गाउँमा भन्दा शहरमा चर्चित छ पक्कु, ब्राण्डमा जोड्दै प्रेसिडेन्ट
शंकर भण्डारी नेपालीहरूको महान चाड विजयादशमी अर्थात् दशैं । नेपाली आत्माको सामूहिक उत्सव नेपालीहरूको जीवनमा यो पर्व धार्मिक संस्कार मात्र होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुशीको साझा उत्सव हो । दशैं भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ । गाउँले चुलोको धुवाँ, घर आँगनमा लिपेको कमेरो, रातो माटोको सुवास, खेतबारीका ताजा फलफूल, काँक्रामा परेको खर्सी, रङ्गीचङ्गी फूल, टीका र जमरा, देवीदेउराली र छत्रमा पूजा, धुपबत्तीको धुवाँ, बाजागाजाको ताल, नाचगानको रमाइलो र आमाको हातबाट बनेका परिकार। गाउँमा हुर्केका पुस्तालाई दशैं भन्नासाथ बाल्यकालका मीठा स्मृतिहरू जाग्छन् । बिहानैदेखि भजनकीर्तन, देवीदेवताका नाममा आराधना, भाकलपूजा, भागवतपाठ, आँगनमै जमेको परिवार र छिमेकी, चौपारीमा हल्लिएको लिङ्गे पिङ । यी सबै क्षण केवल धार्मिक संस्कार थिएनन्, सामूहिकतामा खुशी बाँड्ने अवसर पनि थिए । दशैंको अर्थ नै परिवार, गाउँ, र समाजलाई एकसाथ बाँध्ने धागो हो । खसी–बोकासँग जोडिएको सामाजिक आयाम दशैं आयो भने गाउँघरमा खसी–बोका काट्ने दृश्य अझै पनि आँखाअघि झल्किन्छ । तर त्यो मासु सबैका लागि सजिलै उपलब्ध थिएन । धेरैले दुःख गरी पैसा जम्मा गरेर दशैंमा मात्रै एउटा खसी काट्न सक्थे । महिलाले भाकल छुनै नहुने, प्रसादका रूपमा मासु खान नहुनेजस्ता विभेदकारी परम्परा पनि प्रचलित थिए । तर त्यही समाजभित्रै परम्पराले दिएको एउटा अद्भुत खजाना थियो, मासुलाई लामो समयसम्म सुरक्षित राख्ने कला । आज फ्रिज, चिस्यान वा आधुनिक संरचना नभएको त्यतिबेला पुर्खाले प्रयोग गरेको उपाय नै थियो । तोरीको तेल वा घ्यूमा मसला हालेर मासु बिस्तारै आगोमा पकाउने र सुरक्षित राख्ने । यही बुद्धिमानीले जन्म दियो पक्कु भन्ने परिकारलाई । बाल्यकालमा दशैंसँग गाँसिएको पक्कुको सुवास अझै पनि जीवित छ । दशैं सकिए पनि तिहारसम्म पक्कु घरमा हुन्थ्यो । बिहान वा बेलुकी भाँडाबाट थोरै निकालेर तताउने, परिवारसँग बाँड्ने त्यो स्वाद मात्र होइन, त्यो सामूहिकता नै हाम्रो संस्कृतिको आत्मा थियो । पक्कु मासुको परिकारमा मात्रै सीमित नभई, त्यो परिवार, सामूहिकता, बचत र आत्मनिर्भर जीवनशैली पनि हो । परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने प्रेसिडेन्टको संकल्प समयसँगै शहरमा जनसंख्या बढ्यो, आधुनिक परिकार म:म:, पिज्जा, बर्गर, केएफसी जस्ता डिश र फास्टफुडले बजार ओगट्न थाले । तर मौलिक स्वाद हराउँदै गएको देख्दा हाम्रो मनमा संकल्प जाग्यो । गाउँमा सीमित परम्परालाई शहरमा ल्याउने, यसलाई व्यवस्थित ब्रान्डमा रूपान्तरण गर्ने र भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पक्कु चिनाउने । यही सोचका साथ २०८१ साल असोज १७ देखि २१ गतेसम्म प्रेसिडेन्ट सेकुवाले नेपालमै पहिलो पटक ‘पक्कु फेस्टिवल’ आयोजना गर्यो । सुरुमा धेरै शंका उठे । शहरबासीलाई पक्कु मन पर्ला ? बर्गर र पिज्जामा रमाउने युवाले यसलाई स्वीकार्लान ? तर हाम्रो विश्वास दृढ थियो । यो परिकार मात्र होइन, आत्मीयता र भावनाको पुनर्जीवन पनि हो । पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखे । दैनिक सातवटा खसी बराबरको मासु प्रयोग भयो । कतिपय दिन त माग धान्नै गाह्रो भयो । कतिपय पाहुनाले लामो समय पर्खनुपरे पनि उहाँहरूको धैर्यले हामीलाई ऊर्जा थप्यो । सबैभन्दा भावुक क्षण तब आयो, जब पक्कुको स्वाद लिन आएका अधिकांश पाहुनाले आँखा रसाउँदै भने, 'यो स्वाद आमाको हातको स्वाद जस्तै रहेछ । मेरी आमाले मलाई सानोमा घरमा बनाइदिनुहुन्थ्यो । मलाई त्यो बालापन, गाउँघर र आमाको सम्झना आयो । मलाई गाउँ फर्किएझैं लाग्यो ।' त्यो एक वाक्यले पुष्टि गर्यो, हाम्रो प्रयास केवल व्यापार होइन, हराउँदै गएको स्मृतिलाई पुनर्जीवित गर्ने अभियान हो । त्यो क्षणले हामीलाई अझै ठोस यात्रामा अघि बढ्न प्रेरित गर्यो । पक्कु फेस्टिवल : परम्परा र आधुनिकताको संगम पहिलो अनुभवको सफलताले हिम्मत थप्यो । त्यसैले २०८२ सालमा पनि प्रेसिडेन्ट सेकुवाले पक्कुलाई परम्परा र आधुनिकताको संगमको रूपमा जोड्न प्रयत्न गर्दै छ । यसपटक पनि पाँच दिन लामो फेस्टिवल हुनेछ । करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य रहेको छ । यसपटक पक्कुमा विविधता थपिएको छ । जस्ताेकि तोरीको तेलमा पकाइएको पारम्परिक पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, प्रेसिडेन्ट सेकुवा, नदीका लोकल माछा, अन्य रैथाने र परम्परागत साकाहारी परिकार । साथै पुरातात्विक चिनारीको प्रदर्शन, लिङ्गे पिङ, र सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझै रमाइलो बनाउनेछ । हामीलाई विश्वास छ, खानामा संस्कृतिको आत्मा बस्छ । पक्कु केवल परिकार होइन, सामूहिकता, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो । हरेक नेपालीले चाखेको स्वादभित्र एउटा कथा, एउटा पहिचान, एउटा स्मृति लुकेको हुन्छ । हाम्रो उद्देश्य स्वाद मात्र होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने, हराउँदै गएको परम्परा पुनर्जीवित गर्ने र नेपाललाई पाककलाको नक्सामा चिनाउने हो । पक्कु : अर्थतन्त्र र पर्यटनसँगको सम्बन्ध पक्कु फेस्टिवल केवल खानाको प्रदर्शनी मात्रै होइन । यसले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्याएको छ । गत वर्ष देखिएको सकारात्मक प्रभावलाई आधार बनाएर यसपटक १२ हजार भन्दा बढी आगन्तुक आउने अपेक्षा गरिएको छ । यसले स्वादको अनुभव मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउनेछ । नेपालमा रहेका अन्य होटल तथा रेस्टुरेन्टले समेत यसबाट प्रेरणा लिनेछन् । प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो पाइला राखिसकेको छ । अब पोखरा र विराटनगर जस्ता प्रमुख शहरमा पक्कु र सेकुवाको स्वाद पुर्याउने तयारी भइरहेको छ । दीर्घकालीन लक्ष्य अझ ठूलो छ, अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने । हाम्रो सपना छ, विदेशिएका नेपालीले जहाँ भए पनि आफ्नै देशको स्वाद पाउन सकून्, र विदेशी पाहुनाले नेपाललाई हिमाल मात्र नभई स्वाद र संस्कृतिको देशका रूपमा अनुभव गर्न सकून् । पक्कु : एक मौलिक स्वाद र प्रेसिडेन्टको पहिचान पहिलो फेस्टिवलको अन्तिम रात, थाकेको शरीर तर हलुका मनसहित हामीले महसुस गर्यौं, गाउँमा खाएको पक्कुको स्वाद हजारौं पारखीहरूसँग बाँड्न सक्यौं । त्यो क्षणले देखायो, यो व्यवसायिक कदम होइन, संस्कृतिको पुनर्जीवन हो । आज हामी निश्चिन्त भई भन्छौं, पक्कु फेस्टिवल केवल महोत्सव होइन, यो मौलिक स्वाद र नेपालीको पहिचान हो । परम्परा जोगाउने, संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने, र नेपाललाई पाककलाको विश्वमा स्थापित गर्ने अभियान हो । हामीलाई विश्वास छ, यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ । यो प्रेसिडेन्ट सेकुवाको नाममा मात्र होइन, प्रत्येक नेपाली किसान, व्यवसायी, सेयर सदस्य र उपभोक्ताको साझा सपना हो । त्यसैले म सम्पूर्ण नेपालीलाई यो पक्कु अभियानमा सहभागी हुन आह्वान गर्दछु कि पक्कुको स्वाद लिन, यसको मौलिकता र कथा बाँड्न, र हाम्रो सामूहिक स्मृतिलाई भविष्यसम्म जोगाइराख्न । पक्कु लगायत हाम्रा विभिन्न पर्वसँग जोडिएका परम्परागत खाना केवल एउटा परिकार होइनन्, यी त हाम्रो सामूहिक स्मृति, हाम्रो पहिचान, र हाम्रो भविष्य समेत हुन् । (लेखक टीआर भण्डारी (शंकर) पर्यटन व्यवसायी र प्रेसिडेन्ट ग्रुपका अध्यक्ष हुन्)
अर्थमन्त्रीको निर्देशनपछि नेप्से सूचकांकमा १५ मिनेटको व्यवस्था हट्दै
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकांक गणनाका लागि लागू गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी गरेको छ । सेबोनले शनिबार नै सञ्चालक समितिको बैठक राखेर ६ महिनअघि लागू गरिएको उक्त निर्णय उल्टाउन लागेको छ । पछिल्ला दिनमा सेयर कारोबारमा निरन्तर ओरालो लागिरहेको छ । जेनजी आन्दोलनपछि बिहीबार खुलेको सेयर कारोबारमा त झन् तीनपटक नकरात्मक सर्किट लागेको छ । सेयर कारोबार ओरालो लागेकै कारण लगानीकर्ता र ब्रोकरहरुले १५ मिनेटको औसत मूल्य गणनालाई हटाउनुपर्ने माग गर्दै आएका थिए । धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा ६ महिनाका अघि चौथो संशोधन गरेर १५ मिनेटको औसत मूल्य गणनाको व्यवस्था गरिएको थियो । केही लगानीकर्ता र ब्रोकरहरूले उक्त संशोधनको विरोध गर्दै आएका थिए । मन्त्री खनालको निर्देशनपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले १५ मिनेट अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था हटाउने प्रस्ताव सेबोनमा पठाएका थिए । नेप्सेको सञ्चालक समितिले संशोधन प्रस्ताव पारित गरेर सेबोन पठाएपछि सेबोनले आज बैठक राखेको हो । सेबोन र नेप्सेका अधिकारीसहित केही लगानीकर्ताको मागअनुसार खराब वित्तिय अवस्था भएका लोक्याप कम्पनीको सेयर मूल्य घट्ने तर अन्तिम समयमा अस्वभाविक माग सिर्जना गर्ने प्रवृत्ति देखिएपछि १५ मिनेटको कारोबारलाई औसत गणना गरेर अन्तिम मूल्य कायम गर्ने व्यवस्था गरिएको थियो । ६ महिनाअघिदेखि लागू भएको यो व्यवस्थाअनुसार २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था लागू गरेको थियो । ७ चैत ०८१ देखि कार्यान्वयनमा आएको थियो । जेनजी आन्दोलनपछि पहिलोपटक खुलेको बिहीबारको सेयर बजार १६० अंकको पहिरो गएपछि नेप्से सूचकांक गणनाको विधि हटाउन माग गर्दै केही लगानीकर्ताले सेबोन घेराउ गर्न पुगेका थिए । उनीहरूको माग जसरी पनि १५ मिनेटको उक्त व्यवस्था हटाउनुपर्ने भन्ने थियो । अर्थमन्त्री खनालले यसअघि नै निर्देशन दिइसकेका कारण लगानीकर्ताले थप दबाब बढाएको अनुमान गरिएको छ ।
भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
काठमाडौं । यामाहा नेपालले देशभरका ग्राहकलाई लक्षित गरी ल्याएको दशैं–तिहार विशेष अफर 'राइड द ब्लू विद रोडिज' अन्तर्गत पहिलो विकली लक्की ड्र सम्पन्न भएको छ । ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो । सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए । २८ वर्षीय श्रीहरि पौडेल ‘रकेट’ उपनामले परिचित व्यावसायिक मोटरसाइकल रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका पाँच पटकका लगातार विजेता र सन् २०२४ का नेशनल च्याम्पियन समेत हुन् । उनी यामाहा नेपालका आधिकारिक रेसर पनि हुन् । यसपटकको ग्राण्ड उपहारका विजेता भैरहवाका बिनोद यादव बनेका छन् । यादवले नयाँ यामाहा बाइक जितेका छन्। दशैं अभियानमार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको यामाहाका लागि यो अर्को महत्वपूर्ण क्षण भएको कम्पनीले जनाएको छ। एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले विजेतालाई बधाई दिंदै भने, 'यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिँदै आएको छ । ‘राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझ धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।' 'यामाहा राइड द ब्लू विद रोडिज' अभियानमा विभिन्न अफरहरू समावेश छन् । यस अन्तर्गत बाइक खरिदअघि अधिकतम १ लाख रुपैयाँसम्म नगद उपहार, खरिदपछि अधिकतम १० लाख रुपैयाँसम्म नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक जित्ने अवसर, फ्री हेलमेट, चार वटा निःशुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५ प्रतिशत छुट लगायतका सुविधा रहेका छन् । साथै, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ० प्रतिशत ब्याजसहितको ईएमआई सुविधा पनि उपलब्ध छ ।
डोंगफेंग मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन घोषणा, प्रिमियम ईभी ब्रान्ड ‘भोया’ अलग लिस्टिंगमा
काठमाडौं । डोंगफेंग मोटर ग्रुपलाई प्राइभेटाइज गर्ने योजना सार्वजनिक भएलगत्तै कम्पनीका सेयर मूल्य शुक्रबार हङकङ बजारमा तीव्रगतिमा बढ्दै करिब आठ वर्षयताको उच्च विन्दुमा पुगेका छन् । रिपोर्ट अनुसार, प्रस्तावित प्राइभेटाइजेसन सम्झौता करिब ७ अर्ब अमेरिकी डलरबराबर हुनेछ । यसलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटो उद्योगमा यसको प्रभावकारी भूमिकाको संकेतका रूपमा लिएका छन् । बजारमा घोषणापछि डोंगफेंगका सेयरहरू झण्डै ६९५ अंकले बढेर ५७५ अंकभन्दा माथि बन्द भएका छन् । चीनको अग्रणी अटो कम्पनीका रूपमा सस्तो, भरपर्दो र 'भ्याल्यु फर मनी' गाडीका लागि चिनिने डोंगफेंगले प्राइभेटाइजेसनमार्फत दीर्घकालीन रणनीति लचिलो बनाउन, छिटो निर्णय लिन र सञ्चालन क्षमतामा मजबुती ल्याउने तयारी गरेको जनाएको छ । यसैबीच, कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड ‘भोया’लाई हङकङ स्टक एक्सचेन्जमा अलग लिस्टिंग गर्ने तयारीसमेत गरिरहेको छ । इलेक्ट्रिक गाडी बजारमा तीव्रगतिमा बढ्दो प्रतिस्पर्धाबीच भोया कम्पनीको प्रविधि, डिजाइन र दिगोपनको प्रतिनिधि ब्रान्डका रूपमा अघि सारिएको छ । लिस्टिङपछि उत्पादन दायरा विस्तार र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिइएको छ । डोंगफेंग मोटर ग्रुपले आगामी दिनमा पनि किफायतीपन, नयाँपन र प्रविधिमैत्री समाधानमार्फत ग्राहकलाई भरपर्दो सवारीसाधन उपलब्ध गराइरहने प्रतिबद्धता जनाएको छ ।
आजको मौसम पूर्वानुमान : यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा चार घण्टामा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको लामिछानेको भनाइ छ । शुक्रबार दिउँसो पटक पटक पहिरो खसेर सफा गरिएको थियो । साँझ ६ : ०० बजेपछि सडक बन्द भएकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ ।
चाडपर्व लक्षित बजार अनुगमन गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको महानगरले जानकारी दिएको छ । महानगरको सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन अब आउने सातादेखि गर्ने तयारी छ । प्रमुख काफ्लेले भने, 'महानगरले बजार अनुगमन गर्दा केन्द्रबाट पनि अनुगमन टोली, सुरक्षा निकायसहितको सहभागितामा मात्र गर्ने गरेको छ । आन्दोलनका कारण सरकारका सबै संयन्त्रहरू काममा फर्किसकेको अवस्था नभएकाले आगामी सातादेखि मात्र अनुगमन गरिने तयारी गरिएको हो ।' बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गर्ने गरेको छ । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने पनि सहायक प्रवक्ता काफ्लेले जानकारी दिए । कामपा अनुगमन टोलीले विगतका वर्षहरूमा पनि सुपरमार्केट खाद्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्षमा ध्यान दिन सुझाव दिने गर्दै आएको थियो । अनुगमनको क्रममा कमजोरी भेटिए वा उपभोक्तालाई ठगी गरे पाइए कानुअनुसार जरिवाना र थप कारबाही गरिने समेत गर्ने कामपाले चेतावनी दिएको छ । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने पनि महानगरको भनाइ रहेको छ । अन्य समयमा पनि फुटफुट बजार अनुगमन गर्दै आएको कामपाले चाडपर्वमा भने नियमितजस्तै अनुमगन गर्ने गरेको छ । बर्खाको समयमा महानगरले पिउने पानी राखिएको जारको नियमितजस्तै अनुगमन गरेको थियो भने मापदण्डविपरीतका करिब ३०० जार नष्ट समेत गरेको थियो । त्यस्तै उपभोक्ताले गरेका गुनासोको आधारमा होटल र मिठाई पसलको अनुगमन गर्दा खाद्य वस्तु भेटिएपछि रु दुई लाख जरिवाना गराएको थियो ।
रविको मुद्दा चलेका सबै अदालत खरानी, योजनाबद्ध आक्रमण भएको अंकगणितीय पुष्टि
पुस्कर कोइराला गत २३ गतेको जेनजी प्रदर्शनमा क्रममा राज्यले गरेको दमनको प्रतिकार स्वरूप २४ गते देशभर आगजनी भयो । प्रदर्शनकारीहरूले देशभरिका विभिन्न सरकारी कार्यालयहरूसँगै विभिन्न अदालत समेत आगजनीमा परे । देशभरका ७७ वटा जिल्ला अदालतमध्ये १० अदालतहरू आगजनी भएका छन् । यसरी आगजनी भएका अदालतको विश्लेषण गर्दा एउटा तथ्यमा विचार गर्नुपर्ने देखिन्छ । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहकारी ठगी सम्बन्धी मुद्दा ५ जिल्ला अदालतमा चलिरहेका थिए । ती अदालतहरूमा काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालत थिए । १० अदालत जल्दा लामिछाने विरुद्ध मुद्दा चलिरहेका सबै अदालत जलेका छन् । अब लामिछानेको सहकारी ठगी मुद्दा रहेर पनि जल्न बाँकी जिल्ला अदालत छैनन् । उनको मुद्दा नभएका केही थप अदालतहरूमा मात्र आगजनी भएका देखिन्छ । यसले रवि लामिछानेका विचाराधीन मुद्दा भएका ५ वटै अदालतहरू कसरी जले ? के त्यो संयोग मात्र थियो वा नियोजित थियो ? १० जलेका अदालतहरूमा रवि लामिछानेका मुद्दा रहेको १०० प्रतिशत अदालत कसरी कसरी परे भन्ने प्रश्न उठाउँछ । यस्तो घटना पूर्णत संयोगवश भएको मान्नेहरू पनि छन् । यस्तो संयोगको सम्भावना कति हुन्छ ? तथ्यगत विश्लेषण गर्नु उपयुक्त हुन्छ । यो घटनाको विश्लेषणका लागि हाइपरज्यामितीय सम्भाव्यता मोडेल उपयुक्त छ । किनभने देशभर अदालतहरूको कुल संख्या सीमित छ, ७७ वटा । 'सफलता’ अर्थात् रवि लामिछानेका मुद्दा भएका अदालतहरूको संख्या निश्चित छ, ५ वटा । जलाइएका अदालतहरूको नमूना (१० वटा) कुल संख्याबाट छनोट गरिएको हो र एउटै अदालत दोहोर्याएर जलाउन सकिँदैन । हामीले यही नमूना भित्र सबै ५ वटा “सफलता“ पर्ने सम्भावना खोजिरहेका छौं । सजिलोसँग बुझ्न अर्को एक उदाहरणलाई हेरौं । मानौं एउटा भाँडोमा जम्मा ७७ वटा बल छन् । ती मध्ये ५ वटा रातो बल छन् (रवि लमिछानेका मुद्दा भएका अदालत) । बाँकी ७२ वटा सेता बल छन् (रवि लमिछानेका मुद्दा नभएका अदालत) । अब आँखामा पट्टि बाँधेर भाँडोबाट १० वटा बल निकाल्न भनियो (१० अदालत जलाइयो) । त्यो ७७ बटा बलको पोकोबाट १० बटा बल निकाल्दा के सबै ५ वटा रातो बल (लमिछानेको मुद्दा भएका अदालत अदालत) पनि निस्कन्छन् ? अंकगणितले यसो भन्छ । यदि ७७ वटा अदालतहरूमध्ये १० वटा अदालतहरू अनियमित रूपमा जलाइएको भए, रवि लामिछानेका मुद्दा भएका सबै ५ वटै अदालतहरू ती जलेका १० अदालतभित्र पर्ने सम्भावना कति थियो ? यस्तो अवस्थामा सामान्य गणितीय हिसाबले हाइपरज्यामितीय सम्भाव्यता गणना गर्दा यस्तो घटनामा यस्तो संयोग पर्ने सम्भावना ०.००००७८ प्रतिशत हुन आउने रहेछ । अर्थात १२ लाख ८० हजार मध्ये १ अर्थात शून्य बराबर । गणनाले देखाएको अत्यन्त न्यून सम्भावना (करिब १२ लाख ८० हजार मा १ पटक मात्र) ले यो प्रष्ट बनाउँछ कि ७७ वटा जिल्ला अदालतमध्ये जलेका १० अदालत संयोगवश मात्र छानिएको भए, सबै ५ वटा रवि लमिछाने सम्बन्धित अदालत जल्ने घटना पर्न असम्भव थियो । हाइपरज्यामितीय विश्लेषणले यो देखाउँछ कि रवि लामिछानेका सबै ५ वटै मुद्दा भएका अदालतहरू संयोगवश जल्ने सम्भावना अत्यन्तै न्यून छ । यद्यपि गणितले संयोगलाई पूर्णरूपमा नकार्दैन । यद्यपि तथ्याङ्कीय असम्भाव्यताले मात्र जानाजानी निशाना बनाइएको प्रमाणित गर्न सक्दैन । यो एक सामान्य अंकगणितबाट देखिएको असामान्य नतिजा मात्र हो । गणितीय रुपमा असम्भव जस्तै देखिएको यस्तो घटना कतै योजनाबद्ध ढंगले वा लक्षित उद्देश्यका कारण भएको त हैन ? यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।