विकासन्युज

नागरिकको उद्धार र राहतमा सक्रियता देखाउन सरकारलाई माओवादीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ विपद् प्रभावितहरूको उद्धार तथा राहतमा खटिन पार्टी नेता कार्यकर्तालाई आग्रह गरेको छ । प्रवक्ता अग्नि प्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न आग्रह गरे । उनले तीनै तहका सरकारलाई विपद् प्रभावित नागरिकको उद्धार र राहत कार्यमा सक्रियता पूर्वक क्रियाशील हुन आग्रह समेत गरे ।  यस्तै, विपद्को सम्भावित जोखिम भएका स्थानका नागरिकलाई सतर्कता अपनाउन र बाढीपहिरो, डुबान, भू-क्षयलगायत कारण मानवीय क्षतिसमेत हुनसक्ने भएकाले अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

अलपत्र यात्रुलाई चितवनका होटलहरूले ७५ प्रतिशत छुट दिने, राजमार्ग पूर्ण रूपमा बन्द

काठमाडौं । चितवनका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुलाई जिल्लाका होटल तथा लजमा ७५ प्रतिशत छुट दिइने भएको छ । सरोकार भएकाहरूसहित आज जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुलाई जिल्ला भरका सबै प्रकारका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको उहाँले बताए ।  निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । होटल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले अलपत्र परेका यात्रुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताए । उनले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्थासमेत गरिने बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताए । चितवनको मुग्लिङ, नारायणगढ, भरतपुर, टाँडी, पर्सालगायत क्षेत्रमा अलपत्र यात्रुले प्रहरीसँगको समन्वयमा होटलमा छुट सुविधा लिएर बस्न सक्ने छन् ।

हेलिकप्टर तयारी अवस्थामा छन्, विपदजन्य घटनाको निःशुल्क उद्धार गर्छाैं : वायु सेवा सञ्चालक

काठमाडौं । वायु सेवा सञ्चालकहरूले काठमाडौं उपत्यकाभित्र हुने विपदजन्य घटनाको निःशुल्क उद्धार गर्ने भएका छन् ।  वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै उद्धारको समन्वयका लागि नागरिक उड्डयन प्राधिकरणलाई समन्वय अधिकारी तोक्न आग्रह गरे ।  ‘हाल देशका अधिकांश स्थानहरुमा अत्यधिक रुपमा वर्षा भइरहेको र वर्षातका कारण देशका विभिन्न भू-भागहरूमा बाढी पहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।  ‘समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।  सरकारले हेलिकोप्टर सञ्चालकहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।

निरन्तर निगरानी र अनुगमन भइरहेको छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भारी वर्षापछिको विपद्का क्रममा हुने राहत एवं उद्धारको निरन्तर निगरानी एवं अनुगमन भइरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामबारे जानकारी दिन आज भिडियो सन्देश जारी गर्दै उनले निरन्तर कामको अनुगमन र निगरानी भइरहेको बताए ।  असोज १७ गते बेलुकीदेखि निरन्तर परिरहेको वर्षाको मन्त्रालय र अन्तर्गतका निकायले पहिलेदेखि नै सूचना जारी गरेर सतर्क गराइएको उनले उल्लेख गरे ।  साथै, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत निकायबीच समीक्षा बैठक गरी काम भइरहेको पनि उनले जानकारी दिए ।

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन् । उनले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका हुन् ।  ‘भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु,’ महामन्त्री थापाले भने ।  उनले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरे ।  महामन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताए । 

राजमार्गमा रोकिएका सवारीलाई गन्तव्यसम्म पुर्‍याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सडक र मौसमको अवस्थाअनुसार गन्तव्यसम्म पुर्याउने गरी सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई आज पत्राचार गरी आवश्यकताअनुसार यात्रुलाई स्थानीय तह तथा सङ्घ संस्थासँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ । राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित गन्तव्यसम्म पुर्‍याउन, बाटोमा अलपत्र परेका गर्भवती महिलालाई नजिकको ‘बर्थिङ सेन्टर’सम्म पुर्‍याउन व्यवस्था मिलाउनका लागि पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ । बाढी पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । मौसमका कारण उडान स्थगित भई विमानस्थलबाट फर्केका यात्रुलाई यातायात व्यवसायीसँगको समन्वयमा आवश्यक परिवहनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको मन्त्रालयका उपसचिव निशानराज गौतमले जानकारी दिए । बाढी पहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देश गरिएको पनि उनले सुनाए । प्रतिकूल मौसमलाई मध्यनजर गर्दै वर्षातका कारण बाढीपहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुने व्यवस्थाका लागि परिपत्र गरिएको छ । बाढी, पहिरोका सन्दर्भमा गरिएका कामको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशित गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सूचनाअनुसार लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारीसाधनको आवतजावत आजदेखि असोज २० गते सोमबारसम्म बन्द गर्न/गराउन पनि मन्त्रालयले पत्राचार गरेको छ । त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिइएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आजदेखि असोज २० सम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्देशन गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ । विभागको पूर्वानुमान अनुसार हाल देशभर वर्षा भइरहेकाले मनसुनजन्य विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आह्वान गरेको जनाइएको छ ।

प्रधानमन्त्रीको सन्देश: नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता, जहाँ हुनुहुन्छ सुरक्षित रहनुस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताएकी छिन् । अविरल वर्षापछि बाढी पहिरो जाने क्रम जारी रहेका बेला प्रधानमन्त्री कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरि चिन्ता रहेको बताइन् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्न उनले आग्रह गरिन् । ‘तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस् । हामी तपाईंहरूको चिन्ता र कठिनाइलाई बुझ्छौँ । तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरुसँगै छन्,’ भिडियो सन्देशमा भनिएको छ, ‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ । वर्षाका कारण बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेकाले परिस्थिति अझै बढ्न सक्ने उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले यो चुनौतीपूर्ण समयमा सबै नागरिकलाई आश्वस्त पार्न खोजेकी छिन् । साथै सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको उनले बताइन् । ‘नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवा दायी निकायहरू आपतकालीन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा छन्,’ उनले भनिन्, ‘महत्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानीमा छन् । तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस् ।’

समयमै पूर्वतयारी गरेका कारण अहिलेसम्म कम क्षति, के-के भयो दिनभर ?

प्रकाश सिलवाल काठमाडौं । शनिबार साँझ बल्खुस्थित बागमती नदी किनारका बस्तीमा बाढी पस्न थालिसकेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी त्यहाँबाट मानिसलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गरियो, वरिपरी रहेका पसलका सामान सारियो । यस्तै, नदी किनारका सडकमा राखिएका सवारीसाधनलाई पनि त्यहाँबाट सुरक्षित स्थलतर्फ लगियो । फस्न लागेका मोटरसाइकललाई हतार हतार डुबान क्षेत्रबाट निकालिएको दृष्यले काठमाडौंमा बाढीको असर पर्न थालिएको अनुभूति भइसकेको छ । केही सञ्चारकर्मी र यात्रुले डुबानको दृश्यलाई कैद गरिरहेका थिए । पानी परिरहेको र थप जोखिम हुन सक्ने भएकाले डुबान भइरहेको बस्तीभित्र कोही पस्ने कुरा भएन । त्यही बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, हरी विकास सचिव गोपाल प्रसाद सिग्देल सहितको टोली त्यहाँ पुगेको देखियो । उनीहरूले मानवीय र भौतिक क्षति हुन नदिन सतर्कता अपनाउन सम्बन्धित निकाय र स्थानीय प्रशासनलाई निर्देशन गरे । मन्त्री घिसिङसहितको टोलीले आज काठमाडौंभित्रको धोवीखोला करिडोर, मनोहरा, विष्णुमती, बागमती करिडोर, चोभार-गल्छीलगायत क्षेत्रमा निरीक्षण गरेको थियो । लतिपुरतर्फका करिडोरमा ललितपुर महानगरपालिका प्रमुख चिररिबाबु महार्जनसहितले पनि निरीक्षण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका काममा जुटिरहेको देखियो । यहाँ रहेका ९ वटा स्वचालित बाढी मापन केन्द्रमध्ये बागमती खोकना केन्द्रमा ३.५ मिटरको सतर्कता विन्दु रहेकामा साँझ ६ बजेसम्ममा ३.५८ मिटर पानीको सतह भइसकेको थियो ।  यस्तै, मनहरा खोला, बालकुमारी केन्द्रमा ४.४ मिटरसम्म खतरा तह मानिएकामा ४.४३ मिटरको तह पुगिसकेको छ र यो बढ्दो क्रममा रहेको छ । यो बढ्दो क्रमले टेकु, बल्खु र सानेपास्थितका क्षेत्रमा खतराको घन्टी बजेको अनुभव गरिएको छ । च्यासलस्थित नेकपा (एमाले)को केन्द्रीय कार्यालय र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा बाढी पस्न थालेको छ । गत वर्ष असोजको दोस्रो साता पनि यस्तै गरी २ दिनसम्म लगातार परेको वर्षाले ठूलो मानवीय र भौतिक क्षति गरेकाले यस वर्ष जल तथा मौसम विज्ञान विभागले हरेक तीन तीन दिनको मौसम पूर्वानुमान प्रणाली सार्वजनिक गरी सतर्क रहन अनुरोध गर्दै आएको थियो । त्यसले पूर्व तयारीमा जुट्न राज्यका निकाय र जनसमुदायलाई केही सहज भएको छ ।  विभागको पूर्वानुमान अनुसार नै बागमती, गण्डकी, मधेस र लुम्बिनीका विभिन्न क्षेत्रमा आज बिहानदेखि पानी परिरहेको छ र यो क्रम आगामी तीन दिनसम्म रहने छ । अनुमानका कारण लामो र जोखिमयुक्त मार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मुलुकभित्रका आन्तरिक उडान सबै बन्द गरिएका छन् । रातिको समयमा अझ धेरै पानी पर्ने भएकाले तीनै तहका सरकार, सुरक्षा निकायसमेत परिचालन भई ती क्षेत्रमा मानव बस्तीलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र सुरक्षाका अन्य उपाय अपनाउने क्रम जारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत बागमती नदी वरिपरिका बासिन्दालाई बाढीले विस्थापन गर्ने ठुलो सम्भावना रहेकाले बाढी नघटुञ्जेल सम्म अस्थायी रूपमा बस्न व्यवस्था उपलब्ध गराउन त्यहाँ वरपरका विद्यालय र कलेजलाई आव्हान गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालको आग्रहमा आफूले त्यहाँका विद्यालय र कलेजलाई आवश्यक निर्देशन दिन शिक्षा मन्त्रालयका सम्बन्धित शाखामार्फत निर्देशन दिएको उनले बताए । यस्तै, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागले जोखिम भएका नदी किनार छेउछाउका बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न थालिसकेको छ । यही असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्मका काभ्रे, सिन्धुपाल्चोक, रसुवा मकवानपुर, बरा पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा मध्यमदेखि अति भारी वषौको पूर्वानुमान छ । त्यसबाट उत्पन्न हुनसक्ने विपद्को सामना गर्न सरकारी संयन्त्रहरू तयारी अवस्थामा देखिएका छन् ।  वर्षाका कारणले आउन सक्ने जोखिम व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनाका ६ वटा हेलिकप्टर, अन्य निजी हेलिकप्टर, ड्रोन, ३ वटै सुरक्षा निकाय र प्रत्येक स्थानीय तहमा आवश्यक स्वयंमसेवकलाई तयारी अवस्थामा राखेको  प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए । अविरल वर्षापछि आउन सक्ने सम्भावित जोखिमका लागि सरकारी र गैरसरकारी निकायसँगको समन्वयमा सबै संयन्त्रलाई परिचालन गरिएको सरकारले सार्वजनिक रूपमा जनाइसकेको छ । विभिन्न राजनीतिक दलले पनि विज्ञप्ति जारी गरी विपद्पछिको अवस्था सामना र मानवीय सहयोगका लागि तयारी अवस्थामा रहेका जनाएका छन् । रासस