बाढीपहिरोका कारण तीन प्रदेशका ९ राजमार्ग अवरुद्ध
काठमाडौं । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा तीन प्रदेशका नौ मुख्य राजमार्ग अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नं ४ वरुणखोलास्थित कोशी राजमार्ग र सोही जिल्लाको मकालु गाउँपालिका वडा नं ३ एकुवास्थित कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै बाढीपहिरोलो इलामको इलाम नगरपालिका वडा नं ९ राजदुवालीस्थित मेची राजमार्ग र पाँचथरको पाँचथर तुम्बेवा गाउँपालिका वडा नं २ नावाखोलास्थित तमोर करिडोरसमेत अवरुद्ध भएको प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं २ स्थित पासाङ ल्हामु सडकखण्ड, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ माम्तीखोलास्थित वीपी राजमार्ग र सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं १ नेपालथोकस्थित वीपी राजमार्गसमेत अवरुद्ध भएको छ । यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ५ कुरिल्लास्थित कर्णाली करिडोर र कालिकोटको पचालझरना गाउँपालिका वडा नं ८ जुगेनीखोलास्थित कर्णाली करिडोरसमेत पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता घिमिरेले बताए । वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं १ स्थित कोशी लोकमार्ग, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ८ बगुवाखोलास्थित कान्ति लोकपथ सडक र मकवानपुरकै वकैया गाउँपालिका वडा नं ११ घटटेपाखास्थित कान्ति लोकपथ एकतर्फीरुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सर्यो एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेको बहुप्रतीक्षितत केन्द्रीय कमिटी बैठक दुई दिन पर सर्ने भएको छ । यस अघि असोज २७ मा सुरु हुने भनिएको उक्त बैठक असोज २९ का लागि सारिएको हो । अध्यक्ष केपि शर्मा ओलीसँग उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक भेटमा ओलीले उक्त जानकारी गराएको एक केन्द्रीय सदस्यले जानकारी गराए । अध्यक्षको कार्यव्यस्तताका कारण बैठक सरेको बुधवारको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । अर्का एक केन्द्रीय सदस्यका अनुसार बैठकको तयारी नपुगेकाले बैठक सारिएको हो । बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखन समेत नसकिएकोले पनि बैठक दुई दिन सार्नु परेको उनले जानकारी दिए ।
इप्पानका ७ माग : क्षतिग्रस्त आयोजनालाई संकट ग्रस्त घोषणा गर्नुपर्ने, आईपीओ खोल्न दिनुपर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावित जलविद्युत आयोजनाहरुलाई विभिन्न राहत प्याकेज दिन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग भेट गर्दै इप्पान अध्यक्ष गणेश कार्कीले बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनर्निर्माणको लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने बताए । २०८० जेठ ३२ र असार १ गते, २०८१ असार/साउन तथा असोज ११/१२ र २०८२ को असार/साउन र हालैको बाढीबाट क्षतिग्रस्त आयोजनाहरू सबैलाई मध्येनजर गरी विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी), अनुमतिपत्रको अवधि, कर्जा पुर्नतालिकीकरण, लङटम फाइनान्सिङ र भन्सार महसुलमा छुट लगायतका विषय समेटेर राहत प्याकेज ल्याउनुपर्ने पनि अध्यक्ष कार्कीले बताए । भेटमा ऊर्जामन्त्री कुलमान घिसिङले बाढी प्रभावित आयोजनालाई सक्दो राहत उपलब्ध गराउन पहल गर्ने बताए । उनले वन सँग सम्बन्धित ऊर्जा आयोजनाका समस्याहरू समाधानका लागि आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराएका थिए । यहि असोज १७ देखि १९ गतेसम्म आएको अति भारी वर्षाका कारण सञ्चालनमा रहेका २० वटा जलविद्युत आयोजना प्रभावित भएकोमा १३५ मेगावाटका १७ वटा जलविद्युत आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको छ भने १५६ मेगावाटका ३ वटा आयोजना आंशिक प्रभावित भएका छन् । त्यसैगरी निर्माणाधीन ५२० मेगावाट क्षमताका १७ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । यस्ता छन् इप्पानले राखेका माग १. बाढी प्रभावित आयोजनाको पुनः निर्माण तथा मर्मत सम्भारको लागि आवश्यक मेसिनरी उपकरणहरू १ प्रतिशत भन्सार शुल्कमा आयातको व्यवस्था गर्नुपर्ने । २. बाढी बाट क्षति पुगेका निर्माणाधीन आयोजनाको आरसीओडी म्याद ३ वर्ष र अनुमतिपत्रको अवधि ५ वर्ष थप गर्नुपर्ने । ३. बाढी प्रभावित आयोजनाको कर्जा पुर्नतालिकीकरण र पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने । ४. बाढी प्रभावित आयोजनाको रोकिएको आईपीओ र हकप्रद शेयर छिटो निस्कासनको व्यवस्था गर्नुपर्ने । ५. प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त जलविद्युत आयोजनालाई संकट ग्रस्त घोषणा गरी आवश्यक नीतिगत निर्णय गर्नुपर्ने । ६. बाढी प्रभावित आयोजनालाई लङटम फाइनान्सिङको व्यवस्था गर्नुपर्ने । ७. आर्थिक वर्ष २०८२/८३-२०८४/८५ भित्र विद्युत उत्पादन नगरे स्वतः टेक एण्ड पे पीपीएमा परिणत हुने व्यवस्था खारेज हुनुपर्ने ।
एमाले अध्यक्ष ओलीले आज भक्तपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको आयोजनामा सूर्यविनायक नगरपालिकाको गुण्डुमा उक्त कार्यक्रम सम्पन्न हुने एमाले भक्तपुरले जानकारी दिएको छ । कार्यक्रमको नाम ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम’ राखिएको एमाले भक्तपुरका अध्यक्ष किरण थापाले जानकारी दिए । यस कार्यक्रमको प्रमुख उद्देश्य पछिल्लो समय मुलुकमा विकसित असामान्य राजनीतिक परिस्थिति र त्यसको सन्दर्भमा एमाले नेता तथा कार्यकर्ताहरूले लिने रणनीतिक भूमिका स्पष्ट पार्नु रहेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री समेत रहेका थापाले बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेशस्तरीय नेता, जिल्ला र वडा कमिटीका पदाधिकारीहरू, जनसंगठनका प्रतिनिधिहरू तथा सर्वसाधारणको सहभागिता रहने छ। भक्तपुर जिल्ला एमालेका अनुसार यो कार्यक्रम पार्टीको नीति, दृष्टिकोण र कार्यदिशा सर्वसाधारणसम्म पुर्याउने एक महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ। यस विशेष कार्यक्रममा ओलीको सम्बोधनसँगै पार्टीको आगामी राजनीतिक यात्रा र संगठनात्मक रणनीतिहरू थप स्पष्ट हुने विश्वास लिइएको थापाले बताए ।
इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति, बन्धक र कैदीहरू मुक्त हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति गाजामा जारी दुई वर्ष लामो युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई मुक्त गर्ने शान्ति योजनाको पहिलो चरणमा सहमत भएको घोषणा गरेका छन् । ‘सबै बन्धकहरू छिट्टै मुक्त गरिनेछन् । यो एक बलियो, स्थायी र अनन्त शान्तितर्फको पहिलो कदम हो । सबै पक्षहरूलाई न्यायपूर्ण व्यवहार गरिनेछ,’ ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखे । यस प्रारम्भिक सम्झौताको इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेको छ । कतारी प्रधानमन्त्रीका प्रवक्ता माजिद अल अन्सारीले एक्स (पूरानो ट्वीटर) मा लेखेका छन् कि गाजा युद्धविराम सम्झौताका पहिलो चरण लागू गर्ने सबै सर्त र संयन्त्रमा सहमति भएको छ । जसले युद्ध रोक्ने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने र सहयोग सामाग्री गाजामा प्रवेश गर्न दिनेछ । थप विवरण पछि घोषणा गरिने उनले बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई धन्यवाद दिँदै एक्समा लेखेका छन्, ‘योजनाको पहिलो चरण अनुमोदनसँगै हाम्रा सबै बन्धकहरू घर ल्याइनेछन् । यो इजरायलका लागि कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय हो ।’ रोयटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले शनिबारदेखि बन्धक मुक्त गर्ने प्रक्रिया सुरु हुने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘बन्धकहरू सम्भवतः सोमबारसम्म मुक्त हुने अपेक्षा छ ।’ हमासले पनि छुट्टै वक्तव्य जारी गर्दै विवरण पुष्टि गरेको छ । ‘हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थ दाजुभाइहरूको प्रयासको उच्च प्रशंसा गर्छौं । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि कदर गर्छौं, जसले युद्धको स्थायी अन्त्य र गाजाबाट इजरायली कब्जा फिर्ता ल्याउन प्रयासरत छन्,’ वक्तव्यमा भनिएको छ । तर अझै केही विवादास्पद विषयहरूमा कुनै प्रगति भएको छैन, जस्तै राष्ट्रपति ट्रम्पले माग गरेअनुसार हमासले आफ्नो सशस्त्र संरचना विघटन गर्ने वा युद्धग्रस्त गाजाको प्रशासन कसरी सञ्चालन हुनेछ भन्ने विषय । इजिप्टमा भएको केही दिनको वार्तापछि भएको यो सम्झौताअनुसार करिब २० जना इजरायली बन्धकहरूको सट्टामा झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । ट्रम्पले यस विकासप्रति आशावादी देखिँदै केही दिनभित्रै मध्यपूर्व भ्रमण गर्ने संकेत दिएका थिए । गत महिना ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाअनुसार गाजामा शान्ति ल्याउन ‘सशस्त्रीकरण अन्त्य गर्ने प्रक्रिया’ सुरु गरिने उल्लेख थियो, जसअन्तर्गत हतियारहरू स्थायी रूपमा निष्क्रिय गरिनेछ । योजनाले गाजाको शासन ‘अस्थायी, प्राविधिक र गैरराजनीतिक प्यालेस्टिनी समितिद्वारा’ सञ्चालन गरिने प्रस्ताव गरेको छ, जसले गाजाका जनताका लागि दैनिक प्रशासनिक सेवा र नगरपालिका व्यवस्थापन हेर्नेछ । गाजा युद्ध सन् २०२३ को अक्टोबरमा सुरु भएको थियो, जब हमास अतिवादीहरूले इजरायलमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरेका थिए । त्यसपछि इजरायलको प्रतिशोधात्मक अभियानले ६७ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, गाजाको ठूलो भाग ध्वस्त पारेको छ र सम्पूर्ण मध्यपूर्वलाई संकटमा पारेको छ ।
सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० रुपैयाँले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको हो । बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ। ३ मिनेटको अवधिमा १०२.४१ अंक बढेर २ हजार ६६२ अंकमा पुगेको छ । यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । साथै, ३ मिनेटका अवधिमा २७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भए विपद्‍ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस्,’ उनले भने । नत्र पानी प्रदूषण भएकै कारण हैजा, झाडापखाला, टाइफाइड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहने उनको भनाइ छ । उनले वितरण गरिने खाद्यान्न, पानी र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे ।