सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक
काठमाडौं । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङखला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । ५ वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ । ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठे साँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए । ढोरपाटन-जलजला सडकको गुरु घाटमा एउटा र दुइवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उनको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनी बताउँछन् । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ । ‘अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो,’ अध्यक्ष पुनले भने, ‘यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।’ समुद्री सतहबाट ३ हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकै ठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोखे । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङखलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाए । ‘ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला,’ उनले भने । रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाए । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उनको भनाइ छ । यतिबेला जलजला पुग्ने गरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् ।
कोशी र गण्डकीमा हल्का वर्षा हुने, अन्य भागमा मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भू-भागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी दुवै प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरूले धारणा राखेको बताए । उहनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्तिसमेत जनाए । उनका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो । बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ । बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरि भोलि छलफल हुने उनले जानकारी दिए । जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने महतको भनाइ छ ।
औषधि प्रतिनिधिहरूमाथि फैलिएका आरोप निराधार, संघले गर्यो खण्डन
काठमाडौं । नेपाल मेडिकल एण्ड सेल्स रिप्रेसेन्टेटिभ्स संघ, काठमाडौं इकाई (एनएमएसआरए) ले औषधि प्रतिनिधिहरूमाथि हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका आरोपहरू पूर्ण रूपमा गलत र निराधार भएको स्पष्ट पारेको छ । संघले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा खटिएका प्रतिनिधिहरूलाई गैरव्यावसायिक वा अनैतिक गतिविधिमा संलग्न भएको भनी फैलाइएका समाचारहरू भ्रामक मात्र नभई प्रतिनिधिहरूको इज्जतमा प्रहार गर्ने उद्देश्यले गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘औषधि प्रतिनिधिहरू स्वास्थ्य क्षेत्रका अभिन्न अंग हुन्। उनीहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई वैज्ञानिक जानकारी र नवीनतम औषधीय तथ्याङ्क उपलब्ध गराउने महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । औषधि प्रतिनिधिहरूको मर्यादा, इमानदारी र व्यावसायिकता माथि प्रश्न उठाउने कुनै पनि प्रयास अस्वीकार्य छ ।’ संघले यसरी फैलाइएका गलत सूचनाले व्यक्तिगत मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको विश्वसनीयता र सन्तुलनमा समेत नकारात्मक असर पर्ने चेतावनी दिएको छ। साथै संघले आफ्ना सदस्यहरू कानुन, आचारसंहिता र स्वास्थ्य निकायको निर्देशनअनुसार कार्यरत रहेको बताउँदै सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सूचनाविरुद्ध कडा कानूनी कदम चाल्न सकिने चेतावनीसमेत दिएको छ । संघले संविधानले सुनिश्चित गरेको मर्यादित पेशागत अधिकार, सुरक्षित कार्य वातावरण र स्वतन्त्रतापूर्वक काम गर्ने हक औषधि प्रतिनिधिहरूलाई पनि लागू हुने उल्लेख गरेको छ ।
हामी निर्वाचनमा भाग लिन तत्पर छौं, संसद पुर्नस्थापनाको ढोका भने बन्द भएको छैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सधैं निर्वाचनमा जान तयार रहेको पार्टीका रुपमा आफूलाई चिनाएको बताएको छ । बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा भाग लिन जहिल्यै तत्पर रहेको बताएका हुन् । ‘कांग्रेस सधैं निर्वाचनका लागि तत्पर छ, लोकतान्त्रिक पार्टी भएकोले पनि त्यसमा सहमत नहुने कुरा भएन तर सरकारले कति निष्पक्ष हिसाबले काम गर्छ भन्ने हो,’ उनले भने । यस्तै, उनले संसद पुर्नस्थापनाको ढोका भने बन्द नभइसकेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्बोधनका क्रममा कांग्रेस पनि पुर्नस्थापनाको पक्षमा उभिन्छ भन्नु भएको छ, यसमा कांग्रेसको धारणा के छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महतले भने, ‘हामी निर्वाचनका लागि जहिल्यै तत्पर छौं तर संसद पुर्नस्थापनाको ढोका पनि बन्द भएको छैन ।’ अन्तरिम सरकारले फागुन २१ गते संघीय चुनावको मिति तय गरेको छ । अहिले निर्वाचन हुने नहुने विषयमा सरोकारवालाले प्रश्न उठाइरहेका छन् ।
हंगेरीका लाज्लो क्राज्नाहोरकाईले पाए साहित्यमा नोबेल पुरस्कार
काठमाडौं । साहित्यिक क्षेत्रका उत्कृष्ट कृति र योगदानको कदर गर्दै यस वर्षको नोबेल पुरस्कार हंगेरीका लेखक लाज्लो क्राज्नाहोरकाईलाई प्रदान गरिएको छ । विजेताको घोषणा आज गरिएको हो । नोबेल पुरस्कारको आधिकारिक वेबसाइटका अनुसार ‘विनाशकारी डरको वातावरणबीच कलाको शक्ति पुन: स्थापित गर्ने र प्रभावशाली तथा दूरदर्शी रचनात्मक कार्यका लागि यो पुरस्कार दिइएको हो ।’ ‘लाज्लो क्राज्नाहोरकाई मध्य युरोपेली साहित्य परम्पराका एक महान महाकाव्य लेखक हुन् । यो परम्परा फ्रान्ज काफ्कादेखि थोमस बेर्नहार्डसम्म फैलिएको छ,’ वेबसाइटमा उल्लेख छ । लाज्लोको जन्म सन् १९५४ मा हंगरीको दक्षिणपूर्वस्थित सानो सहरमा भएको थियो, जुन रोमानियाको सीमासँग नजिकै पर्छ । उनको पहिलो उपन्यास ‘सटान्टान्गो’ सन् १९८५ मा प्रकाशित भएको थियो र त्यसयता साहित्यप्रेमीहरूको मन जित्दै आएका छन् । यस पुरस्कारसँगै उनी विश्वसाहित्यको प्रतिष्ठित लेखकको रूपमा झन् बलियोसँग स्थापित भएका छन् ।
पार्टी नेतालाई देउवाको सन्देश : एक भएर अगाडि बढ्नू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई एकमत भएर अगाडि बढ्न आग्रह गरेका छन् । बबहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनले सन्देश पठाएर यस्तो आग्रह गरेका हुन् । उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवाको सन्देश बैठकमा सुनाएका थिए । ‘सभापतिजीले बैठक बसेर सबै एकताबद्ध भएर अघि बढ्नु भन्ने सन्देश पठाउनु भएको छ,’ उनले बैठमा भनेका थिए । बिहीबारको बैठक देउवाबिना बसेको थियो । बैठकको अध्यक्षता पार्टी उपसभापति खड्काले गरेका थिए । पार्टीमा नेताहरुले नियमित महाधिवेशनको प्रस्ताव राखेका छन् । महामन्त्री गगन थापाले देउवालाई सभापतिबाट विदा दिएर महाधिवेशन गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
काठमाडौं । भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रंगनाथनलाई गैरकानूनी हत्या र लागुऔषधमा मिलावट गरेको आरोप लगाइएको छ । मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाहरूको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो । सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डीईजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ । यस प्रकरणपछि मध्य प्रदेश र अन्य राज्यहरूले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि भारतीय अधिकारीहरूलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ । यो घटना भारतमामात्रै सीमित छैन । सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाएपछि गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो । उज्बेकिस्तानमा पनि २०२२–२०२३ बीचमा भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो । घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ । रासस