विकासन्युज

डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्की एक लाख घुससहित पक्राउ

दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकमसहित पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।  

शिक्षामन्त्री पुनले गरे पदभार ग्रहण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा मन्त्रीको शपथग्रहण गरेपछि उनी केशरमहलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा  क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा बनाइएको हो । मन्त्री पुनले शपथग्रहणपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा तत्कालै खास योजना केही नरहेको बताएका थिए। पुनसँगै आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका थिए ।

मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए । मल आयात भएको खबर सार्वजानिक भईरहँदा पनि यसको अभाव हुने कुराको आफुले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए ।  उनले भने, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहीँ समयमा उपलब्ध हुन सक्दैन । त्यो किन भएन भन्ने कुरा चाँही मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’  उनले कृषकको हित हुने काम गर्ने बताए । वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेथिति नियन्त्रण गर्ने भएकाले सोही अनुरूप आफुहरुले काम गर्ने उनको भनाई छ । 

नवनियुक्त शिक्षामन्त्री पुन भन्छन्‌– विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्छु

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह सुझावअनुसार काम गर्ने बताएका छन् । राष्ट्रपति भवन शितलनिवासमा मन्त्रीको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले विज्ञहरूले दिएको राम्रा सुझावलाई सकेसम्म छिटो छरितो कार्यान्वयन गर्ने जानकारी दिए । विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने मन्त्री पुनले बताए । उनले भने, ‘अब मैले विज्ञहरूको सल्लाह सुझाव माग्छु । जो-जो राम्रो आउँछन्, राम्रो मान्छेको सुझाव लिएर अनि त्यसलाई सकेसम्म छिटो छरितो कार्यान्वयन गर्ने काम हुन्छ ।’  उनले किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएकाले खास योजना तत्काल केही नरहेको पनि बताए । नवनियुक्त चार मन्त्रीले लिए शपथ  

बल्ल झुल्किए सभामुख

काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार विस्तार हुने क्रम जारी छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि संसद विघटन हुँदै सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो । प्रधानमन्त्री कार्कीले  भदौ २७ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरिन् । विगतमा प्रधानमन्त्रीको शपथ ग्रहणमा राष्ट्रपति र उपराष्ट्रपतिसहित सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरूलगायत व्यक्तित्वहरू सहभागी हुने संस्कार र संस्कृति भएपनि भदौ २७ गते राति साढे ९ बजे भएको कार्कीको शपथ ग्रहणमा भने बेग्लै चित्र देखियो ।  कार्कीको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक अन्यको सहभागिता देखिएन ।  कार्कीले आफू प्रधानमन्त्री बनेपछि भदौ ३० गते मन्त्रिमण्डल विस्तार गरिन् । भदौ ३० गते अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री  कुलमान घिसिङ तथा  गृह र कानुनमन्त्रीमा ओमप्रकाश अर्यालले शपथ ग्रहण गरे ।  तीन मन्त्रीहरूको शपथ ग्रहणमा प्रधानमन्त्रीको सपथ ग्रहणमा उपस्थित भएका व्यक्तिव्यहरूबाहेक अनुपस्थित रहेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रह्यो । सो शपथ ग्रहण कार्यक्रममा सहभागी हुनै पर्ने सभामुख देवराज घिमिरे कार्कीको शपथ ग्रहणमा झैं अनुपस्थित नै रहे । सोमबार (असोज ६) गते थप चार मन्त्रीले सपथ लिएका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले सोमबार मन्त्रीको शपथ लिएका हुन् ।  सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले  सूचना तथा सञ्चार मन्त्रालयको सपथ लिएका छन् । आजका मन्त्रीहरूको शपथमा भने सभामुख घिमिरे सहभागी बनेका छन् । यसअघिका दुई शपथ ग्रहण कार्यक्रममा उनी अनुपस्थित रहेका थिए । सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपछि यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायधीश राउत, सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना र राष्ट्रिय सभा अध्यक्ष दाहाल उपस्थित भएका थिए ।  प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा पूर्वप्रधानमन्त्रीहरूको समेत सहभागी हुनुपर्ने संस्कार बस्दै आएको छ । तर, अन्तरिम सरकारको  प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणमा भने डा. भट्टराई बाहेक कुनै पनि पूर्व प्रधानमन्त्रीहरूको सहभागिता देखिएको छैन ।  शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्रीको सहभागिता अनिवार्यजस्तै रहन्छ । तर, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बहिस्कार जस्तै गरेका छन् ।  

मन्त्री घिसिङले गरे सूर्यविनायक-धुलिखेल सडकको अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले सुर्यविनायक-धुलिखेल सडक खण्डको अनुगमन गरेका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयका सचिवसहितको अधिकारीसहित उहाँले सो सडक खण्डको अनुगमन गरेका हुन् ।  अनुगमनका क्रममा उनले दशैँ–तिहारजस्ता चाडपर्वमा यातायात सहज हुनेगरी सो सडक खण्डको खाल्डाखुल्डी तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री घिसिङको सो सडक खण्डको विस्तार कार्यका लागि बजेटको अभाव हुन नदिने पनि बताए । सो सडक खण्डको विस्तारको लागि आगामी आर्थिक वर्षभित्र सकिने गरी काम गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।  मन्त्री घिसिङले भने, ‘यो आर्थिक वर्ष असारसम्म हामी पिचको काम सम्पन्न गर्ने चरणमा छ । र जतिपनि खाल्डाखुल्टी छ । दशैँभरी सक्ने गरी काम गरिरहनुभएको छ । दशैँ तिहारको लागि जहाँ खाल्डाखुल्टी छ । त्यसलाई स्मुथ बनाउने र काम पनि असारसम्म सकिने छ । यसलाई प्राथमिकतामा राखेर काम सम्पन्न गर्नुपर्छ ।’ त्यस अवसरमा स्थानीयले सो सडक खण्डको विस्तारको काम सम्पन्न गराउनका लागि मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए । 

कर्मचारीले घुस मागे सिधै अर्थमन्त्रीलाई इमेल गर्न सकिने

काठमाडौं । अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा प्रत्यक्ष गुनासो सिधै अर्थमन्त्री समक्ष गर्न सकिने भएको छ । यसका लागि अर्थमन्त्री रामेश्वर खनालको इमेल रामेश्वर एट एमओएफ डटजीओभी डटएनपी वा गुनासो एट एमओएफ डटजीओभी डटएनपीमा  मा सिधै गुनासो पठाउन सकिने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीले काम नगरेको, गर्नुपर्ने काम नगरेको वा अनुचित कामका लागि दबाब दिएको, घुस वा रिसवत मागेको, वा सेवा प्रवाहमा अनावश्यक ढिलाइ गरेको अवस्थामा समेत नागरिकहरूले सिधै गुनासो गर्न सक्नेछन् । अर्थ मन्त्रालयले यस कदमले सरकारी सेवा अधिक पारदर्शी र जवाफदेही हुने अपेक्षा राखेको जनाएको छ ।

नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा उनीहरूले सपथ लिएका हुन् ।  पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल, जलवायुविज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।  सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् ।  यस्तै, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले  सूचना तथा सञ्चार मन्त्रालयको शपथ लिएका छन् ।