विकासन्युज

असामान्य मौसमी परिवर्तन, खुम्बुमा असोजमै हिमपात

काठमाडौं । सगरमाथा क्षेत्रमा शरद ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चे बजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्मे भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् । गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्मे बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए ।  खुम्बु पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो । ‘नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ । दिङ्बोचे क्षेत्रमा ५ वटा होटल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन,’ अधिकारीले भने ।  दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भासिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले भने, ‘हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ ।’ पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उनको भनाइ छ । असामान्य मौसमी परिवर्तन खुम्बुमा असोजमै हिउँ पर्नु असामान्य मानिन्छ । सामान्यतया मङ्सिरदेखि माघमा मात्र यहाँ बाक्लो हिमपात हुन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘हिउँ असोजमा पर्नु जलवायु परिवर्तनको सङ्केत हो । मैले असोज महिनामा हिउँ परेको घटना कमै मात्रामा देखेको छु । यो दुर्लभ घटना हो ।’ उनका अनुसार, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिने क्रम हुन्थ्यो, अहिले त्यो तालमेल हराएको उनको भनाइ छ । जीवनशैली र कामकाज प्रभावित हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ । असोज २० गते बिहान मौसम खुलेपछि केही हिउँ पग्लिए पनि चिसोले जनजीवन सुस्त बनेको स्थानीयको भनाइ छ । हिउँ परेपछि तापक्रम घटेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए ।  हिउँका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत आयोजनाको काम पनि रोकिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार कामदारहरू चिसोका कारण नाम्चे झरेका छन् । मौसम अनुकूल भएपछि मात्रै काम सुरु हुनेछ उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभावमा हिमाली जीवन        खुम्बु क्षेत्रमा पछिल्ला वर्षमा मौसममा अप्रत्यासित परिवर्तन देखिएको छ । कहिले असोजमै हिउँ पर्ने, कहिले माघमा हिउँ नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरुका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गएको छ । तर छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् । ‘पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने, होटल खाली हुने समस्या छ,’ स्थानीय व्यवसायी तोय कुमार श्रेष्ठले भने ।  हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ खुम्बुका बासिन्दाले असोजमै हिमपातपछि जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । “हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ,’ नाम्चेका सुमन मोक्तानले भने, ‘अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।’ स्थानीय जनप्रतिनिधिले पनि जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।  ‘हिउँ असामान्य समयमा परेपछि ढुवानी, पर्यटन र जनजीवन सबै प्रभावित हुन्छ,’ खुम्जुङका वडाध्यक्ष लक्ष्मण अधिकारीले भने, ‘हाम्रो आर्थिक जीवन हिउँसँगै बाँधिएको छ, त्यसैले राज्यले पनि यस क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ ।’   कोरियाली आरोहीको मृत्यु        महाकुलुङ गाउँपालिका-३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा यही असोज २० गते कोरियाली नागरिक टेजुन पार्कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । डिएसपी मनोजित कुँवरका अनुसार पार्क असोज १८ गते मेरापिक हिमाल आरोहणका क्रममा छ हजार ४६० मिटर उचाइमा पुगेका थिए । मौसम प्रतिकूल भएपछि पार्क र नेपाली गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए । खोजतलास गर्दा तेम्बा शेर्पा ६ हजार १०० मिटर उचाइमा जीवित फेला परेका थिए भने पार्क मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पार्कको शव हेलिकप्टरमार्फत लुक्ला ल्याई आवश्यक प्रकृया पूरा गरी काठमाडौंको शिक्षण अस्पतालमा शव परीक्षणका लागि पठाइएको कुँवरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण पार्कको ज्यान गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दसैँ सौहार्दपूर्ण वातावरणमा सम्पन्न हिमपात, दुर्घटना र आरोहणका घटनाबीच पनि सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुनै ठूलो अप्रिय घटना भएको छैन । ‘छिटफुट घटनाबाहेक दसैँ शान्तिपूर्वक बित्यो,’ डिएसपी कुँवरले भने ।  यद्यपि यही असोज १५ गते माप्य दूधकोसी गाउँपालिका-१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका थिए । प्रहरीका अनुसार ४९ वर्षीय मंगलमान राईले मादक पदार्थ सेवन पश्चात आफ्नी श्रीमती र दुई छिमेकीलाई खुकुरी प्रहार गरेका थिए । हाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । साथै शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका-३ फलाम खानीका प्रवीण विश्वकर्माको घर बगाएको छ । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाका अनुसार रातको समयमा आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याएको भने परिवारका सदस्य सकुशल छन् । उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन् । स्थानीयले बिहान पहिरोको अवस्था स्थलगत अवलोकन गरी राहतको पहल थालेका छन् ।

पहिरोले बेनी-जोमसोम-कोरला सडकमा यातायात प्रभावित

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बीचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात व्यवसायी भोज बहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए । ‘सामान्य बर्षा हुने बित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सवारी साधन गुडिरहेको र यात्रु हिँडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौ ।’ सडक मुनी कालीगण्डकी नदी छ भने करिब ८ सय मिटरमाथि र २ सय मिटर चौडाइको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरूले पनि यही सडक प्रयोग गर्छन् । मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका-१ का वडा सदस्य बलमान गौचनले बताए । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिँदैन । बेनी-जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । बर्खायामभरी पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताए । बर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाइ गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उनले बताए ।  ‘सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ । तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ,’ उनले भने । बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिए । 

आजको मौसम : मनसुनी वायुको प्रभाव कमजोर हुँदै, यी प्रदेशमा वर्षा हुने

काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का  अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ ।  गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार आज राती कोशी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगे सुदन गुरुङ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवा प्रहरी समक्ष पुगेका छन् ।  हामी नेपालका संस्थापक तथा जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै जाहेरी दिन जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेका हुन् ।  तर, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनिसकेको भन्दै प्रहरीले जाहेरी लिन नमानेको प्रहरी स्रोतले बताए । 

बालेनले कात्तिक ३० भित्र नयाँ पार्टी खोल्न सम्भव छ ?

काठमाडौं । अहिले नेपाली राजनीतिमा सबैभन्दा बढी चासोका रुपमा हेरिएका पात्र हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । स्वतन्त्र उम्मेद्वार बनेर महानगरको मेयरमा विजयी बनेका बालेन नेपाली राजनीतिमा थप बलियो र प्रभावशाली बन्दै गएका छन् ।  सञ्चार माध्यम र सार्वजनिक मञ्चमा देखिन खासै नरुचाउने उनी सामाजिक सञ्जाललाई प्रमुख हतियार बनाएर सर्वसाधारण सामु आफ्ना मत र धारणाहरु राख्दै आएका छन् ।  विशेषगरि भदौ २३ र २४ को जेनजी आन्दोलन हुनुमा बालेनको प्रमुख हात रहेको भन्नेहरू पनि प्रशस्त छन् । उनले जेनजीहरुलाई खुलेरै अगाडि बढ्न समेत सामाजिक सञ्जालमार्फत ढाडस दिएका थिए । जेनजीहरुले भदौ २४ गते विध्वंश मच्चाएपछि अब नगर, सार्वजनिक संरचना नजलाउ भनेर सामाजिक सञ्जालमा पोष्ट राखेर फर्काउने पनि उनै बालेन थिए ।  जेनजी आन्दोलनपछि उनै बालेनको थप चर्चा हुन थालेको छ । धेरैले उनले अब नयाँ पार्टी खोलेर अगाडि बढ्न सक्ने विश्लेषण गरिरहेका छन् भने कतिपयले उनी आफ्नो कार्यकालभर महानगरकै मेयर भएर बस्न सक्ने अनुमान पनि गरिरहेका छन् ।  जेनजीहरुले उनलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दा उनले फोन स्विच अफ गरेर बसे । धेरैले ६ महिनापछि हुने संघीय चुनावमा उनी पार्टी खोलेर अगाडि बढ्ने तयारी गरिरहेकोले अहिले ६ महिनाका लागि प्रधानमन्त्री नबेको टिप्पणी पनि गरिरहेका छन् । तर, यसबारे बालेनले भने मुख खोलेका छैनन् । बालेनको नजिक रहेर काम गर्नेहरु भने उनले पार्टी खोलेर अगाडि बढ्न सक्ने सम्भावना रहेको सुनाउँछन् । अहिले जेनजीहरुबाट पनि उनलाई नयाँ पार्टी खोलेर अगाडि बढ्न दबाब आइरहेको बुझिएको छ ।  अहिले बालेनकै समर्थनमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । उनकै कानूनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । त्यसैले पनि वर्तमान अन्तरिम सरकार रहेको बेला हुने चुनावमा उनले पार्टी खोलेर अगाडि बढेमा आफूलाई सरकारबाट सहयोग मिल्न सक्ने आशामा बालेन देखिन्छन् ।  त्यसैले पनि उनलाई पार्टी खोल्ने यो सुनौलो अवसर हो । तर, समय धेरै छैन । अन्तरिम सरकारले आगामी पाmगुन २१ गते निर्वाचन हुने घोषणा गरिसकेको छ ।  निर्वाचन आयोगले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । यदि अब बालेनले पार्टी खोलेमा पनि फागुन २१ को चुनावमा भाग लिन कात्तिक ३० गते अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्नेछ । त्यसका लागि धेरै समय छैन । किनकी नयाँ दलका लागि गर्नुपर्ने तयारी धेरै नै हुन्छ ।  आयोगको कार्यतालिकाले बालेनलाई दबाब परेको छ । अब उनले नयाँ पार्टी खोल्छन् वा खोल्दैनन् भन्ने विषय ठूलो चासोका रुपमा हेरिएको छ । बालेनको सचिवालयमा रहेर काम गरिरहेका एक सदस्यले पार्टी खोल्ने विषयमा चर्चा भए पनि आफूसँग पूर्ण सूचना नभएको जानकारी दिए ।  ‘उहाँले अहिलेसम्म पार्टी खोल्नेबारे कुनै कुरा भन्नु भएको छैन, जेनजीहरुबाटै दबाब भने आइरहेको छ, जनताले पाँच वर्षका लागि मेयरमा निर्वाचित गरेको हुनाले बिचमै छोड्नु होला जस्तो मनसाय म देख्दिनँ,’ उनले भने । 

१५७ जना बोकेर काठमाडौं फर्कियो वायुसेवा निगमको विमान

काठमाडौं । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।  नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५:४० बजे १५७ जना यात्रु बोकेर काठमाडौं फर्किएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।  उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए । 

प्रदेश सरकारको सक्रियताले खुले हेटौंडा-काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्ग

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौंडा-काठमाडौं जोड्ने मुख्य वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन् । प्रदेश सरकारको ‘क्विक रेस्पोन्स टिम’ को पहलमा फाखेल र सिस्नेरी खण्डमा भएको अवरोध २४ घण्टाभित्रै हटाइ यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक बाहेकका सवारीसाधनलाई ३ दिनसम्म काठमाडौं प्रवेशमा रोक लगाउने सूचना जारी गरेपछि त्रिभुवन राजपथ, कान्ति लोकपथ तथा फाखेल र सिस्नेरीका वैकल्पिक मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।  इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा लेदोसहितको पहिरोले फाखेल-काठमाडौं सडक खण्ड तथा सिस्नेरी हुँदै काठमाडौं जाने बाटो बन्द भएपछि अवरोधहरू हटाएर तत्काल खुलाउन पहल गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले बताए । मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीन कुमार सिंह नेतृत्वको टोलीले स्थानीय प्रशासनसँग समन्वय गरी फाखेल सडक खण्ड ३ घण्टाभित्रै पहिरो पन्छाएर सञ्चालनमा ल्याएको थियो । सिस्नेरी खण्डमा भने वर्षा रोकिए लगत्तै स्काभेटर सहित सुरक्षाकर्मीको टोली परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ ।  निर्देशक सिंहका अनुसार सवारी आवागमनमा रोक लगाएको भए पनि केही आकस्मिक अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने १०३ नागरिक तथा पर्यटकहरू सवार १५ वटा सवारी साधनलाई काठमाडौं पठाइएको थियो । उक्त मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहठ्ठाका अनुसार बाढी पहिरोका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै ४ स्थानमा जेसिबी, स्काभेटरलगायत उपकरणसहित टोली तयारी अवस्थामा राखिएको थियो । पूर्वतयारी राम्रो हुँदा सडक अवरोध हटाउन सम्भव भएको उनले बताए । उनका अनुसार सम्भावित अवरोधलाई ध्यानमा राख्दै कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी-दक्षिणकाली, मातातीर्थ र भैँसे-भीमफेदी खण्ड गरी ४ रणनीतिक स्थानमा आवश्यक उपकरणसहितको ‘क्विक रेस्पोन्स टिम’ लाई ‘स्ट्यान्डबाई’ राखिएको छ । कुनै पनि स्थानमा नयाँ पहिरो वा अवरोध सिर्जना भएमा तत्कालै परिचालन हुने गरी तयारी अवस्थामा रहेको उनले बताए । 

फागुनको चुनावमा भाग लिन कात्तिकभित्र नयाँ दल खोल्नुपर्ने, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको सोमबारको बैठकले कार्यतालिका सार्वजनिकसँगै स्वीकृत गरेको हो ।  कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलले कात्तिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ । मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने उल्लेख गरेको छ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।  समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगको कार्यक्रम छ ।