विकासन्युज

विश्वकप छनोट: कतारलाई ५ रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौं । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै विजयी भएको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा सोमबार भएको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले ५ विकेट लिए । त्यस्तै नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए ।  त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान ३÷३ विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो । 

गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्ने

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ४.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार साधारण सभाले पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको उनको भनाइ छ । 

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।  पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पछिल्लो राजनीतिक अवस्था, समान विचारधारा भएका विभिन्न दलहरूसँगको एकतालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन, कार्यदिशा र आन्तरिक विवाद समाधानका प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिने उनले जानकारी दिए । साथै यही असोज ३१ गते गर्न बस्न लागेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकको कार्यसूची तयार गरिने जनाइएको छ । 

अतिरिक्त शुल्क नलिन स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीअन्र्तगत पर्ने उपचार, औषधी, प्रयोगशाला, क्लिनिकल सेवा तथा सामाग्रीका नाममा थप शुल्क नलिन निर्देशन दिएको छ ।  आज (सोमबार) बोर्डले सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।  बोर्डका अनुसार हाल कतिपय स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले बीमाअन्तर्गतका औषधी र सामग्री स्टकमा नभएको भन्दै बिरामीलाई बाहिरबाट खरिद गर्न लगाउने र सो क्रममा अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो प्राप्त भएको पत्रमा उल्लेख गरेको छ । बोर्डले जारी गरेको पत्रमा सुसिवधा थैलीमा पर्ने वस्तु तथा सेवाका हकमा बीमाले तोकेको सहभुक्तानी  बाहेक अतिरिक्त शुल्क लिनु बीमाको मापदण्डविपरीत उल्लेख गर्दै नलिनको लागि अनुरोध गरेको छ ।  यदि लिएको पाइएमा ‘स्वास्थ्य बीमा ऐन २०७४ को दफा ३२ तथा स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्यांकन कार्यविधि २०७८ प्रथम संशोधन, २०८१’ अनुसार कारबाही हुने बोर्डले जनाएको छ ।   

गभर्नरलाई कसैले पनि घर भाडामा दिन मानेनन्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका लागि घर भाडामा दिन कोही पनि घरबेटीहरू इच्छुक नभएकाे बुझिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनकर्ताहरूले गभर्नर पौडलको निजी घरमा आगजनी गरेपछि राष्ट्र बैंकले उनका लागि घर भाडामा खोजिरहेको थियो । तर, ललितपुरका घरबेटीहरू उनलाई भाडामा घर दिन अनिच्छुक देखिएका हुन् । गत असोज १२ गते राष्ट्र बैंकले गभर्नर पौडेलका लागि घर भाडामा दिन इच्छुकलाई आवेदन आह्वान गरेको थियो । घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीलाई राष्ट्र बैंकले आज असोज २७ गतेसम्म प्रस्ताव पेस गर्न भनिएको थियो ।  तर, यस अवधिमा कुनै पनि घरबेटीले घर भाडामा दिन इच्छा जाहेर नगरेपछि आवेदन दिने समय थपिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएकाे छ । ‘आज आवेदन दिने अन्तिम दिन थियो । तर, आवेदन नपरेपछि समय लम्ब्यायौं । एक/दुई जना बुझ्न आउनु भएको थियो । तर, आवेदन दिनु भएन । त्यसैले कात्तिक १६ गतेसम्म समय थप गरिएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘आजसम्म बुझ्न मात्रै आउनु भयाे । तर, आवेदन भने दिनु भएन ।’ राष्ट्र बैंकले भने दशैं-तिहार तथा छठ पर्वको बिदालाई मध्यनजर गरी घर भाडाका लागि आवेदन दिने म्याद थप गरिएको जानकारी दिएकाे छ । ‘चाडवाडको समयमा मान्छेहरू कोही विदेश, कोही कतै घुम्न जानु हुँदो रहेछ । कति मान्छेहरू विदेशमा भएका कारण पनि समय लागेको हुन सक्छ,’ स्रोतले भन्यो, ‘कतिपयले विदेशबाट पनि सम्पर्क गर्नु भएको छ । विविध कारणले आवेदन परेन ।’  साथै गभर्नर सार्वजनिक तथा प्रतिष्ठित व्यक्ति भएकाले पनि घर दिन अनिच्छा गरेको हुन सक्ने राष्ट्र बैंकका ती उच्च अधिकारी बताउँछन् । ‘एक/दुई जनाले चासो भने लिनु भयो । फाँटमा आएर फर्म लिनु भयो । तर, आवेदन भने बुझाउनु भएन,’ ती अधिकारीले भने ।  राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।  राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडेलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो ।  घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ ।  साथै २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । 

हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् । बीमा अभिकर्ताहरूले प्रतिहजार ५० रुपैयाँ बोनसको माग गर्दै आएकोमा आफूले त्यसलाई सम्बोधन गर्न नसक्ने भएपछि विधानअनुसार नै राजीनामा दिएको सीईओ कर्णले विकासन्युजलाई जानकारी दिए । अभिकर्ताहरूले केही समयअघिदेखि बोनस, सुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दै आएका थिए ।  हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर एवं पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव अम्बिका गौतमले बोनससम्बन्धी माग सम्बोधन गर्न नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएको बताइन् । सीईओले राजीनामा दिएसँगै अब अभिकर्तालाई गरेको व्यवहार, बीमितको बोनस दरमा सुधार आउने र सुशासन भएपछि बीमा कम्पनीले लय समात्ने उनको भनाइ छ ।

सम्मानजनक तलब र जोखिम भत्ताको माग गर्दै मणिपाल अस्पतालका नर्सहरू आन्दोलित

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका नर्सहरू सम्मानजनक तलब सुविधाको माग राख्दै आन्दोलित भएका छन् । सरकारी मापदण्डभन्दा कम तलबभत्ता,जोखिमभत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।  मणिपाल शिक्षण अस्पतालमा काम गर्ने नर्सहरूको तलब १५ देखि २० हजार रुपैयाँ मात्रै तलबभत्ता पाउने गरेका छन् । जुन सरकारी मापदण्ड (पाँचौँ तहको ३४ हजार ७ सय ३० रुपैयाँ) भन्दा निकै कम हो । अतिरिक्त समयको भत्ता र अन्य सुविधा समेत नपाएको उनीहरुको गुनासो छ । विगत दुई हप्तादेखि आन्दोलनरत नर्सहरू ‘हामी नर्स हौं, मेसिन होइनौँ, १५ हजारमा गुजारा चल्दैन’ लगायतका नारा लेखिएको प्लेबोर्डसहित आन्दोलरत छन् । मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्स पूजा फगामीले तलब र सुविधाको विषयमा पटक–पटक अस्पताल प्रशासनसँग माग रोखको भएपनि कुनै सुनुवाई नभएको गुनासो गरिन् । बिरामीहरूको असुविधाको लागि माफी माग्दै उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने उनको अडान छ ।  उनले भनिन्, ‘हामीले रहरले आन्दोलन गरेका होइनौं । कतिधेरै बिरामीहरु अस्पताल आएर फर्किरहनु भएको छ । तर अस्पताल प्रशासनले हाम्रो मागको सुनुवाई नै गरेको छैन । हामी सन्तुष्ट नै छैनौं । हाम्रो तलबभत्ता र हाम्रो मेहेनतलाई नै अस्पतालले नजरअन्दाज नगरोस् भन्ने हाम्रो चाहाना हो ।’ नर्सहरूले सम्मानजनक तलब, जोखिम भत्ता, ओभरटाइम सुविधा र बिदा दिनुपर्ने उनको माग छ । 

नेपाल पुनर्बीमाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्‍यो डेढ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जेनजी आन्दोलनका क्रममा पुगेको सम्पत्ति क्षतिको बीमाबापतको भुक्तानी निर्जीवन बीमा कम्पनीहरूलाई सुरु गरेको छ । कम्पनीका अनुसार हालसम्म बीमा कम्पनीहरूमा डेढ अर्ब रुपैयाँभन्दा बढी रकम एडभान्स स्वरूप गइसकेको छ । कम्पनीले शुक्रबारदेखि बीमा कम्पनीहरूलाई दाबीबापतको भुक्तानी दिन सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार ठूला दाबी परेका कम्पनीहरू सिद्धार्थ प्रिमियर, आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)लाई भुक्तानी दिइसकेको छ ।  कम्पनी स्रोतका अनुसार पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरूलाई भुक्तानी भइसकेको र दोस्रो चरणमा साना दाबी परेका कम्पनीहरुलाई पनि भुक्तानी दिन सुरु भइसकेको छ ।  ‘पहिलो चरणमा ठूला दाबी परेका कम्पनीहरुलाई हामीले भुक्तानी दिइसकेका छौं । अब दोस्रो चरणमा अरु दाबीहरुलाई पनि भुक्तानी दिन सुरु गरेका छौं, तिहारसम्मसबै कम्पनीहरुलाई एडभान्स बाँड्छौं,’ कम्पनी स्रोतले भन्यो ।  नेपाल बीमा प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ ।  प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो ।  नेपाल पुनर्बीमा कम्पनीले कम्तीमा तिहारअघिसम्म कम्पनीहरुलाई ४ अर्ब रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको समेत स्रोतको दाबी छ । ‘बढीमा ४ अर्ब रुपैयाँसम्मको भुक्तानी तिहारअघि गर्ने गरी पैसाको व्यवस्थापन भइसकेको छ,’ स्रोतले भन्यो, ‘त्यसपछि बाँकी भुक्तानी सर्भेयरहरूको रिपोर्ट आएपछि बिना झन्झट अगाडि बढाउने हाम्रो तयारी छ ।