गोल्याण ग्रुप र शहीद परिवारबीच शैक्षिकवृत्ति समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । औद्योगिक घराना गोल्याण ग्रुप र जेनजी आन्दोलनका शहीद परिवारबीच शैक्षिकवृत्ति योजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले असोज २४ गते घोषणा गरेको सहिद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा समझदारी गरेको हो । पहिलो चरणमा शुक्रबार ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ । गोल्याणको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरूका अभिभावकले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार गोल्याण ग्रुपले सहिद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १–१२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ । 'छात्रवृत्तिस्वरूप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,' समझदारीपत्रमा भनिएको छ, 'आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्याण ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधीनमा रही तीन पक्षीय सम्झौता गर्न सकिनेछ ।' शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ । अभिभावकहरूले दिएको जानकारीका आधारमा युरो स्कुल छाउनी, प्याराडाइज इंलिस स्कुल सानेपा, जागृति विद्यासदन इंलिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैह्रेले जानकारी दिइन् । 'हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाईँहरू एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौँ भन्ने भावनाले सहयोगको हात बढाएका हौँ,' उनले भनिन्, 'सहिदका बालबालिकासँग उनीहरूको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौँ ।' गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेनजी आन्दोलनका सहिद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको बताइन् । उनका अनुसार सहिद परिवारका घरमै गएर उनीहरूको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो । ‘हामीले क्रमशः अन्य सहिदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौँ, उहाँहरूको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्नेछौँ’, उनले भनिन् । समझदारीपत्र हस्ताक्षरको अवसरमा सहिद परिवारका एक सदस्यले गोल्याण ग्रुपले बालबालिकाको भविष्यलाई उच्च महत्त्व दिएर सहिदका सपनाको सम्मान गरेको बताए । 'गोल्याण ग्रुपले सहिदका बालबच्चाको शिक्षाको दायित्व व्यहोरेर हामीलाई ठूलो गुन लगाएको छ,’ उनले भने, ‘मेरो घरमा यो दायित्व बोकेको छोरो सहिद भएर गयो, अब गोल्याण ग्रुप मेरो नातिको अभिभावक बनेको छ ।’ आन्दोलनमा आमा गुमेपछि दुई भाइ–बहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौंकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् । बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो । ‘बुवा–आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,’ उनले भनिन् । समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मञ्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्याण ग्रुपप्रति आभार व्यक्त गरिन् । मञ्जुका श्रीमान् अनिष पराजुलीको महाराजगन्जमा गोली लागेर मृत्यु भएको थियो । उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन् । उनीहरूको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्याण ग्रुपले लिएको छ । गोल्याण ग्रुपले स्वास्थ्य बिमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका सहिद परिवारका बुवा र आमाका लागि बीमामार्फत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेसन्स प्रमुख गैह्रेले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा तिहारलगत्तै बाँकी सहिद परिवारलाई भेटेर कार्यक्रममा जोडिनेछ । काठमाडौं बाहिर रहेका सहिद परिवारसँग पनि सम्पर्क गर्ने काम भइरहेको र कात्तिक महिनाभित्र सबैलाई घोषणाअनुसार सबै सहिद परिवारलाई सहयोग कार्यक्रममा आवद्ध गर्ने उनले बताइन् ।
आरबिवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, ४० करोड नगद लाभांश पारित
काठमाडौं । आरबिवि मर्चेन्ट बैंकिङ लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले सेयरधनीहरूलाई ४० करोड रुपैयाँ नगद लाभांश पारित गरेको हो । कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ का विभिन्न प्रस्तावहरू पारित भएको जानकारी दिइन् । सभाले प्रस्तुत आर्थिक विवरण, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्दै सेयरधनीहरूलाई वितरणयोग्य मुनाफाबाट २० प्रतिशतले हुने रकम ४० करोड रुपैयाँ (कर सहित) नगद लाभांश पारित गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिसहित सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, र सामूहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा सेवा प्रदान गर्दै आएको छ । सभाले सन् २०८१/८२ को बाह्य लेखापरीक्षकका रूपमा सिन्हा एण्डको चार्टर्ड एकाउन्टेन्टका सिए सञ्जयकुमार सिन्हा कायस्थको नियुक्ति अनुमोदन गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएको छ । विशेष प्रस्ताव अन्तर्गत कम्पनीका सञ्चालक तथा स्वतन्त्र सञ्चालकहरूको नियुक्ति अनुमोदन गरिएको छ । सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रतिनिधि उप-कार्यकारी अधिकृत विनयरमण पौडेलको नेतृत्वमा १०० प्रतिशत सेयरधनीहरूको उपस्थिति रहेको र सभाले पूर्ण वैधानिकता प्राप्त गरेको कम्पनीले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित थिए भने विशेष अतिथि रूपमा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सहभागिता रहेको थियो ।
डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, स्वास्थ्य सामग्री खरिदमा अनियमितता आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आइतबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संलग्नहरूविरुद्ध कानुनी कारबाही थालिएको हो । डा। मिश्रामाथि स्वास्थ्य सचिव रहँदा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्दै स्वार्थअनुसार निर्णय गरेको आरोप लगाइएको छ । उनी तत्कालीन समयमा स्वास्थ्य सचिवको दौडमा रहेकी थिइन् । तर तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. विकास देवकोटालाई सचिव बनाएका थिए । यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । त्यसबेला उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी भए पनि अख्तियारले अनुसन्धान अघि बढाएपछि राजनीतिक नियुक्ति रोकिएको थियो । अख्तियारले दर्ता गरेको मुद्दाले स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर अनियमिततालाई उजागर गरेको भन्दै विभिन्न निकायले चासो व्यक्त गरेका छन्। अब विशेष अदालतको फैसलाले संलग्नता पुष्टि हुने वा नहुने टुंगो लाग्नेछ ।
हमास गाजामा आक्रमण गर्न तयार रहेको अमेरिकाको दाबी
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले शनिबार हमासले गाजामा नागरिकहरूमाथि हमला’ गर्ने योजना बनाइरहेको बताएको छ । मन्त्रालयले ‘विश्वसनीय रिपोर्टहरू’ को आधारमा यो दावी गरेको हो । मन्त्रालयले भनेको छ कि यस्तो कुनै पनि कदम संघर्षविराम सम्झौताको गम्भीर उल्लङ्घन हुनेछ र यसले मध्यस्थताबाट हासिल गरिएको अहिलेसम्मको प्रगतिलाई कमजोर पार्नेछ । यद्यपि, अमेरिकी अधिकारीहरूले ती रिपोर्टहरूको स्रोत वा त्यससँग सम्बन्धित थप कुनै जानकारी साझेदार गरेका छैनन् । अमेरिकाले भनेको छ कि उसले गाजा शान्ति सम्झौताको अन्य प्रत्याभूतिकर्ताहरू अर्थात् इजिप्ट, कतार र टर्कीलाई पहिले नै सूचित गरिसकेको छ र हमासलाई संघर्षविरामका शर्तहरू पालना गर्न माग गरेको छ । विदेश मन्त्रालयको बयानमा भनिएको छ, ‘यदि हमासले यो आक्रमण गर्छ भने गाजाका मानिसहरूको सुरक्षा र संघर्षविराम कायम राख्नका लागि कदम उठाइनेछन्।’ अहिलेसम्म हमासले यस विवरणमा कुनै टिप्पणी गरेको छैन । हालका लागि इजरायल र हमासबीच संघर्षविरामको पहिलो चरण लागु छ। हमासबाट जीवित बन्दीहरू रिहा गरिसकिएको छ भने मृतकहरूको शव इजरायललाई सुम्पिने प्रक्रिया जारी छ ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख संकलन
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६ करोड १० लाख रुपैयाँ संंकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबार बिहानसम्म कोषमा ६ करोड १० लाख संकलन भएको हो । जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न सङ्घसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो । पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ । पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् । कोषका योगदानकर्ताको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश, ५० भन्दा बढी सामाजिक गतिविधि सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्ष पुरा भएर नवौँ वर्षमा प्रवेश गरेको छ । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले स्थापना भएको सिटिजन लाइफ नवौँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ छ । सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ । वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष 'विविधता र समावेशीकरण दिवस' मनाएको छ । यसअन्तर्गत सबै शाखा कार्यालयका कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परालाई प्रस्तुत गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन् । यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्याली र घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो । हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ ।' विगत आठ वर्षको यात्रामा सिटिजन लाइफले ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिटिजन लाइफले ग्राहक, व्यवसायिक साझेदार, सञ्चारकर्मी, सेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, नियमनकारी निकाय र कर्मचारीहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । कम्पनीले आगामी दिनहरूमा सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाउन, प्रचलित कानुन तथा नियमनको पालना गर्दै संस्थागत सुशासनका साथ व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यस अवसरमा कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूका सुस्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको शुभकामना पनि व्यक्त गरेको छ ।
अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत
काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध तीव्र बनेको छ । यदि यो युद्ध रोकिएन भने यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसबाट ठूलो क्षति हुने आशंका छ । यही तनावका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेत चिन्तित बनेको छ । आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिभाले यो तनाव तुरुन्त घटाउन आग्रह गरेकी छन् । उनले आशा व्यक्त गरेकी छन् कि अमेरिका र चीनबीचको व्यापार तनाव कम हुनेछ र दुर्लभ पृथ्वी तत्व (रेयर अर्थ) को विश्वव्यापी प्रवाहमा अवरोध आउनबाट जोगिनेछन् । जर्जिभाका अनुसार यस्तो अवरोधले विश्व विकासमा ‘गम्भीर असर’ पार्नेछ । जर्जिभाले आईएमएफको सञ्चालन समिति (स्टेरिङ कमिटी) को बैठकपछि यो टिप्पणी गरेकी हुन् । उनले भनिन्, ‘यस्तो अवस्था जारी रहेमा अनिश्चितता बढ्नेछ र पहिले नै कमजोर रहेको विश्व अर्थतन्त्रलाई अझै क्षति पुर्याउनेछ ।’ यस वर्ष आईएमएफ र विश्व बैंकको वार्षिक बैठक त्यतिबेला सम्पन्न भयो जब विश्वका दुई ठूला अर्थतन्त्र—अमेरिका र चीन—बीचको व्यापार युद्धले नयाँ मोड लिएको छ । यसले विश्वभरका हजारौं वित्त अधिकारी र केन्द्रीय बैंकका गभर्नरबीचको छलफलमा प्रभुत्व जमाएको छ । आईएमएफले मंगलबार २०२५ का लागि विश्व जीडीपी वृद्धिदर ३.२ प्रतिशत रहने अनुमान गरेको थियो, जुन जुलाईमा गरिएको ३.० प्रतिशत र अप्रिलको २.८ प्रतिशतको अनुमानभन्दा बढी हो । आईएमएफका अनुसार भन्सार शुल्क (ट्यारिफ) का असर र वित्तीय परिस्थितिहरू अपेक्षाभन्दा बढी अनुकूल देखिएका छन् । तर यो अनुमानमा अमेरिका र चीनले हालै उठाएका नयाँ जोखिमहरू समेटिएका छैनन् । जर्जिभाले आईएमएफले यी घटनाक्रमहरूलाई नजिकबाट अनुगमन गरेको जानकारी दिइन् । सदस्य राष्ट्रहरूले हाल विश्व अर्थतन्त्र छ महिनाअघि अनुमान गरिएको भन्दा बढी लचिलो देखिएकामा केही राहत महसुस गरेका छन् । उनका अनुसार देशहरू पूर्वाधार सुदृढ पार्न, नियामक सुधार गर्न र विश्व असन्तुलन घटाउन तयार देखिएका छन् । तथापि उनीहरूले अझै गहिरो चिन्ता व्यक्त गरिरहेका छन् । यता विशेषज्ञहरू यदि अमेरिका र चीनबीचको व्यापार तनाव दीर्घकालीन रूप लिन्छ भने यसले विश्वव्यापी आपूर्ति शृंखला (सप्लाई चेन) र लगानी प्रवाहमा ठूलो अवरोध सिर्जना गर्ने चेतावनी दिन्छन् । विश्वका प्रमुख उद्योगहरू— जस्तै प्रविधि, अर्धचालक, ऊर्जा र कृषिमा यसको प्रत्यक्ष असर पर्नेछ । यसले न केवल वस्तुहरूको मूल्यवृद्धि गर्नेछ, तर उपभोग, रोजगारी र उत्पादन क्षमतालाई पनि दीर्घकालीन रूपमा कमजोर पार्ने खतरा रहेको विश्लेषकहरूले बताउँछन् । अर्थशास्त्रीहरूका अनुसार वर्तमान विश्व अर्थतन्त्र अझै कोभिड–१९ र युक्रेन युद्धका असरबाट पूर्ण रूपमा उकासिन सकेको छैन । त्यसमाथि अमेरिका–चीन व्यापार युद्धले थप अनिश्चितता थप्ने हो भने विश्व बजार पुनः अस्थिर बन्नेछ । त्यसैले दुवै मुलुकले वार्ता र सहकार्यको बाटो रोज्नु नै विश्व अर्थतन्त्रलाई दीर्घकालीन स्थायित्वतर्फ डोर्ने एक मात्र उपाय भएको उनीहरूको धारणा छ । अमेरिका–चीन व्यापार युद्ध तीव्र हुँदै जानुको पछाडि राजनीतिक, आर्थिक र प्राविधिक धेरै कारणहरू छन् । अमेरिका लामो समयदेखि चीनसँग ठूलो व्यापार घाटा बेहोर्दै आएको छ । अमेरिकी दृष्टिमा चीनले अमेरिकी बजारमा अत्यधिक वस्तु निर्यात गर्छ तर अमेरिकी वस्तुहरूलाई चीनले सीमित रूपमा मात्र आयात गर्छ । यस असन्तुलन घटाउन अमेरिका भन्सार शुल्क (ट्यारिफ) लगाउँदै आएको छ, जसले तनाव बढाएको हो । त्यसैगरी, अमेरिका र चीन दुबै उच्च प्रविधि (जस्तै कृत्रिम बौद्धिकता (एआई), अर्धचालक, र दूरसञ्चार) क्षेत्रमा विश्व नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । अमेरिकाले चीनका प्रविधि कम्पनीहरू विशेष गरी हुवाई र टीकटकजस्ता कम्पनीहरूमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा चीन अमेरिकाप्रति असन्तुष्ट छ । त्यस्तै, दुवै देश विश्व नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिका आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ भने चीन विश्व अर्थतन्त्र र राजनीतिमा आफ्ना प्रभाव विस्तार गर्न खोज्दैछ । यो शक्ति संघर्षले व्यापार युद्धलाई अझ राजनीतिक रंग दिएको छ । अमेरिकाले चीनमा अत्यधिक निर्भरता खतरनाक ठानेको छ, विशेष गरी अर्धचालक, ऊर्जा र खनिजमा । त्यसैले अमेरिका उत्पादनलाई आफ्नै देश वा मित्र राष्ट्रहरूमा सार्न खोज्दैछ । चीनले यसलाई आफ्नो आर्थिक नियन्त्रणमा आक्रमणको रूपमा लिएको छ । हालै दुबै देशले एकअर्काको सामानमा नयाँ भन्सार शुल्क लगाएका छन् । अमेरिकाले चिनियाँ इलेक्ट्रिक सवारी, ब्याट्री र स्टिलमा उच्च ट्यारिफ तोकेको छ भने चीनले अमेरिकी कृषिजन्य र लगानी सम्बन्धी वस्तुमा कर बढाएको छ । अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै ट्रम्पको बयानले ऊर्जा बजारमा हलचल, भारतले अब रूसको तेल नकिन्ने ! ट्रम्पको बयानपछि अमेरिकी लगानीकर्ताले ७ मिनेटमै गुमाए ४५० अर्ब डलर
सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो
काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँ मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।