्रोत्साहन दिने तत्वका रूपमा देखे । ‘धेरैजना मानिसहरू एलनसँगै काम गर्न टेस्लामा आउँछन्, त्यसैले उनलाई रोकिराख्नु र प्रेरित गर्नु दीर्घकालमा हाम्रो ट्यालेन्टलाई कायम राख्न र नयाँ आकर्षित गर्न सहयोगी हुनेछ,’ टेस्लाकी निर्देशक क्याथलीन विल्सन–थोम्पसनले शुक्रबार टेस्लाको एक्स ह्यान्डलमा पोस्ट गरिएको भिडियोमा भनिन् । २०१८ को तलब सम्झौताभन्दा फरक यसपालि मस्कलाई आफ्ना सेयरको मताधिकार प्रयोग गर्न अनुमति दिइनेछ, जसले उनलाई टेस्लामा करिब १३.५५ मतदान अधिकार प्रदान गर्छ। त्यो हिस्सेदारी मात्रले पनि प्रस्ताव स्वीकृत गर्न पर्याप्त हुन सक्छ। प्रोक्सी सल्लाहकारले प्रस्तावित योजनाको ‘अत्यधिक विशाल’ आकार, आंशिक लक्ष्य पूरा गरे पनि अत्यधिक तलब दिने संरचना, र पुराना लगानीकर्ताहरूको हिस्सामा हुन सक्ने सम्भावित कमीलाई औंल्याएको छ। आईएसएसले भनेको छ, ‘टेस्ला फेरि पनि लगानी र सुशासनका मौलिक पक्षहरू बुझ्न असफल भएको छ,’ जबकि टेस्लाले एक्समा एक अलग पोस्टमार्फत सबै प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गर्दै प्रतिक्रिया दिएको छ । ‘आईएसएसका लागि अरूलाई कसरी मतदान गर्ने भनेर भन्न सजिलो छ, जब उनीहरूको कुनै जोखिम छैन,’ टेस्लाले भनेको छ। आईएसएसले मस्कको सेयर–आधारित तलब पुरस्कारको मूल्य १०४ अर्ब डलर आँकलन गरेको छ, जुन टेस्लाको आफ्नै मूल्यांकन (८७.८ अर्ब डलर) भन्दा बढी हो । यो योजना केवल तब लागू हुनेछ जब टेस्लाले बजार पुँजीकरण ८.५ ट्रिलियन डलरसम्म पुर्याउने, २० मिलियन गाडी डेलिभरी गर्ने, १० लाख रोबोट्याक्सी उत्पादन गर्ने र ४०० अर्ब डलर बराबरको समायोजित कोर आम्दानी हासिल गर्ने जस्ता लक्ष्य पूरा गर्छ। मस्कको तलब सम्बन्धी आईएसएसको सिफारिस शुक्रबार जारी गरिएको विस्तृत मतदान सिफारिसहरूको एक हिस्सा हो । अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत टेस्लाको तलब प्याकेजले मस्कलाई असफलतामै अर्बौं कमाइको बाटो मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै
दशैंपछि तातोपानी नाका नियमित सञ्चालनमा, तिहारका लागि सयौं गाडीमा फलफूल र बिजुलीका सामान भित्रिए
काठमाडौं । नेपाल-चीन जोड्ने तातोपानी नाका दशैंपछि नियमित सञ्चालनमा आएको छ । विगत एक हप्तादेखि नाकाको सञ्चालन सामान्य अवस्थामा रहेको र तिहारलक्षित आयात बढेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालका अनुसार दशैंको नवमीको दिनपछि केही समय समस्या आए पनि अहिले भने नाका नियमित रूपमा सञ्चालित छ । ‘दशैंपछि त नियमित नै खुलेको छ, कुनै समस्या छैन,’ उनले भने। अहिले नाकाबाट भित्रिने कुल सामानको करिब ८० प्रतिशत तिहार लक्षित रहेको अधिकृत चुडालले जानकारी दिए। उनका अनुसार चीनबाट मुख्यगरी तिहारमा प्रयोग हुने ड्राइफ्रुट्स, फलफूल, लत्ताकपडा र बिजुलीका झिलिमिली तथा अन्य सामानहरू आयात भइरहेका छन् । ३ करोड रुपैयाँको आयात भएको भन्सार कार्यालयले जनाएको छ। नाकामा गाडीको आवागमनमा भने केही उतारचढाव देखिएको छ । कहिले धेरै गाडी आउने र कहिले कम आउने गरेको ती भन्सार प्रमुख अधिकृत चुडालले बताए । आइतबार भने नाकाबाट करिब ३० भन्दा बढी गाडी भित्रिएको उनले जानकारी दिए । ती गाडीमा मुख्यतया फलफूलहरू रहेको बताइएको छ । त्यस्तै, नियमित रूपमा विद्युतीय सवारीसाधन (ईभी) हरू पनि नाकाबाट भित्रिरहेको उनले जानकारी दिए ।
शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस् : अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट गरे । उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गरे। ‘म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न', अध्यक्ष ओलीले भने, ‘सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।' निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गरे ।
सानिमा बैंकको ७.३६ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले गरेका थिए । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, संस्थापक सेयरधनीहरूको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई २१औं वार्षिक साधारण सभाबाट निर्विरोध सञ्चालकमा पुनः निर्वाचित गरिएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सो अवधिसम्म बैंकको कुल सम्पत्ति २६३.५५ अर्ब रुपैयाँ, कुल निक्षेप २२५.४८ अर्ब रुपैयाँ, र खुद कर्जा सापटी १८३.४५ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेपमा १३.०९ प्रतिशत, कर्जा सापटीमा ११.२२ प्रतिशत, र कुल सम्पत्तिमा १२.७० प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । वित्तीय परिसूचकका आधारमा २०८२ असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३.०१ प्रतिशत, पुँजी कोष १३.०१ प्रतिशत, तरलता ३०.९५ प्रतिशत, र कर्जा–निक्षेप अनुपात (मासिक औसत) ८१.०३ प्रतिशत रहेको छ ।
गृहसचिवको देशभरका सीडीओलाई कडा निर्देशन, ११ शीर्षकमा ७ पृष्ठ लामो परिपत्र जारी
काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई कडा निर्देशन जारी गरेको छ । गृहसचिव रामेश्वर दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन, नियमन र समन्वयलगायतका ११ शीर्षकमा सात पृष्ठ लामो निर्देशन सीडीओहरूलाई पठाएका हुन् । स्थानीय प्रशासनलाई थप जिम्मेवार, उत्तरदायी र जनमुखी बनाउँदै जनतामा राज्यप्रति भरोसा बढाउने खालको सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको हो । सचिव दंगालले शान्ति सुरक्षासम्बन्धी निर्देशनमा ९ वटा बुँदा समेटेका छन् । उनले अपराध नियन्त्रणका लागि ३ बुँदा र आसन्न निर्वाचन तयारीका सन्दर्भमा ५ बुँदामा स्पष्ट निर्देशन दिएका छन् । निर्देशनमा सार्वजनिक सेवा प्रवाहमा सहजता र प्रभावकारिता ल्याउनुपर्ने भनिएको छ । सीडिओहरूलाई स्थानीय निकाय, सुरक्षा निकाय र संघीय निकायहरूसँग समन्वय सुदृढ गर्नु र व्यक्तिगत आचरणको मर्यादा कायम राख्न समेत निर्देशन दिइएको छ । निर्देशनमा भनिएको छ, ‘सेवा लिने नागरिकसँगको व्यवहारमा संवेदनशील हुनुपर्ने र सरकारको कामप्रति जनताको विश्वास अभिवृद्धि गर्नुपर्ने छ ।’
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना गरेको छ । विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट मान्यता प्राप्त गर्दै अस्पतालले उच्च प्रविधिको मस्तिष्कघात सम्बन्धी उपचार केन्द्र स्थापना गरेको बताएको छ । अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कनका आधारमा ग्रान्डीले एडभान्स्ड स्ट्रोक सेन्टर सञ्चालन गर्ने अवसर पाएको हो । केन्द्र स्थापनापछि मस्तिष्कघातको उपचारमा सहज हुने जनाइएको छ । अस्पतालका न्युरोलोजिस्ट तथा मस्तिष्कघात उपचार सम्बन्धी कार्यक्रमका निर्देशक डा. राजु पौडेलले बिरामीको उपचारमा टेवा पुग्ने बताए । ‘यो मान्यताले नेपाली जनतालाई विश्वस्तरीय मस्तिष्कघात उपचार प्रदान गर्ने हाम्रो अटुट प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ,’ उनले भने । मस्तिष्कघात विश्वव्यापी रूपमा मृत्यु र शारीरिक रुपमा अशक्तताको प्रमुख कारण हो । नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुन्छन् । यो मान्यताले जीवन बचाउन र बिरामीको अवस्थाको सुधार ल्याउन द्रुत उपचार प्रणालीमा सहयोग गर्दछ । अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयाल मस्तिष्कघात बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्वपूर्ण हुने बताउँछन् । उनी भन्छन्, 'यो केन्द्रले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्याउन मद्दत गर्दछ । विशेष गरी ठूला रक्तनली अवरोधमा थ्रोम्बेक्टोमी जस्ता उपचारात्मक विधिले समयमै उपचार सुनिश्चित गर्दछ । जसले विरामको अवस्थाको जटिलतालाई न्यूनीकरण गर्छ ।’ अस्पतालले मस्तिष्कघात उपचारका लागि न्युरोइमेजिङको माध्यामले कोइलिङ, स्याक्युलर डाइभर्सन, डिभाइसहरू, आर्टेरियो भेनस–मालफर्मेशनको उपचार, क्यारोटिड स्टेन्टिङ, र जटिल एन्युरिज्ममा फ्लो डाइभर्टर जस्ता उपचारात्मक विधि प्रयोग गर्दै आएको छ । जुन चिकित्सकीय रुपमा जटिल कार्य हो । अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालमा न्युरोलोजिकल उपचार विकास गर्न र मस्तिष्कघात उपचार र बिरामी हेरचाहको लागि उच्चतम् अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न निरन्तर प्रतिबद्ध रहेको बताए । उनले विश्वस्तरीय मस्तिष्कघात उपचारको लागि अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।
जेष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशत छुट
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरुबीच हवाइ भाडामा सहमति भएको छ । कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरूबीच सम्पन्न बैठकमा भाडामा नयाँ सहमति भएको हो । बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई बुँदा १ बमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत उपरोक्त अनुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । बैठकका निर्णय आजैदेखि लागू हुने बताइएको छ ।