इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति, बन्धक र कैदीहरू मुक्त हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति गाजामा जारी दुई वर्ष लामो युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई मुक्त गर्ने शान्ति योजनाको पहिलो चरणमा सहमत भएको घोषणा गरेका छन् । ‘सबै बन्धकहरू छिट्टै मुक्त गरिनेछन् । यो एक बलियो, स्थायी र अनन्त शान्तितर्फको पहिलो कदम हो । सबै पक्षहरूलाई न्यायपूर्ण व्यवहार गरिनेछ,’ ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखे । यस प्रारम्भिक सम्झौताको इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेको छ । कतारी प्रधानमन्त्रीका प्रवक्ता माजिद अल अन्सारीले एक्स (पूरानो ट्वीटर) मा लेखेका छन् कि गाजा युद्धविराम सम्झौताका पहिलो चरण लागू गर्ने सबै सर्त र संयन्त्रमा सहमति भएको छ । जसले युद्ध रोक्ने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने र सहयोग सामाग्री गाजामा प्रवेश गर्न दिनेछ । थप विवरण पछि घोषणा गरिने उनले बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई धन्यवाद दिँदै एक्समा लेखेका छन्, ‘योजनाको पहिलो चरण अनुमोदनसँगै हाम्रा सबै बन्धकहरू घर ल्याइनेछन् । यो इजरायलका लागि कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय हो ।’ रोयटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले शनिबारदेखि बन्धक मुक्त गर्ने प्रक्रिया सुरु हुने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘बन्धकहरू सम्भवतः सोमबारसम्म मुक्त हुने अपेक्षा छ ।’ हमासले पनि छुट्टै वक्तव्य जारी गर्दै विवरण पुष्टि गरेको छ । ‘हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थ दाजुभाइहरूको प्रयासको उच्च प्रशंसा गर्छौं । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि कदर गर्छौं, जसले युद्धको स्थायी अन्त्य र गाजाबाट इजरायली कब्जा फिर्ता ल्याउन प्रयासरत छन्,’ वक्तव्यमा भनिएको छ । तर अझै केही विवादास्पद विषयहरूमा कुनै प्रगति भएको छैन, जस्तै राष्ट्रपति ट्रम्पले माग गरेअनुसार हमासले आफ्नो सशस्त्र संरचना विघटन गर्ने वा युद्धग्रस्त गाजाको प्रशासन कसरी सञ्चालन हुनेछ भन्ने विषय । इजिप्टमा भएको केही दिनको वार्तापछि भएको यो सम्झौताअनुसार करिब २० जना इजरायली बन्धकहरूको सट्टामा झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । ट्रम्पले यस विकासप्रति आशावादी देखिँदै केही दिनभित्रै मध्यपूर्व भ्रमण गर्ने संकेत दिएका थिए । गत महिना ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाअनुसार गाजामा शान्ति ल्याउन ‘सशस्त्रीकरण अन्त्य गर्ने प्रक्रिया’ सुरु गरिने उल्लेख थियो, जसअन्तर्गत हतियारहरू स्थायी रूपमा निष्क्रिय गरिनेछ । योजनाले गाजाको शासन ‘अस्थायी, प्राविधिक र गैरराजनीतिक प्यालेस्टिनी समितिद्वारा’ सञ्चालन गरिने प्रस्ताव गरेको छ, जसले गाजाका जनताका लागि दैनिक प्रशासनिक सेवा र नगरपालिका व्यवस्थापन हेर्नेछ । गाजा युद्ध सन् २०२३ को अक्टोबरमा सुरु भएको थियो, जब हमास अतिवादीहरूले इजरायलमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरेका थिए । त्यसपछि इजरायलको प्रतिशोधात्मक अभियानले ६७ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, गाजाको ठूलो भाग ध्वस्त पारेको छ र सम्पूर्ण मध्यपूर्वलाई संकटमा पारेको छ ।
सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा बिहीबार एक तोला सुन एक हजार २०० रुपैयाँले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल आज एक हजार २०० रुपैयाँले बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी दुई हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ रुपैयाँमा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेप्सेमा लाग्यो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा पहिलो सकारात्मक सर्किट लागेको हो । बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ। ३ मिनेटको अवधिमा १०२.४१ अंक बढेर २ हजार ६६२ अंकमा पुगेको छ । यस अवधिमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । साथै, ३ मिनेटका अवधिमा २७ करोड ५६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भए विपद्‍ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस्,’ उनले भने । नत्र पानी प्रदूषण भएकै कारण हैजा, झाडापखाला, टाइफाइड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहने उनको भनाइ छ । उनले वितरण गरिने खाद्यान्न, पानी र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे ।
हमासलाई गाजा शान्ति योजना स्वीकार गर्न मनाउन टर्कीसँग ट्रम्पको आग्रह
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई हमासलाई गाजा युद्ध अन्त्य गर्ने आफ्नो योजना स्वीकार गर्न मनाउन मद्दत गर्न आग्रह गरेको बताएका छन् । त्यसबेलादेखि टर्कीका अधिकारीहरूले शान्ति प्रक्रियालाई समर्थन गर्न वार्तामा संलग्न भएको उल्लेख गरे । संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा र आफूहरूको फोन संवादमा ट्रम्पलाई प्यालेस्टाइनमा समाधान कसरी प्राप्त गर्न सकिन्छ भनेर छलफल गरेको बताए । एर्दोगानले हमासले आजसम्म इजरायल भन्दा बढी रचनात्मक अडान देखाएको र इजरायलबाट यस्तै रचनात्मक व्यवहार नदेखिएको बताए । टर्कीले दुई–राज्य समाधानको आधारमा इजरायल–प्यालेस्टाइन समस्या समाधान गर्न काम गर्ने प्रतिवद्धता जनाए । एर्दोगानले गाजा प्यालेस्टिनी क्षेत्र नै रहनुपर्नेमा जोड दिँदै प्यालेस्टिनीहरूले अन्ततः गाजाको प्रशासन व्यवस्थापन गर्नु महत्वपूर्ण रहेको बताए ।
नेपाली कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । पार्टी मुख्यालयमा बस्ने उक्त बैठकमा आगामी रणनीति, आन्तरिक व्यवस्थापन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा विस्तृत छलफल हुने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बैठक यही समय हुने जानकारी दिएका छन् । उनले बैठकमा पार्टीका वरिष्ठ नेता र पदाधिकारीहरूको उपस्थिति हुने बताए । नेताहरूले यो बैठकलाई आगामी केन्द्रीय समितिको बैठक र पार्टीभित्रको संगठनात्मक संरचनाका लागि एउटा सुरुवात हुने व्याख्या गरेका छन् ।
सडक विभाग र निर्माण व्यवसायीलाई मन्त्री घिसिङको निर्देशन - ‘सडक चाँडै सञ्चालनमा ल्याउनुस्’
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षति पुर्याएका चौकीडाँडालगायतका सडक क्षेत्रहरूको स्थलअनुगमन गरेका छन् । मन्त्री घिसिङसँगै मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले बाढीले क्षतिग्रस्त बनाएको करिब ४ किलोमिटर सडक खण्डको अवलोकन गरेको हो । बाढीले बगाएको सो सडकमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । संघीय राजधानी काठमाडौंलाई बागमती, मधेश र कोशी प्रदेशका जिल्लासँग जोड्ने लाइफलाइन सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् । गत वर्षको बाढीले विपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड क्षति पुर्याएको थियो । सो खण्डमा अस्थायी डाइभर्सनमार्फत आवागमन सञ्चालन गरिएको थियो। तर, यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पुनः पूर्ण रूपमा बगाएको छ । गत वर्ष क्षति पुगेको सडक स्थायी रूपमा पुनर्निर्माण गर्न केही खण्डको ठेक्का लगाइसकिएको र बाँकी केही खण्ड ठेक्का सम्झौता गर्ने अन्तिम प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
आन्दोलनमा भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड
काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको बीमा दाबी रकम बुधबार (असोज २२ गते) सम्ममा करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा सो रकम दाबी गरिएको हो । निर्जीवन बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ वितरण गरिसकेका छन् । त्यस्तै, क्षतिको सर्भे प्रतिवेदन तयार गर्न २ हजार ७०६ जना सर्भेयर खटाइएको र तीमध्ये ३७४ सर्भे प्रतिवेदन प्राधिकरणमा पेश भइसकेको जानकारी प्राप्त भएको छ ।