सडकमा सक्रिय हुँदै ट्राफिक प्रहरी
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनपछि सडकमा कम मात्रामा देखिएका ट्राफिक प्रहरी क्रमशः सक्रिय हुँदै सेवा शुरु गरेका छन् । आन्दोलनका क्रममा अराजक समूहले ट्राफिक प्रहरीको सम्पूर्ण सामग्रीमा आगजनी र लुटपाट गरेपछि उनीहरु बिनाबर्दी काममा फर्किएका थिए । काठमाडौं उपत्यकाको प्रमुख स्थानहरु बानेश्वर, कोटेश्वर, नारायणहिटी, पुतलीसडक, त्रिपुरेश्वर, रत्नपार्क लगायतका क्षेत्रहरूमा अब ट्राफिक प्रहरी बर्दीसहित देखिन थालेका छन् । आन्दोलनका दिन काठमाडौंका अधिकांश प्रहरी कार्यालयहरु तोडफोड भएका थिए । भाद्र २३ को प्रदर्शनमा प्रहरीले गोली चलाएका कारण १९ जनाको ज्यान गएको थियो । दोस्रो दिन आन्दोलनकारीले नेपाल प्रहरीलाई निशाना बनाइ प्रहरीमाथि कुटपिट, प्रहरी कार्यालयहरुमा आगजनी र तोडफोड गरे । सुरक्षार्थ खटिएका प्रहरीमाथिको निर्घात कुटपिट हुँदा तीन जना प्रहरी जवानले ज्यान समेत गुमाएका छन् । ट्राफिक प्रहरी पनि आन्दोलनको निशानामा परे । काठमाडौं उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी चाप तथा सडक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीको भुमिका महत्वपूर्ण हुन्छ । प्रहरी फेरि बर्दीमै फर्कनु, राज्य संयन्त्र पुनः स्थिर हुँदै गएको संकेतका रूपमा लिइएको छ । ट्राफिक प्रहरीहरूको बर्दीसहित पुनरागमनले राजधानीको सडक सुरक्षातर्फको पहलमा आशा देखाएको छ । तर आन्दोलनले देखाएको सामाजिक असन्तोष, राज्यप्रतिको अविश्वास र हिंसात्मक प्रतिक्रिया अझै पूर्ण रूपमा साम्य भइसकेको छैन ।
नेपाल इन्स्योरेन्सको फुटसल प्रतियोगिता स्थगित
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७८औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित गर्ने घोषणा गरेको छ । कम्पनीले आश्विन ३ र ४ गते आयोजना गर्ने भनिएको प्रतियोगिता हाल देशमा सिर्जित परिस्थितिका कारण अनिश्चितकालका लागि रोकिएको जनाएको छ । साथै, प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराइने नेपाल इन्स्योरेन्सले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार तिलगङ्गा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ । आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।
अमेरिका-चीन टिकटक ‘फ्रेमवर्क’ सम्झौतामा टुंगो, ट्रम्प-सीले शुक्रबार अन्तिम निर्णय गर्ने
काठमाडौं । अमेरिका र चीनबीच सामाजिक सञ्जाल प्लेटफर्म टिकटकका लागि एउटा ‘फ्रेमवर्क’ सम्झौता भएको अमेरिकी कोष सचिव स्कट बेस्सेन्टले सोमबार बताएका छन् । ‘यो दुई निजी पक्षबीचको कुरा हो, तर वाणिज्यिक सर्तहरूमा सहमति भइसकेको छ,’ उनले मड्रिडमा भएको अमेरिका-चीन वार्ताबाट भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सर्तहरूबारे छलफल गर्नेछन् । ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेख्दै भनेका छन् कि एक यस्तो कम्पनीबारे सम्झौता भएको छ ‘जसलाई हाम्रो मुलुकका युवाहरू अत्यन्तै बचाउन चाहन्थे ।’ बेस्सेन्टका अनुसार यो फ्रेमवर्कले टिकटकलाई अमेरिकी स्वामित्वमा लैजाने सम्भावना छ । टिकटकले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । रोयटर्सका अनुसार चिनियाँ प्रमुख व्यापार वार्ताकार ली चेंगगाङले पनि फ्रेमवर्क सम्झौता भएको पुष्टि गर्दै अमेरिकाले चिनियाँ कम्पनीहरूलाई दबाउने काम रोक्नुपर्ने बताएका छन् । यी टिप्पणीहरू अमेरिका र चीनबीचको पछिल्लो व्यापार वार्ताको क्रममा आएका हुन् । पछिल्ला महिनाहरूमा ट्रम्पका ट्यारिफ र अन्य व्यापारिक प्रतिबन्धका कारण दुवै मुलुकबीच सम्बन्ध चिसिएको छ । यहीबीच टिकटकको आमा कम्पनी बाइटडान्सलाई सेप्टेम्बर १७ सम्म अमेरिकी कारोबार बेच्न वा अमेरिकामा बन्द हुने जोखिम मोल्नुपर्ने समयसीमा तोकिएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सोमबार भनेका छन् कि सम्झौता हस्ताक्षर गर्न समयसीमा केही पछाडि सारिन सक्नेछ तर निरन्तर म्याद थपिँदैन । गत वर्ष अमेरिकी कांग्रेसले एप्पल र गुगल जस्ता एप स्टोर सञ्चालकहरूलाई अमेरिकामा टिकटक वितरण गर्न रोक लगाउने कानून पारित गरेको थियो, किनकि यसलाई ‘विदेशी प्रतिद्वन्द्वीको नियन्त्रणमा रहेको एप्लिकेशन’ मानिएको थियो । तर ट्रम्पले जनवरीमा टिकटक बन्द गर्ने निर्णय स्थगित गर्दै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए जसले बाइटडान्सलाई सम्झौता गर्न ७५ दिन थप समय दिएको थियो । थप समय विस्तारका लागि अप्रिल र जुनमा पनि कार्यकारी आदेश जारी गरिएका थिए । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले जुलाईमा भनेका थिए कि यदि चीनले अमेरिकालाई यो लोकप्रिय छोटो भिडियो एपमा बढी स्वतन्त्रता नदिए टिकटक अमेरिकामा बन्द हुनेछ । प्लेटफर्मलाई कसले नियन्त्रण गर्ने भन्ने विषयमा ट्रम्पले जुनमा फक्स न्युजलाई बताएका थिए कि उनका साथमा ‘धेरै धनी व्यक्तिहरूको समूह’ तयार छ जसले यो एप किन्न सक्छ र उनीहरूको नाम दुई हप्तामा खुलासा गर्न सकिनेछ । तर त्यो खुलासा कहिल्यै भएन । ट्रम्पले यसअघि पनि भनेका थिए कि उनी ओराकलका अध्यक्ष ल्यारी एलिसन वा टेस्लाका सीईओ एलन मस्कले अमेरिकामा टिकटक किन्ने पक्षमा खुला छन् । कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप पर्पलेक्सिटी र व्यापारी फ्र्याङ्क म्याककोर्टको प्रोजेक्ट लिबर्टी इन्टरनेट एडभोकेसी समूहले पनि खरिदका लागि प्रस्ताव बुझाएका छन् । ट्रम्पले गत वर्ष सीएनबीसीलाई दिएको अन्तर्वार्तामा टिकटकलाई राष्ट्रिय सुरक्षा खतराको रूपमा व्याख्या गरेका थिए, यद्यपि ह्वाइट हाउसले अगस्टमा आधिकारिक टिकटक खाता सुरु गरेको छ । मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि लुटपाट गरिएको नगद रकम, सुन र चाँदी फिर्ता गरिएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट लुटपाट गरिएको दुई लाख ५२ हजार रुपैयाँ नगद, ४२१ ग्राम सुन तथा नौ किलो चाँदी कोहलपुरका जनप्रतिनिधि, समाजसेवीको पहल तथा इलाका प्रहरी कार्यालय कोहलपुरको सक्रियतामा फिर्ता गरिएको इप्रका, कोहलपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिए । राजस्व अनुसन्धान कार्यालयबाट लुटिएको रकम र सुनचाँदीमध्ये सोमबार एक लाख १७ हजार र ८४ हजार रुपैयाँ भारतीय रुपैयाँ इलाका प्रहरी कार्यालय, कोहलपुरमा फिर्ता गरेको उनले बताए । उक्त रकम, सुन र चाँदी पीडित परिवारलाई फिर्ता गरिएको छ । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा जिल्लाका अधिकांश सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो । प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका–२ बाट सात लाख ६६ हजार रुपैयाँसहित कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ का २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।
गैंडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती
चितवन । चितवन कारागारबाट एकसिङ्गे गैंडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैंडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् । गैंडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैंडा तस्करीमा लागेकाहरू पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
सुकिला नोट सटहीमा छैन खासै सर्वसाधरणको चासो
काठमाडौं । दशैँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ । राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो । विगतको दशैँहरुमा नयाँ नोट सटहीको लागि सर्वसाधरणको भीड लाग्ने गर्दथ्यो । नेपाल राष्ट्र बैंकले आईतवारदेखि सुकिला नोट वितरण गर्न शुरु गरेको छ । असोज १० गतेसम्म सुकिला नोट वितरण गर्ने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैंकले प्रति प्याकेट १८ हजार पाँच सय रुपियाँको सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । थापाथलीस्थित नेपाल राष्ट्र बैंक, राष्ट्र बैंकका प्रदेश कार्यालयहरुबाट सुकिला नोट वितरण भइरहेको छ । राष्ट्र बैकले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट समेत सुकिला नोट वितरण गर्ने व्यवस्था मिलाएको छ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर नोट सटही गर्नसक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसअघि राष्ट्र बैंकले दशैका लागी भनेर नयाँ नोट छाप्ने गरेको थियो तर गत वर्षदेखि भने खर्च व्यवस्थापनको लागी भन्दै नयाँ नोटलाई बन्द गरेको हो । यस पटक पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुने राष्ट्र बैकले जनाएको छ । राष्ट्र बैकले झुत्रा, जलेका तथा दाबी नोटहरु भने दशैँ पछाडी मात्रै वितरण गरिने जानकारी दिएको छ ।
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु
ललितपुर । ललितपुर महानगरपालिका–१८ भैँसेपाटीस्थित सङ्घीय मन्त्री आवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवासमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु भएको छ । सङ्घीय सचिवालयका अनुसार भदौ २४ गतेको घटनामा क्षति पुगेका संरचनाको विवरण एक हप्ताभित्र तयार हुने अनुमान गरिएको छ । सचिवालयका सुपरिटेन्डिङ इञ्जिनियर चक्रवती कण्टका अनुसार प्रारम्भिक विवरण सङ्कलन अघि बढाइएको हो । भैँसेपाटीस्थित ९६ रोपनी १० आना क्षेत्रफलमा निर्माण गरिएका सङ्घीय मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि बनेका २७ वटा अत्याधुनिक सुविधासम्पन्न भवन पूर्ण रूपमा जलेका छन् । गत असारमा मात्र मन्त्रीहरू सो आवासमा सरेका थिए । त्यसैगरी, २७ रोपनी १२ आना क्षेत्रफलमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनेका सम्पर्क कार्यालयमा पनि आगजनी भएको छ । हाल भैँसेपाटीस्थित ती सङ्घीय मन्त्री आवास र प्रदेश सम्पर्क कार्यालयमा नेपाली सेनाले सुरक्षा दिएको छ । आवास क्षेत्रमा बस्ने परिवारका सदस्यलाई मात्र परिचयपत्र देखाएर भित्र प्रवेश दिइएको छ । सङ्घीय सचिवालयले क्षति विवरण नआएसम्म सरसफाइलगायतका कार्य अघि नबढाइने जनाएको छ ।