दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मीन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्वद्ध सबै पक्षसँग छलफल गरिएको बताए । यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्याउने कुरामा कुनै कमी हुन नदिने उनले प्रतीज्ञा गरे । बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए । उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए । उनले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने पनि बताए । सडकको अवस्था र सुधारका प्रयास सडकको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र विशेषगरी नागढुङ्गादेखि मुग्लिङसम्मको बाटो जीर्ण अवस्थामा छ । यद्यपि, सडक विभागले खाल्डाखुल्डी पुर्ने तथा अन्य मर्मत सम्भारको कामलाई अगाडि बढाएको छ। पोखरा क्षेत्रको बाटो भने सामान्य अवस्थामा रहेको बताइएको छ। ठाउँ–ठाउँमा हेभी उपकरण राखेर सडकलाई सहज बनाउने प्रयास जारी छ । दशैंमा यात्रु भाडादर नबढ्ने महासंघले स्पष्ट पारेको छ । सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनेछ । विभागले ठाउँ–ठाउँमा बुकिङ गर्ने स्थानहरूमा भाडादरको सूचना राखेर यात्रुहरूलाई जानकारी दिने व्यवस्था मिलाउनेछ । यद्यपि, रिजर्भ गाडीमा भने मानिसहरूले बढी भाडा तिरेर पनि यात्रा गर्न सक्नेछन् । यात्रुको चापअनुसार सवारीसाधनको अभाव सधैं रहने भए तापनि महासंघले देशभरिको आफ्नो ठूलो सञ्जालको उपयोग गर्नेछ । महासंघअन्तर्गत ३५७ वटा संघ/समितिहरू आबद्ध रहेकाले कुन ठाउँमा गाडीको माग बढी छ, त्यहीअनुसार गाडीहरूलाई ‘डाइभर्ट’ गरेर पठाउने व्यवस्था मिलाइनेछ । ‘हिजो मात्रै करिब ४०० गाडी बसपार्कबाट छुटेका छन् । पोखरामा लोड कम भएमा त्यहाँका गाडीहरूलाई पनि अन्यत्र पठाएर अधिकतम उपयोग गरिनेछ,’ महासंघका अध्यक्ष स्वाँरले भने । मौसम खराब भएको अवस्थामा समेत गत वर्ष स्थानीय गाडीहरूलाई केही शुल्क बढाएर भए पनि प्रयोगमा ल्याइएको अनुभव महासंघले सुनाएको छ । दशैंको बेला यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि टिकट बुकिङदेखि सडक र सुरक्षा व्यवस्थापनमा विशेष तयारी गरिएको महासंघले जनाएको छ ।
अब मुस्ताङ भन्सारबाट चिनिया सामान आयात गर्न सकिने, चिनसँगका ३ वटा नाका खुले
काठमाडौं । आजदेखि मुस्ताङ भन्सार खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीतपत्र खुला गरेसँगै मुस्ताङ भन्सार खुला भएको हो । विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको राष्ट्र बैंकले जनाएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रअनुसार अबदेखि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीतपत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी (सिन्धुपाल्चोक) र रसुवा (रसुवा) भन्सारसँगै मुस्ताङ भन्सार (मुस्ताङ) पनि प्रयोग गर्न सकिनेछ । यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारमार्फत मात्र सामान ल्याउन पाइन्थ्यो । तर, संशोधनपछि तीनै भन्सार (तातोपानी, रसुवा र मुस्ताङ) प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ ।
न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । 'न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ !' उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ । एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ । ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए, तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् । गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् । ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् । एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए । सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए । रासस
उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले मंगलबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् । सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए ।
सडकमा सक्रिय हुँदै ट्राफिक प्रहरी
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा शुरु गरेका छन् । आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरु बिनाबर्दी काममा फर्किएका थिए । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरु बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक प्रहरी बर्दीसहित देखिन थालेका छन् । आन्दोलनका दिन काठमाडौंका अधिकांश प्रहरी कार्यालयहरु तोडफोड भएका थिए । भाद्र २३ को प्रदर्शनमा प्रहरीले गोली चलाएका कारण १९ जनाको ज्यान गएको थियो । दोस्रो दिन आन्दोलनकारीले नेपाल प्रहरीलाई निशाना बनाइ प्रहरीमाथि कुटपिट, प्रहरी कार्यालयहरुमा आगजनी र तोडफोड गरे । सुरक्षार्थ खटिएका प्रहरीमाथिको निर्घात कुटपिट हुँदा तीन जना प्रहरी जवानले ज्यान समेत गुमाएका छन् । ट्राफिक प्रहरी पनि आन्दोलनको निशानामा परे । काठमाडौं उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी चाप तथा सडक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीको भुमिका महत्वपूर्ण हुन्छ । प्रहरी फेरि बर्दीमै फर्कनु, राज्य संयन्त्र पुनः स्थिर हुँदै गएको संकेतका रूपमा लिइएको छ । ट्राफिक प्रहरीहरूको बर्दीसहित पुनरागमनले राजधानीको सडक सुरक्षातर्फको पहलमा आशा देखाएको छ । तर आन्दोलनले देखाएको सामाजिक असन्तोष, राज्यप्रतिको अविश्वास र हिंसात्मक प्रतिक्रिया अझै पूर्ण रूपमा साम्य भइसकेको छैन ।
नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता स्थगित
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । कम्पनीले आश्विन ३ र ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता हाल देशमा सिर्जित परिस्थितिका कारण अनिश्चितकालका लागि रोकिएको जनाएको छ । साथै, प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराइने नेपाल इन्स्योरेन्सले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार तिलगङ्गा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ । आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।
अमेरिका-चीन टिकटक ‘फ्रेमवर्क’ सम्झौतामा टुंगो, ट्रम्प-सीले शुक्रबार अन्तिम निर्णय गर्ने
काठमाडौं । अमेरिका र चीनबीच सामाजिक सञ्जाल प्लेटफर्म टिकटकका लागि एउटा ‘फ्रेमवर्क’ सम्झौता भएको अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले सोमबार बताएका छन् । ‘यो दुई निजी पक्षबीचको कुरा हो, तर वाणिज्यिक सर्तहरूमा सहमति भइसकेको छ,’ उनले मड्रिडमा भएको अमेरिका-चीन वार्ताबाट भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सर्तहरूबारे छलफल गर्नेछन् । ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेख्दै भनेका छन् कि एक यस्तो कम्पनीबारे सम्झौता भएको छ ‘जसलाई हाम्रो मुलुकका युवाहरू अत्यन्तै बचाउन चाहन्थे ।’ बेस्सेन्टका अनुसार यो फ्रेमवर्कले टिकटकलाई अमेरिकी स्वामित्वमा लैजाने सम्भावना छ । टिकटकले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रोयटर्सका अनुसार चिनियाँ प्रमुख व्यापार वार्ताकार ली चेंगगाङले पनि फ्रेमवर्क सम्झौता भएको पुष्टि गर्दै अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दबाउने काम रोक्नुपर्ने बताएका छन् । यी टिप्पणीहरू अमेरिका र चीनबीचको पछिल्लो व्यापार वार्ताको क्रममा आएका हुन् । पछिल्ला महिनाहरूमा ट्रम्पका ट्यारिफ र अन्य व्यापारिक प्रतिबन्धका कारण दुवै मुलुकबीच सम्बन्ध चिसिएको छ । यहीबीच टिकटकको आमा कम्पनी बाइटडान्सलाई सेप्टेम्बर १७ सम्म अमेरिकी कारोबार बेच्न वा अमेरिकामा बन्द हुने जोखिम मोल्नुपर्ने समयसीमा तोकिएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार भनेका छन् कि सम्झौता हस्ताक्षर गर्न समयसीमा केही पछाडि सारिन सक्नेछ तर निरन्तर म्याद थपिँदैन । गत वर्ष अमेरिकी कांग्रेसले एप्पल र गुगल जस्ता एप स्टोर सञ्चालकहरूलाई अमेरिकामा टिकटक वितरण गर्न रोक लगाउने कानून पारित गरेको थियो, किनकि यसलाई ‘विदेशी प्रतिद्वन्द्वीको नियन्त्रणमा रहेको एप्लिकेशन’ मानिएको थियो । तर ट्रम्पले जनवरीमा टिकटक बन्द गर्ने निर्णय स्थगित गर्दै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसले बाइटडान्सलाई सम्झौता गर्न ७५ दिन थप समय दिएको थियो । थप समय विस्तारका लागि अप्रिल र जुनमा पनि कार्यकारी आदेश जारी गरिएका थिए । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले जुलाईमा भनेका थिए कि यदि चीनले अमेरिकालाई यो लोकप्रिय छोटो भिडियो एपमा बढी स्वतन्त्रता नदिए टिकटक अमेरिकामा बन्द हुनेछ । प्लेटफर्मलाई कसले नियन्त्रण गर्ने भन्ने विषयमा ट्रम्पले जुनमा फक्स न्युजलाई बताएका थिए कि उनका साथमा ‘धेरै धनी व्यक्तिहरूको समूह’ तयार छ जसले यो एप किन्न सक्छ र उनीहरूको नाम दुई हप्तामा खुलासा गर्न सकिनेछ । तर त्यो खुलासा कहिल्यै भएन । ट्रम्पले यसअघि पनि भनेका थिए कि उनी ओराकलका अध्यक्ष ल्यारी एलिसन वा टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा टिकटक किन्ने पक्षमा खुला छन् । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप पर्पलेक्सिटी र व्यापारी फ्र्याङ्क म्याककोर्टको प्रोजेक्ट लिबर्टी इन्टरनेट एडभोकेसी समूहले पनि खरिदका लागि प्रस्ताव बुझाएका छन् । ट्रम्पले गत वर्ष सीएनबीसीलाई दिएको अन्तर्वार्तामा टिकटकलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा व्याख्या गरेका थिए, यद्यपि ह्वाइट हाउसले अगस्टमा आधिकारिक टिकटक खाता सुरु गरेको छ । मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति