विकासन्युज

एकै दिन ४ हजार २ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । एकै दिन सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको हो । यसअघि बिक्री सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य घटेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।  यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेकाे छ । महासंघका अनुसार प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

६ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदै, एयर एसियाले २६ अक्टोबरदेखि उडान भर्ने

काठमाडौं । ६ महिनासम्म अन्तर्राष्ट्रिय उडान ठप्प रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । थाईल्यान्डको थाई एयर एसियाले आगामी अक्टोबर २६ बाट उडान सञ्चालन गर्ने पक्का भएको छ । नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाई एयर एसियाले हप्तामा दुईपटक उडान भर्ने अनुमति माग गरेको छ ।  उनले भने, ‘थाई एयर एसियाले २६ अक्टोबरदेखि नियमित रूपमा हप्तामा दुई उडान गर्ने गरी अनुमति माग गरेको छ । त्यस्तै, जजिरा पनि उडानको तयारीमा छ ।’ भुलका अनुसार विमानस्थलमा स्लटको तयारी भइरहेको छ । तयारी पुरा हुनासाथ उडान अनुमति दिएर भैरहवामा उडान हुने छ । कुवेती विमान कम्पनी जजिरा एयरवेजले पनि तिहारपछि उडान सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। ‘जजिरा एयरवेजका र विमानस्थल व्यवस्थापनबीच समन्वय भइरहेको छ,’उनले भने। यसअघि गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतकै कारण वैकल्पिक रूपमा भैरहवाबाट चारवटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गरेका थिए । त्यो अवधिमा सातामा २० वटासम्म उडान भैरहवाबाट भएका थिए । भैरहवा विमानस्थलवाट नियमित उडानको तयारी भइरहेको खबरसँगै भैरहवाका व्यापारीहरूमा पनि उत्साह छाएको छ । लामो समयदेखि विमानस्थल सञ्चालनको माग गर्दै विभिन्न अभियान सन्चालन गर्दै आएका स्थानीय व्यापारी नारायणप्रसाद भण्डारी भन्छन्,‘भैरहवाको विमानस्थल रुपन्देहीको विकासको मेरुदण्ड हो । यसको सञ्चालनले यो क्षेत्रमा छुट्टै उत्साह सिर्जना गर्नेछ ।’ गत अप्रिलदेखि बन्द रहेको नियमित अन्तर्राष्ट्रिय उडानको पाँच महिनाको अवधिमा २ सयभन्दा बढी उडानमार्फत करिब ७ हजार यात्रुले सेवा लिएका थिए । त्यसयता केवल केही चार्टर उडान मात्र भएको थियो । २०७९ साल जेठ २ गते, २५६६औं बुद्ध जयन्तीको अवसर पारेर उद्घाटन गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाई एयर एसिया र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए ।

जेनजी आन्दोलनका सहिद सन्तानका लागि काठमाडौं युरो स्कुलको पूर्ण छात्रवृत्ति घोषणा

काठमाडौं । गोंगबु–बनियाटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले परिवर्तनका लागि ज्यान आहुति दिएका जेनजी आन्दोलनका सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने निर्णय गरेको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र सहिदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो । ‘शिक्षा नै सशक्तिकरणको माध्यम हो । लोकतन्त्रका लागि ज्यान आहुति दिने सहिदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने । विद्यालयले सहिद परिवारका अभिभावक वा नातेदारहरूलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। काठमाडौं युरो आईबी वर्ल्ड स्कूलले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  विद्यालयले सहिद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ । 

मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै

काठमाडौं । डिजिटल युगमा जब हामी ‘सबैभन्दा धनी’ भन्ने विषयमा सोच्दछौं तब धेरैको मनमा पहिलो नाम आउँछ– एलन मस्क । तर करिब १४औं शताब्दीमा पश्चिम अफ्रिकामा शासन गरेका माली साम्राज्यका राजा मन्सा मुसा (Mansa Musa I) को तुलनामा यी आधुनिक उद्योगपतिको सम्पत्ति धेरै कम देखिन्छ । मन्सा मुसालाई विश्वकै इतिहासकै सबैभन्दा धनी व्यक्ति मानिन्छ। मन्सा मुसा करिब १२८०–१३३७ ईस्वीमा माली साम्राज्यका राजा थिए । उनी आफ्नो साम्राज्यका सुन, खनिज स्रोत, व्यापार, भूमि र कर बाट अकल्पनीय धनको मालिक बने । आजको मूल्यमा उनको सम्पत्ति करिब ४–५ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो आधुनिक समयका धनी उद्योगपति मस्क वा बेजोसको सम्पत्तिभन्दा धेरै गुणा बढी हो । उनको प्रसिद्धि विशेषगरी १३२४–१३२५ ईस्वीको हजयात्राबाट फैलियो । मन्सा मुसा मक्कामा हज गर्न गएका थिए र उनका हजारौं अनुयायी, सैनिक र सेवकहरू उनीसँगै थिए । उनले यात्रा गर्दा हजारौं किलो सुन वितरण गरे, जसले गर्दा अरब र इजिप्ट क्षेत्रको अर्थव्यवस्था केही समयका लागि अस्थिर भएको थियो । यो यात्रा केवल धार्मिक उद्देश्यको मात्र नभई माली साम्राज्यको शक्ति, सम्पत्ति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्ने अवसर पनि बनेको थियो । मन्सा मुसा केवल धनाढ्य मात्र थिएनन्स उनी विद्या, कला र संस्कृति संरक्षणकर्ता पनि थिए । उनले टिम्बक्टु, जिने, कणो जस्ता शहरहरूलाई शिक्षा र सांस्कृतिक केन्द्रमा परिणत गरे ।  टिम्बक्टुमा उनले पुस्तकालय, इस्लामिक विद्यालय (मद्रासा) र विश्वविद्यालय स्थापना गरे, जसले पछि शताब्दीभर विद्वान र विद्यार्थीलाई आकर्षित गर्‍यो । उनी आफैले विद्वानलाई आमन्त्रित गर्थे र किताब किन्थे, जसले ज्ञानको संरक्षणमा ठूलो योगदान पुर्‍यायो । वास्तुकलामा पनि मन्सा मुसा अग्रणी थिए । उनले अफ्रिकामा इस्लामिक शैलीमा मस्जिद र सार्वजनिक भवनहरू बनाउन प्रोत्साहन गरेका थिए । टिम्बक्टुको प्रसिद्ध साँगोर मस्जिद उनकै शासनकालमा बनेको हो । मन्सा मुसाको सन्तानको बारेमा ऐतिहासिक रूपमा स्पष्ट जानकारी छैन । सिंहासनको उत्तराधिकारी परिवार वा अन्य सम्बन्धीबाट आएको मानिन्छ । तर उनका योगदानहरूले माली साम्राज्यलाई विश्वकै आर्थिक, धार्मिक र सांस्कृतिक शक्ति बनाएको थियो । मन्सा मुसाको जीवन र शासनकालले प्रमाणित गर्छ कि वास्तविक शक्ति केवल धनमा होइन, विद्या, संस्कृति र धर्मको संरक्षणमा पनि छ । उनी केवल धनी राजा नभई, इतिहासका उत्कृष्ट शासक र सांस्कृतिक संरक्षकका रूपमा आज पनि सम्झिन्छन् ।

३५ प्रतिशत लाभांश बाँड्ने सेन्चुरी इनर्जीको घोषणा

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर गरि जम्मा ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते काठमाडौंमा बिहान साढे ८ बजे वार्षिक साधारण सभा बोलाएको छ  कम्पनीको सभाले पुँजी संरचना परिवर्तन तथा पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने, हकप्रद सेयर वा जगेडा सेयर जारी गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धी छलफल गर्नेछ । सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । 

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

राम थापा र सन्तोष गौतम काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ । ‘विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो,’ उनले भने, ‘मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।’ पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उनले बताए ।  स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताए ।  ‘चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ,’ उनले भने, ‘प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी-पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।’ घोडेपानी-पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति १५० रुपैयाँ र नेपालीले ५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक १५० देखि २ सय जनासम्म विदेशी पर्यटक आएका बताए ।  ‘गत वर्ष यही याममा दैनिक ४ सय जनाको अनुपातमा पर्यटक आएका थिए । जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ,’ उनले भने ।  घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहदेखि २ हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उलेरी-घोडेपानी, नयाँपुल-घान्द्रुक-घोडेपानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोडेपानी र तातोपानी-घार-शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।  ‘पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ,’ उनले भने, ‘पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।’ हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा-जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताए । रासस

हिमपातले न्यालु सडक बन्द, हिउँ पन्छाउन ४ दिन  लाग्ने

काठमाडौं । अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका-६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक ६ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका-५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ । सडकमा जमेको हिउँ पन्छाउन ४ दिन  लाग्ने उनले बताए ।  समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ । हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन् ।

‘दसैँ-तिहार, चेलीलाई उपहार’ अभियानमा ४३६ जनाले लिए निःशुल्क यातायात सेवा

काठमाडौं । खोटाङ जिल्लाका एक युवा समूहले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरेको ‘दसैँ–तिहार, चेलीलाई उपहार’ अभियानमा जिल्लाका ४३६ जना छोरी चेलीले निःशुल्क यातायात सेवा दिएका छन् । नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईको अगुवाइमा सञ्चालन गरिएको अभियानमा विभिन्न स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत निःशुल्क यातायात सेवा प्रदान गरेका हुन् । जिल्लाका १० वटै स्थानीय तहका युवाले आफ्नै मोटरसाइकलमार्फत छोरीचेलीलाई घरदेखि माइतीघर र माइतीघरदेखि घरसम्म तथा मावली घरसम्म लैजान र फर्काउने सेवा दिएका छन् । चाडपर्वको मौकामा यातायातको पहुँच नपुगेको र सार्वजनिक सवारी साधन भरिभराउ हुँदा भने जस्तो सिट नपाएर माइती/मावली जान नपाउने छोरीचेलीलाई लक्षित गरेर अभियान चलाइएको हो ।  दसैँको टीका (असोज १६ देखि असोज १९ गते) सम्म सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न सडकखण्डको ३५ किलोमिटर दूरीभित्रका छोरीचेलीलाई माइत, मावल र घर फर्काउने सेवा दिइएको थियो । अभियानमा जोडिएका युवाले ६६ वटा मोटरसाइकल र शुभम् फाउण्डेसनको एउटा चार पाङ्ग्रे जीपमार्फत सेवा दिएका हुन् । १० वटै स्थानीय तहमा संयोजक तोकेर सञ्चालन गरिएको अभियान अन्तर्गत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारबाट २०५ जनालाई मोटरसाइकल र ९० जनालाई जीपबाट निःशुल्क यातायात सेवा प्रदान गरिएको युवा समूहले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ हलेसी बजारबाट २३ जना, केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारबाट ७५, दिप्रुङ चुइचुम्माबाट २१ तथा रावाबेँसीबाट २२ जनाले मोटरसाइकल सेवा लिएका छन् । पहाडी भूगोल, कच्ची सडक र बर्खायामका कारण बिग्रेर अवरुद्ध बनेका सडकमा सबैतिर सार्वजनिक यातायात पुग्न नसक्ने अवस्था भएपछि छोरीचेलीलाई घरदेखि माइती तथा माइतीघरदेखि आफ्नो घरसम्म आवतजावत गराउन अभियान सञ्चालन गरिएको संयोजक राईले जानकारी दिए ।  ‘बिना स्वार्थ चाडपर्वमा समयमै गन्तव्य पुग्न र फर्कन सहज होस् भन्ने मानवीय भावनाले अभियान चलाएका हौँ । अब तिहारलक्षित अभियान पनि चलाउने योजना बनाएका छौँ,’ उनले भने, ‘तिहारका लागि आउँदो कात्तिक ५ देखि ७ गतेसम्म अभियान चलाउने तयारी गरिएको छ । यस वर्षको दसैँ र तिहारमा करिब एक हजार छोरीचेलीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।’ यस वर्षका लागि अभियान चलाउन जनसम्पर्कका लागि दिक्तेल बजारस्थित किरातचोकमा सचिवालय नै स्थापना गरिएको थियो । मौसममा आएको खराबी तथा सबै ठाउँमा मोबाइल फोनको टावर नटिप्ने भएकाले सम्पर्कका लागि सचिवालय स्थापना गरेर निःशुल्क यातायात सेवा प्रदान गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका र सवारीसाधनको पहुँच नभएका छोरीचेलीलाई घरबाट माइतीघर र माइतीघरबाट घरसम्म आउने जाने सेवा दिइएको युवा समूहले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको सचिवालयमा सेवाग्राहीको विवरण सङ्कलन गर्दै निःशुल्क यातायात सेवा दिइएको सचिवालय सदस्य अनिशा रम्तेलले जानकारी दिए ।  युवा समूहले सञ्चालन गरेको अभियानका लागि विभिन्न निकायले इन्धन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो समूहले गत वर्षको दसैँतिहारमा ४१५ छोरीचेलीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।