मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा, ढुंगा झर्ने क्रम रोकिएन
काठमाडौं । तुइन खोलानजिक पटक-पटक खसेको पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । भरतपुर सडक डिभिजनका अनुसार एकतर्फी रूपमा सवारीसाधन गुड्न थालेका हुन् । यद्यपि पहिरो हटाइए पनि ढुंगा झर्ने क्रम जारी रहेकाले दुईतर्फी रूपमा सडक सञ्चालन गर्न अझै सम्भव भएको छैन । सडक डिभिजनले यात्रु र चालकहरूलाई लेन अनुशासन पालना गर्न र सचेत रहन आग्रह गरेको छ । सडक डिभिजन भरतपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुग्लिन-नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ । दुईतर्फी आवागमन खुलाउन प्रयासरत छौं । तर ढुंगा झर्ने क्रम जारी नै छ। कृपया लेन अनुशासनको पालना गर्नुहुन अनुरोध छ । ’ यसैबीच, मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिकै अर्को पहिरो जाँदा उक्त खण्ड भने दुवैतर्फ अवरुद्ध भएको छ । यस्तो अवस्थामा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित रूपमा यात्रा गर्न डिभिजनले अनुरोध गरेको छ । सडक डिभिजन भरतपुरका अनुसार आवश्यक नपरेसम्म उक्त सडकखण्ड प्रयोग नगर्नु र स्थानीय प्रशासन वा ट्राफिकको अपडेटअनुसार यात्रा तय गर्नु उचित हुनेछ ।
नसोचेका घटनाले ठूलो क्षति, सरकारी सम्पत्तिको बीमा आवश्यक : चंकी क्षेत्री
काठमाडौं । बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताएका हुन । ‘नेपालमा धेरै पटक नसोचेका घटनाहरू हुने गरेका छन् । जसको कारण सरकारी सम्पत्तिको पनि ठुलो क्षति हुने गरेको छ । भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन,’ उनी भन्छन्, ‘अहिले भएको सरकारी सम्पत्तिको पनि क्षतिको पनि बीमा गरिएको छैन । सरकारी सम्पदा तथा सम्पत्तिको पनि बीमा गर्न आवश्यक छ ।’ यसैगरी, अहिले नेपालमा बैंक इन्स्योरेन्स अनिवार्य आवश्यकता भएको उनले बताए । ‘यो पनि आवश्यक छ । यसले सम्पूर्ण क्षेत्रको कभर गर्छ । अहिलेको आन्दोलने ठुलो क्षति गर्छ भनेर बीमा कम्पनीहरूले सोचेको थिएनन् । नसोचेको घटना भयो । अहिलेको घटनाको ६५ प्रतिशत क्षतिको कभर गर्ने योजना छ,’ उनी भन्छन् ।
जेनजी आन्दोलनले जीडीपीको ५ प्रतिशत क्षति, निजी क्षेत्र पनि सच्चिनुपर्ने
काठमाडौं । जेनजी आन्दोलनका कारण मनोबल खस्किएको उद्योगी व्यवसायीहरूले बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरू ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनीहरूको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे जेनजी आन्दोलनका कारण कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको दाबी गरे । ‘उद्योगहरूमा कुल जीडीपीको ५ प्रतिशत असर पुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट के-कस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने । अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने उनको धारणा छ । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनुनपर्ने उनको माग छ । शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको उनले बताए । शिक्षामा लगानी बढेको भएपनि प्रतिफल भने कम रहेको उनले बताए । उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनका कारण त्यो लगानी रोकिएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनका कारण सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताए । जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको उनको भनाइ छ । केही समयअघि अर्थतन्त्रको वृद्धि दर राम्रै भए पनि त्यसलाई निरन्तरता दिन नसकेको ढकालले बताए । ‘अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौँला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ । फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ,’ उनले भने, ‘हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरू ल्याउनुपर्छ ।’ नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताए । जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेकाले सरकारले व्यवसायीहरूलाई डराउनु पर्दैन भन्ने किसिमको सुरक्षा प्रत्याभूति दिलाउनुपर्ने उनको भनाइ छ । सरकारी कार्यालयमा एकदमै ढिला सुस्ती र झन्झटिलो प्रकृयाका कारण दुःख पाइरहेको बताउँदै त्यसको अन्त्य गरेर चुस्त सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको उनको दाबी छ । ‘अहिले सरकारी अफिसमा ढिला सुस्ती र झन्झटिलो प्रक्रिया छ । जसले गर्दा सेवा लिन निकै समस्या हुन्छ । यसलाई सुधार गर्नुपर्छ,’ उनले भने । उनले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै गाउँको दूर दराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले दशैं-तिहार लगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋणसम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरे । आन्दोलनका कारण सवारी साधन बिक्रीमा कमी आएकाले राजस्व संकलन पनि घट्ने उनको भनाइ छ । ‘अटो क्षेत्रको सबैभन्दा बढी राजस्वमा योगदान छ । दशैंको समयमा कुल अटो बजारको ६० प्रतिशत विक्री हुने गरेकोमा आन्दोलनले घटेको छ । जसले गर्दा राजस्व पनि घट्छ । अहिलेको सबैभन्दा ठूलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन्, ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’ आन्दोलनका कारण अटो हब रहेको थापाथली पूर्ण रूपमा क्षति भएको बताउँदै उनले उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको जानकारी दिए । ‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने बित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ,’ अध्यक्ष चौधरीले भने । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डे जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै निजी क्षेत्र पनि सच्चिनुपर्ने बताउँछन् । जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउन सरकारले ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । ‘भ्रष्टाचारका विरुद्धमा भएको जेनजी आन्दोलनमा निजी क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउँछौं,’ अध्यक्ष पाण्डेले भने । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्थाका कारण युवाहरू विदेशिने गरेको उनको भनाइ छ । ‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरू नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’ नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताए । अहिलेको समस्या भूकम्प र कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न उनले आग्रह गरे ।
जेनजी आन्दोलनपछि पनि उस्तै झन्झट रहे युवाको पलायन बढ्ने : मनिष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा सुधार नआए युवामा थप निराशा छाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक अन्तरक्रियामा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन् । उनले प्रणालीमा सुधार नभए देशबाट युवा पलायन दर अझ बढ्ने देखिएको बताए । उनले भने ‘जेनजी आन्दोलन ठूला राजनीतिक मुद्दाभन्दा पनि दैनिक जीवनमा भोग्नुपरेका प्रक्रियागत अवरोध र सानोतिनो भ्रष्टाचार विरुद्धको आक्रोश भएको हो । आज कक्षाकोठामा सोध्ने हो भने ९०–९५ प्रतिशत युवा बाहिर जान चाहन्छन् । देशको मायाले भन्दा पनि पारिवारिक वा अन्य बाध्यताले मात्र केही युवा बसेका छन् ।’ श्रेष्ठले वितृष्णाको मूख्य कारण ठूला नीतिगत भ्रष्टाचारभन्दा पनि हरेक सरकारी कार्यालयमा काम गर्न जाँदा भोग्नुपर्ने दुःख र निरुत्साहन रहेको स्पष्ट पारे । उनले थपे ‘एउटा युवाले सानो व्यवसाय दर्ता गर्न खोज्दादेखि नै अनेकौं बाधा सुरु हुन्छ । काम गर्नलाई भन्दा रोक्नलाई हजारवटा बाटा छन् ।’ उनले ‘सार्क ट्यांक’ बाट लगानी पाएपछि कम्पनी रजिष्ट्रार कार्यालयमा एउटा सामान्य कामका लागि दुई महिनासम्म झुलाइएको घटनाले प्रणालीगत समस्याको गहिराइ देखाउने बताए । जेनजीको आन्दोलन र बहसपछि पनि फेरि उही सरकारी कार्यालयमा गएर उस्तै ठोक्कर खानुपर्ने हो भने युवाको मनोबल झनै खस्किने बताए । ‘अब वान स्टेप सोलुसन चाहिन्छ’ श्रेष्ठले युवालाई देशमै टिकाइराख्ने हो भने सरकारले तत्काल प्रणालीगत सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले उद्यम गर्न चाहने युवालाई लक्षित गरी ‘वान–स्टेप सोलुसन’ सहितको पूर्ण डिजिटल सेवा, सरकारी लगानीमा ‘इन्क्युबेसन सेन्टर’ को स्थापना, स्टार्टअपहरूलाई निःशुल्क कानुनी तथा लेखा परामर्श, र साना व्यवसायीका लागि विनाधितो ऋणको व्यवस्था गर्न सुझाव दिए । युवालाई रोजगारी दिने र उद्यमशील बनाउने ठोस योजना र सहज वातावरण नबनेसम्म देशको अर्थतन्त्र पुनरुत्थान हुन नसक्ने श्रेष्ठले बताए । सरकारी निकायहरूले समेत नेपाली सफ्टवेयर र उत्पादनलाई प्राथमिकता दिए मात्रै युवामा देशप्रति भरोसा जाग्ने उनको तर्क थियो ।
११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प
काठमाडौं । सूचना प्रविधि क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ। सन् २०१४ मा सुरु भएको यस कम्पनीले एसईओ ९सर्च इन्जिन अप्टिमाइजेसन०, वेब डिजाइन र डेभलपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अगमेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टजस्ता आधुनिक सेवा प्रदान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ । कम्पनीले नेपालमै मात्र नभई विदेशका व्यवसाय र संस्थाहरुसम्म सेवा पुर्याउँदै प्राविधिक दक्षता र ग्राहक विश्वासलाई प्रमुख आधार बनाएको कम्पनीको दाबी छ । यस यात्रामा अल्ट्राबाइटले विभिन्न व्यवसायिक वेबसाइट, अनलाइन समाचार पोर्टल र संस्थागत प्लेटफर्म तयार गरी सूचना प्रविधि क्षेत्रको विश्वसनीय नामको रुपमा आफूलाई स्थापित गरेको छ । कम्पनीले विकास गरेको अल्फाओक्टो डट कम निकै प्रभावकारी र लोकप्रिय छ । यो एउटा नवीनतम बिजनेश अटोमेशन सिस्टम हो । यो एउटा डिजिटल प्लेटफर्म हो जसले सीआरएम, एचआर म्यानेजमेन्ट, लिड म्यानेजमेन्ट सिस्टम, अपोइन्टमेन्ट सिस्टमजस्ता सुविधा प्रदान गर्छ । यसले विभिन्न स्रोतबाट डेटा संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि एसएमएस, इमेल र टेलिमार्केटिङमार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ ।छोटकरीमा अल्फाओक्टो व्यवसायको लागि सम्पूर्ण डेटा, सीआरएम र मार्केटिङ समाधान हो । कम्पनीले यस प्रडक्टमा विशेष अफर समेत ल्याएको छ । ११ औं स्थापना दिवसको अवसरमा १२ महिनाको लागि १३ ग्राहकको लागि नि: शुल्क दिने जनाएको छ । अफरमा सहभागी जनाउन सकिने कम्पनीले जनाएको छ । स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक वर्ग, कर्मचारी तथा सरोकारवाला निकायहरूमा हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराईले आगामी दिनमा सेवा र सुविधाहरूमा नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कम्पनीले ग्राहक र सेवा प्रयोगकर्ताहरूको आवश्यकता तथा उद्देश्यलाई मध्यनजर राखेर नयाँ प्रोडक्टहरूको विकासमा जोड दिने जनाएको छ । प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो र उत्कृष्ट कम्पनीको रूपमा आफूलाई स्थापित गर्ने दृढ संकल्पसहित सबै सरोकारवालाप्रति कम्पनीले आफ्नो कृतज्ञता प्रकट गरेको छ ।
सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएकोमा आज तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको हो । त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
ढुंगा खस्न थालेपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु अलपत्र
काठमाडौं । तीन दिन लगाएर खुलाइएको नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहानैदेखि ढुंगा खस्ने क्रम नरोकिएपछि यातायात आवागमन पुनः अवरुद्ध भएको छ । आज बिहान सुख्खा पहिरोसँगै ढुंगा खस्न थालेपछि सवारी साधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् । डिभिजन सडक कार्यालय चितवनका सवइन्जिनियर सुजन थापा मगरका अनुसार यो पूर्ण पहिरो नभई माथिबाट साना/ठूला ढुंगा खस्ने क्रम (रफल) हो । उनले हिजो दिनभर दुईतर्फी सञ्चालनमा आएको सडक आज बिहानै सुख्खा पहिरोका कारण प्रभावित बनेको बताए । ‘आज बिहान एकछिन वान वे चलाइएको थियो तर ढुंगा खस्ने क्रम नरोकिएपछि अहिले एकछिनका लागि रोकिएको छ,’ थापाले भने । सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको तर माथिबाट लगातार ढुंगा खस्ने कारणले समस्या भइरहेको उनले बताए । ढुंगा खस्न रोकिएपछि मात्र गाडीहरुलाई पालैपालो वान वे र त्यसपछि टु वे सञ्चालनमा ल्याउने योजना रहेको छ ।
दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या
दैलेख । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ । बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा अस्पतालले विगत केही वर्षयता ६५ शय्या सञ्चालनमा ल्याएको छ । तर दैनिक एक सय ५० भन्दा बढी बिरामी उपचार गर्न आउन थालेपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए । 'संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्ची राखेर उपचार गर्नुपर्ने बाध्यता छ', उनले भने । नयाँ भवन निर्माण गर्न थालेको चार वर्ष भएपनि सम्पन्न हुन सकेको छैन । कर्णाली प्रदेश सरकारको रु १८ करोड २४ लाखको लागतमा उक्त भवन बन्दै छ । भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको प्रमुख विश्वकर्माले बताए । अस्पताल भवन निर्माणको सम्पूर्ण प्राविधिक पक्ष हेर्दै आएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्ला र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी निर्माण कम्पनीको लापरवाहीले भवन समयमै नबनेको आरोप छ । निर्माणमा संलग्न कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन तथा रुख कटानको समस्याले समयमै भवन निर्माण कार्यले गति लिन नसकेको बताए । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्मार्ण गरिसक्नुपर्ने सम्झौता रहेको बताए । उनले भवन निर्माण गर्न पटक पटक म्याद थप गर्न नसकिने बताए ।