पुनर्निर्माण गर्न २५ प्रतिशत बजेट कटौती गरिने
काठमाडौं । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले २५ प्रतिशत बजेट कार्यान्वयनमा नल्याउने गरी रोक्का गर्न निर्णय गरिएको बताए । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका बेला भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त कार्यालयको र केही दिनअघि आएको बाढी पहिरोले भएको क्षतिको पुनर्निर्माणका लागि खर्च गर्न ती बजेट कटौती गर्ने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिए । त्यसैगरी बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा मिलन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिवमा प्रदेशका ११औँ तहका इन्द्र सापकोटालाई खटाएको छ भने विपद् पछिको पुनर्निर्माणमा मात्रै खर्च गर्ने गरी रकमान्तरलाई खुला गर्ने भएको छ ।
कर्जा सुविधा २ महिना थप गर्न व्यवसायीको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले मुलुकको विषम परिस्थितिलाई हेरेर कर्जा सुविधा २ महिना थप गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले साेमबार एक विज्ञप्ति जारी गरी उद्योगी तथा व्यवसायी जेनजी आन्दोलन र प्राकृतिक विपत्तिको मारमा परेको भन्दै कर्जा सुविधा थप गर्न माग गरे । हाल मुलुकमा विद्यमान अस्थिर परिस्थितिका कारण बजारमा नगद प्रवाहमा आएको कमी, बक्यौता सङ्कलनमा गिरावट र लगानीकर्ता तथा उपभोक्ताको मनोबलमा आएको नकारात्मक प्रभावले उद्योगी तथा व्यवसायी हतोत्साहित भएको समेत विज्ञप्तिमा उल्लेख छ । ‘यस वर्ष चाडपर्व छिटो पर्न जानु, असोज मसान्तभित्र २ महिनाको तलब, दसैँ खर्च, बैंक ब्याज र साँवा, चालु पूँजी कर्जाको किस्ता, कर तथा राजस्व बुझाउनुपर्ने वाध्यताका कारण व्यवसायीहरू थप आर्थिक दबाबमा परेका छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । उनले गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकको हकमा मात्र लागू हुने गरी चालु आवको असोज मसान्तभित्र बुझाउनुपर्ने रकमलाई एक पटकका लागि दुई महिनाभित्र (मङ्सिर मसान्तसम्म) भुक्तानी गर्न पाउने वा सो बराबर थप कर्जा सुविधा दिई हिसाब मिलान गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरे । माग सम्बोधन भए हाल उत्पन्न परिस्थितिबाट प्रभावित उद्योगी, व्यवसायी तथा सम्पूर्ण ऋणी वर्गलाई तत्काल राहत मिल्ने र समग्र आर्थिक स्थायित्वमा पनि सकारात्मक प्रभाव पर्ने सङ्घको बुझाइ छ ।
९ बुँदे सहमति कार्यान्वय गर्न शिक्षामन्त्री पुनलाई शिक्षक महासङ्घको ध्यानाकर्षण
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले विगतमा आफूहरूबीच भएका सहमति र सरकारका निर्णय कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहितको नेतृत्वले साेमबार केशरमहलमा मन्त्री पुनलाई भेटेर सरकारका तर्फबाट हुन सक्ने समस्या समाधानका विषय कार्यान्वयनका लागि आग्रह गरेको हो । विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेको प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारका तर्फबाट हुनसक्ने सम्बोधनको विषय कार्यान्वयनका लागि महासङ्घले मन्त्री पुनलाई आग्रह गरेको हो । महासङ्घले यसअघि गरेको प्रदर्शनपछि सरकारसँगको सहमतिमा गत वैशाख १७ गते मन्त्रिपरिषदबाट निजामती अस्पतालबाट शिक्षक कर्मचारीलाई स्वास्थ्योपचारमा सहुलियत, अस्थायी र करारका विभिन्न प्रकृतिका शिक्षकको बिरामी र सञ्चित बिदा बापतको रकम सेवाबाट अलग हुँदा एकमुस्ट रूपमा उपलब्ध गराउने, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक सरकारले तोकेबमोजिम हुने लगायत ९ बुँदे निर्णय गरेको थियो । महासङ्घले सरुवा कार्यविधिको खारेजी र परिमार्जन, विभिन्न पालिकाबाट अस्थायी प्रकृतिका शिक्षकमाथि करार नवीकरणका नाममा गरिएको आनाकानी, तलब रोकिएको अवस्थालगायत विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराइएको महासङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए । शिक्षामन्त्री पुनले शिक्षक र कर्मचारीका पेसागत मुद्दामा आफू गम्भीर रहेको बताउँदै शिक्षाको गुणस्तर बढाउन शिक्षक दत्तचित्त हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता, सहकार्य र साझेदारीमा छलफल
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा विश्व बैंकको सहयोगमा सञ्चालित विविध कार्यक्रमको सिंहावलोकन गर्नुका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा छलफल भएको अमेरिकाको वासिङ्टन डिसीस्थित राजदूतावासले जनाएको छ । भेटघाटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमण दलका सदस्य, विश्व बैंकको विभिन्न परियोजनाका कर्मचारीको समेत सहभागिता थियो । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री खनाल आइतबार वासिङ्टन डिसी आइपुगेका हुन् ।
राष्ट्र बैंकले ३.३० अर्ब लगानी गर्ने, खुद निष्क्रिय कर्जा ३ प्रतिशत हुनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने ४ जना कारबाहीमा
काठमाडौं । प्रहरीले पोखरामा स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका र चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइ कारबाही गर्न सुरू गरेको छ । केही दिनयता त्यस्ता ४ मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने सुवास कार्की, पोखरा-३ बस्ने एल्विन पुन, पोखरा-६ का सञ्जिव दुवाडी र पोखरा-५ बस्ने अमृत चापागाईंलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई कारबाही गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीचौकी र ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिँदै आएको उनको भनाइ छ । प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाइएको छ । कास्की प्रहरीले गत वर्ष अभियानका रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको थियो । स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्ट पुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम रु १५ हजार जरिवाना हुने व्यवस्था छ । सहरी क्षेत्रमा मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल कुदाउने प्रवृत्ति छ । यस्ता गतिविधिले सडक दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषणले समाजमा असर पु¥याउने प्रहरीको भनाइ छ ।
प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन, गतिविधि फेला परे कारबाही
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्तिमार्फत् अनुरोध गरे । प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला पारेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।