निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै
काठमाडौं । नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए । अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई उपचारका लागि अन्य अस्पताल ‘रिफर’ गरिएको र ३६६ जना सामान्य उपचारपछि घर फर्किका जनाएको छ । हाल अस्पतालमा नौ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचारका क्रममा उक्त अस्पतालमा ६ जनाको ज्यान गएको थियो ।
सुनको मूल्य तोलाको दुई लाख १७ हजार
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ९०० रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
आन्दोलनमा लुटिएका कार्यालय सामग्री बुझाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्दोलनका क्रममा तोडफोड, आगजनी र चोरी भएका जिन्सी सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ । प्राधिकरणका अनुसार भदौ २४ गते भएको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालयसहित देशभरका नागरिक उड्डयन कार्यालयहरूमा तोडफोड र लुटपाटका घटना भएका थिए । उक्त क्रममा टेलिभिजन, कम्प्युटर सेट, माइक्रोओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, प्रिन्टर, मोनिटर, ल्यापटप, हेडसेट र फर्निचरजस्ता कार्यालयका सामग्री चोरी भएका छन् । प्राधिकरणले सीसीटीभी फुटेजमार्फत संलग्न व्यक्तिहरूको पहिचान भइरहेको जनाएको छ । साथै, चोरी वा हराएका सामान कोही कसैसँग परेमा काठमाडौंको हकमा जिल्ला प्रहरी परिसर काठमाडौं वा प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा, र मातहतका कार्यालयहरूको हकमा त्यही कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ । प्राधिकरणले तोकिएको समयमा सामान फिर्ता नभए कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।
धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१ को साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ८३.४८ प्रतिशत रहेकोमा २०८२ साउनमा ७६.२४ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । राष्ट्र बैंककाअनुसार २०८२ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९२ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.१ प्रतिशत रहेको छ । यस्तै, २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ । राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ साउन मसान्तमा सूचीकृत ८ अर्ब ८८ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्ब ३३ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर,.७१ करोड ८५ लाख बराबरको बोनस सेयर र २ करोड २५ लाख बराबरको हकप्रद सेयर गरी कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ४७ करोड १५ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु
देवदह । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयको पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिए । उनले भने, 'हामीले अत्यावश्यक सेवा सुरु गरेका छौँ, धेरै सेवा अनलाइन माध्यमबाट प्रदान गरिरहेका छौँ, पार्किङमा ल्यापटप र प्रिन्टर राखेर हाम्रा करदातालाई दिनुपर्ने सेवा दिन सुरु गरेका छौँ ।' इन्टरनेट र बिजुली व्यवस्थापन गरेर न्यूनतम साधनस्रोत र उपलब्ध कर्मचारीबाट सेवा प्रवाह भइरहेको उनले बताए । सम्पूर्ण सेवा सञ्चालन गर्न सम्भव नभएकाले केही अत्यावश्यक सेवामात्र प्रदान गरिएको उनको भनाइ छ । उनका अनुसार आगजनी र तोडफोडबाट कार्यालयको मुख्य भवनमा क्षति पुगेको छ । सातवटा कोठा पूर्ण रूपमा जलेर नष्ट भएको उनले जानकारी दिए । त्यस्तै कोठाभित्र रहेका इलेक्ट्रोनिक सामान, कम्प्युटर, ल्यापटप, प्रिन्टर, टेबल, कुर्सी, र्याक, सोफा, दराजलगायत थुप्रै सामान जलेरका प्रमुख कर अधिकृत पोख्रेलले बताए । 'केही करदाताका फाइल पनि त्यसमा परेका छन्', उनले भने । कार्यालयमा रहेका केही सवारीसाधन र गार्डरुम पनि जलेको उनले जानकारी दिए । सेवाग्राही सरोज साहले भवन क्षतिग्रस्त हुँदा पनि आन्तरिक राजस्व कार्यालयले सेवा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गरे । उनले कार्यालयले प्रदान गरिरहेको सेवाबाट सेवाग्राही सन्तुष्ट नै रहेको बताए । रुपन्देहीमा भदौ २३ गतेदेखि जारी भएको निषेधाज्ञा र कफ्र्यू पनि हटाइएको छ । यही भदौ २८ गते शनिबारदेखि निषेधाज्ञा र कफ्र्यू हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले जानकारी दिए । जिल्लाको समग्र शान्ति सुरक्षाको विश्लेषण गर्दा सामान्य रहेको र जनजीवन पनि सामान्यीकरणतर्फ उन्मुख भएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले पारस्परिक सद्भाव कायम गर्न, सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था सञ्चालन गर्न, आवागमन सञ्चालन गर्न, पूर्ववत क्रियाकलाप नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षसँग आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरेको छ ।
ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर परियोजना सम्पन्न, ट्राफिक सहज
काठमाडौं । चिनियाँ कम्पनी ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजनाको सोमबार उद्घाटन गरिएको छ । दशकौंको युद्ध र द्वन्द्व, विशेष गरी २००३ को अमेरिकी आक्रमणले इराकको सडक सञ्जाल सहितको पूर्वाधारमा गहिरो दाग छोडेको छ । यो परियोजनाले इराकको राजधानीमा लामो समयदेखि रहेको पुरानो भीडभाडलाई कम गर्न बहु–स्तरीय यातायात केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । जुलाई २०२३ मा शुरु गरिएको यस परियोजनामा दुई ओभरपास र पाँच सुरुङहरू छन् । ट्राफिकका लागि खुलिसकेपछि यसले बगदादमा भीडभाडलाई उल्लेखनीय रूपमा कम गरेको छ । ध्वनि प्रदुषण कम गरेको छ । ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजना पूरा भएको र ट्राफिकको लागि खुला गरिएको छ । परियोजनामा दुई ओभरपास, पाँच सुरुङहरू साथै १६८ किलोमिटर भूमिगत पाइपलाइन र केबलहरूको मर्मतसम्भार समावेश छ ।
मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा
काठमाडौं । टेस्लाको सेयर सोमबारको प्रारम्भिक कारोबारमा ६ प्रतिशतले बढ्यो जब कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले करिब १ अर्ब डलर बराबरको टेस्लाको सेयर खरिद गरेको खुलासा गरे । यो खरिदलाई मस्कले कम्पनीको भविष्यप्रति देखाएको पछिल्लो ठूलो विश्वासको संकेतका रूपमा हेरिएको छ । यो सेयर खरिद मस्कको २०२० को सुरुवातपछिको पहिलो खुला बजार खरिद हो– जुन टेस्लाका लागि महत्त्वपूर्ण समयमै आएको हो । कम्पनी हाल आफैलाई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्स पावरहाउसमा रूपान्तरण गर्ने महत्त्वाकांक्षी लक्ष्य पूरा गर्न दौडिरहेको छ, यद्यपि कार बिक्री सुस्ताउँदै गएको चुनौती पनि छ । यो कदमले मस्कको टेस्लामा अझ बढी नियन्त्रण चाहने लक्ष्यलाई पनि बलियो बनाएको छ । यसअघि करिब एक हप्ताअघि मात्रै कम्पनीको बोर्डले मस्कका मागलाई सम्बोधन गर्ने गरी १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति योजना प्रस्ताव गरेको थियो, जसले कम्पनीका वित्तीय र सञ्चालन लक्ष्यहरूलाई उच्च स्तरमा राखेको छ । सोमबारको नियामक विवरण अनुसार मस्कले शुक्रबार २५.७ लाख सेयर खरिद गरेका थिए, प्रति सेयर ३७२.३७ देखि ३९६.५४ डलरसम्म तिरेर । ‘यो मस्कले पुनः टेस्लामा पुरै ध्यान केन्द्रित गर्न लागेको स्पष्ट संकेत हो... वर्षको कमजोर सुरुवातपछि टेस्ला-मस्कको कथा पुनः सही ट्रयाकमा फर्किएको देखिन्छ,’ हग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले भने । मस्कले निरन्तर टेस्लामा आफ्नो सेयर हिस्सेदारी र मतदान शक्ति बढाउन माग गर्दै आएका छन् । उनले पहिले भनेका थिए कि यदि उनले २५ प्रतिशत मतदान शक्ति पाउन सकेनन् भने एआई र रोबोटिक्सका उत्पादनहरू टेस्लाबाहिर बनाउने उनको प्राथमिकता हुनेछ । एलएसईजीका तथ्यांकअनुसार डिसेम्बरसम्म मस्कसँग करिब १३ प्रतिशत सेयर हिस्सेदारी थियो । सोमबार लगातार तेस्रो दिन टेस्लाको सेयर बढिरहेको भए पनि यो वर्ष हालसम्म यसको मूल्य २ प्रतिशत घटेको छ, जसले यसलाई ‘म्याग्निफिसेन्ट सेभेन’ ठूला टेक कम्पनीहरूबीच कमजोर प्रदर्शन गर्ने सेयर बनाएको छ । टेस्लाको पछिल्लो त्रैमासिक नतिजामा कम्पनीको नाफामा दबाब जारी रहेको देखिएको छ किनभने विद्युतीय कारको माग सुस्त भएको, लागत बढेको र प्रतिस्पर्धा तीव्र भएको छ । तर, टेस्लाको बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले शुक्रबार भनेका थिए कि मस्कको राजनीतिक गतिविधिले बिक्रीमा असर गरेको भन्ने चिन्ता निराधार छ । उनका अनुसार मस्क केही महिना ह्वाइट हाउसमा व्यस्त रहेपनि अहिले पुनः कम्पनीमा ‘फ्रन्ट एन्ड सेन्टर’ अर्थात् पूर्ण रूपमा सक्रिय भएका छन् । इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
मुगुमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन
मुगु । आसन्न दसैँतिहारजस्ता ठूला चाडपर्वलाई ख्यालगर्दै सोमबारदेखि यहाँ सहुलियत मूल्य पसल सञ्चालन गरिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयद्वारा सञ्चालन गरिएको पसलमा सहुलियत दरमा दैनिक उपभोग्य सामग्री राखिएका छन् । पसलमा उपभोक्ताले चामल, तेल, चिनीलगायत प्रमुख खाद्य सामग्री छुट मूल्यमा खरिद गर्न सक्नेछन् । बजारमा सामान्यतया महँगो मानिने रिम्स जिरा चामलदेखि अरुवा सोना चामल, मध्यम तथा मोटा चामलसम्म सस्तो मूल्यमा पाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै सूर्यमुखी, तोरी र सोयाबिन तेल तथा चिनी पनि छुटमा बिक्री गर्ने तयारी गरिएको छ । सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्तालाई ठगिने तथा व्यापारीले कृत्रिम अभाव सृजना गर्नेजस्ता समस्या देखिने भएकाले यसपालि समयमै सहुलियत पसल सञ्चालन गरिएको शाखा प्रमुख केशव गिरीले जानकारी दिए । स्थानीय उपभोक्ताले भने सहुलियत पसलले आफूहरूलाई प्रत्यक्ष राहत पुगेको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सहुलियत पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने तयारी गरिएको छ ।