रविको मुद्दा चलेका सबै अदालत खरानी, योजनाबद्ध आक्रमण भएको अंकगणितीय पुष्टि
पुस्कर कोइराला गत २३ गतेको जेनजी प्रदर्शनमा क्रममा राज्यले गरेको दमनको प्रतिकार स्वरूप २४ गते देशभर आगजनी भयो । प्रदर्शनकारीहरूले देशभरिका विभिन्न सरकारी कार्यालयहरूसँगै विभिन्न अदालत समेत आगजनीमा परे । देशभरका ७७ वटा जिल्ला अदालतमध्ये १० अदालतहरू आगजनी भएका छन् । यसरी आगजनी भएका अदालतको विश्लेषण गर्दा एउटा तथ्यमा विचार गर्नुपर्ने देखिन्छ । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सहकारी ठगी सम्बन्धी मुद्दा ५ जिल्ला अदालतमा चलिरहेका थिए । ती अदालतहरूमा काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालत थिए । १० अदालत जल्दा लामिछाने विरुद्ध मुद्दा चलिरहेका सबै अदालत जलेका छन् । अब लामिछानेको सहकारी ठगी मुद्दा रहेर पनि जल्न बाँकी जिल्ला अदालत छैनन् । उनको मुद्दा नभएका केही थप अदालतहरूमा मात्र आगजनी भएका देखिन्छ । यसले रवि लामिछानेका विचाराधीन मुद्दा भएका ५ वटै अदालतहरू कसरी जले ? के त्यो संयोग मात्र थियो वा नियोजित थियो ? १० जलेका अदालतहरूमा रवि लामिछानेका मुद्दा रहेको १०० प्रतिशत अदालत कसरी कसरी परे भन्ने प्रश्न उठाउँछ । यस्तो घटना पूर्णत संयोगवश भएको मान्नेहरू पनि छन् । यस्तो संयोगको सम्भावना कति हुन्छ ? तथ्यगत विश्लेषण गर्नु उपयुक्त हुन्छ । यो घटनाको विश्लेषणका लागि हाइपरज्यामितीय सम्भाव्यता मोडेल उपयुक्त छ । किनभने देशभर अदालतहरूको कुल संख्या सीमित छ, ७७ वटा । 'सफलता’ अर्थात् रवि लामिछानेका मुद्दा भएका अदालतहरूको संख्या निश्चित छ, ५ वटा । जलाइएका अदालतहरूको नमूना (१० वटा) कुल संख्याबाट छनोट गरिएको हो र एउटै अदालत दोहोर्याएर जलाउन सकिँदैन । हामीले यही नमूना भित्र सबै ५ वटा “सफलता“ पर्ने सम्भावना खोजिरहेका छौं । सजिलोसँग बुझ्न अर्को एक उदाहरणलाई हेरौं । मानौं एउटा भाँडोमा जम्मा ७७ वटा बल छन् । ती मध्ये ५ वटा रातो बल छन् (रवि लमिछानेका मुद्दा भएका अदालत) । बाँकी ७२ वटा सेता बल छन् (रवि लमिछानेका मुद्दा नभएका अदालत) । अब आँखामा पट्टि बाँधेर भाँडोबाट १० वटा बल निकाल्न भनियो (१० अदालत जलाइयो) । त्यो ७७ बटा बलको पोकोबाट १० बटा बल निकाल्दा के सबै ५ वटा रातो बल (लमिछानेको मुद्दा भएका अदालत अदालत) पनि निस्कन्छन् ? अंकगणितले यसो भन्छ । यदि ७७ वटा अदालतहरूमध्ये १० वटा अदालतहरू अनियमित रूपमा जलाइएको भए, रवि लामिछानेका मुद्दा भएका सबै ५ वटै अदालतहरू ती जलेका १० अदालतभित्र पर्ने सम्भावना कति थियो ? यस्तो अवस्थामा सामान्य गणितीय हिसाबले हाइपरज्यामितीय सम्भाव्यता गणना गर्दा यस्तो घटनामा यस्तो संयोग पर्ने सम्भावना ०.००००७८ प्रतिशत हुन आउने रहेछ । अर्थात १२ लाख ८० हजार मध्ये १ अर्थात शून्य बराबर । गणनाले देखाएको अत्यन्त न्यून सम्भावना (करिब १२ लाख ८० हजार मा १ पटक मात्र) ले यो प्रष्ट बनाउँछ कि ७७ वटा जिल्ला अदालतमध्ये जलेका १० अदालत संयोगवश मात्र छानिएको भए, सबै ५ वटा रवि लमिछाने सम्बन्धित अदालत जल्ने घटना पर्न असम्भव थियो । हाइपरज्यामितीय विश्लेषणले यो देखाउँछ कि रवि लामिछानेका सबै ५ वटै मुद्दा भएका अदालतहरू संयोगवश जल्ने सम्भावना अत्यन्तै न्यून छ । यद्यपि गणितले संयोगलाई पूर्णरूपमा नकार्दैन । यद्यपि तथ्याङ्कीय असम्भाव्यताले मात्र जानाजानी निशाना बनाइएको प्रमाणित गर्न सक्दैन । यो एक सामान्य अंकगणितबाट देखिएको असामान्य नतिजा मात्र हो । गणितीय रुपमा असम्भव जस्तै देखिएको यस्तो घटना कतै योजनाबद्ध ढंगले वा लक्षित उद्देश्यका कारण भएको त हैन ? यसबारे थप अनुसन्धान हुन आवश्यक देखिन्छ ।
लाभांश सिजन : ५० कम्पनीको लाभांश घोषणा, कुनकाे कति ?
काठमाडौं । लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू गत वर्षको नाफाबाट सेयरधनीहरुलाई प्रतिफल वितरण गरिरहेका छन् । विशेषगरी पुँजी बजारका लगानीकर्ताहरूले यो समयलाई लाभांश सिजनको रूपमा लिने गर्छन् । आफूले लगानी गरेको कम्पनीले नाफाबाट अधिकतम प्रतिफल वितरण गरोस् भन्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन्छन् । साथै, यो समयमा लगानीकर्ताहरु गत वर्ष आर्जन गरेको नाफाबाट कुन कम्पनीले कति प्रतिफल वितरण गर्याे, कुन कम्पनीले कति प्रतिफल दिन सक्ला भनेर विश्लेषण गरिरहेका हुन्छन् । आर्थिक वर्ष सकिएपछि कम्पनीहरुले वार्षिक साधारण सभा (एजीएम) आह्वान गर्छन् । वार्षिक साधारण सभा आह्वान गरेका कम्पनीको एजेण्डामा लाभांश प्रस्ताव छ की छैन भनेर लगानीकर्ताहरुले ठूला आँखा बनाएर हेर्ने गरेका छन् । हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० सूचीकृत कम्पनी र ४० वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिसकेका छन् । १० सूचीकृत कम्पनीको लाभांश घोषणा माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार ५२६ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । ४० वटा म्युचुअल फण्डको लाभांश गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० वटा म्युचुअल फण्डले इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् । लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुले इकाईधनीहरुको खातामा प्रतिफल बराबरको रकम समेत पठाइसकेका छन् । सिटिजन्स क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड-२ इकाईधनीलाई ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाईधनीलाई १२.७५ प्रतिशत लाभांश वितरण गरेको हो । गरिमा क्यापिटलले गरिमा समृद्धि योजनाको ५.१० प्रतिशतका दरले ६ करोड ३७ लाख ५० हजार रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१को १२ प्रतिशत, हिमालयन क्यापिटलले हिमालयन ८०-२० इकाईधनीलाई करसहित १६.१६ प्रतिशत लाभांश वितरण गरेको हो । कुमारी क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । क्यापिटलले कुमारी धनवृद्धि योजनाको इकाईधनीलाई १०.५ प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५ प्रतिशत, कुमारी सबल योजनाको ९ प्रतिशत र कुमारी सुनौलो लगानी योजनाको करसहित ८.८८ प्रतिशत लाभांश वितरण गरेको हो । लक्ष्मी सनराईज क्यापिटलले ६ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ । क्यापिटलले लक्ष्मी उन्नति कोषका इकाईधनीलाई २० प्रतिशत, लक्ष्मी भ्यालू फण्ड-२ का इकाईधनीलाई १५ प्रतिशत र शुभ लक्ष्मी कोषका इकाईधनीलाई १६ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डको १३.५ प्रतिशत प्रतिफल वितरण गरेको हो । नबिल इन्भेष्टमेन्ट बैंकिङले ३ वटा म्युचुअल फण्डका इकाईधनीलाई लाभांश वितरण गरेको छ । कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ को समान १३/१३ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईएमबि एस क्यापिटलले ४ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीले एनआईबिएल ग्रोथ फण्डको १० प्रतिशत, एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को ७/७ प्रतिशत र मेगा म्युचुअल फण्डका इकाईधनीलाई ११.७५ प्रतिशत लाभांश वितरण गरेको हो । यस्तै, मुक्तिानाथ क्यापिटलले मुक्तिनाथ म्युचुचल फण्डका इकाईधनीहरुलाई ३.८ प्रतिशत लाभांश वितरण गरेको हो । एनआईसी एशिया क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ म्युचुअल फण्डका लागि गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ३६ करोड ५४ लाख २२ हजार ४१० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । क्यापिटलका अनुसार एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत अर्थात् १० करोड ३० लाख २० हजार रुपैयाँ, एनआईसी एशिया ब्यालेन्सड् फण्डले ९.९० प्रतिशत अर्थात् ७ करोड ४७ लाख ४५ हजार रुपैयाँ, एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)ले ८.६५ प्रतिशत अर्थात् १० करोड ८१ लाख २५ हजार रुपैयाँ र एनआईसी एशिया डानामिक डेप्ट फण्डले ५.५५ प्रतिशत अर्थात् ७ करोड ९५ लाख ३२ लाख ४१० रुपैयाँ नगद लाभांस वितरण गरेको हो । एनएमबि क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कम्पनीले एनएमबि फिफ्टीको १५ प्रतिशत, एनएमबि सरल बचत फण्ड-इको ४.१८ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को १५ प्रतिशत लाभांश वितरण गरेको हो । प्रभु क्यापिटलले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत र प्रभु स्मार्ट फण्डको १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीले आरविवि म्युचुअल फण्ड-१ को २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड-२ को १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ नगद लाभांश वितरण गरेको हो । सानिमा क्यापिटलले २ वटा म्युचुअल फण्डका इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । कम्पनीलेसानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । सिद्धार्थ क्यापिटलले ४ वटा म्युचुअल फण्डको लाभांश वितरण गरेको छ । कम्पनीले सिद्धार्थ इक्विटी फण्डको २० प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को १७ प्रतिशत, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ-२ को २० प्रतिशत र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ८ प्रतिशत लाभांश वितरण गरेको हो ।
युक्रेनमा अलपत्र परेका दुई नेपालीको सफल उद्दार
काठमाडौं । वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो । केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्धारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो। सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै आज दिउँसो १ बजे उनीहरू दुवैजना काठमाडौं आइपुगेका हुन् । दुवै जनाले गैरआवासीय नेपाली संघ र जर्मनीस्थित नेपाली दूतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।
गृह मन्त्रालयमा जेनजी हेल्प डेस्क स्थापना
काठमाडौं । गृह मन्त्रालयले जेनजी हेल्प डेस्क स्थापना गरेको छ । जेनजी पुस्ताले पछिल्लो समय विभिन्न सामाजिक र राजनीतिक मुद्दामा चासो देखाउँदै सक्रियता बढाएको पृष्ठभूमिमा समाजमा हुनसक्ने सम्भावित उच्छृङ्खल गतिविधिहरूको व्यवस्थापन तथा युवाहरूका गुनासो, समस्या र सुझावहरू सुन्नका लागि डेस्कको स्थापना गरिएको हो । यस हेल्प डेस्कमार्फत नागरिकहरूले आफ्नो गुनासो, सूचना, सल्लाह वा सुझावहरू फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत मोबाइल नम्बरमा सम्पर्क गरी दिन सक्ने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हेल्प डेस्क स्थापनाको उद्देश्य समाजमा उत्पन्न हुनसक्ने अस्थिरता, भ्रम वा अन्यौलता चिर्नु हो । मन्त्रालयले सबैलाई जिम्मेवार र सक्रिय नागरिकका रूपमा सहभागिता जनाउँदै सूचना आदानप्रदान गर्न आग्रह गरेको बताइएको छ । हेल्प डेस्कमार्फत सरकार र युवाबीचको संवादलाई सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
८ हजार ८१६ कैदीबन्दी अझै फरार
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै, नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै, एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए । झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उनले बताए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए । निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् । अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैं–तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो। टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौं, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । उक्त बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिने उनले बताए । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा २०० भन्दा बढी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् । यस्तै, दशैंका लागि आन्तरिक उडानका अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । हवाई क्षेत्रको अग्रणी संस्था यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला दशैंका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउँछन् । यसैगरी, यातायात व्यवसायीले भने यसवर्ष दशैंका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जेनजीको प्रदर्शनका कारण क्याम्पसहरू बन्द हुँदा अधिकांश यात्रुहरू घर गइसकेकाले अग्रिम टिकट बुकिङ नखोलिएको बताए । अध्यक्ष स्वाँरले पाँच दिनपछि जाने यात्रुका लागि पाँच दिन अगाडि नै टिकट काट्ने व्यवस्था अहिले पनि कायमै रहेकाले अग्रिम टिकट लिनसमेत यात्रुलाई आग्रह गरे । दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ खुला नगरेको उनको भनाइ थियो । सरकारले दशैं–तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो । लगातारको वर्षाका कारण दाउन्नेको पैंसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताए । लगातारको वर्षाले गत बुधबार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड आज दिउँसोदेखि पूर्ण रूपमा अवरुद्ध भएको उनले जानकारी दिए । 'हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सक्ने अवस्था थिएन, हिलो बाटोमा ट्रक फसेर समस्या हुने गरेको छ, अहिले दिउँसो पहिरो झरेपछि सडक पूर्ण अवरुद्ध भएको हो,’ उनले भने । दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा महालक्ष्मी विकास बैंकको सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनःनिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य काम गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनःनिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ । बैंकको लेकसाइड शाखाबाहेक १०२ शाखा कार्यालयहरू हाल सञ्चालनमा रहेका छन् ।