भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान पनि आवश्यक छ : सीईओ ज्ञवाली
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषायक कार्यक्रममा ज्ञवालीले अबको पुनःनिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिँदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर गरेर अघि बढ्नु पर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको अर्थतन्त्र नकरात्मक अवस्थामा रहेको थियो । नेपालको अर्थतन्त्रका सूचक राम्रो अवस्थामा छन्,’ ज्ञवाली भन्छन्,‘अब निजी क्षेत्रको विश्वास जितेर जान सक्दा छिटो नै अर्थतन्त्रको पूनरुत्थान हुन सक्छ ।’ सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसँग जोडर बनाउनु पर्ने बताए । युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको छ । ‘विभिन्न फोरम र सरकारका प्रतिनिधीले युवाका कुरा नसक्दा विद्रोह हुन्छ,’ उनी भन्छन्,‘युवाहरूले भोगेका समस्या समयमा सुन्न सक्दा मानिसमा निराशता पैदा हुँदैन ।’ ‘आशा केन्द्रसँग, समाधान स्थानीय तहबाट’ नेपालको संविधानले ३ तहको सरकारको परिकल्पना गरेको छ । जेनजी आन्दोलनपछि केन्द्रिय सरकासंग बढी अपेक्षा गरिएको भएपनि प्रदेश र स्थानीय तह मार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञावलीले बताए । ‘संघ सरकारसंग मात्रै मुख ताक्दा युवाले खोजेका सबै सेवा सहज पाउँदैनन् । स्थानीय तहबाट कार्यान्वयन हुने विषय त्यहिँबाटै हुनुपर्छ,’ उनले भने । सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भुल्ने गरेकोमा परिर्वतन हुनुपर्ने बताए । उनले बैदेशिक लगानी भित्राउनकोलागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै अघि बढ्नुपर्ने बताए । ‘लगानी बोर्डका लामो समय देखी वन स्टप सर्भिस सेन्टरको प्रणाली छ । तर त्यसको कार्यन्वयन राम्रोसंग हुन सकेको थिएन,’ उनले भने,‘अध्यादेशबाट कानुन संसोधन भएर कर्मचारीलाई अधिकार सहितको जिम्मेवारी दिएका छौं। अब कार्यविधी बनाएर त्यसलाई छिटो कार्यन्वयन गछौं ।’ सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुँदा वैदेशिक लगानीकर्तामा विश्वास पैदा हुन सकेको छैन । लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दल सहितका प्रतिनिधी हुनेगरी अघि बढेको छ। अब त्यसमा थप छलफल गरेर टुंगाउनु पर्ने उनले बताए ।
ऊर्जामन्त्री घिसिङ र बेलायती राजदूत रब फेनबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न उक्त भेटवार्तामा राजदूत फेनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपाल–बेलायतबीचको दीर्घकालीन मित्रता, ऊर्जा र पूर्वाधार क्षेत्रमा सम्भावित सहकार्य, जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय र दिगो विकासका विषयमा गहन छलफल भएको थियो । मन्त्री घिसिङले जेनजी आन्दोलनपछिको नयाँ सरकारको मुख्य प्राथमिकता जनताको जीवनस्तर सुधार, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आगामी निर्वाचन र सुशासन रहेको उल्लेख गरे । उनले बेलायतले विगतदेखि नै नेपालमा गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्दै विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि चार्जिङ स्टेसन निर्माणमा बेलायतको सहयोग प्रभावकारी भएको बताए । त्यसैगरी, घिसिङले सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत पूर्वाधार विकास गर्न बेलायतसँगको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । साथै ग्रिन हाइड्रोजन प्रविधि, जलवायु परिवर्तनका कारण उत्पन्न हिमताल विस्फोटको सम्भावित जोखिम मूल्याङ्कनजस्ता क्षेत्रमा प्राविधिक र वित्तीय सहयोगको अपेक्षा पनि व्यक्त गरे । राजदूत फेनले नेपाललाई बेलायतको पुरानो र विश्वासिलो मित्र राष्ट्रको रूपमा उल्लेख गर्दै नेपालको समृद्धि र आर्थिक रुपान्तरणमा बेलायत सदैव सहकार्य गर्न तयार रहेको धारणा राखे । ‘नेपालको सफलता नै बेलायतको सफलता हो,’ फेनले भने । यो भेटवार्ताले दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, डेपुटी सिईओ निराजन कंडेललगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो । अध्यक्ष केडियाले क्लब सदस्यता हासिल गर्न सफल बीमा सल्लाहकारहरूलाई हार्दिक बधाई दिँदै सानिमा रिलायन्सप्रति देखाइएको विश्वास र व्यवसाय वृद्धिमा पुर्याएको योगदानप्रति आभार प्रकट गरे । प्रमुख कार्यकारी अधिकृत पाण्डेले कम्पनीका मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारलाई निरन्तर प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने जानकारी गराए । त्यसैगरी, डेपुटी सीईओ कंडेलले सफल बीमा सल्लाहकार बन्न आवश्यक सीप र क्षमता विकासबारे सुझाव प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१/८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब, आकाश क्लब र ग्यालेक्सी क्लबका सदस्यता लक्ष्य हासिल गर्न सफल सल्लाहकारहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार शिवानी थापा बस्न्यातले सञ्चालन गरेकी थिइन् भने गायिका समीक्षा अधिकारी र हास्य कलाकार सुन्दर खनालका प्रस्तुति साथै विभिन्न नृत्य कार्यक्रमले मनोरञ्जनात्मक रंग भरेका थिए ।
सेमीकन्डक्टर क्रान्तिमा भारत : १० ठूला परियोजना र १.६ ट्रिलियनको लगानी
काठमाडौं । भारत विश्व चिप्स उद्योगको एक प्रमुख खेलाडी बन्न चाहन्छ, तर कडा चुनौती छ । चिप्स उद्योगमा प्रतिस्पर्धा अत्यन्तै तीव्र छ र भारत यो दौडमा ढिलो प्रवेश गर्ने देश हो । सन् २०२२ मा अमेरिकाले चीनलाई अत्याधुनिक प्रविधिमा पहुँच सीमित गर्न आफ्नो उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्सको निर्यात रोक्दा सेमीकन्डक्टर आत्मनिर्भरता हासिल गर्ने विश्वव्यापी दौड सुरु भयो । भारतका लागि यो एक अवसर बन्यो । यही मौकामा भारतले आयातमा निर्भरता घटाउन, रणनीतिक क्षेत्रमा आवश्यक चिप्स सुरक्षित गर्न र चीनबाट सरेको विश्व इलेक्ट्रोनिक्स बजारमा ठूलो हिस्सा लिन खोजेको हो। भारत विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स उपभोक्तामध्ये एक हो, तर यससँग घरेलु चिप्स उद्योग छैन र विश्व आपूर्ति शृंखलामा यसको योगदान अत्यन्त न्यून छ । नयाँ दिल्लीको ुसेमीकन्डक्टर मिशनु ले यो अवस्थालाई बदल्ने लक्ष्य राखेको छ । यसको महत्त्वाकांक्षा ठूलो छ । डिजाइनदेखि लिएर फ्याब्रिकेसन, परीक्षण र प्याकेजिङसम्म सम्पूर्ण आपूर्ति शृंखला भारतमै विकास गर्ने सोच छ ।यस महिनासम्म भारतले १.६ खर्ब रुपैयाँ (१८.२ अर्ब डलर) बराबरको लगानीका १० वटा सेमीकन्डक्टर परियोजनालाई स्वीकृति दिएको छ । यीमा दुईवटा सेमीकन्डक्टर फ्याब्रिकेसन प्लान्ट र धेरै परीक्षण तथा प्याकेजिङ कारखानाहरू छन् । भारतसँग पहिले नै विश्व चिप डिजाइन कम्पनीहरूमा कार्यरत ठूलो इन्जिनियरिङ जनशक्ति छ । तर विज्ञहरू अहिलेसम्म प्रगति समान नरहेको र यो लगानी अनि जनशक्ति मात्र भारतको चिप महत्त्वाकांक्षा पूरा गर्न पर्याप्त नभएको बताउँछन् । विज्ञान तथा प्रविधि नीतिमा काम गर्ने थिङ्क ट्यांक आईटीआईएफका उपाध्यक्ष स्टिफन इजेलका अनुसार भारतलाई गतिशील, गहिरो र दीर्घकालीन पारिस्थितिक प्रणाली आवश्यक छ । उनको भनाइमा अनुसन्धान, दक्ष जनशक्ति, आपूर्ति श्रृंखला र सरकारी नीतिगत सहयोगले मात्र सेमिकन्डक्टर उद्योगलाई टिकाउ बनाउन सक्नेछन्। इजेलका अनुसार अग्रणी सेमीकन्डक्टर उत्पादकहरूले बहुअर्ब डलरको फ्याब (चिप बनाउने कारखाना) लगानी गर्ने निर्णय गर्नुअघि करिब ५०० वटा छुट्टाछुट्टै पक्षलाई विचार गर्छन् । यीमा जनशक्ति, कर प्रणाली, व्यापार र प्रविधि नीति, श्रम दर र श्रम कानुन, भन्सार नीति लगायतका कुरा पर्छन् – जसमा भारतलाई अझै धेरै काम गर्नुपर्ने छ । नयाँ दिल्लीको नीतिगत पहल मे महिनामा भारतीय सरकारले आफ्नो चिप महत्त्वाकांक्षामा नयाँ योजना थप्यो – इलेक्ट्रोनिक कम्पोनेन्ट उत्पादनमा वित्तीय सहयोग दिने योजना । यसले एक महत्त्वपूर्ण अवरोधलाई सम्बोधन गर्छ । अहिलेसम्म भारतमा फोन क्यामेरा कम्पनीजस्ता इलेक्ट्रोनिक कम्पोनेन्ट उत्पादन गर्ने कम्पनीहरू कम भएका कारण चिप उत्पादकलाई स्थानीय माग थिएन । तर नयाँ नीतिले सक्रिय र निष्क्रिय दुवै प्रकारका इलेक्ट्रोनिक कम्पोनेन्ट उत्पादन गर्ने कम्पनीलाई वित्तीय सहयोग दिनेछ, जसले सम्भावित घरेलु माग र आपूर्ति शृंखला तयार गर्न मद्दत पुर्याउनेछ । सन् २०२२ मा भारतले पहिले २८ एनएम वा सोभन्दा साना चिप्स बनाउने फ्याब युनिटलाई बढी प्रोत्साहन दिने रणनीतिबाट मोडेर सबै फ्याब युनिट र परीक्षण–प्याकेजिङ युनिटको परियोजना लागतको ५० प्रतिशत बेहोर्ने नीति लिएको छ । ताइवान, बेलायत, अमेरिका र दक्षिण कोरियाका फ्याब र प्याकेजिङ कम्पनीहरूले भारतको सेमीकन्डक्टर महत्त्वाकांक्षामा चासो देखाएका छन् । ‘भारतीय सरकारले सेमीकन्डक्टर उत्पादकहरूलाई आकर्षित गर्न धेरै उदार प्रोत्साहन दिएको छ,’ इजेल भन्छन्, ‘तर यस्ता लगानी सधैंका लागि टिकाउ हुँदैनन् ।’ लामो यात्रा भारतको सबैभन्दा ठूलो चिप परियोजना हाल गुजरातमा निर्माणाधीन ९१० अर्ब भारु (११ अर्ब डलर) को सेमीकन्डक्टर फ्याब्रिकेसन प्लान्ट हो, जसलाई टाटा इलेक्ट्रोनिक्स र ताइवानको पावरचिप सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पले संयुक्त रूपमा बनाइरहेका छन् । यो युनिटले पावर म्यानेजमेन्ट आईसी, डिस्प्ले ड्राइभर, माइक्रोकन्ट्रोलर र उच्च प्रदर्शन कम्प्युटिङका लागि प्रयोग हुने चिप्स बनाउनेछ, जुन एआई, अटोमोटिभ, कम्प्युटिङ र डाटा स्टोरेज उद्योगमा प्रयोग गर्न सकिन्छ । बेलायतको क्लासिक वाफर फ्याबले भारतको सिकसेमसँग मिलेर ओडिशामा पहिलो व्यावसायिक कम्पाउन्ड फ्याब स्थापना गर्न लागेको छ । सरकारी विज्ञप्तिका अनुसार यी कम्पाउन्ड सेमीकन्डक्टरहरू क्षेप्यास्त्र, रक्षा उपकरण, विद्युतीय सवारी, उपभोक्ता उपकरण र सौर्य पावर इनभर्टरमा प्रयोग गर्न सकिन्छ । पीडब्ल्यूसी भारतका सेमीकन्डक्टर प्रमुख सुजय सेठीका अनुसार ‘आगामी ३–४ वर्ष भारतको सेमीकन्डक्टर लक्ष्यलाई अघि बढाउन अत्यन्त महत्त्वपूर्ण हुनेछन् ।’ सञ्चालनमा ल्याइने सिलिकन फ्याब सुविधा र प्राविधिक तथा पूर्वाधार चुनौती समाधान गर्नु भारतको अर्को महत्त्वपूर्ण चरण हुनेछ । फ्याब साइटहरू बनाउन बाढी र कम्पनमुक्त क्षेत्र, भरपर्दो सडक पहुँचजस्ता कडा मापदण्ड पूरा गर्नुपर्छ जुन केही स्थानका लागि चुनौती हुन सक्छ । भारतलाई ‘उच्च शुद्धता मापदण्ड’ पूरा गर्ने विशेष रसायन आपूर्तिकर्ता पनि चाहिन्छ, जुन उन्नत सेमीकन्डक्टर उत्पादनका लागि अपरिहार्य हो । फ्याब बाहेक भारतका धेरै मध्यम आकारका कम्पनीहरूले चिप परीक्षण र प्याकेजिङ युनिट स्थापना गर्ने चासो देखाएका छन् । यो क्षेत्र फ्याबको तुलनामा कम पूँजी खर्चिलो र उच्च नाफामूलक भएकाले धेरै समूह आकर्षित भएका छन् । ‘यो भारतका लागि ठूलो अवसर हो, तर बजार पहुँच र माग च्यानल स्पष्ट हुनु दीर्घकालीन वृद्धिका लागि आवश्यक छ,’ सेठी भन्छन् । यस क्षेत्रमा सफलता पाए भारत विश्व चिप उद्योगमा प्रवेश गर्नेछ, तर अझै २ एनएम सेमीकन्डक्टरको स्थानीय विकास र उत्पादनको बाटो लामो छ । २ एनएम चिप्सले साना ट्रान्जिस्टर आकारका कारण उच्च प्रदर्शन र ऊर्जा दक्षता दिन्छन् । ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन (टीएसएमसी) यस वर्षदेखि २ एनएम चिप्सको ठूलो उत्पादन सुरु गर्नेछ । गत हप्ता भारतीय मन्त्री अश्विनी वैष्णवले बेंगलुरुमा सेमीकन्डक्टर डिजाइन कम्पनी एआरएमको नयाँ अफिस उद्घाटन गर्दै भनेका थिए, ‘यो कम्पनीले एआई सर्भर, ड्रोन र मोबाइल फोनका लागि प्रयोग हुने अत्याधुनिक २ एनएम चिप्स यहाँ डिजाइन गर्नेछ ।’ तर विज्ञहरूका अनुसार भारतको भूमिका अझै सीमित रहन सक्छ किनकि चिप डिजाइनको मूल बौद्धिक सम्पत्ति प्रायः अमेरिका वा सिंगापुरजस्ता देशमा सुरक्षित हुन्छ । ‘भारतसँग डिजाइन क्षेत्रमा पर्याप्त प्रतिभा छ, किनकि सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ र परीक्षण त पछिल्लो २ वर्षमा मात्र सुरु भएका हुन्, तर डिजाइन १९९० दशकदेखि चलिआएको छ,’ विशेषज्ञ जयन्त बीआर भन्छन् । उनका अनुसार विश्व कम्पनीहरूले प्रायः ‘ब्लक–लेभल’ डिजाइन भ्यालिडेसनको काम भारतलाई आउटसोर्स गर्छन् । योभन्दा अघि बढ्न भारत सरकारले आईपी (बौद्धिक सम्पत्ति) कानुन अद्यावधिक गर्नुपर्ने सुझाव दिन्छन् वकिल सजय सिंह । ‘हाम्रो प्रतिस्पर्धा अमेरिका, युरोप र ताइवानसँग छ, जसको बलियो आईपी कानुन र स्थापित चिप डिजाइन पारिस्थितिक प्रणाली छ,’ उनी भन्छन् । हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ ! चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा
कामना सेवा विकास बैंक र नमस्ते पब्लिक हस्पिटलबीच सम्झौता, सेवामा २० प्रतिशतसम्म छुट
काठमाडौं । कामना सेवा विकास बैंकले झापा, दमकस्थित नमस्ते पब्लिक हस्पिटलसँग सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी र ग्राहकहरूले अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाको पहुँच सर्वसाधारणसम्म पुर्याउने उद्देश्यले गरिएको यो सहकार्यअन्तर्गत बैंकसँग आबद्ध कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसम्बन्धी प्रमाण देखाएर सुविधा सहजै प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र नमस्ते पब्लिक हस्पिटलका अध्यक्ष कुबेर भट्टराईले हस्ताक्षर गरेका छन् । बैंकले यस सहकार्यले आफ्ना ग्राहक र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ ।
व्यवसायीको मनोबल उकास्न सहुलियतपूर्ण कर्जा सुविधा दिने : कार्यकारी निर्देशक खरेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको मनोबल उकास्न विभिन्न किसिमका सहुलियतहरु प्रदान गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा खरेलले यस्तो बताएका हुन् । उनले जेनजी प्रदर्शपछि खासगरी निजी क्षेत्रको मनोबल कमजोर बनेकाले त्यसलाई उकास्न कर्जा पुनर्संरचनारपुनर्तालिकिकरण, सहुलियतपूर्ण दरमा कर्जा प्रवाह, कम ब्याजमा ऋण उपलब्ध गराउने काम गरिने बताए । ‘जेनजी प्रदर्शनपछि अब अर्थतन्त्र मन्दीमा जाने हो कि ? मूल्यवृद्धि बढ्ने हो कि ? भन्ने आशंकाहरु पैदा भइरहेका छन् । तर, क्षतिपछिको समग्र अवस्था हेर्दा लक्षित सीमा भन्दा माथि मूल्यवृद्धि जाने देखिँदैन,’ खरेलले भने, ‘विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेको छ भने बाह्य क्षेत्रमा असर नगरेसम्म रेमिट्यान्समा पनि प्रभाव पर्ने देखिँदैन । यसले विदेशी मुद्रा सञ्चितिमा हामी सहज अवस्थामा रहने देखिन्छ ।’ उनले विगतका क्षतिपछि कसरी पुननिर्माणमा काम गर्ने भन्ने प्रश्न उठ्ने गरेको भएपनि अहिले आजकै दिनमा खर्च गर्न सकिने ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको बताए । अर्कोतर्फ, लगानीका लागि ब्याजदर पनि सहज अवस्थामा रहेको उनको भनाइ छ । यसले भौतिक संरचनाको पुननिर्माण सहज हुने खरेलको दाबी छ । ‘अबको मुख्य विषय भनेको निजी क्षेत्रको मनोबल कसरी माथि उकास्न सकिन्छ भन्ने हो । तरलता पर्याप्त भएको र ब्याज पनि न्यून छ भने लगानी गर्दा प्रतिफल प्राप्त गर्न सकिने वातावरण पनि छ । यसरी हेर्दा हामी धेरै समस्यामा छैनौं,’ खरेलले भने, ‘कोरोना महामारीपछि आईटी क्षेत्रमा सुधार भए जस्तै अब कुन क्षेत्रमा कसरी अगाडि जान सकिन्छ भन्ने विषयलाई हेरेर जानुपर्ने आवश्यक्ता छ ।’ उनले, वित्तीय स्थिति सहज भएकाले यहि आर्थिक वर्षमा साढे पाँच वा छ प्रतिशतसम्मको आर्थिक वृृद्धिदर हासिल गर्न समस्या नरहेको बताए । सरकारी क्षेत्रबाट पुननिर्माणमा राम्रो योगदान हुने देखिँदै गर्दा निजी क्षेत्रबाट पनि सोही किसिमको अवस्था सिर्जना गर्न जरुरी रहेको उनको भनाइ छ । ‘हाम्रो मुलुकमा पछिल्लो समय दशकदशकमा परिवर्तन भइहेको छ । क्षति पनि हुने र नयाँनयाँ कुराहरू आउने पनि भइरहेका छन् । कोरोना महामारीको समयमा पनि हाम्रोमा डिजिटलाइजेसन व्यापक रुपमा भयो भने आईटी क्षेत्र पनि सकारात्मक गतिमा अगाडि बढ्यो,' उनले भने । यस समयमा पर्यटन क्षेत्रमा समेत सुधार भएर गएको खरेलले बताए । अहिले सबै क्षेत्रमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने सोच पैदा भएको, पारदर्शी हुँदै सार्वजनिक संस्थालाई सुधार गर्नुपर्ने र सरकारले नागरिकको आवाज सुन्ने मात्रै नभई समयमा समस्या समाधानका लागि गाँठो फुकाउनुपर्छ भन्ने सकारात्मक सन्देश पैदा भएको उल्लेख गरे ।
रास्वपाभित्र उठ्यो रविको विकल्प खोज्नुपर्ने माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने आवाज उठेको छ । पार्टीको चलिरहेको बैठकमा केही केन्द्रीय सदस्य तथा चार प्रदेशका सभापतिहरूले लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । बैठकमा केही केन्द्रीय सदस्यहरू र कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका सभापतिहरूले लामिछानेको कारागार रिहाइ प्रकरणले रास्वपा नेतृत्वमाथि विभिन्न प्रश्नहरू उठिरहेको अवस्थामा सभापतिले मार्ग प्रशस्त गर्दा राजनीतिक इमान देखिने धारणा राखेका हुन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दिएको छ ।
'बीमा कम्पनीसँग २८ अर्ब रिजर्भ, साना दाबी सहजै भुक्तानी हुने'
काठमाडौं । बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले निजी क्षेत्रबाट ८० अर्बको क्षति भएपनि साना प्रकृतिको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका हुन् । ‘असोज ५ गतेसम्म २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ कुल दाबी आएको छ । यो सरकारी सम्पत्ति बाहेक हो । निजी क्षेत्रले अनुमान गरेको ८० अर्ब क्षतिको हिसाबमा २०/२५ प्रतिशत मात्र बीमाको दायरामा आएको रहेछ । यसमा पनि दुई तिवटा हाई प्रोफाइलका छन् । हाई प्रोफाइल हटाउने हो भने हाम्रो पोजिसन १२/१३ प्रतिशतमा मात्र बीमाको दायरामा आएको रहेछ,’ उनले भने । वैद्यवारका अनुसार अहिलेसम्म आन्दोलनका कारण २४७८ वटा बीमा दाबी आवेदन परेको छ । यो दावी नेपालकै इतिहासमा सबैभन्दा ठूलो हो । यो भन्दाअघि भूकम्पको समयमा १७ अर्बको दावी परेको थियो । गत सालको असोजमा काठमाडौं लगायत काभ्रेको रोसीको बाढीका कारण करिब १३ अर्बको दावी परेको उनले बताए । ‘अहिलेको क्षति हेर्दा यो भन्दा ठूलो दावी आउँछ भन्ने लागेको थियो । नेपालका बीमा कम्पनीले भूकम्प तथा बाढिपहिरोका भुक्तानी गरेको अवस्था छ । धेरै बीमा भइदिएको भए हामीले उहाँहरूलाई चाँडैनै रिकभरिका लागि सहयोग गर्थ्यौं,’ वैद्यवारले सुनाए । १ हजार ७ सय दाबी साना प्रकृतिका छन् । यी ४०/५० लाखदेखि २ करोडसम्मका होलान । अरु ठूलो प्रकृतिका रहेको उनले बताए । 'साना दावी हामी दिपावलीसम्ममा भुक्तानी गर्छाैं । हामी सरल ढंगले दावी भुक्तानी गर्छौ । हामीले यसको ड्राफ्ट प्राधिकरणमा पठाइसकेका छौं । गाडी जलेको हकमा ड्राइभिङ लाइसेन्स, विलबुक र प्रहरीले जलेको लेटर दिएको हुनुपर्छ । ठूला प्रकृतिका भुक्तानीलाई हामीले एडभान्स दिन्छौं,’ उनले भने । बीमा कम्पनीले २२ अर्ब भनेको स्पेसल रिजर्भमार्फत कभर गर्ने वैद्यवारले जानकारी दिए । ‘यो रिजर्भमा हाम्रो २७–२८ अर्ब छ, त्यसमा आत्तिनुपर्ने अवस्था छैन । हाम्रो पछाडी रिइन्स्योरेन्सको साथ छ,’ वैद्यवारले भने ।