विकासन्युज

चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनमा (फोटो फिचर)

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई चाडपर्वमा सहुलियत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । सुपथ मूल्य पसलमार्फत उपभोक्ताले चामल, गहुँ, दाल, केराउमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँलगायत मसला पदार्थमा प्रतिकेजी सात रुपैयाँ छुट दिइएको छ । तेलमा प्रतिलिटर सात रुपैयाँ छुट रहेको छ भने सिमी, फापर, मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको गत साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार लागतका आधारमा कृषिमूलक उद्योग र परियोजना सङ्ख्याका आधारमा सूचना प्रविधिमूलक उद्योगमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कृषिमूलक उद्योगमा नौवटा परियोजनाका लागि रु २१ अर्ब ५९ करोड ८० लाख बराबरको लगानी प्रतिबद्धता आएको छ ।  त्यस्तै, उत्पादनमूलक उद्योगका १२ वटा परियोजनामा रु एक अर्ब २४ करोड, ऊर्जामूलक उद्योगका एउटा परियोजनामा रु १८ करोड २५ लाख ५० हजार र सेवामूलक उद्योगका १५ परियोजनामा रु दुई अर्ब ८१ करोड ५० लाख बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यसैगरी पर्यटनमूलक क्षेत्रका ७९ परियोजनामा रु छ अर्ब ६९ करोड २० लाख ५० हजार सूचना प्रविधिमूलक उद्योगका १२० परियोजनामा रु ५६ करोड २७ लाख ५४ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । त्यस्तै, पछिल्लो दुई महिनामा मात्र ४०९ जना लगानीकर्ता तथा ६० जना लगानीकर्ताका प्रतिनिधि र १०७ जना आश्रित (डिपेन्डेन्ट) लाई नेपालका लागि भिसा सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ ।  उद्योग विभागले हालसम्म कुल सात हजार ४७५ वटा परियोजनाका लागि रु छ खर्ब ८४ अर्ब ५१ करोड ४१ लाख ७१ हजार बराबरको लगानी स्वीकृत गरिसकेको छ । रासस  

जेनजी आन्दोलन : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पुर्याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ । इन्स्योरेन्सका अनुसार कम्पनीका अधिकारी र सर्भेयर टोलीले भदौ २५ गते कर्फ्युको समयमा विभिन्न बीमित सम्पत्तिको निरीक्षण तथा प्रारम्भिक सर्वेक्षण पूरा गरेका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी र पहिरोका कारण सिर्जित दाबीहरूमा सबैभन्दा बढी भुक्तानी गरेको थियो । कम्पनीले यसपटक पनि दाबी फर्छ्यौट र भुक्तानीमा छिटो, पारदर्शी र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।  

एक लाख घुस लिँदै गर्दा लेखा अधिकृत कार्की पक्राउ, अख्तियारको अनुसन्धान जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवतबापत रु एक लाख माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार कार्कीले सेवाग्राहीसँग रु एक लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ मङगलगडी चोकबाट नियन्त्रणमा लिइएको हो । उक्त विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

काभ्रेपलान्चोकमा सहकारी ठगी प्रकरण : २६ जना पक्राउ, ६७ फरार

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकका सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २६ जना पक्राउ परेका छन् भने ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २६ जना सञ्चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  ठगीविरुद्ध जाहेरी परेका थप तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको छ । यसअघि पेस भएकामा बनेपाको पुण्यश्वरी सहकारीको रु तीन करोड ८० लाख ९३ हजार ४१८ बचत फिर्ता नभएको निवेदनकर्ताको दाबी छ भने गरुड सहकारीको रु १४ करोडभन्दा बढी बचत फिर्ता नभएको जाहेरीमा उल्लेख गरिएको छ ।  जाहेरीका आधारमा अनुसन्धान सम्पन्न भई अदालतमा पेस भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मुद्दा दर्ता भएका आठ सहकारीका ९९ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहका अनुसार युनिटी सहकारीको रु तीन करोड ५० लाखभन्दा बढी बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । यस्तै बाँकी पाँच सहकारीको अनुसन्धान जारी रहेको जनाउँदै उनले जिल्लाका सात सहकारीका सञ्चालकलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्ने गरी अनुसन्धान भइरहेको छ ।  हालै बनेपा नगरपालिका–८ सिनागाल मार्गमा केन्द्रीय कार्यालय रहेको अग्नि बचत तथा ऋण सहकारी संस्थाबाट रु २४ करोड ९७ लाख पाँच हजार ९७७ ठगी गरेको भन्दै सञ्चालकसहित ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।  दुई सय चार बचतकर्ताको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि प्रहरीले कागजपत्रसहित जिल्ला सरकारी वकिलको कार्यालय तथा सरकारी वकिलको तर्फबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम गत भदौ २९ मा जिल्ला अदालत काभ्रेपलान्चोकमा ३३ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । मुद्दा दायर भएका ३३ मध्ये प्रहरीले हालसम्म छ जनालाई पक्राउ गरी अदालतमा पेस गरिसकेको प्रहरी उपरीक्षक शाहले बताए । उनका अनुसार फरार अन्यको खोजी कार्य भइरहेको छ ।  पक्राउ पर्नेमा अग्नि सहकारीका अध्यक्ष ललितपुर महानगरपालिका–१३ जावलाखेलका रवीन्द्र श्रेष्ठ, सचिव बनेपा–१ नालाका सन्तोष पाण्डे, सञ्चालक समिति सदस्य बनेपा–७ का दिनेश वैद्य, व्यवस्थापक बनेपा–७ का राहुल चौ प्रधान, ऋण अधिकृत विकास गौतम र उक्त सहकारी तथा स्थानीयसँग बिचौलियाको काम गर्ने प्रकाश गौडेल रहेका उनले जानकारी दिए ।   कार्यालयका अनुसार उक्त सहकारी ठगी गरी २७ जना फरार रहेका अदालतमा पेस गरिएको विवरणमा उल्लेख गरिएको छ । विसं २०८१ साउन ३१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उक्त सहकारी ठगीमा संलग्नलाई अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय धुलिखेललाई पत्राचार गरिएको थियो ।  विसं २०८१ मङ्सिरमा सहकारी कार्यालयसमेत बन्द गरी सम्पर्कविहीन भएका जनाउँदै बचतकर्ताले नीजहरूविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् । सहकारी ठगीबारे पछिल्लो वर्षदेखि प्रहरीमा उजुरी तथा जाहेरी आउने क्रम बढेको प्रहरी उपरीक्षक शाहले उल्लेख गरे ।  रासस

८० प्रतिशत काम सकिए पनि बजेट अभावले निसीखोला अस्पताल निर्माण काम रोकियो, स्वास्थ्य सेवामा असर

ढोरपाटन । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिए । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उनको भनाइ छ । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्नसके काम गर्न समस्या नहुने उनी बताउँछन्। लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउँछन् । अदैले भने, 'यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्योबाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्नसके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?' निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले एक करोड ५० लाख सङ्घीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताए । सङ्घीय सरकारअन्तर्गतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उनको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुनमगरले बताए । अहिले पनि बजेटका लागि पहल भइरहेको उनी बताउँछन् । रासस

बाढी–पहिरोले यातायात प्रभावित, ७ राजमार्गमा आवागमन बन्द

काठमाडौं । केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ ।  कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ । त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ । बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ ।  अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ ।   चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।  कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् ।   

दार्चुलामा आज ५ घण्टा विद्युत सेवा बन्द हुने

दार्चुला । नेपाल विद्युत प्राधिकरण, दार्चुला वितरण केन्द्रले शनिबार बिहान ९:३० बजेदेखि दिउँसो २:०० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार बरमुडे क्षेत्रमा ३३ केभी लाइन तथा खलंगा बजार, व्यास र जौलजिवी फिडर ११ केभी लाइन नजिक परेका रुखबोट, बाँस तथा बुघट्ट्यान काट्ने (बुस कटिङ) र लाइन मर्मत कार्य हुने भएकाले सो अवधिभर विद्युत सेवा बन्द गर्न लागिएको हो । विद्युत सेवा अवरुद्ध हुँदा महाकाली नगरपालिका, व्यास, दुहु, नौगाड, मालिकार्जुन र लेकम गाउँपालिकाका विभिन्न स्थान प्रभावित हुने प्राधिकरणले जनाएको छ । तोकिएको काम निर्धारित समयभन्दा अगाडि वा ढिलो सम्पन्न भएमा सोही अनुसार लाइन सञ्चालन हुने पनि प्राधिकरणले जानकारी दिएको छ । विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्ने असुविधाप्रति दार्चुला वितरण केन्द्रले क्षमा मागेको छ ।