फूलमाला बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ केन्द्र, निःशुल्क बिक्री गर्न पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूल तथा मालााहरूको बिक्री–वितरण गर्नको लागि ३२ बिक्री केन्द्र तोकेको छ । महानगरले तिहारलाई लक्षित गर्दै किसानले उत्पादन गरेको फूलको बिक्रीको लागि सहजीकरण गर्दै ती केन्द्रहरू तोकेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरले किसानलाई बजारीकरणको लागि कुनै पनि असहज नहोस् भनेर यी केन्द्रहरू तोकिएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । उनका अनुसार किसानले तोकेको बिक्री केन्द्रमा निःशुल्क फूल तथा माला बिक्री गर्न पाउनेछन् । किसानलाई सहजीकरणको लागि महानगरले बिक्री केन्द्रको सम्पर्क नम्बरसमेत राखेको छ । उनका अनुसार कात्तिक १ गतेदेखि ६ गतेसम्म किसानले फूल बिक्री गर्न पायक पर्ने केन्द्रमा जान सक्नेछन् । सम्पर्क नम्बरमा कुनै समस्या भए प्रहरीको कन्टोल रुममा सम्पर्क गर्न सक्ने उनले बताए । महानगरले नयाँ बानेश्वरमा एनबी कम्प्लेक्स र आईप्लेक्स मल बिक्री केन्द्र तोकेको छ । मध्यबानेश्वरमा सेल्सबेरी, फोनेक्स टावर बत्तीसपुत्तली, तीनकुने चौर, सिफल चौर, चावहिलमा एसी कम्प्लेक्स र चावहिल गणेशस्थान तरकारी बजार, एसी कम्प्लेक्स, केएल टावर अगाडि, चावहिल सेन्टर अगाडि बिक्री केन्द्र तोकेको छ । त्यसैगरी, स्वयम्भुमा धर्म चक्र पार्क कालिमाटी वाङ्गक्यूट, कलंकीको भाटभटेनी, नयाँ बजारमा भ्याली कोल्ड स्टोर, माछापोखरी गुणस्तर खाल्डा, वुद्ध महल, हाँडीगाउँ ५ नम्बर वडा कायाृलया अगाडिको डबली, र गणेश मन्दिर डवली, कोइराला स्मार्ट २६ वडा सामाखुशी, महारग्रञ्जमा सेल्सवेरी, गंगवु र चपलकारखानाका विगमार्टमा किसानले आफूले उत्पादन गरेको फुल बिक्री गर्न सक्नेछन् । यस्तै, कामपा वडा न २८ आइटी विल्डिङ, पुत्तली सडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेवाल मन्दिर परिसर, न्युप्लाजाका बज्र कम्प्लेक्स र काठमाडौं मल बिक्री केन्द्र तोकेको छ । महानगरका प्रमुख पाण्डेले यसपटक पनि विगतका वर्षहरूमा झैं महानगरभित्र प्लास्टिकको फूल तथा माला बिक्री वितरण गर्न नदिने बताए । यदि कसैले बिक्री वितरण गरेको पाइएकोमा जफतसहित कारबाही गरिने उनको भनाइ छ । उनले उपभोक्तालाई स्वदेशी किसानले उत्पादन गरेको फूल तथा माला मात्रै प्रयोग गर्न आग्रह गरेका छन् ।
गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी ओलीको भाडाको निवासमा सुरु भएको छ । शुक्रबार (आज) बिहान ११ बजेका लागी आह्वान गरिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । बैठकमा असोज २९ देखि ३१ सम्म हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डामा केन्द्रित हुने एक सचिवालय सदस्यले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम त्यसले उत्पन्न गरेको नयाँ परिस्थितिका बारेमा आजको बैठकमा व्यापक छलफल हुने सदस्यले बताए । उनका अनुसार विशेषतः आगामी महाधिवेशन र नेतृत्वको पुनर्गठनको विषय आजको बैठकका मुख्य एजेण्डा हुन् ।
अनलाइन सञ्चारमाध्यम दर्ताको जिम्मेवारी सूचना तथा प्रसारण विभागलाई
काठमाडौं । नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन सूचना तथा प्रसारण विभागलाई स्थानीय अधिकारीका रूपमा तोकेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग गर्दै उक्त व्यवस्था गरेको हो । मन्त्रालयका सचिव राधिका अर्यालद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकेकोले यो सूचना प्रकाशन गरिएको छ ।’ १४ साउन २०८१ मा राजपत्रमा प्रकाशित केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२ ले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा केही प्रावधान थपेको थियो । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयमा सीमित गरेकाले उक्त व्यवस्था हटाइएको हो । उक्त व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनसमेत परेको थियो ।
बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुँदै
काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि नेपालले १० लाख १८ हजार एक सय डोज खोज प्राप्त गरिसकेको छ । अन्तर्राष्ट्रिय समन्य समूह (आइसीजी)ले मुखबाट खुवाउने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसिभी) उपलब्ध गराएको छ । भ्याक्सिन प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तह र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन लागेको जनाएको छ । खोप कार्यक्रम पर्सामा भदौ २६ गते र बारमा २९ गतेदेखि सुरु गर्ने तयारी छ । पर्साको वीरगञ्ज महानगरपालिकामा गत भदौ ६ गते हैजा फैलिएको थियो । पर्सा र बारा जिल्ला गरी १ हजार ६ सय ८५ बिरामी फेला परेका थिए । यसअघि यस्तै खोप काठमाडौं उपत्यका र कपिलवस्तुमा दिइएको थियो ।
एकै दिन ४ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौं । एकै दिन सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको हो । यसअघि बिक्री सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटेको सुनचाँदी व्यवसायीहरू बताउँछन् । यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेकाे छ । महासंघका अनुसार प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
६ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदै, एयर एसियाले २६ अक्टोबरदेखि उडान भर्ने
काठमाडौं । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ । उनले भने, ‘थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, जजिरा पनि उडानको तयारीमा छ ।’ भुलका अनुसार विमानस्थलमा स्लटको तयारी भइरहेको छ । तयारी पुरा हुनासाथ उडान अनुमति दिएर भैरहवामा उडान हुने छ । कुवेती विमान कम्पनी जजिरा एयरवेजले पनि तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। ‘जजिरा एयरवेजका र विमानस्थल व्यवस्थापनबीच समन्वय भइरहेको छ,’उनले भने। यसअघि गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतकै कारण वैकल्पिक रूपमा भैरहवाबाट चारवटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गरेका थिए । त्यो अवधिमा सातामा २० वटासम्म उडान भैरहवाबाट भएका थिए । भैरहवा विमानस्थलवाट नियमित उडानको तयारी भइरहेको खबरसँगै भैरहवाका व्यापारीहरूमा पनि उत्साह छाएको छ । लामो समयदेखि विमानस्थल सञ्चालनको माग गर्दै विभिन्न अभियान सन्चालन गर्दै आएका स्थानीय व्यापारी नारायणप्रसाद भण्डारी भन्छन्,‘भैरहवाको विमानस्थल रुपन्देहीको विकासको मेरुदण्ड हो । यसको सञ्चालनले यो क्षेत्रमा छुट्टै उत्साह सिर्जना गर्नेछ ।’ गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडानको पाँच महिनाको अवधिमा २ सयभन्दा बढी उडानमार्फत करिब ७ हजार यात्रुले सेवा लिएका थिए । त्यसयता केवल केही चार्टर उडान मात्र भएको थियो । २०७९ साल जेठ २ गते, २५६६औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए ।
जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा
काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो । ‘शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने । विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।