विकासन्युज

एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट

काठमाडौं । चाडपर्वको अवसरमा एनएमबि बैंकले ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने उद्देश्यले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ । उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गरेमा प्रत्यक्ष ५ हजार रुपैयाँसम्म छुट पाउनेछन् । यो छुट कुजु नेपालका याडिया शोरुमहरूमा मात्र उपलब्ध हुनेछ र चाडपर्वको अवधिसम्म सीमित रहनेछ । छुट लिन ग्राहकले भुक्तानी अघि शोरुमलाई जानकारी गराउनुपर्ने र एनएमबि बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । बैंकले यस योजनाले ग्राहकलाई फाइदा दिलाउने मात्र नभई वातावरणमैत्री र दिगो सवारीसाधनप्रति आकर्षण बढाउने विश्वास लिएको छ । साथै, नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याइरहने बैंकले जनाएको छ ।

निजी क्षेत्रलाई  उठाउन ‘रिफाइनान्सिङ’को व्यवस्था चाहिन्छ : दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थाबाट उद्योगीलाई उठाउनको रिफाइनान्सिङ आवश्यक रहेको बताएका हुन् ।   अहिलेको समस्या भूकम्प तथा कोभिड–१९ को भन्दा फरक भएकोले यसलाई प्राथमिकतामा राखेर हेर्न आग्रह गर्दै उनले भने ‘यो समस्या फरक छ । सरकारले  पुनरोत्थानका लागि उद्योगी व्यवसायीलाई कर्जामा सहुलियत दिन आवश्यक छ ।’    अहिलेको समस्या समाधान गर्नको लागि राष्ट्र बैंकले बेस रेटमा कर्जा उपलब्ध गराउन आवश्यक रहेको उनले बताए । ‘मैले देखेको अहिलेको समस्या दुई प्रकारको छ । एउटा देशमा भएको पैसा विदेश पलायन भइरहेको छ ।’ उनी भन्छन्, ‘दोस्रोमा हाम्रो काम गर्न दक्ष युवा विदेश पलायन भइरहेका छन् । यसलाई सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक छ ।’  ११ लाख युवा वैदेशिक रोजगार तथा विद्यार्थी भिसामा विदेश गएको भन्दै उनले नेपालको जनशक्ति  घट्दो अवस्थामा रहेको बताए  । यसलाई रोक्न सरकारले कदम चाल्न आवश्यक रहेको तर्क गरे ।   ‘उपेन्द्र महतोको घरमा तोडफोड गर्ने आन्दोलनकारीले यत्रो सम्पत्ति कहाँबाट आयो ? तोडफोड गरे,’ उनले थपे ‘ व्यवसायीले सरकारलाई कर तिरेर कमाएको सम्पत्तिमा यसरी नकारात्मक टिप्पणीले नेपालमा व्यवसायी सुरक्षित छैन भन्ने देखाउँछ ।’   मल्होत्राले उद्योगी देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै  सरकारले  पहिलो प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए ।

१७ हजारको जागिरले युवालाई विदेशिन बाध्य बनाएको छ : सागर पाण्डे

काठमाडौं ।  ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले निजी क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन निजी क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् । जेनजी आन्दोलनका कारण शिथिल बनेको पर्यटन क्षेत्रको रिकभरीका लागि सबैभन्दा पहिला पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिए । सरकारले समेत यो क्षेत्रमा ‘रिकभरी प्लान’ बनाएर अघि बढ्नुपर्ने बताए । अहिलेको अवस्थामा तीन महिनाका लागि पर्यटकहरुका लागि भिसा फ्रि गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पीडा एक खालको भएपनि त्यो भन्दा बढी क्षति नभएमको संरचनाहरु समेत पीडामा रहेको बताए ‘हाम्रो ठाउँबाट पनि सच्चिनुपर्छ ’ ‘करप्सनका विरुद्धमा भएको जेनजी आन्दोलनमा नीजि क्षेत्रको नेक्सस कति छ ? समाजले यो माग गरिरहेको छ । हाम्रो ठाउँबाट पनि सच्चिनु जरुरी छ । आन्दोलनको प्याटर्न हेर्दा त्यो आभास पाउछौं,’ अध्यक्ष पाण्डेले भने । नेपालमा गुणस्तरीय रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिने गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । नेपालमा बीएचएम गरेका युवाले १७ हजारको जागिर खानुपर्ने अवस्था रहेको बताउँदै त्यही भएर युवाहरु विदेशीने गरेको उनको भनाई थियो । ‘नेपालमा जब भएन भन्छौं, क्वालिटी जब भएन । बीएचएम गरेको भाई बहिनीलाई १७ हजारमा काममा लगाइरहेका हुन्छौं । यस्तो अवस्थामा युवाहरु नेपालमा बस्न सक्दैन,’ अध्यक्ष पाण्डेले भने, ‘१७ हजारमा नबिकेका भाईबहिनीहरु कतार, मलेसियामा जान्छन् । नेपालको आर्थिक विकासको प्रमुख समस्या हो ।’ राज्यका संयन्त्रहरुले प्रभावकारी ढंगबाट काम गर्न नसक्दा आर्थिक गतिविधि समेत राम्रोसँग अघि बढ्न नसकेको उनको भनाई छ । राज्यका संयन्त्रमा जवाफदेहीता, उत्तरदायित्व नभएकै कारण समस्या आइरहेको बताउँदै राज्य जवाफदेही नहुँदासम्म सुधार हुन नसक्ने दाबी गरे । ‘भ्रष्टाचार अन्त्यका लागि आर्थिक पारदर्शिता’  हिजो सरकारी संयन्त्रहरुमा रहेको भ्रष्टाचार अहिले नीजि क्षेत्रमा समेत व्याप्त भइरहेको बताए । ‘भ्रष्टाचारको कुरा गर्दा हिजोसम्म सरकारी संयन्त्रमा थियो । अहिले बैंकमा पनि सरेको छ । हुँदाहुदै नीजि क्षेत्रका बैंकमा समेत सरेको छ,’ पाण्डेले भने ।   जेनजी आन्दोलनको माग नै भ्रष्टाचारको अन्त्य भएको बताउँदै त्यसको अन्त्यका लागि आर्थिक कारोबारमा पारदर्शीता हुनुपर्ने बताए । भ्रष्टाचार निकै व्याप्न भएको बताउँदै अहिलेका बच्चाहरु कुनै सरकारी कार्यालयमा गएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘मेरो बच्चा कुनै काममा लागि एक दिन सरकारी कार्यालय गयो भने एकै दिनमा थाकेर अर्कोदिनदेखि जाँदैन ।’ बहुदल आएपछि नेपालको पर्यटन क्षेत्र कुपोषण लागेको बच्चा जस्तै भएको उनको भनाई छ । नेपालमा पर्यटन क्षेत्रमा बृद्धि भइरहेको तथ्यांक आउने गरेको प्रति असहमति जनाउँदै निकै सुस्त गतिमा बढिरहेको बताए । सन् १९९८ मा ४ लाख ६३ हजार पर्यटक आएको नेपालमा अहिले ११ लाख ५० हजार मात्रै आएको बताए । उक्त तथ्यांकका आधारमा प्रत्येक वर्ष २५ हजारले मात्रै बृद्धि भइरहेको बताए । नेपालभन्दा कम पर्यटकीय सम्भावना भएका देशहरुमा समेत नेपालको तुलानामा निकै बढी पर्यटक आउने गरेको उनले बताए । पर्यटक बढाउनका लागि राज्यले शान्ति सुरक्षाको प्रत्याभूति, सडक तथा हवाई पुर्वाधारको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

६० प्रतिशत गाडी दशैँमा बिक्री हुन्थे, आन्दोलनले स्वाट्टै घट्यो: अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै  अध्यक्ष चौधरीले दसैं, तिहार लगायत  चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरबदल गर्न आग्रह गरेका हुन् ।  राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’ को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरे ।   राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था रहेको छ । यसअघि विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोल तथा डिजेलजन्य इन्धनबाट चल्ने  गाडीमा ५० प्रतिशत ऋण लिन सक्ने व्यवस्था रहेको थियो । अटो व्यवसायीहरूले ८० प्रतिशत पुर्याउन माग गर्दै आएका छन् ।   ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ । अहिलेको सबैभन्दा ठुलो चुनौती राजस्व संकलन देख्छु,’ अध्यक्ष चौधरी भन्छन् ‘अटो क्षेत्रले सबैभन्दा बढी राजस्वमा योगदान दिँदै आएको छ । दशैँको समयमा कुल अटो बजारको ६० प्रतिशत बिक्री  हुने गरेकोमा आन्दोलनले  घट्दा राजस्व पनि घट्छ ।’  चौधरीले थपे ‘गाडी खरिद गर्ने सोचमा भएका ग्राहक अब आफ्ना अनिवार्य खर्चको लागि सञ्चित गर्छ । राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’को नीतिमा तत्काल परिवर्तन गरी गाडी खरिद गर्ने वातावरण बनाउनु पर्नेछ ।’  चौधरीले नेपालमा विद्युतीय गाडी (इभी) को संख्या बढेको बताउँदै व्यवसायीले चार्जिङ स्टेसन राख्न नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर दिन माग गरे । आन्दोलनका कारण अटो हब रहेको थापाथली  पूर्ण रुपमा  क्षति भएको भन्दै  उत्तरी नाकाबाट आउने केरुङ र तातोपानी नाकाबाट गाडी ल्याउन नसकिने अवस्था रहेको बताए । ‘कोरला नाकाबाट केही गाडी आएका छन् तर पानी पर्ने बित्तिकै रोकिन्छ । सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ, ’ उनले भने ।  चौधरीका अनुसार नेपालमा अटो उद्योगको दुई पांग्रे र चार पांग्रेमा लगानी भइरहेको छ । नेपालमा ब्याट्री, टायर, केही स्पेयर पार्टस् समेत उत्पादन हुन थालेका छन् । एसेम्बल उद्योगले केही रोजगारी दिएका छन् ।  नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसँग जोड्ने नीति बनाउन  सरकारसँग उनले आग्रह गरे ।

आन्दोलनले अर्थतन्त्रमा धक्का पुग्यो, सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेनजी आन्दोलनले आर्थिक रुपमा ठूलो क्षति पुगेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताएका हुन् । ‘जेनजी आन्दोलनले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरेको छ, आन्दोलनपछि हामीले सरकारसँग पनि सम्वाद गरेका छौं । सरकारले प्रोत्साहन गर्ने प्रतिबद्धता गरेको छ । अहिले हामी खरानी टकटक्याएर अगाडि त बढौंला तर फेरि यस्तै विध्वंश नहोला भन्ने के ग्यारेन्टी छ,’ उनले भने, ‘फेरि यस्तै विध्वंश भयो भने के गर्ने ? सरकारले हामीलाई सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ ।’ ‘अर्थतन्त्रको वृद्धिदरलाई निरन्तरता दिन सकेनौं’ केही समयअघि अर्थतन्त्रको वृद्धिदर पनि राम्रै भए पनि हामीले त्यसलाई निरन्तरता दिन नसकेको ढकालले बताए । ‘हामीले संस्थागत सामाजिक उत्तरदायित्व पनि खर्च गरेका हुन्छौं । हामीलाई सरकारले विश्वास दिलाउन सक्नुपर्छ । हामी अहिले लडेको अवस्था छ, हामी अब उठ्नका लागि सरकारले विभिन्न नीतिहरु ल्याउनुपर्छ । अब फेरि उठ्नका लागि विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । निजी क्षेत्र पनि मर्यादित भएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।

जेनजी आन्दोलनले जीडीपीको ५ प्रतिशत नोक्सान भयो : विरेन्द्रराज पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् ।   नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले  कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने । उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ । ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ,  छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने ।  उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ  । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने । उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको धारणा राखे ।  उनले केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाए । उनले उर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको धारणा राखे ।

राजेन्द्र मल्ल भन्छन् - व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ

काठमाडौं । नेपाल चेर्म्बस अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनर्उत्थानका आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै  मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । ‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेछ,’ मल्लले भने ।   जेनजी आन्दोलनपछि ति युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ ।  ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरु स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुेपर्यो,’ उनले भने ।  निवर्तमान अध्यक्ष मल्ले  वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनु पर्ने धारणा राखे ।  अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया रहेको बताउँदै अब यसलाई  सुधार गर्न आवश्यक रहेको सुनाए । उनले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै हामीले गाउँको दुर दराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए ।   उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।  ‘सबैभन्दा ठूलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ । हामीसँग खर्बौं रेमिट्यान्स भित्रिएको छ । अनावश्क रुपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने । उनले निजि क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको बताए ।

निजी क्षेत्रको घोषणा : आर्थिक सुधार र समृद्धिमा एकजुट हुने

काठमाडौं । अर्थतन्त्र सुधार र मुलुकको समृद्धिका लागि निजी क्षेत्रका व्यवसायीहरूले एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यवसायी पहल, निर्यात व्यवसायी महासंघ र नेपाल युवा उद्यमी मञ्चलगायतका व्यवसायीक छाता संगठनका पदाधिकारिहरुको सोमबार राजधानीमा सम्पन्न संयुक्त छलफलमा व्यवसायीले साझा प्रतिवद्धता जनाएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा स्थल यातायात तथा पारवाहन समितिका सभापति शिव प्रसाद घिमिरेको पहलमा आयोजित कार्यक्रममा हालैको जेनजी आन्दोलनले सिर्जना गरेको परिस्थिति, व्यवसायमा देखिएका समस्या र त्यसका समाधानबारे विस्तृत छलफल भएको थियो । कार्यक्रममा बोल्ने व्यवसायीहरुले पछिल्ला आन्दोलनका कारण उद्योग र व्यापारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सरकारको विशेष पहलमा नाका केही दिनमै खुलेको उदाहरण प्रस्तुत गरे । उनीहरुले राज्यले दृढतापूर्वक काम गरेमा व्यवसायसँग सम्बन्धित समस्या सजिलै समाधान हुने धारणा राखे । छलफलमा सहभागी व्यवसायीहरुले आगामी यात्रामा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्ने, व्यवसायिक नीतिनिर्माणमा युवा पुस्ताको सक्रियता सुनिश्चित गर्ने, पुनर्निर्माणमा सक्दो सहयोग गर्ने र बौद्धिक तथा सक्षम युवालाई प्रोत्साहन गर्ने विषयमा सहमति जनाए । व्यवसायीहरुले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले सुरक्षामा प्रश्न उठेको र यसले बेरोजगारी बढाउने चेतावनी पनि दिए । उनीहरुले निजी क्षेत्रको अर्थतन्त्रमा रहेको योगदानलाई अझ प्रगाढ बनाउन निर्यात प्रवर्द्धन, पर्यटन संरक्षण र अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई सुरक्षित गन्तव्यको रूपमा चिनाउने आवश्यकता औंल्याए। कार्यक्रममा हालको परिस्थितिबारे अनुभव र चुनौती प्रस्तुत गर्दै व्यवसायीहरुसँगै विभिन्न वस्तुगत संघका सदस्यहरूको पनि समस्याका सम्भावित समाधान र राज्यले गर्न सक्ने कदमबारे सुझाव राखेका थिए । छलफलको विस्तृत प्रतिवेदन तयार गरी छिट्टै सरकार र सम्बन्धित निकायलाई बुझाइने निर्णय गरिएको छ । व्यवसायीहरुको भनाइमा, अहिलेको संवेदनशील परिस्थितिमा सरकारलाई मार्गदर्शन दिने र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने काममा व्यवसायी, उद्यमी र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको छ । कार्यक्रममा सबै व्यवसायिक सस्थाका पदाधिकारीसहित ३ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।