विकासन्युज

फोर्थिङ तिहार भाइब अभियान सुरु

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ ब्रान्डको अधिकृत वितरकले तिहारको अवसरमा आकर्षक अफर सहितको विशेष अभियान फोर्थिङ तिहार भाइब सुरु गरेको छ। यो अफर असोज २७ देखि कात्तिक ३ सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले फोर्थिङको प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेमा विशेष पाउनेछन्। बुकिङमा आईफोन १७ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । त्यसैगरी आकर्षक नगद  छुट, ८ वर्षको वारेन्टी, ६ वर्षसम्म निःशुल्क सर्भिसिङ, ७ किलोवाट होम चार्जर, स्पेयर टायर, १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क रहेको छ ।  फोर्थिङ फ्राइडेले नेपाली ईभी बजारमा नयाँ स्तरको प्रिमियम अनुभव ल्याएको कम्पनीले जनाएको छ । ६४।४ किलोवाट ब्याट्री र ९९ किलोवाट मोटरसहितको यो एसयूभीले डब्ल्यूएलटीपी मापदण्ड अनुसार ४०० किलोमिटर सम्मको दायरा प्रदान गर्छ।  कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित फोर्थिङको शोरुममा आमन्त्रणसमेत गरेको छ । 

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए । उनले भने, 'विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।' स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।   

पूर्वसभामुख महराविरुद्ध साढे ८ करोडको बिगो माग गर्दै मुद्दा दर्ता, ३ वर्ष बढी कैद सजाय माग

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । उनीमाथि सुन तस्करी प्रकरण मुद्दा दर्ता भएको हो ।  जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्ष बढी अवधि कैद सजाय माग दाबी गरिएको छ। महरा आइतबार पक्राउ भएका थिए ।  के हो प्रकरण ? २०७९ पुस १० मा मा फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो ।  सो सुटकेशमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको बुझिएको थियो । यो प्रकरणका महराका छोरा राहुल महरा पक्राउ भएर पनि कारागार चलान भएका थिए ।  सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको खुलेको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका महरा पटक–पटक पक्राउ हुँदै छुट्ने गरेका थिए । 

मेलम्चीको खानेपानी काठमाडौं ल्याइयो, तीन तीन दिनको फरकमा धारामा पानी आउने

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात् काठमाडौं ल्याइएको हो । वर्षातले क्षति गरेको कहीँ ठाउँमा मर्मतपश्चात् अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, 'वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।' काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो । दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौं उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । उनले भने, 'मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।' विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ । बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रूपमा छ देखि सात करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौंमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन । रासस

नवप्रवर्तन–सञ्चालित आर्थिक वृद्धिको सिद्धान्तका तीन अर्थशास्त्रीलाई नोबेल सम्मान

काठमाडौं । नवप्रर्वतन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ ।      मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध छन् । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कूल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध छन् ।      नोबेल समितिले विज्ञप्तिमा उल्लेख गरेको छ, 'मोकिरले आविष्कारहरू कसरी आत्म–उत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।'      त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गरे । उनीहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गरे — जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ ।      अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्राध्यापक ह्यासलरले भने, 'आर्थिक वृद्धि कुनै सहज विषय होइन भन्ने यी पुरस्कार विजेताहरूको कार्यले देखाउँछ । हामीले रचनात्मक विनाशका संयन्त्रहरूलाई समर्थन गर्नुपर्छ, ताकि अर्थतन्त्र स्थिरतामा नफँसियोस् ।'      गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए। रोबिन्सनलाई प्रदान गरिएको थियो । उनीहरूले किन केही देशहरू धनी र अरूहरू गरिब छन् भन्ने विषयमा गहिरो अध्ययन गर्दै स्वतन्त्र र खुला समाजहरू आर्थिक रूपमा समृद्ध हुने सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गरेका थिए ।      अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनिन्छ । स्विडेनको केन्द्रीय बैंकले यसलाई सन् १९६८ मा स्थापनागरेको थियो । बैंकले १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक, व्यापारी र रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा यो सम्मान सुरु गरेको हो । नोबेलले डाइनामाइटको आविष्कार गर्दै पाँचवटा नोबेल पुरस्कारको परम्परा आरम्भ गरेका थिए । स्थापनाको सुरुआतदेखि अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा  तीन जना मात्र महिला रहेका छन् ।      नोबेल परम्पराका शुद्धतावादीहरूले भने यस पुरस्कारलाई प्राविधिक रूपमा ‘नोबेल पुरस्कार’ नभएको तर्क गर्छन्, तर अन्य नोबेल पुरस्कारहरूसँगै हरेक वर्ष डिसेम्बर १० मा, सन् १८९६ मा अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवका दिन नै यो सम्मान पनि प्रदान गरिन्छ ।      गत हप्तासम्म चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारहरूको घोषणा भइसकेको छ । रासस

‘बीमितहरू आत्तिनु पर्दैन, हामी पैसा दिन्छौं’

‘नेपालका बीमा कम्पनीहरू बलिया छन् र बीमितको दावी भुक्तानी गर्न सक्षम छन् । शिखर इन्स्योरेन्स झनै बलियो छ । जेनजी आन्दोलनबाट नोक्सानी बेहोरेका बीमितलाई बीमा दावी भुक्तानी सुरु गरिसकेका छौं, ’ शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीप प्रकाश पाण्डेले विकासन्युजसँग भने, ‘जेनजी आन्दोलनले हाम्रा ४३३ बीमितलाई नोक्सान पुगेको छ । त्यसमा २ अर्ब ४१ करोड रुपैयाँ बराबर बीमा दावी परेको छ । १७३ बीमितलाई सर्भेयरको सिफारिस अनुसार २५ देखि ५० प्रतिशत अग्रिम भुक्तानी दिइसकेका छौं ।’ उनले बीमितहरूलाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जसले विधिसम्मत बीमा गराउनु भएको छ, तपाईंहरूले दावी भुक्तानी पाउनु हुनेछ । हामी ग्राहकसँग नियमित छलफलमा छौं । संकटको यस घडीमा तपाईंहरूको आर्थिक सुरक्षाको प्रत्याभूति हामी दिन्छौं ।’ जेनजी आन्दोलनबाट शिखरका २३० बीमितको गाडी जलेको छ । ११५ जनाको घर सम्पत्ति नोक्सान भएको छ । ७८ वटा इन्जिनियरिङ बीमा र १० वटा अन्य बीमा दावी परेको छ । शिखर इन्स्योरेन्सको सेयर पुँजी २ अर्ब ९२ करोड रुपैयाँ छ । गत असार मसान्तसम्म कम्पनीको नेटवर्थ ५ अर्ब ८१ करोड रुपैयाँ छ । ‘जेनजी आन्दोलनको असर कम्पनीलाई अधिकतम ३६ करोड रुपैयाँ भार पर्न सक्छ । यसको असर चालु आर्थिक वर्षको नाफा गत वर्षको तुलनामा कम हुनेछ  । तर कम्पनीको समग्र वित्तीय सूचकांकलाई नकारात्मक बनाउँदैन, ’ उनले भने ।  नगद प्रवाह नियमित एकै पटक ठूलो रकम बीमा दावी हुँदा बीमा कम्पनीहरूको नगद प्रवाहमा समस्या हुने हो कि भन्ने आशंका बजारमा छ । तर शिखर इन्स्योरेन्सका लागि त्यस्तो कुनै समस्या नभएको सीईओ पाण्डेले बताए ।  ‘हामीले आइतबार साँझसम्म ४१ करोड भुक्तानी दिइसकेका छौं । सोमबारसम्म ५० करोड भुक्तानी गर्दैछौं, ’ उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनीले ३७ करोड रुपैयाँ अग्रिम भुक्तानी दिने जानकारी दिएको छ । बीमा प्राधिकरणले एयर मार्क (मुद्दती रकम नियन्त्रण) खुला गरेको छ । कम्पनीको सञ्चालक समितिले ५० करोड रुपैयाँ बैंकबाट कर्जा लिने निर्णय गरेको छ । अब नगद प्रवाहमा पनि कुनै समस्या हुँदैन । कात्तिक महिनाभित्र अधिकांश बीमितको दावी भुक्तानी गर्नेछौं ।’  गत सातासम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी देला कि नदेला भन्न दुविधा भएको तर यस साताबाट पुनर्बीमाले दावी भुक्तानी गर्न थालेपछि बीमा क्षेत्रमा मनोबल बढेको सीईओ पाण्डेले बताए ।  भदौ २३ र २४ गते हुलदंगा बीमातर्फ नेपालले इतिहासकै सबैभन्दा ठूलो क्षति बेहोरेको छ । बीमा कम्पनीहरूको लागि यो बिलकुल नयाँ भोगाइ पनि हो । ‘हामीले २०७२ को भूकम्प पनि पार लगायौं । गत वर्षको ठूलो बाढी पहिलो पनि पार लगायौं । यस वर्ष पनि बाढी पहिरोको असर ठूलै छ । तर बाढी पहिलोबाट हुने जोखिम नेपालका बीमा कम्पनीको लागि सामान्य लाग्न थालेका छन्‌, ’ पाण्डेले भने, ‘यस पटक पनि हामी जिम्मेवारीपूर्वक काम गरिरहेका छौं । समस्यामा परेका ग्राहकसँग नियमित छलफलमा छौं । सर्भेयरहरूले काम गरिरहेका छन् । डकुमेन्टेशनको काम भइरहेको छ । स्टकहरूको भ्यालुएशनका काम भइरहेका छन् । पूरै नष्ट भएका गाडीहरूको दर्ता खारेजीको काम पनि सुरु भइसकेको छ ।’ बीमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड बनाएर नियामकले सही समयमा सही निर्णय गरेको सीईओ पाण्डेले स्मरण गराए । ‘पुँजी बृद्धिसँग कम्पनी बलिया भएका छन् । अब ग्राहकहरू पनि सुरक्षित भएका छन् । यति ठूलो विपत्‌मा पनि बीमा दावी भुक्तानीमा बीमा सक्षम भएका छन् । हामीले कम्पनीका प्रवर्द्धक सेयरधनीसँग पनि छलफल गर्यौं । कम्पनी बलियो छ, चालु आर्थिक वर्षमा पनि कम्पनी नोक्सानीमा जाँदैन भनेर जानकारी दिएका छौं । कम्पनीको रेटिङ डबल ए माइनस छ । त्यो कायम नै हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने ।  गत आर्थिक वर्षका कम्पनीले ४५ करोड खुद नाफा गरेको थियो । असार मसान्तमा कम्पनीको बीमा कोष १ अर्ब ९२ करोड रुपैयाँ छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १९९ रुपैयाँ छ ।

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

काठमाडौं । हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो ।  वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पर्सामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकामा २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप दिइएको जानकारी दिए । जगरनाथपुरमा ३२ हजार ५३ जनामध्ये १७५ जनालाई, सखुवा प्रसौनीमा ३५ हजार १७९ जनामध्ये ४ हजार ९९९, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ जनामध्ये नौ हजार ५१३, पोखरियामा ३७ हजार ८७४ जनामध्ये चार हजार ८७६ र धोवीनीमा २२ हजार ५४२ जनामध्ये दुई हजार ५३३ जनालाई हैजा विरुद्धको खोप लगाइएको हो ।  पर्सामा आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् । हैजा विरुद्धको खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारा पठाइसकेको छ । दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप दिइनेछ । हाल पर्साको १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा सो  अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा गौतमले हालसम्म सबै जना खोप लिन इच्छुक रहेका जानकारी दिए । रासस

एनआईसी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटलमा छुट उपलब्ध  गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।  यस समझदारीसँगै बैंकका ग्राहकहरूले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  ग्राहकले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।  यस सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।