विकासन्युज

मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेष गरी आज र मङ्गलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ । ती प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार ४ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ । मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी आजदेखि मात्रै बारिन थालेको विभागले जनाएको छ । ‘यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट बाहिरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बहिर्गमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए ।  ‘सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ । यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिर्गमन भएको छ,’ उनले भने । 

मन्त्रिपरिषद् घोषणा गरेकाे केही घण्टामै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्रधानमन्त्री सेबस्टियन लेकोर्नुको राजीनामा स्वीकार गरेका छन् । उनले आफ्नो मन्त्रिपरिषद् घोषणा गरेको केही घण्टामै राजीनामा दिएका हुन् ।  उनको राजीनामाले युरोपको प्रमुख राष्ट्रलाई पुनः राजनीतिक गतिरोधमा पुर्याएको छ ।  राष्ट्रपति म्याक्रोनले गत महिना पूर्व रक्षामन्त्री लेकोर्नुलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । तर, आइतबार साँझ सार्वजनिक गरिएको नयाँ मन्त्रिपरिषद्ले राजनीतिक वृत्तमा तीव्र आलोचना निम्त्याएको थियो । लेकोर्नुमाथि आगामी वर्षका लागि मितव्ययिता बजेट संसद्बाट स्वीकृत गराउने कठिन जिम्मेवारी थियो । संसद्मा सांसदहरू गहिरो रूपमा विभाजित छन् । उनका दुई तत्काल पूर्ववर्तीहरू, फ्रान्स्वा बायरो र मिशेल बार्नियर खर्च योजनाको गतिरोधकै कारण विधायिकाबाट हटाइएको थिए । फ्रान्सको सार्वजनिक ऋण अहिले ऐतिहासिक उच्चतम स्तरमा पुगेको गत हप्ताको आधिकारिक तथ्याङ्कले देखाएको छ । देशको ऋण– कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपात अहिले युरोपेली सङ्घमा ग्रीस र इटालीपछि तेस्रो उच्च रहेको छ । यो युरोपेली सङ्घ (इयु) नियमले अनुमति दिएको ६० प्रतिशतको झण्डै दोब्बर नजिक छ । अघिल्ला तीन वर्षमा सरकारले संसद्मार्फत मतदानबिना नै वार्षिक बजेट पारित गर्ने विधि अपनाएको थियो । संविधानले यस्तो प्रक्रिया अनुमति दिए पनि विपक्षीहरूले यसको कडा आलोचना गर्दै लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएका थिए । तर लेकोर्नुले गत हप्तामात्र सांसदहरूलाई बजेट विधेयकमा प्रत्यक्ष मतदान गर्न सक्षम बनाउने आश्वासन दिएका थिए । राष्ट्रपति म्याक्रोनले आफ्नो राजनीतिक शक्ति सुदृढ गर्ने उद्देश्यले गत वर्ष मध्यतिर आकस्मिक संसदीय निर्वाचनको घोषणा गरेका थिए । तर उक्त कदम उल्टो साबित भयो । परिणामस्वरूप विधानसभामा म्याक्रोन–समर्थक गठबन्धन अल्पमतमा रह्यो । यसले आजको राजनीतिक अस्थिरता झनै गहिरो बनाएको छ ।

घोषित मितिमै निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छौं : माओवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्राकृतिक विपद्बाट पूर्वी नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले विपद्पछिको पुनर्निर्माणमा एकजुट भएर लाग्न सबैमा आह्वान गरेको हो । बैठकले विपद् प्रतिकार्यमा खटिएका पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सामान्य कुराकानी भएको उल्लेख गर्दै उनले दुई दिनपछि बस्ने सचिवालय बैठकमा यसबारेमा विस्तृत छलफल हुने बताए ।  बैठकमा पार्टी एकता, समाजवादी मोर्चा र संयुक्त मोर्चा विस्तारलगायत विषयमा भइरहेको प्रगतिबारे अध्यक्ष दाहालले ‘ब्रिफिङ’ गरेका थिए । बैठकमा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल भइरहेको र घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सकारात्मक वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको जानकारी गराएका थिए ।  ‘चुनावमा सहभागिता सम्बन्धमा सबै पार्टीभित्र सकारात्मक छलफल भइरहेको छ, अन्य पार्टीको पनि बैठकहरू बस्दैछन्, चुनावमा जानेमा आमसहमति जस्तै बन्दै छ, माओवादीले त्यसमा नै जोड गरिरहेको छ,’ संयोजक दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘निर्वाचन सम्पन्न गरेर मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत राजनीतिक उपलब्धिलाई जोगाउन सकिन्छ, त्यसकारण चुनावलाई माओवादीले उच्च प्राथमिकतामा राखेको छ ।’ बैठकमा महाधिवेशनको कार्यविधि बनाउने, आयोजक समिति निश्चित गर्ने र विचार, सङ्गठन तथा राजनीतिक कार्यदिशाका बारेमा सामान्य छलफल भएको जानकारी दिए । 

आज मात्रै हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत आज ४ जना गर्भवतीको उद्धार गरिएको हाे । इलामको माइजोगमाई-५ सिरसिरे, इलामको सन्दकपुर-१ छाँगे, पाँचथरको फिदिम-१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला-३ हुङगुङबाट ४ जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौं आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ । निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन लागिएको हो । वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ । उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए । उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य सङ्ख्याका यात्रु उडानको प्रतीक्षामा छन् । 'विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पु¥याउन विमानस्थल लागिपरेको छ,' महाप्रबन्धक तिवारीले भने । रासस

ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आवश्यक छ । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको 'प्यान अपडेट' विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । यसका साथै, ग्राहकहरूले बैंकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकका अनुसार, प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण ईडीटीएसमा सो प्यानमा स्वतः प्रविष्ट हुनेछ, जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण कर विवरण ईडीटीएसमा दाखिला नभएमा, बैंक त्यसको जिम्मेवार हुनेछैन । यसैगरी, पहिले प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएमा, ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।

ग्यास लिक भएर बागबजारस्थित शान्तिश्री ब्वाइज होष्टेलमा आगलागी (तस्बिरहरु)

काठमाडौं । बागबजारस्थित शान्तिश्री ब्वाइज होस्टेलमा आगलागी भएको छ । होष्टेलको छैठौं तलामा रहकाे किचनमा ग्यास लिक भएर आगलागी भएको हो ।  साेमबार दिउँसो २:४५ बजे भएको आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासबाट नियन्त्रणमा आएको हो ।  होस्टेलको किचनमा खाजा पकाइरहेको अवस्थामा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीमा मानवीय क्षति भने भएको छैन । किचनमा भएका सबै सामान जलेर नष्ट भएका छन् ।  होस्टेलका सञ्चालक धर्मप्रसाद बजगाईं दशैं मनाउन घर गएको बेला आगलागी भएको हो । कसमस श्रेष्ठ घरधनी हुन् । होस्टेलमा ८/९ विद्यार्थी छन् । उनीहरु सबै सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ । 

बाढीबाट ३२ जलिवुत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति

काठमाडौं । यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् । विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेसित गरी मानवीय क्षति रोक्न सफाल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।  सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरु पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ ।  जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका रहेका छन् । बाँकी दुई आयोजना मध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमति प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् । हाल लिखु बाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।  निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए । यहि वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए । निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्‍याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ । पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ । सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।  रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५।५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत आयोजनाको पहुँचमार्ग लगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत उत्पादन मिति पर सरेको छ । सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरुसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।