विकासन्युज

तातोपानी र केरुङ नाकामा रोकिए ४ हजार ५ सय कन्टेनर, दसैँको सामान बेच्न समस्या

काठमाडौं । नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल-चीन जोड्ने प्रमुख २ नाका वर्षात्का कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौं कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा नेपाल-चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताए । गत असार २४ गते नेपाल-चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउनुका साथै पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । मितेरी पुल नबन्दा अहिले पनि उक्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन । साथै विगत एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको छ । राजधानी काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा उक्त बाटोसमेत सञ्चालन हुन नसक्दा सामान नाकामा रोकिएका निवर्तमान अध्यक्ष कार्कीले बताए ।  राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चा पदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेका बताए । उनका अनुसार हाल तातोपानी नाकामा ३ हजारभन्दा बढी र केरुङ नाकामा १ हजार ५०० भन्दा बढी कन्टेनर सामग्रीसहित रोकिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँको नजिक बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको धारणा राखे ।  ‘जेनजी प्रदर्शनका कारण समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायीहरू समस्यामा परेका छन्,’ उनले भने । दसैँमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीको भनाइ छ । समान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नु परिरहेको ग्राहकले गुनासो गरेका छन् । काठमाडौंको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताए । दसैँ अगाडि काठमाडौँको महाबौद्ध, असन, न्युरोड, कलङ्की, चाबहिल, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रमा लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्दछ ।

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।  नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास रहिआएको छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।

२६.३३ अर्बको पेट्रोलियम पदार्थ आयात हुँदा ११.१८ अर्ब रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो । गत आवको २ महिनाको तुलनामा चालु आवको २ महिनामा उक्त नाका हुँदै १ अर्ब ७६ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै १ अर्ब २९ करोड रुपैयाँ बढी राजस्व समेत सङ्कलन भएको छ । ‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन  आयात हो,’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने । गत आवको २ महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ९ अर्ब ८९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको २ महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । चालु आवको २ महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड रुपैयाँ मूल्यको डिजेल आयात हुँदा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।  चालु आवको २ महिनामा ६ अर्ब ८२ करोड रुपैयाँको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले ४ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोड रुपैयाँको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  त्यस्तै चालु आवको २ महिनामा ५ अर्ब १२ करोड रुपैयाँको ४ करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।  गत आवको सोही अवधिमा भने ५ अर्ब ३६ करोड रुपैयाँको ४ करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्याँस आयात हुँदा १ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

स्थानीय वायुको आंशिक प्रभाव, कोशी र बागमती प्रदेशमा भारी वर्षा

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया मौसम बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।  कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका तथा तराईका भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।  कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।  कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । 

स्कोडा नेपालले ल्यायो ‘फेस्टिभ डिलाइट २०८२’, कतार ग्रान्ड प्रिक्स हेर्ने सुनौलो मौका

काठमाडौं । स्कोडा नेपालले यस चाडपर्वलाई लक्षित गर्दै ‘स्कोडा फेस्टिभ डिलाइट २०८२’ अफर सार्वजनिक गरेको छ।  ‘फास्ट एण्ड फियरलेस’ भन्ने थिमसहित सुरु गरिएको यो अभियानले ग्राहकलाई प्रिमियम ड्राइभिङ अनुभव र  रोमाञ्चक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । अभियानअन्तर्गत स्कोडाको कुनै पनि मोडल खरिद गर्ने ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट सुविधा, ४ लाख रुपैयाँसम्म नगद छुट र सबैभन्दा विशेष रूपमा कतार ग्रान्ड प्रिक्स २०२५ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।  आकर्षक डिजाइन, अत्याधुनिक सुविधा र उच्च सुरक्षा मापदण्डसहित स्कोडा नेपाली अटोमोबाइल बजारमा परिचित छ । नेपालभरका सबै अधिकृत स्कोडा सोरूममा बुकिङ खुला भइसकेको जनाइएको छ ।

बाल यौन दुराचार र जवरजस्ती करणी मुद्दामा फरार दुई अमेरिकी नागरिक पक्राउ

काठमाडाैं ।  कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार जिल्ला अदालत कास्कीको आदेशमा बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका अमेरिकी नागरिक माइकल नर्मन टेलर र जिल्ला अदालत काठमाडौंको आदेशमा जगन्नाथ देवल कारागारमा जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका अमेरिकी नागरिक जेसन लोयड मोडी पक्राउ परेका हुन् । दुवै जना गत भदौ २४ गते फरार भएका थिए । विशेष सूचनाको आधारमा सीआईबीको टोलीले असोज ६ गते काठमाडौं महानगरपालिका–३ महाराजगन्जबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।  पक्राउ परेका दुवैलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार बुझाउने कार्य भइरहेको सीआईबीले जनाएको छ । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार दुवै प्रतिवादीलाई सुरक्षित रूपमा कारागार पुर्‍याउने तयारी भइरहेको छ ।

सञ्चालनमा आयो तातोपानीसँग जोड्ने कोदारी राजमार्ग, कन्टेनरहरूको आवत-जावत सुरु

काठमाडौं ।  चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।  उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङलगायतका मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी लिएको छ ।  अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो । चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो ।  त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवालाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरि‍दिन आग्रह गरेका थिए । सडक सञ्चालनमा आएसँगै नाकामा रोकिएका सयौंको संख्यामा रहेका दशैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवत–जावत गर्न थालेका छन् ।

चार मन्त्रीको पदभार ग्रहण, यस्ता छन् पहिलो निर्णय

काठमाडौं । सोमबार चारवटा मन्त्रीले शपथपछि पदभार ग्रहण गरेका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदीश खरेल र  मदन परियारले सोमबार मन्त्रीको पदभार ग्रहण गरेका हुन् ।  सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, पुनले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको सपथ लिएका छन् । खरेलले सूचना तथा सञ्चार मन्त्रालय र परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  कसले के गरे पहिलो निर्णय ? उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सिन्हाले सहिद परिवार र घाइतेलाई रोजगारीको  व्यवस्था गरिने निर्णय गरेका छन् । त्यससँगै उनले सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् भने अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने निर्णय गरेका छन् । अनिलकुमार सिन्हा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र काठमाडौं उपत्यकासँगै देशका सातवटै प्रदेशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।  सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेल ६ महिनामा कुनै कायापलट नहुने बताएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले ६ महिनामा धेरैले राखेजस्तो अपेक्षा काम नहुने धारणा राखेका हुन् । ‘मसँग धेरैले धेरै अपेक्षा राखेका छन्, ६ महिनामा केही पनि हुन सक्दैन । सोचेजस्तो कायापलट हुँदैन,’ उनले भने।  उनले फागुनसम्म तीन काम गर्न सकिने धारणा राखे । ‘फागुन २१ मा चुनाव भ्रष्टाचार नियन्त्रण गरे सुशासन कायम गर्ने र जनतालाई त्यसको महसुस गराउने । भ्रष्टाचार नियन्त्रण पनि ५ महिनामा हुँदैन । यो सरकार भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा निर्मम छ भन्ने महसुस गराउँछ । हामी खरानी टकटक्याउँदै जीवन र धरोहरको पुन:निर्माण गर्नेछौं,’ उनले भने ।  जगदिश खरेल यस्तै, उनले मन्त्रीको नामबाट कुनै पनि हस्तक्षेप नहुने पनि बताएका छन् । उनले देशको प्रशासन संयन्त्रलाई विश्वास गर्ने बताउँदै देश र जनतालाई काम गरेर अगाडि बढ्न निर्देशन दिए ।  यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पनि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए । उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ ।  डा. मदन परियार मन्त्री परियारले भने, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ ।’  यस्तै, नवनियुक्त शिक्षामन्त्री डा. महावीर पुनले पनि पदभार ग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । डा. महावीर पुन मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा उनले हस्ताक्षर गरेका छन् । सुरुमा उनले हस्ताक्षर गर्न आनाकानी गरे पनि पछि भने तयार भएका थिए ।