विकासन्युज

रोसी, मनोहरा, लालबकैया र बागमती नदीमा खतराको तह पार, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । निरन्तरका वर्षासँगै काठमाडौं उपत्यका आसपासका नदीको जल सतह बढ्न थालको छ । जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेसनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ । विभागका बाढी विद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जल सतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।  ‘खोकनास्थित बागमती नदीमा ३.५ मिटर खतराको तह रहेकोमा हाल ४.२ मिटर जल सतह पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक  छ,’ उनले भने । विभागका अनुसार काभ्रे स्थित रोसी, काठमाडौंको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जल सतह सतर्कता तह पार गरेको छ । बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी-नालामा जल सतह सतर्कता तह नजिक पुगेको छ ।  आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा, कुन ठाउँमा कति पर्यो पानी ?

काठमाडौं । देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलिमिटर वर्षा भएको छ । विरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको छ । यस्तै, मकवानपुरमा १३४ र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा-काठमाडौं, बागमती-काठमाडौं, लालबकैया-मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ । बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ । 

अविरल वर्षाका कारण देशभरका आधा दर्जन सडकमा पहिरो, आवागमन ठप्प

काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका ६ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा खसेको पहिरोले आवात-जावत बन्द छ । यसैगरी फर्पिङ-सस्नेरी अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका-११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ । यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी, नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताए । प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

नागढुङ्गा-मुग्लिङ सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

काठमाडौं । वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् । आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आ-आफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरे । उनले सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा देखिएको बताए । यस्तै, झ्याप्ले खोला (पुरानो पहिरो क्षेत्र), सुरुङ मार्ग, चार किलो (बाटो भासिएको), सात किलो, कमेरे भिर, महेश दोभानमा (लेदो र पानी सडकमा आउने सम्भावना), चिरौँदी पुल, जरेखेत पुल, गलौँदी पुल, परेवा भिर, हिलटप मोड, बाँदरे मोड, कृष्ण भिर र लाल्टिन बजारमा पहिरोको उच्च जोखिम रहेको छ । विपद् व्यवस्थापन टोलीका अनुसार अन्य जोखिमयुक्त स्थानमा पनि वर्षा बढेपछि तत्काल पहिरो जाने खतरा छ । हाल पहिरोमा रोकिएका सवारीसाधनलाई पहिरो पन्छाउँदै गन्तव्यतर्फ पठाइएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारीसाधनलाई जोखिम क्षेत्र प्रवेश गर्न रोक लगाइएको र आपतकालीन सवारीसाधनलाई मात्र सुरक्षा निकायको निगरानीमा आवागमनको अनुमति दिइएको जानकारी दिए । सडक विभागका प्राविधिक, प्रहरी र स्थानीय निकायको सहकार्यमा जोखिम न्यूनीकरण कार्य निरन्तर भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति धादिङले जनाएको छ ।

सञ्चार सेवा अवरुद्ध भएमा सम्पर्क गर्न सञ्चार मन्त्रालयको अनुरोध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भूभागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जनाउँदै नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।  त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो । सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच आज भएको छलफलले यस कठिन घडीमा सञ्चारसाधनलाई अवरुद्ध हुन नदिन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदरुकताका साथ कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।   'जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अझै तीन दिनसम्म भारी वर्षा जारी रहने अवस्था छ । विपद्को यस घडीमा नागरिकको जीवन रक्षा र जनधनको क्षति रोक्न हामी सबै सजग हुन आवश्यक छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा आज सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच भएको छलफलले थप दारुकताका साथ काम गर्ने निर्णय गरेको छ', मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

राजमार्गमा रोकिएका यात्रुको व्यवस्थापन गर्न आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ ।  प्राधिकरणले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अलपत्र यात्रुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।   सरकारले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र त्यसबाट उत्पन्न हुनसक्ने बाढी, पहिरो र डुबानजन्य विपद्लाई दृष्टिगत गरी सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधनको आवतजावतमा आजदेखि असोज २० गतेसम्म रोक लगाएको छ ।   यसरी रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका केही यात्रुहरु राजमार्गमै रोकिएको जानकारी प्राप्त भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।  

आन्तरिक उडान सबै रद्द, अन्तर्राष्ट्रिय उडान  भने यथावत्

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन् । अन्तर्राष्ट्रिय तर्फका उडान  भने यथावत् सञ्चालन भएका छन् ।

उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।  आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन भनेको हो ।    'सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ', प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।