विकासन्युज

सरकार निजी क्षेत्रको मनोबल बढाउन सक्रिय : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटमा अर्थमन्त्री खनालले उक्त धारणा राखेका हुन् । सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र विमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी सन्दर्भमा मूल्य खारेज गरी भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरिएपछि बजारमा पारदर्शी कारोबारले प्रोत्साहन पाउनेछ । निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा गरे । निजी क्षेत्रको माग बमोजिम जडित नयाँ डेटाबेस प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालद्वारा उद्घाटन भएको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ । यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो जसले कारोबार मूल्य पहिचान गर्न सहयोग पुग्छ । भेटका क्रममा सकारात्मक परिवर्तनका लागि युवाहरूको आन्दोलनका क्रममा भएको घुसपैठले अर्थतन्त्रमा ८१ र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएको र यसले उद्यमी व्यवसायी निरुत्साहित भएको उनीहरूले बताए । यस्ता घुसपैठ, लुटपाट तथा आगजनीमा संलग्नमाथि कारवाही हुन नसके निजी क्षेत्र थप निरुत्साहित हुने हुँदा तत्काल कानुनी कारवाही गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । निजी क्षेत्र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने बताउँदै अध्यक्षहरूले सरकारले पनि उद्यमी व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्ने बताए । सरकारले निजी क्षेत्रका माग सम्भव भएसम्म तत्काल सम्बोधन गरिरहेको हुँदा निजी क्षेत्रले पनि इमान्दारितापूर्वक व्यवसायिक आचारसंहिता अनुरूप व्यवसाय गर्न अध्यक्षहरूले उद्यमी व्यवसायीलाई आग्रह गरे । वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि भएको उल्लेख गर्दै उनीहरूले लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गरी सबै सरोकारवालालाई आश्वस्त पार्नु पर्नेमा जोड दिए । उनीहरूले निर्वाचनले नै खुला बजार र लोकतान्त्रिक व्यवस्था बलियो हुने हुँदा समयमै निर्वाचन गर्न सहयोग र सहकार्य गर्न निजी क्षेत्र तयार रहेको जानकारी दिए  ।

नोबेल घोषणा आजदेखि : चिकित्सा पुरस्कारको सुरुआत

काठमाडौं । नोबेल पुरस्कार घोषणा शङ्ंखला आजदेखि सुरु हुँदैछ । स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको प्यानलले सोमबार सन् २०२५ का लागि फिजियोलोजी वा मेडिसिनमा नोबेल पुरस्कार घोषणा गर्नेछ ।      सन् १९०१ देखि २०२४ सम्म यो प्रतिष्ठित सम्मान ११५ पटक प्रदान गरिएको छ, जसअन्तर्गत २२९ जना विज्ञहरू पुरस्कृत भइसकेका छन् ।      गत वर्ष अमेरिकी वैज्ञानिक आदरणीय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई माइक्रोआरएनएको खोजका लागि संयुक्त रूपमा सम्मान गरिएको थियो । माइक्रोआरएनए भनेको आनुवंशिक सामग्रीका साना अणुहरू हुन्, जसले कोशिकाभित्र स्विचहरू अन र अफ गरेर तिनका गतिविधि र समय नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्दछन् ।      यसपछिका नोबेल घोषणा क्रमअनुसार मङ्गलबार भौतिकशास्त्र, बुधबार रसायनशास्त्र र बिहीबार साहित्यतर्फ हुनेछन् । नोबेल शान्ति पुरस्कार शुक्रबार र अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार आगामी अक्टोबर १३ मा घोषणा गरिनेछ ।      पुरस्कार वितरण समारोह डिसेम्बर १० मा हुनेछ । यो दिन महान् आविष्कारक तथा नोबेल पुरस्कारका संस्थापक आदरणीय अल्फ्रेड नोबेलको पुण्यतिथिसँग मेल खाने दिन हो । नोबेल स्विडेनका धनी उद्योगपति तथा डायनामाइटका आविष्कारक थिए । सन् १८९६ मा उनको निधन भएको थियो । रासस

सहकारी साधारणसभामा अब मितव्ययिता : भोजभतेर र महँगो सजावटको चलन अन्त्य

कञ्चनपुर । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा विगतमा देखिने महँगो सजावट, अतिथि सत्कार, उपहार वितरण र भोजभतेरको चलन कञ्चनपुरमा क्रमशः घट्दै गएको छ । हाल धेरै सहकारी संस्थाहरूले मितव्ययी ढङ्गमा साधारणसभा सम्पन्न गर्न थालेका छन् ।   सहकारीसँग प्रत्यक्ष सम्बन्ध नभएका मन्त्री, सांसद वा बाह्य अतिथिलाई प्रमुख अतिथि बनाउने चलनलाई सहकारी संस्थाहरूले अन्त्य गरेका छन् । विगतमा यस्ता अतिथिका लागि यातायात भत्ता र सत्कारमा ठूलो रकम खर्च हुने गथ्र्यो ।  शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेका प्रबन्धक गणेश भट्टले यस वर्षको साधारणसभा कुनै भव्य सजावटविना, भोजभतेरको कार्यक्रमविना नै सम्पन्न गरेको बताए ।  ‘सभाको उद्घाटन परम्परागत ढङ्गले दियो बालेर गर्यौँ,’ उनले भने ‘तीन जना सहकारीसँग सम्बन्धित व्यक्तिहरूलाई अतिथि बनाएर आधा घण्टामा नै उद्घाटन कार्यक्रम सम्पन्न गरी सदस्यका सरोकारका विषय बचत, ऋण, संस्थागत नीतिहरू र आगामी रणनीतिमा छलफल केन्द्रित गरी साधारणसभा सम्पन्न गर्यौँ ।’  उनका अनुसार यो अभ्यास आकस्मिक रूपमा नभएर हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारणसभासम्बन्धी निर्देशनअनुसार साधारणसभा सम्पन्न गरिएको उनले बताए । सृजनशील बचत तथा ऋण सहकारी संस्थाले पनि विना तडकभडक साधारणसभा सम्पन्न गर्ने सोच बनाएको छ । प्राधिकरणको निर्देशनअनुसार साधारणसभा सम्पन्न गर्नेगरी कार्ययोजना तयार गरिएको सहकारीका प्रबन्ध निर्देशक मदन भट्टले बताए ।  सहकारी ऐन, २०७४ को व्यवस्थाअनुसार प्राधिकरणले सहकारी संस्थामा भड्किलो र गैरसदस्य–केन्द्रित साधारणसभाको प्रवृत्ति अन्त्य गर्न हालै निर्देशन जारी गरेको थियो । साधारणसभामा गैरसदस्य व्यक्ति वा अतिथिलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण वा अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रममा समय व्यतित नगरी साधारणसभाको सिधै ‘एजेन्डा’मा प्रवेश गरी कार्यक्रम सञ्चालन गर्ने प्राधिरणको सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ ।  राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक माधवप्रसाद जोशी यस्तो मितव्ययी अभ्यासले सहकारी सुशासनलाई सुदृढ बनाउन मद्दत पुर्याउने बताउँछन् । ‘भोजभतेर, उपहार, अथिति सत्कारमा पैसा खर्च गर्नुभन्दा सदस्यको हितमा लगानी गर्ने संस्कार सुरु भएको छ,’ उनले भने ‘यसलाई सहकारी सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएका छौँ ।’  उनका अनुसार, सहकारी ऐन २०७४ को दफा ३९(२) ले साधारणसभाको व्यवस्था गरेको छभने दफा १०३(ज)(१) ले प्राधिकरणलाई नियमन र निर्देशन दिने अधिकार दिएको छ । यही कानुनी आधारमा सहकारीहरूलाई नयाँ अभ्यास गर्न निर्देशन गरिएको हो ।  ‘विगतमा साधारणसभालाई उत्सवका रूपमा मनाउने चलनले धेरै सहकारीमा आर्थिक भार बढाएको थियो,” उनले भने, “सदस्य केन्द्रित, मितव्ययी र प्रभावकारी सभा गर्ने अभ्यासले पारदर्शिता र उत्तरदायित्वमा सुधार ल्याउने अपेक्षा गरेका छौँ ।’ ​​​​​​​ नेफ्सकुन (नेसनल फेडेरेसन अफ सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ्स युनियन अफ नेपाल) का महेन्द्रनगर फिल्ड कार्यालय प्रमुख धर्मराज जोशीले प्राधिकरणको यस निर्देशनलाई सकारात्मक अभ्यासका रूपमा लिएका छन् । ‘साधारणसभा सदस्यकै अधिकार प्रयोग गर्ने थलो हो, त्यहाँ गैरसदस्य बोलाउनु अनुशासन विपरीत हुन्छ,’ उनले भने, ‘यस अभ्यासले सहकारीभित्र सुशासन र वित्तीय अनुशासनको संस्कारलाई बल पुर्‍याउनेछ ।’  ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनले सहकारी साधारणसभालाई वास्तविक उद्देश्यतर्फ फर्काएको छ,’ कञ्चन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगीसिँह सोवले भने, ‘सदस्यको आवाज सुन्ने, नीतिगत छलफल गर्ने र संस्थागत सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने परिपाटीको विकास भएको छ ।’ मितव्ययी तर प्रभावकारी सभाको अभ्यासले सहकारीलाई आर्थिक रूपमा जिम्मेवार र नैतिक संस्थाका रूपमा पुनःस्थापित गर्ने उहाँको भनाइ रहेको छ । रासस

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् ।  त्यसैगरी अस्पतालमा आएकारमृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।   

धादिङमा एक युवाले गरे आफ्नै आमाको हत्या

काठमाडौं । धादिङमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५, थापाकटेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका हुन् ।  ५५ वर्षीया राममाया कँडेललाई उनका छोरा ३० वर्षीय यम बहादुर कँडेलले आइतबार साँझ करिब साढे ८ बजे धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएकी आमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आमाको हत्या छोरा यमबहादुरले नै गरेको पुष्टि भएको छ ।

डुबान, बाढी पहिरोको वितण्डा, हेर्नुहोस् तस्विरहरु

काठमाडौं । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाले देशभर मानवीय र भौतिक क्षति पुर्याएको छ । मधेश प्रदेश डुबानमा परेकाे छ । इलाममा पहिराे खस्दा मानवीय क्षति हुँदा कोशी प्रदेश सोकमा छ ।  अविरल वर्षाका कारण आएको बाढीले पूर्वतर्फ व्यापक क्षति पुर्याएको देखिन्छ ।  हेर्नुहोस् तस्वीरहरु फोटो स्रोत: रासस  

सिटिजन्स क्यापिटलद्वारा २८ करोडभन्दा बढी प्रतिफल वितरण

काठमाडौं । सिटिजन्स क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलमार्फत करिब  २८ करोड ५ लाख २१ हजार २० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ अन्तर्गतका इकाइधनीहरूले करसहित ८.२५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सोही योजना अन्तर्गतको लाभांश २०८२ भदौ २० गतेदेखि वितरण सुरु गरिएको छ । यस्तै, सिटिजन्स सुपर–३० म्युचुअल फण्डका इकाइधनीहरूले करसहित १२.७५५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । सिटिजन्स म्युचुअल फण्ड–१ गत २०८१ माघ १९ गते परिपक्व भइसकेको छ । सो फण्डले खुद सम्पत्ति मूल्य  ११.३० को दरले अन्तिम वर्षको १३ प्रतिशत लाभांश (१० करोड ६६ लाख ३ हजार ७२३ सहित) २०८२ जेठ २७ गतेदेखि वितरण गरिरहेको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीले आफ्नै मुनाफाबाट आफ्ना सेयरधनीलाई ३ करोड २० लाख नगद लाभांश २०८२ भदौ २० गतेदेखि वितरण गर्न थालेको छ । सिटिजन्स क्यापिटलले विगतमा घोषणा गरिएका तर अझै नलिइएका लाभांश रकम लिन बाँकी रहेका इकाइधनीहरूले हितग्राही खाता तथा बैंक विवरण अद्यावधिक गरी सम्पर्क गर्न आग्रह गरेको छ । नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, अण्डरराइटिङ, सेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा गर्न अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी हो  । कम्पनीमा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ  ।

बीपी राजमार्गको ४ किलोमिटर सडक वासआउट

बीपी राजमार्गको ४ किलोमिटर सडक बगायो  काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोले बीपी राजमार्गको ४ किलोमिटर सडक बगाएको छ । सडक विभागका अनुसार बीपी राजमार्ग अन्तर्गत बर्खेखोला-धुलीखेल सडकखण्डको १६ ठाउँमा ४ हजार ८ मिटर (४ किलोमिटर) सडक वासआउट भएको छ । विभागका अनुसार काभ्रेको मम्ती खोलामा ४ सय मिटर, माथिल्लो मम्तीमा २५५ मिटर, तत्लो पिप्लेमा २२० मिटर, माथिल्लो पिप्ले २२० मिटर, सुख्खा पहिरो पिप्लेमा ३६२ मिटर, डलाबेसीमा ८४१ मिटर, कालढुंगामा ८५ मिटर, बोक्सीकुनामा २ सय मिटर, च्युउरी बासमा २ सय मिटर, नर्केमा ५० मिटर, गिम्दी बेसीमा १ सय मिटर, चर्सया बेसी ३८० मिटर, कुटुन्जे बेसीमा ३ सय मिटर, चौकी डाँडामा ३७५ मिटर, दाम्चा पुलमा २० मिटर क्षति पु¥याएको छ ।