चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो
म्याग्दी । स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी–नागेठाँटी–वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिएका हुन् । 'पोखरेबगरदेखि तल्लो घोडेपानी र कास्कीको नयाँपुुलदेखि उल्लेरी हुुँदै वनठाँटीसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुँदै आएको थियो', उनले भने, 'प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुुस्ताङ जोड्न यो छोटो बाटो भएकाले उल्लेरी, शिख, घार र घोडेपानीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेका हुन् ।' मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर छ ।
पहेँलो धातुले रातो बनायो नेप्से
काठमाडौं । दसैँको विदा हुनुभन्दा अगाडि अर्थात् गत असोज १२ गते ४४ खर्ब ५२ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ थियो, बजार पुँजीकरण अर्थात् लगानीकर्ताहरुको सेयर सम्पत्ति । तर, मंगलबार (असोज २२ गते) को बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ । मंगलबार र बुधबार मात्रै लगानीकर्ताहरुले १ खर्ब ७३ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ गुमाइसकेका छन् । दुई दिनको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०३.९२ अंक घटिसकेको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंक र बुधबार ४५.३६ अंक घटेर नेप्से परिसूचक २ हजार ५५९.५९ अंकमा झरेको छ । दसैँ अगाडि अर्थात् गत असोजमा नेप्से सूचक २ हजार ६६३.५१ अंकमा थियो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भयो । गत असोज १२ गते सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३६० रुपैयाँ थियो । १० दिनको अवधिमा सुनको मूल्य प्रतितोला ४६ हजार ६४० रुपैयाँ बढिसकेको छ । यसरी सुनका लगानीकर्ताहरुले तोलामै हजारौं रुपैयाँ फाइदा लिइरहँदा सेयर लगानीकर्ताहरु पनि सुनतिरै आकर्षित भइरहेका छन् । जसले गर्दा सेयर बजार घट्न पुगेको स्वयम् सेयर लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता देव गुरागाईँ पहेँलो धातुले नेप्से राताम्मे बनाएको बताउँछन् । ‘पहेँलो धातुको मूल्य एकाएक कहाँ पुगिसक्यो । तर, सेयर बजार जस्ताको त्यस्तै रह्यो । सेयर लगानीकर्ताहरू सुनमा डाइभर्ट भएका देखिन्छन् । त्यो त नतिजा पनि देखिसकेको छ । यतातिर (नेप्से) हुनुपर्नेमा उतातिर (सुन) गएर नतिजा देखिन थाल्यो । सेयर बजार सेलायो,’ उनले भने । उनका अनुसार जेनजी आन्दोलन र बाढी पहिरो बाहेक सबै माहोल राम्रो छ । पुँजी बजार सुधार सम्बन्धी प्रतिवेदनमा पनि विगतमा देखिएका अड्चनका विषय राखिएका छन् । सेयर बजारसा देखिएका अड्चन खुला हुने आँकलन गरिएको हुँदा लगानीकर्ताहरुले धैर्यता राख्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक अनिश्चितताले पनि सेयर लगानीकर्ताहरुमा निराशा छाएको छ । जे-जे हुने भनिएको छ, चुनाव लगायतमा अन्योलता छन् । साथै ठूलो अर्काे शक्ति संघर्ष हुने किसिमको माहोल पनि देखिन्छ । अब यसलाई कसरी स्पष्ट हुन्छ, आगामी दिनमा देखिएला । तर, तत्काललाई लगानी गरेर ढुक्क हुने अवस्था भने देखिँदैन,’ उनले भने, ‘बजारमा उथलपुथल हुँदा ट्रेडरहरुलाई ठिकठिकै होला । तर, ढुक्क भएर लगानी गर्ने वातावरण नभएकाले लगानीकर्ताहरु जुरमुराएका छैनन् ।’ ३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण आइसकेको हुँदा बरु सुनमा लगानी गर्नु उपयुक्त हुने उनको धारणा छ । सेयर बजार पनि २५ सयको बटम लाइन रहेकाले धेरै नघट्ने उनले बताए । ‘२५ सयको बटम लाइन हो । तर, बढ्छ भन्नका लागि ३ हजार अंकमाथि गएपछि मात्रै हो । ३ हजार र २५ सयमा धेरै ठूलो ग्याप छ । वियरिसमा नजओस भन्ने हो । यदि वियरिसमा गयो भने ठूलो प्यानिक हुन्छ ।’ लगानीकर्ता राजु पौडेल पनि सेयर लगानीकर्ताहरु सुन बजारमा डाइभर्ट भएको बताउँछन् । तर, सुन मात्रै फ्याक्टर नभएर अन्य विभिन्न घटनाहरूले गर्दा पनि बजार ओरालो लागेको उनको भनाइ छ । ‘सुन मात्रै बढ्न थाल्यो । सबै सुनतिर लागेको जस्तो देखिन्छ । ठ्याक्कै सुन बढेर बजार घटेको भन्ने पनि होइन । विगतमा पनि यसरी सुन बढ्दा बजार घटेको देखिँदैन । तर, वित्तीय चेत भएका मान्छेहरूले पोर्टफोलियो डाइभर्सिफिकेसन गर्ने जमर्को गर्छन्,’ उनले भने, ‘जस्तो सेयर बजार घट्दा सुनतिर सिफ्ट हुने, बैंकको ब्याजदर बढ्दा सेयर बेचेर एफडीमा राख्ने गरेका छन् । तर, अहिले पूरै त्यस्तो ट्रेण्ड भने होइन ।’ उनका अनुसार जेनजी आन्दोलन पछि देशमा ठूलो उथलपुथल भयो । निर्वाचन गर्नका लागि अन्तरिम सरकार बनेपनि विदेशी चलखेल लगायत विभिन्न टीकाटिप्पणीले लगानीकर्ताहरुमा नकारात्मक असर परेको उनको भनाइ छ । साथै, अझै ठूला आन्दोलन गर्ने भन्ने विषयले पनि लगानीकर्ताहरुमा अन्योलता कायम रहेको उनले बताए । ‘जेनजीहरुले हाम्रा मागहरु पुरा भएनन्, हाम्रा माग पूरा गर्नका लागि फेरि देशव्यापी रुपमा आन्दोलन गर्ने भनिरहेका छन् । साथै, दसैँ लगत्तै पूर्वी नेपालमा भीषण बाढी पहिरोले धेरै हाइड्रोपावरहरु तहसनहस भए । जसले निर्जीवन बीमालाई पनि प्रभाव परेको छ,’ उनले भने, ‘जेनजी आन्दोलन र रसुवामा आएको बाढीले निर्जीवन बीमा कम्पनी थाले परेका थिए । अहिलेको बाढीले पनि फेरि निर्जीवनतर्फ असर गर्दा निर्जीवन बीमा र हाइड्रो सेक्टरमा प्रेसर आउँदा समग्र बजार नै दबाबमा देखिएको हो ।’ चुनाव हुन्छ की हुँदैन भन्ने अहिले पनि अन्योलता रहेको बताउँदै उनले भने, ‘तिहार पछि ठूला आन्दोलन गर्ने भनेर पार्टीहरू सुनिएको छ । राजावादी, दुर्गा प्रसाई लगायत समूह पनि सडकमा आउने भनेपछि लगानीकर्ताहरुको मनोबल कमजोर भएको हो । यसकारण नै बजारमा गिरावट आएको देखिन्छ ।’
शिव श्री हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २३ गते अन्तिम दिन रहेको छ । भदौ १९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
रोशी खोलाले बीपी राजमार्ग बगाएपछि चरिकोट-खाडिचौर सडकको प्रयोग
काठमाडौं । असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट-मन्थली-चरिकोट-मुडे-खाडिचौर हुँदै दोलालघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ । सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थली स्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहर बोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात सञ्चालन गर्ने गरेको छ । बीपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौं आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौसल न्यौपानेले बताए । दसैँ मनाएर आ-आफ्नो कार्य क्षेत्र फर्कने यात्रुको सहजताका लागि आफूहरू निरन्तर क्रियाशील रहेको उहाँले बताए ।
राष्ट्र बैंकले रद्द गर्याे २ मनिचेञ्जर कम्पनीको लाइसेन्स
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौं महानगरपालिका-२६, मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम.ओम मनि एक्सचेन्ज प्रालिको लाइसेन्स रद्द गरेको जनाएको छ । यी दुईवटै मनिचेञ्जर कम्पनीले म्याद समाप्त भएको मितिले ३ महिनाभित्र नवीकरण गर्न नआएपछि रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो,’ राष्ट्रले जारी गरेको सूचनामा उल्लेख छ ।
मनसुन क्रमशः कमजोर हुँदै, कोशीबाहेक बाँकी भागमा मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भू-भागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । देशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा हटाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन जारी गर्दै सेयर धितो कर्जाको सीमा हटाएको हो । यसअघि सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ थियो । यस्तै, संगठित संस्थाको शेयर, डिबेञ्चर तथा अन्य लगानीमा राष्ट्र बैंकले ६ महिना भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको हो । यस्तै, खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्थालाई हटाएको छ ।
जेनजी युवाहरूको नाममा फ्री सेयरको आतङ्कले त्रसित हाइड्रो व्यवसायी, गुहार माग्दै गृहमन्त्रीको ढोकामा
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । अध्यक्ष गणेश कार्कीले जेनजी युवाहरूको नाममा जलविद्युत योजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशिघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए । लगत्तै गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । ‘जेनजी युवाहरूले माग राख्न पाउँछन् । जायज मागहरु भए वार्ता र छलफलबाट पुरा गर्न सकिन्छ । आयोजनाको उत्पादन नै बन्द गराउन त भएन,’ गृहमन्त्री अर्यालले बास्तोलालाई भने, ‘तपाईंले आयोजना सञ्चालनमा ल्याउन सक्नुहुन्न भने गृहले के सहयोग गर्नुपर्छ रिपोर्टिङ गर्नुस्, तर विद्युत उत्पादन रोकिनु भएन ।’ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सिन्धुपाल्चोकमा सञ्चालित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा जेनजी युवाहरुलाई १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी भदौ २५ गतेदेखि आयोजनाको विद्युत उत्पादन बन्द गराएका छन् । पूर्ण क्षमतामा विद्युत उत्पादन हुने वर्षायाममा आयोजनाले दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत उत्पादन गर्दै आएको थियो । पछिल्लो २८ दिनदेखि आयोजना बन्द हुँदा करिब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउनु परेको आयोजना प्रवर्द्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए । जेनजी युवाहरूले १० प्रतिशत निःशुल्क सेयर नदिएसम्म भोटेकोशीबाट विद्युत उत्पादन गर्न नदिने धम्कीसहितको पत्र कम्पनीलाई पठाएका थिए । जेनजीको नाममा २८ दिनसम्म आयोजना बन्द हुँदा पनि आयोजना सञ्चालनमा ल्याउन नसक्दा यही मौकामा स्थानीयहरूले सिन्धुपाल्चोकका अन्य जलविद्युत आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी पत्र पठाएका छन् । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएकाले राज्यले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा दिनुपर्ने बताए । निजी क्षेत्रले १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेर ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको भन्दै राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसके निजी क्षेत्रले काम गर्न नसक्ने डाँगीको भनाई छ । माथिल्लो बलेफीका सञ्चालक मोहन विक्रम कार्कीले जलविद्युत उत्पादकको मनोबल गिराउने काम भएकोले यस्तो वातावरणमा कुनै पनि प्रवर्द्धकहरुले थप लगानी गर्न नसक्ने बताए । जेनजी युवाहरूले सञ्चालनमा आइसकेको २२।२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाले १० प्रतिशत फ्री सेयर नदिए यही असोज ३० गतेदेखि आयोजनाको विद्युत उत्पादन बन्द गराउने पनि धम्कि दिएका छन् । अहिले सिन्धुपाल्चोकमा सञ्चालनमा आइसकेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर माग गरिएको छ । त्यस्तै अन्य निर्माणाधीन जलविद्युत आयोजनाहरुमा २२.१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दूधखोला लगायतका आयोजनामा पनि १० प्रतिशत फ्री सेयर माग्दै जेनजी र स्थानीय युवाहरूको नामबाट पत्र काटिएको छ ।