विकासन्युज

सर्लाहीमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

काठमाडौं । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् । जल मापन स्टेसनको तथ्याङ्कअनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५.४ मिलिमिटर वर्षा मापन भएको छ । योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।  यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ खोलिएको हो । रौतहटको पधेरेदोभानस्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ । यस स्टेसनको मापन तहअनुसार ६ मिटर सतह खतराको सूचक हो भने, ६.८ मिटर खतरा तह मान्ने गरिएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले खतरा तहसम्मै पुग्ने जोखिम रहेको आयोजनाका इन्जिनियर चौधरीले जानकारी दिए । उनका अनुसार पानीले खतरा तह पार गरेपछि खोलाको ड्यामल गायतको संरचनामा क्षति पुग्न सक्ने जोखिम रहन्छ । त्यसो भएमा बागमती ब्यारेजमा समेत क्षति पुग्ने भएकाले सिँचाइ आयोजनाले केही माथि रहेको सेफ्टी ड्याम फुटाएर बागमती सिँचाइ आयोजनाको ब्यारेज सुरक्षित गर्ने गरी उपकरणहरू तयारी अवस्थामा राखेको छ ।

विद्यालयमा आश्रय लिएका मानिसलाई महानगरले बाँड्यो खाद्यान्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीका कारण समस्यामा परेका विद्यालयमा आश्रय लिइरहेका मानिसहरूका लागि खाद्यान्नको व्यवस्था गरेको छ। हाललाई महानगर प्रहरीमार्फत सुख्खा खानेकुराको व्यवस्था गरिएको छ भने महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक थप व्यवस्था गर्न निर्देशन दिएको छ । अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका बस्ती, त्यहाँका बासिन्दा र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत, साधन र उपकरण परिचालन गरिएको छ । जोखिममा रहेका परिवारका लागि महानगरपालिका भित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रय स्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको छ ।  तीमध्ये ४ वटा विद्यालयमा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरी राखिएको छ । महानगरका अनुसार विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा  ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवार २५१ जना, महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना रहेका छन् ।  विद्यालयमा आश्रयसहित खाना, शौचालय, पानीलगायत आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ। महानगरपालिकाका अधिकारीहरू जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा खटिएका छन् ।  आम नागरिकले कुनै जोखिममा पर्न नपरोस् र विपदका कारण कष्ट भोग्नु नपरोस् भन्ने उद्देश्यले महानगरले संयन्त्र परिचालन गरेको छ । 

विपद् खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् ।  आज विज्ञप्ति जारी गर्दै उनले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरे ।  राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरे ।

मानवीय क्षति शून्य हुने गरी काम गर्दैछौं, सङ्कटमा फाइदा उठाउने विरुद्ध सरकार कठोर हुन्छः गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुने गरी पूर्वतयारी र प्रति कार्यको काम भइरहेको बताएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा उनले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका काम भइरहेको बताए ।  गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमीकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताए ।  विपद्का समयमा गलत फाइदा उठाउन खोज्ने प्रवृत्ति विरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उनले भने, ‘सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यस विरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।’ सङ्कटका बेला सुशासनको महत्त्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।  ‘सानो भन्दा सानो कमजोरीले नयाँ परिस्थितिको जन्म हुनसक्छ, हाल राजनीतिक परिस्थिति पनि जटिल छ,’ उनले भने, ‘व्यापक असन्तुष्टि छ, यही बीचमा सरकार, संयन्त्र र कर्मचारीको कमीकमजोरीले नाजायज काम भए राज्य प्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ । त्यसैले सबै सतर्क रहन आवश्यक छ ।’

राष्ट्र बैंकले भन्यो- कमभन्दा कम कर्मचारीको उपस्थितमा सेवा दिनु, डिजिटल सेवा सुचारू गर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले कम भन्दा कम कर्मचारीको उपस्थितिमा बैंक तथा वित्तीय संस्थालाई सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले कमभन्दा कम कर्मचारीको उपस्थित गराई  बैंकिङ सेवा उपलब्ध गराउन आग्रह गरे । अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भू-क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टि गत गरेर असोज १९ गते (आइतबार) र २० गते (सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरे । सार्वजनिक विदाका दिनमा डिजिटल बैंकिङ प्रयोग गर्न उनले आग्रह गरे । साथै, बैंक तथा वित्तीय संस्थाले एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न उनले अनुरोध गरे । ‘भारी वर्षालाई मध्यनजर गरी सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालय बाहेकका सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ,’ पौडेलले भने, ‘बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्दछ । यो बेलामा भौतिक रूपमा बैंकिङ सेवा लिने भन्दा पनि सुरक्षित डिजिटल बैंकिङ सेवाको उपयोग गर्न अनुरोध छ । साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएम सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारू हुने व्यवस्था गरी कम भन्दा कम कर्मचारीको उपस्थित गराई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुहुन अनुरोध छ ।’

सुदूरपश्चिममा मौसम सामान्य

काठमाडौं । देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने आज मौसम सामान्य रहेको छ । स्थानीय वायुको प्रभाव कायमै रहेकोले एक÷दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि प्रदेशका अधिकांश जिल्लामा दिउँसो घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले जनाएको छ । गएराति कैलालीको चुरे पहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षाको मापन गरिएको थियो । ‘सुदूरपश्चिम प्रदेशमा आज मौसम सामान्य रह्यो । प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने पूर्वानुमान गरिएको छ,’ कार्यालयका प्रमुख सञ्जय साहले भने । वर्षासँगै हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि कैलाली, कञ्चनपुरलगायत जिल्लाका विभिन्न नदी किनारमा ‘गेज रिडर’लाई सक्रिय पारिएको पनि उनले जानकारी दिए । 

बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले हालसम्म बाढीको जोखिममा रहेका बस्तीका मानिसलाई चारवटा विद्यालयमा सारिएको जानकारी दिए । उनका अनुसार विश्व निकेतन मावि त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माविमा ५२ जना, जन विकास मावि कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय टेकुमा २० जनालाई राखिएको छ । महानगरको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) को व्यवस्था गर्न सकिने जनाएको छ । उद्धार गरिएकाहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ । महानगरले  कुनै समस्या परेमा १६६००१०५५११,  ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ । 

पाकिस्तानको पञ्जाबमा अक्टोबर ७ सम्म भारी वर्षा हुने, २७ जिल्लामा बाढी आउने

काठमाडौं । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) का महानिर्देशक इरफान अली काठियाले शनिबार हालैको बाढीबाट भएको क्षतिको मूल्याङ्कनका लागि सर्वेक्षण कार्य जारी रहँदा पञ्जाबमा आगामी दिनमा थप भारी वर्षा हुने पूर्वानुमान गरिएको बताएका छन् ।  पाकिस्तानभरि जुन महिनादेखि जारी मनसुन वर्षाका कारण अहिलेसम्म कम्तीमा १ हजार ३७ जनाको ज्यान गएको छ । प्रमुख नदीहरू भरिएपछि तिनका किनारमा रहेका ग्रामीण बस्तीहरूमा ठूलो क्षति पुगेको छ । पञ्जाब प्रान्तमै चार हजार सात सय गाउँका करिब ४७ लाख जनसङ्ख्या प्रभावित भएको डन पत्रिकाले जनाएको छ । लाहोरमा आयोजित पत्रकार सम्मेलनमा काठियाले पञ्जाबभरि आइतबार बिहानदेखि वर्षा सुरु हुने र विशेषगरी उत्तरी भागहरूमा अक्टोबर ७ (मङ्गलबार) सम्म जारी रहने अनुमान गरिएको जानकारी दिए ।  रावलपिन्डीदेखि लाहोरसम्मको उत्तर तथा उत्तरपूर्वी भागमा औसत ३० देखि ३५ मिलिमिटर वर्षा हुने अपेक्षा गरिएको छ भने दक्षिणी पन्जाबमा पाँचदेखि १० मिलिमिटर वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए । अक्टोबर ६ र ७ मा वर्षाको तीव्रता अझै बढ्ने चेतावनी दिँदै उनले भने, ‘उत्तरी र उत्तरपूर्वी पञ्जाबमा ५० देखि ७० मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ र यसको प्रभाव केही मध्य जिल्लामा पनि देखिन सक्छ ।’ काठियाले चिनाब नदीको हेड मारालामा हाल २० हजार क्युसेक पानी मापन गरिएको उल्लेख गरे । साथै उनले पाकिस्तान प्रशासित काश्मीरमा रहेको दुल हस्ती जलविद्युत् परियोजनामा आगामी ४८ घण्टामा वर्षा र सिल्ट फ्लसिङका कारण पानीको बहाव १ लाखदेखि १ लाख ५० हजार क्युसेकसम्म बढ्न सक्ने ‘अनौपचारिक स्रोत’ हरूको आधारमा जानकारी दिए । यसैबीच, रावलपिन्डी र इस्लामाबादमा शुक्रबार हल्कादेखि भारी वर्षा भइसकेको र तल्लो भू–भाग जलमग्न भएको डनले उल्लेख गरेको छ । पाकिस्तानको मौसम विभागले पनि अक्टोबर ३ देखि तीव्र हुँदै गएर अक्टोबर ७ सम्म सक्रिय रहने चेतावनी जारी गरेको छ ।  काठियाका अनुसार चेनाब, रावी र सतलज नदीको किनारमा फैलिएको बाढीपछिको क्षति मूल्याङ्कनका लागि पञ्जाबका २७ जिल्लामा सर्वेक्षण जारी छ । सेप्टेम्बर २७ बाट सुरु भएको यो सर्वेक्षण एक महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ, जसमा ६९ तहसिल समेटिएका छन् । ृृनका अनुसार हालसम्म बाढीबाट ४७ लाख मानिस प्रभावित भएका छन्, २६ लाख ३० हजार मानिस र २१ लाख १० हजार गाईवस्तुहरू सुरक्षित स्थानमा सारिएको छ । पञ्जाबमा मृत्युको सङ्ख्या १३४ पुगेको छ, यद्यपि पूर्ण सर्वेक्षणपछि यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजको निर्देशनमा २७ जिल्लाका ११ हजार ५ सय सर्वेक्षणकर्मी २ हजार २१३ टोलीमार्फत फिल्डमा खटिइरहेका छन् । गणनाको पारदर्शिता सुनिश्चित गर्न पाकिस्तानी सेना, सहरी एकाइ, कृषि तथा पशुधन विभागका कर्मचारी र जिल्ला प्रशासनका प्रतिनिधिहरू संयुक्त रूपमा समावेश छन् ।  केही टोलीहरू अझै पनि पानीमुनिका क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको काठियाले स्वीकार गरे । तर, उनले मुख्यमन्त्री मरियम नवाजसहित सबै सरोकारवाला अधिकारीहरूले सर्वेक्षणलाई वास्तविक समयमा निगरानी गरिरहेको र तथ्याङ्क गणना भएलगत्तै प्रान्तीय आपत्कालीन सञ्चालन केन्द्रमा पठाउने व्यवस्था गरिएकोमा जोड दिए ।  उनले बहुस्तरीय प्रमाणीकरण प्रक्रियाबारे पनि स्पष्ट पारे । तहसिल र जिल्ला तहमा प्रारम्भिक जाँचपछि तथ्याङ्क अर्बन युनिटमा पठाइन्छ र त्यसपछि पञ्जाब सूचना प्रविधि बोर्ड (पिआइटिबी) द्वारा प्रमाणीकरण गरिन्छ । पहिलो चरणमा राष्ट्रिय डाटाबेस तथा दर्ता प्राधिकरण (एनएडिआरए) द्वारा नागरिकताको प्रमाणीकरण (सिएनआइसी) जाँच गरिन्छ । त्यसपछि पशुधन खोप रेकर्डसँग तथ्याङ्क क्रस–म्याच गरी शुद्धता सुनिश्चित गरिन्छ । यससँगै, गैर–मालिकहरूको समावेश रोक्न र वास्तविक लाभार्थी छुट्न नदिन पञ्जाब ल्यान्ड रेकर्ड अथोरिटी (पिएलआरए) डाटाबेससँग पनि परामर्श गरिन्छ । पिआइटिबीले अन्तिम चरणमा आफ्नै आन्तरिक जाँच गरेपछि मात्र तथ्याङ्क वित्तीय वितरणका लागि खाली हुन्छ । काठियाले भने, ‘लाभार्थीहरूका लागि बैंक अफ पञ्जाब (बिओपी) काउन्टरहरू स्थापना गरिनेछ, उनीहरूलाई क्षतिपूर्ति सङ्कलन गर्नुपर्ने मिति र स्थानको सूचना सन्देशमार्फत दिइनेछ र आवश्यक परे यातायातको व्यवस्था पनि मिलाइनेछ ।’