ओली भन्छन् : म फेरि प्रधानमन्त्री बन्न सक्छु, मेरो माग बढ्न सक्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताएका छन् आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले उनले आफू प्रधानमन्त्रीमा फर्कन सक्ने सम्भावना रहेको बताएका हुन् । उनले पछिल्लो समय अराजकता बढ्दै गएको बताउँदै यस्तै हुँदै गयो आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको दाबी गरे । उनले अरुबाट नहुने रहेछ भनेर केपी ओलीको माग हुन सक्ने धारणा राखे ।
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
काठमाडौं । कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन् । उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताए । त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको रजिस्ट्रार प्राडा लेखकले जानकारी दिए ।
ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलका कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारका विभिन्न पक्षहरूबारे जानकारीमूलक प्रस्तुति दिए । सोही अवसरमा क्यापिटलले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोगस्वरूप डिजिटल बोर्ड हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पौडेलले यस्तो साक्षरता कार्यक्रमले विद्यार्थी र स्थानीय बासिन्दामा पूँजी बजारप्रति आधारभूत ज्ञान र लगानी चेतना बढाउने विश्वास व्यक्त गरे । उनले विद्यालयमा प्रदान गरिएको डिजिटल बोर्डले कक्षाकोठा शिक्षणलाई आधुनिक र आकर्षक बनाउने उल्लेख गरे । बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजारबारे प्रारम्भिक ज्ञान दिनुको साथै प्राथमिक बजारमा लगानी गर्न उत्प्रेरित गर्ने बताए । उनले विद्यालयमा प्रविधिमैत्री शिक्षण सामाग्री उपलब्ध गराएकोमा ग्लोबल आइएमई क्यापिटलप्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यमा क्यापिटलले गरेको सहयोगलाई सराहना गर्दै धन्यवाद ज्ञापन गरे । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले क्यापिटलको यो योगदानले शिक्षण–सिकाइलाई आधुनिक र गुणस्तरीय बनाउन टेवा पुर्याउने बताए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय प्रतिनिधि, व्यवसायी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो । ग्लोबल आइएमई क्यापिटलले यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै पूँजी बजारप्रतिको पहुँच र लगानी चेतना अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।
सैन्य सुरक्षामा रहँदा मेरो फोन खोसियो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जेनजी प्रदर्शन पछि सैनिक सुरक्षामा रहँदा केही दिन आफ्नो मोबाइल सुरक्षाकर्मीले खोसेको खुलासा गरेका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो खुलासा गरेका हुन् । भदौ २४ गते प्रदर्शन चर्किएपछि ओली सैनिक सुरक्षामा एक साता बसेका थिए । असोज २ गते शिवपुरी ब्यारेकबाट फर्किएका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।
आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ । आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।
नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने
भक्तपुर । यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ । शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो । प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा त्यसबारे सहमति भएको र बुधबार औपचारिक घोषणा गरिने बताए । उनले भने, ‘नेपाल संवत् नेवारहरूको मात्रै होइन, सिङ्गो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो । यसबारेमा प्रधानमन्त्रीसँग छलफल भयो र बुधबारको कार्यक्रममा घोषणा गर्ने तयारी छ।’ अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उद्घाटन भई शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताए। प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । उनले देश तथा विदेशमा शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व तथा यसलाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको र यस देश तथा विदेशका विभिन्न ठाउँमा शङ्खधर साख्वाःको शालिक स्थापना गर्ने काम भइरहेको बताए । रासस
विप्लव समूहले गर्यो एकीकृत स्वामित्व अवधारणाअन्तर्गत नयाँ उद्योग सञ्चालनको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लवले ‘एकीकृत स्वामित्व अवधारणा’अन्तर्गत कृषि उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले उक्त निर्णय सार्वजनिक गरेको हो । महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको उक्त योजना बारे जानकारी गराएका हुन् । उनले पार्टीले लामो समयदेखि उत्पादनसँग पार्टी गतिविधिलाई जोड्दै आएको उल्लेख गर्दै यो वर्ष वर्षेबाली उत्पादन अपेक्षाकृत राम्रो भएको जानकारी दिए । साथै आउँदो हिउँदे बालीलाई पनि थप व्यवस्थित र वैज्ञानिक ढंगले उत्पादन गर्ने रणनीति लिइएको उनले जानकारी गराए । महासचिव विप्लवले पार्टीले अगाडि सारेको नयाँ आर्थिक मार्ग अन्तर्गत आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा महत्त्वपूर्ण प्रगति भइरहेको बताए । उनले उक्त मोडेलबाट उत्साहजनक आर्थिक परिणामहरू देखिएको दाबी गरे। विप्लवका अनुसार उत्पादनमूलक अर्थतन्त्र र सामूहिक स्वामित्वमा आधारित उद्योगमार्फत सामाजिक र आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी अघि बढिरहेको छ ।
काठमाडौंका ६२ चोकमा हाइ मास्ट बत्ती जडान, १० करोड लागत
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडाैंका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । महानगरले सहरको सौन्दर्य र सुरक्षालाई ध्यानमा राख्दै सुरु गरेको यस परियोजना तिहारअघि नै पूरा हुने भएको हो । महानगरको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीका अनुसार सहरका ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा पोल गाडी बत्ती जडानको काम भइरहेको छ । उनले भने, '६२ चोकमध्ये २१ चोकमा १२.५ मिटरका पोल र ४१ चोकमा १६ मिटर अग्ला पोल जडान भइरहेका छन् । यी पोलहरूमा क्रमशः ६ र ८ वटा बत्तीहरू जडान गरिँदैछ ।' करीब ९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । यो सम्झौता २०८१ पुस २३ गते निर्माण पक्षसँग भएको र काम २०८२ पुस ३० गते भित्र सम्पन्न गर्नुपर्ने प्रावधान छ । तर, तिहार पर्वलाई लक्षित गर्दै महानगरले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न लागेको हो। महाशाखा प्रमुख नेपालीले भने, 'तिहारको उल्लासमा सहर झन् उज्यालो बनोस् भन्ने उद्देश्यले कामलाई तीव्र बनाइएको छ।' यी हाइ मास्ट बत्तीहरू १ हजार वाट क्षमताका छन् र सेफ्टवेयर प्रणालीमा आधारित छन् । आवश्यकताअनुसार यी बत्तीहरूलाई चर्को वा मधुरो प्रकाशमा नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ ।