विकासन्युज

तिहारमा फूलको मूल्य नबढ्ने, व्यवसायीलाई भारतबाट आउने फूलको डर

काठमाडौं ।  तिहार नजिकिएसँगै किसानहरूले फूल टिप्न र माला बुन्नका लागि तयारी थालिसकेका छन् । नेपाल पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा सयपत्री फूलको मालाको तिहारको लागि मात्र ४० करोडको भन्दा बढी को कारोबार हुने अनुमान गरिएको छ। त्यस्तै सयपत्री फूलको वार्षिक कारोबार भने झन्डै ८३ करोड भन्दा बढी हुने गरेको छ।   एशोसिएनले यस वर्ष पनि सोही मूल्य बराबरको फूल तथा माला बिक्री हुने अनुमान गरेको छ । एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार गत वर्षको तिहारमा ३७ कराेड रुपैयाँ बराबरकाे फूल तथा मालाको व्यावसायिक कारोबार भएकाे थियाे ।  उनका अनुसार वार्षिक फूलको व्यावसायिक कारोबार ४० करोडको भएपनि खपत भने त्योभन्दा बढी हुने गरेको छ ।  एशोसिएसनको अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अधिकांश नेपालीहरूले आफ्नो लागि आफै उत्पादन गर्छन् । उनले फूल उत्पादन नहुने कोर सहरी क्षेत्रमा मात्रै फूल तथा मालाको व्यावसायिक कारोबार हुँदै आएको छ । फूलको माग ४० लाख रुपैयाँको भएपनि नेपालमा ३५ लाख रुपैयाँ बराबरको मात्रै आन्तरिक उत्पादन हुने गरेको एशोसिएनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अपुग ५ लाख रुपैयाँ पनि फूल व्यवसायीबाट ल्याएर पूर्ति गर्नसक्ने उनको भनाइ छ । त्यस्तै, अलि बढी खपत हुने मखमली हो । एशोसिएनका अनुसार वार्षिक पाँच लाख मखमली खपत हुँदै आएको छ । नेपालबाट मखमली निर्यातसमेत हुने गरेको छ । एशोसिएनका अनुसार २ लाख रुपैयाँ बराबरको माला निर्यात हुने गरेको छ ।  मूल्य नबढ्ने  यो वर्ष फूलमालाको मूल्य नबढ्ने एशोसिएनले जनाएको छ । यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ८५ रुपैयाँ र खुद्रा मूल्य १२० रुपैयाँदेखि देखि १३० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । त्योभन्दा ठूलो मालाको भने अलि महँगो पर्न सक्छ । त्यस्तै, उपभोक्ताले मखमली ६० देखि ६५ रुपैयाँसम्म किन्न पाउने एशोसिएनले जनाएको छ । अध्यक्ष श्रेष्ठका अनुसार नेपाल फूलमा लगभग आत्मनिर्भर छ । फूलमा आत्मर्निभर हुँदै गएपछि सरकारले नै २ वर्षअघि सयपत्री फूलमा आयात प्रतिबन्ध लगाएको छ । त्यस्तै, सरकारले सयपत्री फूलमा धेरै रोगहरू फैलिएको कारण पनि सयपत्री फूल आयातमा प्रतिबन्धित लगाएको हो ।   तैपनि नेपालमा अवैधानिक माध्यमबाट सयपत्री फूल आयात हुँदै आएको छ । अध्यक्ष्य श्रेष्ठले प्रतिबन्धित सयपत्रीलाई अवैधानिक आयात हुनबाट रोक्नको लागि सबैको साथ जरुरी रहेको र त्यसमा सबैजना मिलेर लाग्नुपर्ने बताउँछन् । उनले देशलाई समृद्ध बनाउने एउटा सेक्टर फ्लोरी कल्चर भएको उल्लेख गर्दै त्यसमा सरकारले पनि विशेष मनन गर्नुपर्ने औंल्याएका छन् ।  विदेशबाट वैधानिक रूपमा सयपत्री फूल आयात गर्नुपर्ने अवस्थामा १६ किसिमको रोगहरू नभएको प्रमाणित गरेर मात्रै ल्याउन सक्ने कन्डिसन राखिएको छ ।  एशोसिएनका महासचिव हिरामणि शर्माले त्यस्तो कन्डिसन राखिएको भएपनि अहिलेसम्म कसैले पनि त्यसरी आपूर्ति नभएको बताए ।  ‘अहिलेसम्म जति पनि विदेशबाट सयपत्री फूल आयातित भएको छ, ती सबै अवैधानिक लुकिछिपी हो,’ उनले भने, ‘यसलाई रोक्न सरकारले प्रयास गर्दा पनि सफल भएको छैन ।’ अवैधानिक सयपत्री आयातमा एशोसिएनले पनि प्रयास जारी राखेको र केही हदसम्म सफल भएको महासचिव शर्माले बताए ।  अहिले सयपत्रीमा देखिएको अपुग पनि यदि भारतबाट अवैधानिक आयात रोक्न सक्ने हो भने गाउँघरमा किसानले उत्पादन गरेको सयपत्री बजारमा ल्याएर बेच्न सकिने र यसले किसानलाई पनि आर्थिक रुपमा फाइदा पुग्ने उनको भनाइ छ । महानगरले भोलिदेखि नै अनुगमन गर्ने  काठमाडौं महानगरपालिकाले भोलिदेखि नै बजारमा फूल तथा मालाको अनुगमन गर्ने महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । अनुगमनको क्रममा प्रतिबन्धित लगाएको सयपत्री कतै बेचेको पाइएमा वा कोल्ड स्टोरमा राखिएको पाएमा कारबाही हुने उनको प्रतिबद्धता छ । ‘सूचनाको आधारमा हामी अनुगमनमा खट्छौं । सुरुमा नेपाली फूल हो कि होइन भेरिफाई गर्छौं, त्यसपछि सिद गर्ने कि उठाएर लाने निर्णय लिन्छौं ।’ पाण्डे कालोबजारी व्यापारी र विचौलियाले नै गर्ने हुँदा किसान आफैले बेच्न आग्रह गर्छन् । किसानले उत्पादन गरेको फुल बिक्रीको सहजीकरणको लागि महानगरले ३२ केन्द्र तोकेको छ ।  पाण्डेले महानगरले तोकिएको ठाउँमा गएर फूल तथा माला निःशुल्क बिक्री गर्न सकिने बताए । त्यस्तै, उनले किसानलाई ढुवानीको लागि समस्या भए महानगरमा समन्वय गर्नसमेत आग्रह गरे ।  ‘हामीले किसानले उत्पादन गरेको फुल बिक्रीमा सहज होस् भनेर काठमाडौंमा ३२ केन्द्र तोकेका छौं, आफूलाई पायक पर्ने ठाउँमा सम्पर्क गरी बिक्री गर्न सक्नुहन्छ । हाम्रो उद्देश्य व्यापरीले कालोबजारी गर्ने मौका नपाओस् र किसानले उचित मूल्य पाओस् भन्ने नै हो,’ पाण्डेले भने । प्रतिबन्धित लगाएको कुनै पनि कोल्ड स्टोरमा राखिएको छ भने महानगरले छापा मार्ने हुँदा यसमा सबै व्यवसायीलाई सतर्क हुन पनि उनले आग्रह गरे ।  त्यस्तै, पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए ।  यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनले चेतावनी दिए । उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।  नेपाली फूल चिन्ने तरिका एशोसिएनका अनुसार विदेशबाट आउने फूल एउटै धागो र एउटै साइजको हुन्छ । त्यस्तै नओइलाओस् भनेर केमिकल प्रयोग गरिएको हुन्छ । नेपाली फूल मालामा भने सानो–ठूलो मिक्स भएको हुन्छ । यसरी सजिलै विदेशी फुल पहिचान गर्न सकिन्छ । 

जेनजी आन्दोलनका सहिद परिवारलाई गोल्यान ग्रुपले सहयोग गर्ने

काठमाडौं । व्यवसायिक घराना गोल्यान ग्रुपले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ ।  सहिदको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै मृतकका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ ।  छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने गोल्यान ग्रुपले सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने बताएको छ ।   ‘हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर हामी दुःखमा साथ दिन चाहन्छौं । यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धता हो । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो,’ गोल्याण ग्रुपले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने पनि बताएको छ ।

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबारर सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।  आचार्य यसभन्दा अगाडि पनि बैंकको अध्यक्ष थिए । वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।

सुरु भयो राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति कार्यालय शितलनिवासमा सुरु भएको छ ।  जेनजी आन्दोलनपछिको अवस्था र आगामी निर्वाचनबारेमा छलफल  गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।  उक्त बैठकमा ठूला दलका दोस्रो तहका नेताहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले विकासन्युजलाई जानकारी दिइन् ।  उनका अनुसार नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा बैठकमा उपस्थित रहेका छन् ।  त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महासचिव शंकर पोखरेलले बैठकमा भाग लिएका छन् ।  संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन बैठकमा उपस्थित रहेको खड्काले जानकारी दिइन् । 

राष्ट्र बैंकले रद्द गर्याे दुई कम्पनीको अनुमतिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा कम्पनीको अनुमतिपत्र रद्द गरिएको छ । राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायक र फस्ट पे टेक्नोलोजी प्रालिको भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्र रद्द गरेको जनाएको हो ।  राष्ट्र बैंकका अनुसार प्रभु टेक्नोलोजीलाई विसं २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो । तर, भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नवीकरण नगरिएको हुँदा कम्पनीको अनुमति पत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै, फस्ट पे टेक्नोलोजीलाई विसं २०७६ फागुन १३ मा भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्रदान गरिएको थियो । भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।  यी दुई कम्पनीसँग कुनै लेनदेन बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । 

खुल्यो बिपी राजमार्ग

काठमाडौं ।  काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।  असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो ।   सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरीपेक्षण तथा अनुगमन कार्यालय काठमाडांैका प्रमुख शुभराज न्यौपानेले बताए ।  अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो ।  काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो।  यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिएका थिए । 

जेनजी आन्दोलनमा ३ सय बढी नेताको घरमा आगजनी र तोडफोड, कुन पार्टीलाई कति क्षति ?

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राजनीतिक पार्टी र शीर्ष नेताहरूका घरमा गरिएको आगजनी तथा तोडफोड गरिएको छ । जेनजी आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयदेखि शीर्ष नेताहरुका घरमा आगजनी र तोडफोड गरेका हुन् । नेकपा एमालेका महासविच शंकर पोखरेलका अनुसार जेनजी आन्दोलनमा पार्टीको एउटा केन्द्रीय कार्यालय, ७ वटा प्रादेशिक कार्यालय र ६४ वटा जिल्ला कार्यालयमा क्षति पुगेको छ । साथै, जेनजीहरु आन्दोलनकारीहरुले एमाले पार्टीका १५८ जना भन्दा बढी शीर्ष नेताको घरमा आगजनी र तोडफोड गरिएको उनले बताए ।  नेपाली कांग्रेसका नेता रामहरी खतिवडाका अनुसार जेनजी आन्दोलनबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित ४८ जिल्ला पार्टी कार्यालयमा क्षति पुगेको छ । राष्ट्रियस्तरका १२५ जना नेता तथा कार्यकर्ताको घर तथा निवास जलाइएका छन् ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयसहित ३१ वटा पार्टी कार्यालय र १८ जना शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएको छ ।  जनता समाजवादी पार्टी (जसपा) नेतृ रेखा यादवका अनुसार जसपा पार्टी कार्यालयमा क्षति नपुर्याएपनि केन्द्रीय कार्यालयमा रहेका सबै सामानहरु बाहिरि निकालेर सबै जलाइएका छन् । जसपा पार्टी कार्यालय भाडामा सञ्चालन भइरहेको थियो । जसपाका शीर्ष नेताहरुमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रावत र सुनिता शाहको घरमा आगजनी गरिएको उनले बताइन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीका अनुसार जेनजी आन्दोलनबाट रास्वपाको डडेल्धुरा र नुवाकोट जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेर सामानहरू जलाइएका छन् भने अर्घाखाँची कार्यालयमा होडिङ बोर्ड तोडफोड गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य हरिप्रसाद पराजुलीका अनुसार नेकपा एस पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ भने १० वटा जिल्ला पार्टी कार्यालयमा तोडफोड गरिएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहित ११ जना शीर्ष नेताको घरमा आगजनी तथा तोडफोड गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राम प्रकाश चौधरीका अनुसार पार्टीका कुनै पनि कार्यालयमा क्षति भएको छैन । तर, शीर्ष नेताहरूमा शरतसिंह भण्डारीको घरमा भने आगजनी गरिएको उनले बताए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता गोपाल दाहालका अनुसार राप्रपा पार्टीको सुर्खेत, दाङ, चितवन, कञ्चनपुर जिल्ला पार्टी कार्यालय जलाइएका छन् भने केन्द्रीय कार्यालयमा सामान्य क्षति पुर्याएको छ । पार्टीको कोशी प्रदेश सांसद सविना बजगाईं, लुम्बिनी प्रदेश सांसद मेनुका खाँण र दमक नगरपालिकाका मेयर राम कुमार थापाको घरमा आगजननी गरिएको छ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा आगजनी र तोडफोड गरिएको छ ।  सम्बन्धित सामग्री : जेनजी आन्दोलनले कांग्रेसलाई १ अर्बको क्षति, ५० कार्यालय ध्वस्त जेनजी आन्दोलनले एमालेलाई ३ अर्बको क्षति, ९४ कार्यालयमा आगजनी जेनजी आन्दोलनमा माओवादीका ३१ कार्यालयमा आक्रमण हुँदा १५ करोडको क्षति

जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बीमा दाबी, डेढ अर्ब भुक्तानी

काठमाडाैं। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन् ।  प्राधिकरणका अुनसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।  १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमाबाट कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ ।  तथ्यांकअनुसार कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रूपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब  २४ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको तथ्यांक प्राधिकरणमा प्राप्त भएको जनाएको छ ।  यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ भने दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् । आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् । यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको  प्राधिकरणले जनाएकाे छ । अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।